Skip to main content

मूल्य निर्धारणमा चर्को कार्टेलिङ

विष्णु पोखरेल

काठमाडौं, साउन २७

प्रतिस्पर्धी बजारको मान्यता र कानुन विपरित व्यापारीक संगठनहरुले सामानको उपभोक्ता मूल्य तोक्ने गरेका छन्।
व्यावसायीहरुका संगठनले तोकेको भाउमा हुने कारोबारले उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। फलफूल, जुस, मासु, दुध जस्ता उपभोग्य वस्तु बिक्रेता एवं यातायात, सैलुन, रेष्टुरेन्टलगायत सेवा प्रदायकका छाता संगठनले सामानको भाउ तोकेका हुन्। तोकिएको भाउ अनिवार्य रुपमा लागू गर्न आवद्ध व्यवसायीलाई उनीहरुले उर्दी समेत जारी गरेका छन्।

मुलुकले अपनाएको प्रतिस्पर्धात्मक बजार प्रणालीमा व्यापारीका संगठनले मूल्य तोक्न मिल्दैन। सरकारले ल्याएको प्रतिपर्ष्धा तथा बजार संरक्षण ऐन एवं नियमावलीले पनि यस्ता कार्यलाई दण्डनीय मानेको छ। 'कानुन हुँदा हँुदै पनि व्यापारीहरुले संगठनका नाममा सिन्डिकेट र कार्टेलिङ जारी राखेका छन्,' उपभोक्त हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडाले भने, 'सरकारले कारवाही गरेको छैन।'

उपभोग्य वस्तुको मूल्य बढ्नुको मुख्य कारण व्यापारीक संगठनका नाममा हुने मूल्य मिलेमतो(कार्टेलिङ) भएको उनले बताए। 'खुल्ला बजार भनिए पनि व्यापारीका संगठनबाट बजारलाई नियन्त्रण गरिएको छ,' सिम्खडाले भने।

हालैमात्र राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले मासु, नेपाल फलफूल तथा जुस खुद्रा व्यवसायी संघले फलफूल जुस तथा सैलुन संचालक संम्वद्ध तीनवटा संघले कपाल काटेको मूल्य बढाएका छन्। उनीहरुले आवद्ध व्यवसायीलाई संघले तोकेको मूल्य कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन्।

नाई सम्वद्ध संघहरुले वृद्धि मूल्य कार्यान्वयन नगर्ने सैलुन संचालकलाई १५ हजार जरिवाना र तीन दिन पसल बन्दको चेतावनी समेत दिएका छन्। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल(रेबान) ले पनि उपभोग्य वस्तुको मूल्य बढेको भन्दै मेनु बढाउन लागेको छ। 'सबैथोकको मूल्य बढेकाले हामी पनि बढाउन लागेका छौ,' रेबान अध्यक्ष तेजेन्द्र श्रेष्ठले भने।

सरकारले २०६३ मा बनाएको प्रतिष्पर्धा तथा बजार संरक्षण ऐनमा यस्ता कार्य गर्न नपाइने उल्लेख छ। ऐनको दफा ७ ले यसरी संघ संस्थाले मूल्य तोक्नुलाई एकलौटी कारोबार गर्ने कार्यकारुपमा लिदै यसलाई गैरकानुनी मानेको छ। ऐनमा एकलौटी कारोबार गर्नेलाई १ लाखसम्म जरिवाना र कारोबार नियन्त्रण गर्न खोज्नेलाई ५० हजार जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ।
'ऐन बनाए पनि त्यसको कार्यन्वयन नहुँदा कार्टेलिङ भइरहेको हो,' सिम्खडाले भने, 'सरकारले कार्टेलिङ भएको थाहा पाएर पनि कारवाही गरेको छैन।'

मूल्य तोक्ने संघ संस्थाले भने व्यवसायलाई मर्यादित बनाउन र उपभोक्ता ठगि रोक्न यस्तो गरेको दाबी गर्छन्। 'हामीले मूल्य तोकेपछि बढिमा बेच्नेस"ग ग्राहकले बार्गेनिङ गर्न पाउँछन्,' कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीले भने, 'यो कार्टेलिङ होइन, उपभोक्तालाई सजिलो होस् भनेर तोकिएको हो।'

नेपाल राष्ट्रिय नाई संघका अध्यक्ष पल्टन ठाकुरले व्यवसाय मर्यादित बनाउन शुल्क तोकेर कार्यन्वयन गर्न निर्देशन दिएको दाबी गरे। 'हामीले सबैथोकको भाउ बढेपछि सेवा शुल्क बढाएका हौ,' उनले भने, 'एकैखालको भाउ राखे अस्वस्थ प्रतिष्पर्धा रोकिन्छ भनेर निर्देशन दिएका छौ।' उनका अनुसार, उपत्याकामा अब सैलुन संचालन गर्न चाहनेले नाई सम्वद्ध तीनवटा संघ मध्यै कुनै एकको अनुमति लिनुपर्ने छ।

हालै दर्ता भएर फलफूल जुसको मूल्य निर्धारण गरेको फलफूल तथा जुस संघका उपाध्यक्ष कामेश्वर चौधरीले भने जुस व्यवसायलाई व्यवस्थित गर्न मूल्य तोकिएको बताए । 'जुसको नाममा चिनी पानी मिलाएर नबेचुन भनेर मूल्य तोकेका हौ,' उनले भने 'बरु बढि लिएर भए पनि फलफूलकै जुस बेचाउन यस्तो गरिएको हो।'

रेवान अध्यक्ष श्रेष्ठले संघले मूल्य तोक्नु नहुने भए पनि पर्यटक आउने क्षेत्रका रेष्टुरेन्टलाई मापदण्ड पुरा गरेर गुणस्तर कायम गराउन संघले पहल गरेको बताए। 'हामीले न्यूनतम भनेर मात्र मूल्य तोकेका छौ,' उनले भने, 'आफ्नो गुणस्तर अनुसार संचालकले मूल्य लिन सक्छन्।'

ऐनमा संघले मूल्य तोक्न नपाउने व्यवस्था भए पनि हालसम्म सरकारले कसैलाई कारवाही गरेको छैन। नियमावली नहुँदा कारवाही गर्न समस्या भएको बताउँदै आएको सरकारले गतबर्ष नियमावली बनेपछि पनि कार्यान्वयन गर्न सकेको छैन। 'ऐनको व्यवस्था अनुसार बजार संरक्षण अधिकृतको नियुक्ति नहुँदा पूर्ण कायन्वयन हुन नसकेको हो,' वाणिज्य विभागका महानिर्देशक अनिल ठाकुरले भने, 'चाँडै अधिकृत नियुक्त हुन लागेकाले अब कार्यान्वयन हुन्छ।' उनले ऐन कार्यान्वयन भएपछि बजारमा रहेको कार्टेलिङ हट्ने बताए।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...