Skip to main content

दाल–चामलमाभन्दा मदिरामा बढी छुट


काठमाडौं, असोज १६–दसैं–तिहारमा सहुलियत दिने भन्दै सरकारी संस्थानहरुले एकिकृतरुपमा सुरु गरेको सुपथ मूल्य पसलमा दाल, चामल, नुन, चिनीभान्दा मदिरामा धेरै छुट पाइने छ। 

संस्थानहरुले आफ्ना सिमित दैनिक उपभोग्य उत्पादनमा छुट दिएका छन्। तर, डिउटी फि्र सप समेत चलाउने नेसनल ट्रेडिङले भने अरु सामानको तुलनामा धेरैखाले मदिरामा छुट दिएको छ। 

नेपाली चार्डवार्डमा पश्चिमी शैलीको प्रभाव बढेको देखेर होला, कम्पनीले पनि आफुले बेच्ने ह्विस्की, ब्रान्डी र वाइनका विभिन्न ब्रान्डमा १० देखि २५ प्रतिशतसम्म छुट दिएको छ। कम्पनीले ह्विस्कीमा १० र ब्रान्डी एवं वाइनमा २५ प्रतिशत छुट दिएको छ। 

यत्ति मात्र हैन, ७५ हजारभन्दा बढीको मदिरा किन्नेले छ एकमुष्ट १४ प्रतिशत छुट पनि पाउने छन्। योभन्दा कम रकमको किन्नेले पनि १० प्रतिशत छुट पाउने छन्। हाइल्यान्ड गोल्ड, क्याटस, ह्यान्की ब्यानिस्टर, स्ट्यावार्ड, ह्वाइटमिस्सीलगायतका मदिरामा भने छुटको व्यवस्था छैन। 

सरकारी संस्थानहरुको सहभागितामा राजधानीको कालिमाटी, टेकु, भद्रकाली, थापाथली, कोटेश्वर र ललितपुर विशालबजारमा यस्ता पसल सुरु गरिएको छ।  यी पसलमा साल्ट टे्रडिङ, खाद्य संस्थान, नेशनल टे्रडिङ र दुग्ध विकास संस्थानले एकिकृतरुपमा उपभोग्य सामग्री राखेका छन्। 


कालिमाटीस्थित साल्ट ट्रेडिङको केन्द्रिय कार्यालय, टेकुस्थित नेसनल ट्रेडिङको केन्द्रिय कार्यालय, भद्रकालीस्थित नेसनल ट्रेडिङको बिक्री कक्ष, थापाथलीस्थित खाद्य संस्थानको अञ्चल कार्यालय, कोटेश्वरस्थित साल्ट ट्रेडिङ कार्यालय र पुल्चोकस्थित ललितपुर विशालबजारमा पसल राखिएका छन्। 

सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, तेल, दाल, पिठो, ग्यास, रेगुलेटरलगायतका सामग्री राखेको छ। कम्पनीले नुनमा २ र चिनीमा ५ रुपैयाँ छुट दिएको छ। यी पसलमा ग्राहकले चिनी ७१ रुपैयाँ र नुन १३ रुपैयाँमा किन्न सक्नेछन्। 

यसैगरी खाद्य संस्थानले ६ थरी चामलमा छुट दिएको छ। संस्थानले सबै चामल किलोमा २ रुपैयाँ घटाएर बिक्री गरेको हो। यी पसलमा ग्राहकले वास्मती चामल किलोको ६५, सोना मन्सुली किलोको ३४, जिरा मसिनो किलोको ४६, मकवानपुरे किलोको ३०, जापानी किलोको ४० र अमेरिकी चामल किलोको ४६ रुपैयाँमा किन्नसक्नेछन्। 

दुग्ध विकास संस्थानले भने ४२ उत्पादन सुपथ मूल्य पसलमा राखेको छ। ४२ वस्तुमध्ये संस्थानले घिउ भने लिटरमा १० रुपैयाँ छुट दिएको छ। अन्य वस्तुको भाउ भने पहिलेकै रहेको छ। नेसनल ट्रेडिङले मेसिनरी सामान, विद्युतिय सामान, मदिरालगायतका सामग्री पसलमा राखेको छ। कम्पनीले जेनेरेटरबाहेकका मेसिनरी सामानमा ४० प्रतिशत, अन्य घरायसी सामग्रीमा २० प्रतिशत, विद्युतिय सामग्रीमा २५ प्रतिशत छुट दिएको छ। 

मंगलबार राजधानीका ६ स्थानमा मात्र सुरु भएको सुपथ मूल्य पसल केही दिनभित्रै भक्तपुरमा पनि सुरु हुनेछ। यसैगरी नेसनल ट्रेडिङले आफ्ना कार्यालयहरु रहेका मुलुकभरका ६ वटा जिल्ला, खाद्य संस्थानले मुलुकका विभिन्न २२ स्थान र साल्ट ट्रेडिङले मुलुकभरका २१ स्थानमा आफ्ना सामग्रीमा राजधानीमा दिएको छुट दिने जनाएका छन्। 


Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...