Skip to main content

अब हुवावेको नेटवर्कमा टेलिकमको मोबाइल

  • किर्तिपुर क्षेत्रका ९ वटा साइटबाट नयाँ नेटवर्क सेवा
  • जेडटिईका सबै बिटिएर हट्दै
  • कभरेज क्षेत्रफल र ब्याकअप क्षमतामा वृद्धि
  • गुणस्तर सुधार र सेवा विस्तार सजिलो
  • ४५ प्रतिशत टावर थ्रिजी प्रविधि चल्ने
मोबाइलको नेटवर्क सुधार गर्न नसक्दा आलोचना खेपिरहेको नेपाल टेलिकमले बुधबारदेखि राजधानीमा नयाँ नेटवर्कबाट सेवा सुरु गरेको छ।
सरकारी स्वामित्वको टेलिकमले राजधानीमा राखिएका पुराना मोबाइल टावर(बेस्ट ट्रान्सिभर स्टेसन-बिटिएस)लाई विस्थापित गर्दै नयाँ नेटवर्कबाट सेवा सुरु गरेको हो। कम्पनीले ६ वर्षअघि राजधानीमा स्थापना गरेका चिनियाँ दूरसञ्चार उपकरण निर्माता जेडटिईका बिटिएस हटाएर अर्को चिनियाँ कम्पनी हुवावेका बिटिएस जडान गरि सेवा सुरु गरेको हो।
टेलिकमले बुधबारदेखि राजधानीको चम्पादेवी, किर्तिपुर, पाँगा र  स्युचाटारमा हुवावे कम्पनीका बिटिएसमार्फत मोबाइल नेटवर्क सुरु गरेको छ। ‘हामीले किर्तिपुर क्षेत्रमा जेडटिईका बिटिएस हटाएर हुवावेका बिटिएसमार्फत सेवा सुरु गरेका हौ,’ टेलिकमको मोबाइल सेवा दिर्नेशनालयका प्रमुख सुरेन्द्र थिकेले भने, ‘नयाँ नेटवर्कबाट सेवा सुरु भएपछि पहिलेको जस्तो गुणस्तरमा समस्या देखिने छैन।’ टेलिकमले राजधानीभित्र किर्तिपुर क्षेत्रका ९ साइटबाट नयाँ नेटवर्कको विस्तार सुरु गरेको हो।
कम्पनीले उपत्यकाभित्रका सबै पुराना बिटिएस हटाएर नयाँ स्थापना गर्ने योजना अनुसार किर्तिपुर क्षेत्रबाट नयाँ नेटवर्क सुरु गरेको हो। थिकेले आगामी दुई महिनाभित्र उपत्यकाका सबै पुराना बिटिएर हटाएर नयाँ नेटवर्कमार्फत मोबाइल सेवा दिइने जानकारी दिए। टेलिकमले पुराना बिटिएस विस्थापित गरि नयाँ स्थापना गर्ने कार्य दुई चरणमा सम्पन्न गर्ने थिकेले बताए।

