Skip to main content

गुणस्तरहीन तेल उत्पादकलाई थुनामा राख्न आदेश

विष्णु पोखरेल
काठमाडौं, भदौ ४
गुणस्तरहीन खाने तेल उत्पादन गर्ने दुई उद्योगका संचालकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

मापदण्ड विपरित तेल उत्पादन र बिक्री वितरण गर्ने रुपन्देहीको सिद्धार्थ आयल इन्डस्ट्री र विराटनगरको वागमती आयल इन्डस्ट्री विरुद्धको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो। दुवै उद्योग विरुद्ध वाणिज्य विभागले उपभोक्ता संरक्षण नियमावली अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको थियो।

उपभोक्ता संरक्षण ऐन र नियमावली बनेपछि गुणस्तरहीन उत्पादकलाई पहिलो पटक जिल्ला अदालतले यस्तो आदेश दिएको हो। अदालतको आदेश पछि वागमती आयलका तर्फबाट उपस्थित भएका प्रतिनिधी भागवत तिमल्सिनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने सिद्धार्थका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ।

विभागले सरकारी वकिलको राय लिएर एक महिना अघि जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। करिब एक बर्ष अघि निरीक्षण अधिकृत नियुक्त गरेको विभागले दायर गरेको यो नै पहिलो मुद्दा हो। एक बर्ष अघि खाद्य तथा गुण नियन्त्रण विभागले परिक्षण गर्दा सिद्धार्थले उत्पादन गर्ने 'तेज' ब्राण्डको तोरी तेल एवं वागमतीले उत्पादन गर्ने 'सेलो' ब्राण्डको सूर्यमुखी तेल गुणस्तरहीन पाइएको थियो।

खाद्यको परिक्षण प्रतिवेदनका आधारमा विभागले सरकारी वकिल कार्यालयको राय लिई दुवै ब्राण्डका तेलको बिक्री रोकेर मुद्दा चलाएको हो। 'हामीले नियमावली बनेपछि चलाएको यो नै पहिलो मुद्दा हो,' विभागका महानिर्देशक अनिल ठाकुरले भने, 'गुणस्तरहीन उत्पादन गर्ने अरुलाई पनि यस्तै मुद्दा चलाउछौ।' मिसावटयुक्त र गुणस्तरहीन तेलका कारण जनस्वाथ्यमा असर पर्ने देखिएकाले विभागले कारवाहीको लागि मुद्दा चलाएको ठाकुरले बताए।

उपभोक्ता संरक्षण ऐन र नियमावलीमा गुणस्तरहीन उपभोग्य वस्तुको उत्पाद तथा बिक्री वितरण गर्नेलाई ५० हजार जरिवाना देखि २ बर्ष सम्म जेल सजाय गर्न सकिने व्यवस्था छ। यस्ता उत्पादनले कसैको ज्यान गएमा भने ५ लाख जरिवाना वा १४ वर्ष सम्म जेल सजाय हुन सक्ने अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामकृष्ण सिम्खडाले बताए।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...