Skip to main content

कस्ता छन् नेपाली बजारमा २० लाख भन्दा कम भाउका कार ?


केही वर्षअघिसम्म आम्दानी बढेपछि सहरियाले सबैभन्दा पहिले घडेरी जोड्ने सोच बनाउथे। घडेरी पछि घर अनि गाडी। उपभोगवादी उत्तरआधुनिक समाजमा नेपालीको यो सोचमा पनि परिवर्तन आएको छ। अब आम्दानी बढ्ने बित्तिकै नेपाली घडेरी सोच्दैन, पहिलो सोचाई र रोजाई बनेको छ–कार। राजधानी सहित सहरी क्षेत्रको व्यस्त जीवनमा सार्वजनिक यातायातको अव्यवस्थाले सबैभन्दा पिरोलेको छ, कामकाजीलाई। यही बाध्यताले पनि हुनसक्छ, अहिलेको पुस्ता घर–घडेरी भन्दा पहिले रोज्छ कारलाई। यस्तो पुस्ताको जनसंख्या वृद्धिसँगै फस्टाउदो छ, साना, छरिता र सस्ता कारको व्यापार पनि। नेपाली बजारमा ५० भन्दा बढी कम्पनीले कार बेच्छन्। तर, त्यसमध्ये २० लाख रुपैयाँभन्दा कम मूल्यका कार बेच्ने कम्पनी भने चार–पाँच मात्र छन्। थोरै ब्रान्ड भएपछि सस्ता र साना भएकै कारण यीनै कम्पनीको चम्कदो छ व्यापार। 

'मोटरसाइकलबाट कारमा जान चाहने र कम आय हुनेले सुरुवाती भाउका गाडी खोज्छन्,' कोरियाली ब्रान्ड हुन्डाईको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका वरिष्ठ प्रबन्धक रुपेश शर्मा भट्टले भने, 'सहरी क्षेत्रको सडकको अवस्थाले पनि साना गाडी रोजाइमा परेका हुन्।' सानो छरितो आकार, सस्तो भाउ र सरल किस्ताबन्दी सुविधायुक्त यस्ता गाडी मध्यमवर्गले किन्ने गरेको बिक्रेताहरु बताउँछन्। कम्पनीहरुले पनि महँगा र विलासी गाडीभन्दा यस्ता गाडीमा छुट, उपहारलगायत योजना बढी ल्याउने गरेका छन्। 

नेपाली कार बजारमा आफ्नो हिस्सा सबैभन्दा बढी रहेको दाबी गर्ने हुन्डाईले नेपाली बजारमा १४ लाख २६ हजार रुपैयाँदेखिका कार भिœयाएको छ। हुन्डाईको सबैभन्दा सस्तो कार इयोन डिलाइट हो। यसको भाउ १४ लाख २६ हजार पर्छ। अहिले कम्पनीले यो कार दैनिक ४ सय ९९ किस्ताबन्दी सुविधामा उपलब्ध गराएको छ। यसका लागि सुरुमा मूल्यको ३० प्रतिशत(४ लाख २७ हजार ८ सय) अग्रिम भुक्तानी गर्नुपर्छ। एसी, पावर स्टेयरिङ, पावर विन्डो, इनबिल्ड म्युजिक सिस्टम नभएको यो कार किन्दा ग्राहकले १०.९९ प्रतिशत वार्षिक ब्याज तिर्नुपर्छ। यसमा नभएका सुविधा थप गर्नुपरे ग्राहकले थप रकम तिर्नुपर्ने हुन्छ। 

