Skip to main content

दसैंको किनमेल, आवश्यकताभन्दा धाक–धक्कु



तस्विर सौजन्य :  चुमन बस्नेत 
काठमाडौं, असोज २८ - अहिलेका धेरै सहरबासीले 'दसैं आयो, खाउँला पिउँला...' भन्दै औंला गन्न छाडिसके। सहरमा मात्र होइन, गाउँघरमा पनि पहिलेजस्तो दसैं कुरेर राम्रो लगाउने र मिठो खाने चलन परिवर्तन भइसकेको छ।

धेरै गाउँले युवाले अरब पुगेर वर्षेनी अरब रेमिटेन्स पठाउन थालेपछि राम्रो लाउन र मिठो खान परिवारले दसैं नै कुर्नुपर्दैन। वर्षेनी कामकाजी मध्यमवर्गीयको संख्या बढाइरहेको सहरले दसैंलाई पहिलाजस्तो स्वागत गर्दैन।
सरहदेखि गाउँसम्म दसैंको महत्व कम भएको आभास भए पनि दसैंअघि राजधानीका मुख्य बजार क्षेत्रमा साँझअघि खुट्टा टेकिनसक्नु भिड भइरहेको छ। सार्वजनिक विदा हुने शनिबारका दिनमा बन्द रहने पसल पनि यसबेला खुलेका मात्र छैनन्, ग्राहकले खचिखचाउ छन्।
आवश्यकता र रहर पूरा गर्न दसैं नकुर्ने संस्कृति जसरी विकास हुँदै गएको छ, त्यसैगरी दसैंका बेला देखाउनकै लागि भए पनि 'हेभी सपिङ कल्चर' पनि बढ्दो छ। आवश्यकताभन्दा बढी रहर र रहरभन्दा बढी देखासिकीले 'हेभी सपिङ कल्चर'लाई बढाएको हो।

'खासै किन्नै पर्ने त थिएन, छोराछोरीका लागि किनमेल गर्न आएकी,' खिचापोखरीस्थित महालक्ष्मी कम्प्लेक्समा छोराका लागि टिसर्ट छान्दै गरेकी कलंकीकी दुर्गा पराजुलीले भनिन्, 'अरुले नयाँ लुगा लगाएपछि छोराछोरीले रहर गरिहाल्छन्।' उनको भनाइमा अरुका छोराछोरीलाई बाबुआमाले दसैंमा नयाँ लुगा किनिदिएपछि आफ्नाले नकिनिदिए नरमाइले मान्ने भएकाले किनमेल गर्नैपर्ने अवस्था आएको हो।
आवश्यकता, रहर, बाध्यता वा देखासिकी जुनसुकै कारणले होस्, दसैंका बेला हुने किनमेलमा कमी आएको छैन। ५-७ वर्षअघिको तुलनामा किनमेल गर्ने चलनमा केही कमी आएको महसुस भएपछि दसैंका बेला हुने बिक्रीमा खासै कमी नआएको व्यापारीको अनुभव छ। 
'दसैंमा अरुबेलाभन्दा बिक्री निकै बढ्ने गरेको छ,' मल्टी ब्रान्ड सोरुम जी-सपका प्रोप्राइटर ध्रुवहरि ज्ञवालीले भने, 'अहिले ग्राहकले वर्षभर नै किनमेल गर्छन्, तर दसैंमा भने अलि बढी नै हुन्छ।' उनले रेमिटेन्स आउने क्रम बढेपछि वर्षभर किनमेल गर्ने बढेको बताए।

दसैंमा विदेशबाट आउने, सहरबाट घर जानेलगयातले किनमेल गर्ने संस्कृति बढेको उनले जानकारी दिए। ज्ञवालीका अनुसार दसैंका बेला १५ दिनजति व्यापार करिब ३० प्रतिशतले बढ्ने बताए। व्यापार बढ्ने भएपछि विभिन्न कम्पनीहरुले छुट, उपहारलगायत योजनासमेत ल्याउने गरेका छन्।
ग्राहकले यस्ता छुट र उपहार योजनाको लोभले पनि दसैंमा किनमेल गर्ने गरेका छन्। 'दसैंमा डिस्काउन्ट पाइन्छ, म त त्यसैले तत्काल नचाहिएका सामान पनि किनिराख्छु,' सातदोबाटोकी सरस्वती केसीले भनिन्, 'अरुबेला दसैंको जस्तो छुट दिँदैनन्।' 
न्युरोडको फस्ट उप्स क्लोथिङ स्टोरका बिक्रेता श्रीकृष्ण श्रेष्ठका अनुसार पछिल्ला वर्ष दसैंमा किनमेल गर्नेको संख्या भने घट्दै गएको छ। 'पहिलेजस्तो धेरैले किन्ने चलन चाहिँ कम भएको छ,' उनले भने, 'घटेपनि दसैंमै हो पसलमा बढी भिडभाड हुने।'

दसैंका बेला ग्राहकले क्रय क्षमताअनुसार सपिङ मल, डिपार्टमेन्ट स्टोरदेखि फुटपाथमा समेत किनमेल गर्ने गरेका छन्। 'दसैंका बेला चहलपहल बढ्छ,' न्युरोडको सडक किनारामा व्यापार गर्ने टीकारामा ओझाले भने, 'यसपटक खासै बढेको छैन।' उनले सडक किनारको व्यापार पनि दसैंमा चम्कने गरेको बताए।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...