टेलिकमले सेवा विस्तार र गुणस्तर सुधार गर्ने योजना अन्तर्गत पुरानो नेटवर्कलाई विस्थापित गर्न थालेको हो। यसका लागि पहिलो चरणमा कम्पनीले २ सय ६५ साइटमा पुराना बिटिएस हटाएर नयाँ स्थापना कार्य अघि बढाएको थिकेले जानकारी दिए।
टेलिकमले दुई महिनाभित्र उपत्यकाभित्र सञ्चालित सबै दोस्रो पुस्ता(टुजी) र तेस्रो पुस्ता(थ्रिजी)का जिएसएम मोबाइल बिटिएसहरु हटाइसक्नेछ। हाल उपत्यकाभित्र दोस्रो पुस्ता(टुजी) जिएसएम मोबाइल प्रविधिका ६ सय १२ वटा बिटिएस सञ्चालनमा छन् । यसैगरी तेस्रो पुस्ता(थ्रिजी) जिएसएमका ७८ वटा बिटिएस छन् ।
टेलिकमले उपत्यका र पोखरा क्षेत्रमा ४८ लाख जिएसएम लाइन विस्तार गर्न अघि बढाएको महत्वकांक्षी योजना अन्तर्गत राजधानीमा नयाँ नेटवर्कबाट सेवा सुरु गरेको हो। यो योजनाका लागि कम्पनीले गत वर्ष हुवावेसाँग सम्झौता गरिसकेको छ । यही सम्झौता अनुरुप सेवा विस्तार र गुणस्तर सुधार गर्न कम्पनीले पुराना टावर हटाउने अभियान थालेको हो।
टेलिकमले एक महिना अघिदेखि नयाँ बिटिएस राखेर पुराना हटाउन काम सुरु गरेको थियो। नयाँ बिटिएसबाट सेवा सुरु गर्नुपूर्व कम्पनीले राजधानीको बबरमहल र सुन्धारामा कोर उपकरण स्थापना गरिसकेको छ। यस्ता उपकरण कम्पनीले उपत्यका बाहिरका हेटौडा, पोखरा र वुटवलमा पनि राख्ने कम्पनीको योजना छ। उपत्यकामा नयाँ नेटवर्क सुरु गर्ने क्रममा टेलिकमले विभिन्न राजधानीका दुई स्थानमा मोबाइल सेवाका ग्राहकको डाटाबेस रेकर्ड गर्ने उपकरण ‘होम लोकेसन रजिष्टर(एचएलआर)’ समेत स्थापना गरिसकेको छ।
टेलिकमका अनुसार हुवावेसाँगको सम्झौता अनुसार पुराना टावर हटाएर नयाँ राखिएका मध्ये ४५ प्रतिशत बिटिएस भने थ्रिजी प्रविधिका हुनेछन्। ‘अहिले भोइससागै डाटा सेवाको माग बढिरहेको छ,’ थिकेले भने, ‘त्यसलाई पूर्ति गर्न थ्रिजी सेवा चलाउन मिल्ने बिटिएसलाई पनि महत्व दिएका छौ।’
टेलिकमले पुराना टावर हटाएर नयाँ जडानसँगै उपत्यकाभित्र घना बस्ती बढेका ठाँउमा थप बिटिएस पनि राख्नेछ । टेलिकमले थप स्थानमा बिटिएस राखेर उपत्यकाभित्र ६ सय १२ बाट बढाएर १ हजारभन्दा बढी बनाउने योजना बनाएको छ।
टेलिकमका प्रवक्ता गुणकेसरी प्रधानका अनुसार पुरानाको तुलनामा नयाँ टावरको नेटवर्क कभरेज क्षेत्रफल बढी हुनेछ । यसैगरी ब्याट्रीको ब्याकअप क्षमता पनि धेरै हुनेछ । अहिलेका टावरको ब्याट्री ब्याकअप क्षमता ४ देखि ६ घण्टा भएकाले लामो लोडसेडिङ हुदा मोबाइल गुणस्तरमा समस्या हुने गरेको छ । नयाँ बिटिएस राखेपछि भने यस्तो ब्याकअप क्षमता लामो हुने प्रधानले जानकारी दिइन्।
‘नयाँ बिटिएस जडान भएपछि कभरेज, क्वालिटी र क्यापासिटी बढ्नेछ,’ उनले भनिन्, ‘गुणस्तरमा पहिलेभन्दा सुधार हुनेछ।’ नयाँ बिटिएस स्थापनासँगै उपत्यकाभित्र टेलिकमको जिएसएम मोबाइलको क्षमता पनि बढ्नेछ। हाल २० लाख क्षमता रहेकोमा यो दोब्बर हुने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार नयाँ बिटिएस स्थापनापछि उपत्यकाभित्र टुजी जिएसएमको क्षमता ३० लाख लाइन र थ्रिजी जिएसएमको क्षमता ८ लाख लाइन हुनेछ। टेलिकमले आगामी कात्तिकभित्र उपत्याकामा थप १२ लाख जिएसएम मोबाइल वितरणको लक्ष्य राखेको छ।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...