Skip to main content

दूधमा भेटियो सोडा

काठमाडौं, असोज ९ - ललितपुरका दुइटा डेरी उद्योगले सोडा मिसिएको दूध उत्पादन गरिरहेको भेटिएको छ। सरकारी टोलीले अनुगमनका क्रममा सोमबार ललितपुरको चापागाउँस्थित नवप्रभात र राजधानी डेरीले सोडा मिसिएको दूध उत्पादन गरेको भेटेको हो।  बजार अनुगमनमा गएको टोलीले नवप्रभात डेरीमा प्रयोग गर्न राखिएको कच्चा दूध र राजधानी डेरीमा कच्चासँगै उत्पादित दूध परीक्षण गर्दा सोडाको मात्रा भेटेको हो। 

'हामीले टेस्ट किट लिएरै गएका थियौं,' टोलीमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले भने, 'किटमा कच्चा र उत्पादित दूध राखेर हेर्दा सोडाको मात्रा पाइयो।' यसअघिका अनुगमनमा सरकारी टोलीले यसरी स्थलगत रुपमै दूधको परीक्षण गर्ने गरेको थिएन। 
दूधमा सोडा मिसाइएको गुनासो आएपछि टोली 'टेस्ट किट' बोकेर डेरी पुगेको थियो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर, प्रहरी र उपभोक्ता अधिकारकर्मी थिए। सुरुमा नवप्रभात डेरीमा पुगेको टोलीले काभ्रे र चितवनबाट ल्याइएको कच्चा दूधको परीक्षण गरेको थियो। परीक्षणका क्रममा चितवनबाट ल्याइएको दूधमा सोडाको मात्रा नभेटिए पनि काभ्रेबाट ल्याइएको १ हजार ६ सय लिटरमा भने सोडाको मात्रा भेटियो। 'दूधमा सोडाको मात्रा नै हुनुहुँदैन,' सुवेदीले भने, 'परीक्षण गर्दा सोडाको मात्रा भेटिएपछि नष्ट गर्‍यौ।' सोडाको मात्रा भेटिएको १ हजार ६ सय लिटर दूध टोलीले नष्ट गरेर मुचुल्का उठाएको थियो। 


नवप्रभात डेरीले प्रभात ब्रान्डमा दूध उत्पादन गर्दै आएको छ। दूधमा सोडाको मात्रा भेटिएपछि डेरी सञ्चालक कमलप्रसाद हुमागाईंले किसानहरुले नै मिसाएको आरोप लगाएका थिए। अनुगमन टोलीले उनलाई सातदिने स्पष्टीकरण सोधेको छ। 'अहिले पहिलोपटक भएकाले डेरी बन्द नगराई स्पष्टीकरणमात्र सोधिएको हो,' सुवेदीले भने। 
चापागाउँकै राजधानी डेरीमा भने टोलीले उत्पादन भइसकेको दूधका प्याकेटमा समेत सोडाको मात्र भेटेको छ। राजधानी ब्रान्डमा दूध उत्पादन गर्दै आएको यो डेरीमा उत्पादित दूधको प्याकेट परीक्षण गर्दा सोडाको मात्रा भेटिएको हो। सोडाको मात्रा भेटिएपछि टोलीले २ सय ५३ क्रेट (२ हजार ५ सय ३० लिटर) दूध कम्पनीकै चिस्यान कक्षमा सिलबन्दी गरेको छ।

राजधानी डेरीका सञ्चालक कृष्णप्रसाद तिमल्सिनालाई पनि टोलीले सातदिने स्पष्टीकरण सोधेको छ।

यसैगरी, काभ्रेबाटै आएको २ हजार लिटर कच्चा दूधमा पनि सोडा पाइएपछि त्यसलाई नख्खु खोलामा नष्ट गरेको छ। 'खाद्य प्राविधिकहरुसमेत सहभागी टोलीले सोडा पाएपछि प्रहरीको रोहवरमा दूध नष्ट गरिएको हो,' टोलीमा सहभागी नागरिक न्यायिक उपभोक्ता मञ्चका महासचिव प्रकाश सुवेदीले भने, 'यसले डेरीहरुले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेको पुष्टि भएको छ।'

राजधानीका डेरी उद्योगहरुले दूध फाट्न नदिन सोडियमबाई कार्बोनेट (खाने सोडा) प्रयोग गर्ने गरेको पटक-पटक गुनासो आउने गरेको छ। किसानले पनि दूध नफटाउन यस्तो सोडा प्रयोग गर्ने गरेको उपभोक्तावादीले बताउँदै आएका छन्। गत वर्ष संसदको अर्थ समितिले डेरीहरुको अनुगमन गर्दा गोदाममा ठूलो मात्रामा सोडा राखिएको भेटिएको थियो।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...