Skip to main content

प्रमुख खाद्यान्न बालीको उत्पादन घट्यो


काठमाडौं-सरकारले यसवर्ष प्रमुख खाद्यान्न बालीको उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ। 
कृषि मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरि धान, मकै, कोदो र फापरको उत्पादन घट्ने जनाएको हो। मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले गँहु र जौको उत्पादन स्थितीको अहिले अनुमान गरिनसकिएको बताए। 'गत वर्षको तुलनामा मुख्य खाद्यान्न बालीको उत्पादनमा कमी आएपनि यसपाली खाद्यान्न अभावको स्थिती भने आउने छैन,' उनले भने, 'गत वर्ष धान र मकैको उत्पादन बढी भएको र हिउँदे बालीको उत्पादन बढ्ने देखिएकाले खाद्यान्न अभावको स्थिती सृजना हुनेछैन।' 
सरकारले धान, मकै, कोदो, फापर, गँहु र जौलाई मुख्य खाद्यान्न बालीमा समेटेको छ। मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष धानको उत्पादन गत वर्षको तुलनामा करिब ११ प्रतिशतले घट्नेछ। यसवर्ष करिब ४५ लाख ४ हजार टन धान उत्पादन हुने अनुमान छ। यो गतवर्षभन्दा करिब ५ लाख ६७ हजार टनले कम हो। गत वर्ष नेपालमा सबैभन्दा बढी धानको उत्पादन भएको थियो। यसले राष्ट्रिय आयमा कृषि क्षेत्रको योगदान समेत बढेको थियो।  
ढिलो गरि सुरु भएको र कमजोर मनसुनका कारण धानको उत्पादन घटेको मन्त्रालयले जनाएको छ। सामान्यतया जुन १० तारिखमा सुरु हुने मनसुन यसबर्ष ढिला सुरु भएकाले धान खेतीको क्षेत्रफल नै घटेको थियो। यसवर्ष धान खेती हुनेक कुल क्षेत्रफलमध्ये करिब १ लाख ११ हजार हेक्टर रोपाई नै हुन नसकेको मन्त्रालयले जनाएको छ। 

खडेरीका कारण ४० जिल्लामा यसवर्ष पोहोरको भन्दा उत्पादन घटेको छ। यसैगरी १५ जिल्लामा गतबर्षकै हाराहारीमा र  २० जिल्लामा भने बढी उत्पादन भएको छ। उन्नत जातका धानको खेती हुन थालेकाले क्षेत्रफल घटेपनि उत्पादनमा धेरै ह्रास नआएको मन्त्रालयले जनाएको छ।
उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैको उत्पादन पनि यसवर्ष गतवर्षको तुलनामा ८ प्रतिशत घटेको छ। यसवर्ष मकैको उत्पादन १९ लाख ९९ हजार टन मात्र भएको छ। गतवर्ष यो उत्पादन २१ लाख ८० हजार टन भएको थियो। मकैको खेती भएको क्षेत्रफलमा भने करिब साढे दुई प्रतिशत(२१ हजार हेक्टर) कमी आएको छ। 
खडेरीका कारण यसवर्ष मकैको उत्पादकत्वमा करिब ६ प्रतिशतलेे कमी आएको छ। यसले गर्दा मकैको उत्पादनमा कमी आएको हो। यो वर्ष मकैको उत्पादकत्व २३ सय ५२ किलो प्रति हेक्टर रहेको छ। यसैगरी यो वर्ष कोदोको उत्पादनमा करिब साढे २ प्रतिशतले कमी आएको छ। यसवर्ष कोदोको उत्पादन करिब ३ लाख ५ हजार टन हुने अनुमान मन्त्रालयको छ। गत वर्ष ३ लाख १५ हजार टन उत्पादन भएको थियो। कोदोमा भने उन्नत जातको बीउ लगाउने चलन नभएकाले उत्पादन घटेको मन्त्रालयले जनाएको छ।
यसवर्ष फाफरको उत्पादन भने केही बढेको मन्त्रालयको अनुमान छ। गत वर्षदेखि मुख्य खाद्यान्न बालीमा समावेश गरिएको फापरको करिब ५० जिल्लामा खेती भइरहेको छ। यसवर्ष करिब १० हजार ५६ टन फापर उत्पादनको अनुमान गरिएको छ। 
मन्त्रालयले मौसमले साथ नदिनुका साथै मलको अभावले पनि यसवर्ष उत्पादन घटेको जनाएको छ। बाढीपहिरो, डुवान, कटानलगायको समस्या यसवर्ष कम परेको मन्त्रालयले जनाएको। यसवर्ष करिब ५ सय हेक्टर जमिनमा मात्र डुबान, कटानलगायतका समस्या भएको मन्त्रालयले जनाएको छ। 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...