हुन्डाईले बजारमा इयोनका डिलाइटसहित चार प्रकारका कार बिक्री गर्छ। इयोन डिलाइट प्लसको भाउ १५ लाख ४६ हजार छ। यसमा डिलाइटमा नभएको पावर स्टेरिङ र एसि सुविधा छ। इयोन इराप्लसमा भने पावर स्टेयरिङ, एसि, फ्रन्ट पावर विन्डो र स्टेरियो म्युजिक सिस्टम छ। यसको बजार मूल्य १६ लाख ४६ हजार तोकिएको छ। इयोन स्पोर्टस्मा भने पावर स्टेयरिङ, एसी, फ्रन्ट पावर विन्डो, स्टेरियो म्युजिक सिस्टम र सिंगल एयरब्याग सुविधा छ। यसको भाउ भने १८ लाख ७६ हजार रुपैयाँ तोकिएको छ। इयोनका सबै मोडल ८ सय १४ सिसी इन्जिन क्षमताका हुन्। 
इयोनपछि कम्पनीको सस्तो कार स्यान्ट्रो हो। हाल यसको जिएलप्सल मोडल बजारमा उपलब्ध छ। यसको भाउ १७ लाख ९६ हजार पर्छ। यसमा पावर स्टेरिङ, एसी, फ्रन्ट पावर विन्डोलगायत सुविधा छन्। यसमा इनविल्ड म्युजिक सिस्टम छैन। 
कम्पनीले अर्को सस्तो कार आइटेनको म्याग्ना मोडल हो। यसको भाउ १९ लाख ९६ हजार पर्छ। यसमा चारवटै पावर विन्डो, पावर स्टेयरिङ, एसिलगायतका सुविधा छन्। यसमा पनि म्युजिक सिस्टम इनबिल्ड छैन। स्यान्ट्रो र आइटेनको इन्जिन क्षमता १ हजार १ सय सिसी हो। कम्पनीका अनुसार एक लिटर पेट्रोलले सहरी क्षेत्रमा इयोन १४, स्यान्ट्रो १३ र आइटेन १५ किलोमिटर दौडन्छन्। कम्पनीले दसैं-तिहारलाई लक्ष्य गर्दै ल्याएको योजना अनुसार इयोनमा ६०, आइटेनमा ८५ र स्यान्ट्रोमा ८५ हजार रुपैयाँ छुट दिएको छ। यसका साथै कम्पनीले बम्पर उपहार तीनजनालाई इयोन कार दिने घोषणा गरेको छ। 
टाटाको कार बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा सबैभन्दा सानो र सस्तो कार नानोलगायत विभिन्नखाले साना र सस्ता कार बेच्दै आएको छ। नानोका तीनवटा मोडल नेपाली बजारमा छन्। सस्ता गाडीमा ग्राहकको आकर्षण बढी रहेको टाटा नानोका असिस्टेन्ट प्रोडक्स इन्चार्ज कैलाश गेलालले बताए। बेसिक मोडलको नानो स्ट्यान्डर्डको भाउ नेपाली बजारमा ८ लाख ५८ हजार रुपैयाँ पर्छ। यसैगरी नानो सिएक्सको १० लाख २८ हजार र एलएक्सको ११ लाख ८८ हजार रुपैयाँ भाउ तोकिएको छ। 
नानो सिएक्समा एसी, हिटर, एडजस्टेवल को-ड्राइभर सिटको सुविधा छ। एलएक्समा भने एसी, हिटर, सेन्ट्रल लक, फ्रन्ट पावर विन्डो, अगाडि-पछाडि फग ल्याम्पलगायत सुविधा छन्। ६ सय २४ सिसी क्षमताको नानो कार एक लिटर पेट्रोलमा सहरी क्षेत्रमा २३.६ किलोमिटर दौडने कम्पनीको दाबी छ। अहिले सिप्रदीले ३० प्रतिशत अग्रिम भुक्तानीसहित ६ वर्षे किस्ताबन्दीमा शून्य ब्याजदरमा नानो कार बिक्री गरिरहेको छ। 
नानो मात्र होइन सस्ता र छरिता गाडीमा टाटाका धेरै मोडल नेपालमा उपलब्ध छन्। कम्पनीले डिजेल इन्जिनयुक्त इन्डिका भिटुका चारवटा मोडल बिक्री गर्छ। टाटा इन्डिका एल मोडल सामान्य अप्सन हो। यसको भाउ १४ लाख ४५ हजार रुपैयाँ तोकिएको छ। 
इन्डिका भिटु एलईमा भने एसीको सुविधा छ। यसको भाउ १५ लाख ४५ हजार रुपैयाँ पर्छ। यसैगरी पावर स्टेरिङ, एसी, बडी कलर बम्परलगायत विशेषता भएको इन्डिका भिटु एलएसको भाउ भने १६ लाख २५ हजार रुपैयाँ छ। टाटा इन्टिका भिटु एलएक्समा भने एसी, फ्रन्ट पावर विन्डो, हिटर, किलेस रिमोट लकिङ, अगाडि-पछाडि फग ल्याम्प, ब्लुटुथ कनेक्टिभिटी, अलोइ ह्विल्सलगायत विशेषता छन्। यसको भाउ भने १७ लाख ४५ हजार रुपैयाँ तोकिएको छ। यो कार १ लिटर डिजेलमा सहरी क्षेत्रमा १९ किलोमिटर दौडने कम्पनीले जनाएको छ। यो मोडलका सबै कारमो इन्जिन क्षमता १ हजार ३ सय ९६ सिसी छ। 
पेट्रोल इन्जिनयुक्त इन्डिका भिस्टाको जिएलएस मोडेलमा पावर स्टेरिङ, एसी, बडी कलर बम्पर, हिटरलगायत विशेषता छन्। यसको भाउ १८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यसको इन्जिन क्षमता १ हजार १ सय ७२ सिसी छ। इन्डिका जेटा जिएलएस मोडलको क्षमता भने १ हजार १ सय ९३ सिसी छ। यो मोडलमा पावर स्टेरिङ, एसी, हिटर, बडी कलर बम्परलगायत सुविधा छन्। यसको भाउ १५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यसले सहरी क्षेत्रमा १५ किलोमिटर माइलेज दिन्छ।
सेभ्रोले गाडीको बिक्रेता विजय मोटर्स बिक्रीतर्फका सहायक प्रबन्धक चन्द्रप्रसाद ढकालले उपभोक्ताको रोजाइमा ठूलाभन्दा साना गाडी नै पर्ने गरेको बताए। 'बाटोको अवस्थाले पनि होला साना गाडीमै धेरै आकर्षित छन्,' उनले भने, 'हाम्रो ब्रान्डका गाडीमा साना मोडलतर्फ नै ग्राहक आकर्षित देखिन्छ।' अमेरिकन जनरल मोटर्सको उत्पादन सेभ्रोलेले नेपाली बजारमा स्पार्क र युभा मोडलका साना र सस्ता गाडी बिक्री गरिरहेको छ। स्पार्कका एलएस र एलटी मोडेल उपलब्ध छन्। स्पार्क एलएसको भाउ १८ लाख ७० हजार रुपैयाँ र एलटीको भाउ १९ लाख ५० हजार रुपैयाँ पर्छ। स्पार्क एलएस भने बेसिक लेवलको मोडल हो। 
स्पार्कको एलटी मोडलमा भने म्युजिक सिस्टम, चारवटै ढोका पावर विन्डो, एसी, हिटरलगायत सुविधा छन्। १ हजार सिसीको स्पार्कले सहरी क्षेत्रमा १३ किलोमिटर माइलेज दिन्छ। 

कम्पनीले २१ लाख ७० हजारमा बिक्री गर्दै आएको युभा मोडल भने हाल १९ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ। यसमा एसी, पावर विन्डो, म्युजिक सिस्टमलगायत सुविधा छन्। १ हजार १ सय ५० सिसी इन्जिन क्षमताको यो मोडलले सहरी क्षेत्रमा १३ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। 
नेपाली बजारमा मारुती सुजुकीको गाडी बिक्री गर्ने सिजी अटोमोबाइल्सले भने १० लाख ९७ हजार रुपैयाँदेखिका कार बिक्री गर्छ। कम्पनीले कार-८०० को भाउ १० लाख ९७ हजार तोकेको हो। आफ्नै निजी सवारीकोरुप्मा भन्दा पनि भाडामा चलाउनेले यसलाई मन पराउने गरेका छन्। 
निजी सवारीकोरुपमा भने मारुतीको सबैभन्दा रुचाइएको सस्तो कार अल्टो हो। अल्टोको एसीलगायत सुविधा नभएको मोडलको भाउ १३ लाख ३९ हजार रुपैयाँ छ। यसको एसीयुक्त मोडलको भाउ भने १४ लाख ३९ हजार पर्छ। दुवै मोडलको इन्जिन क्षमता ८ सय सिसी छ। 
कम्पनीले अल्टोको के टेन भिएक्सआई मोडल पनि बिक्री गर्छ। यसको भाउ भने १६ लाख ९५ हजार पर्छ। यसको इन्जिन क्षमता भने १ हजार सिसी छ। यसमा एसी, किलेस लकिङ सिस्टम, फ्रन्ट पावर विन्डोलगायत सुविधा छन्। यसले सहरी क्षेत्रमा १५ किलोमिटरको माइलेज दिन्छ। 
कम्पनीले वागनआरको नयाँ मोडल पनि बजारमा ल्याएको छ। यसको भाउ भने १९ लाख ४१ हजार रुपैयाँ तोकिएको छ। यसमा पावर स्टेरिङ, पावर विन्डो, म्युजिक सिस्टमलगायत सुविधा छ। 
साना गाडी रुचाइएपछि सबैखाले कार आयातकर्ताले यस्ता गाडी ल्याउने गरेका छन्। फोर्ड कम्पनीको फिगो मोडल पनि सस्तो र छरितो गाडीमा पर्छ। यसको एलएक्सआई मोडलको भाउ १८ लाख ५० हजार रुपैयाँ पर्छ। यसमा पावर स्टेरिङ, पावर विन्डो, एसीलगायत सुविधा छन्।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...