Skip to main content

कुन कुन सिमेन्ट मापदण्ड विपरित?

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पुरा नगर्ने १८ वटा सिमेन्ट उद्योगको उत्पादन र बिक्रीमा रोक लगाएको छ।
विभागले नमुना परीक्षणको क्रममा मापदण्ड पुरा नगरेको पाइएका दुइवटा र नेपाल गुणस्तर प्रमाण चिह्न(एनएस) नलिएका १६ वटा सिमेन्ट उद्योगको उत्पादनमा रोक लगाएको हो। विभागका महानिर्देशक रामआधार साहका अनुसार प्रायोगशाला परीक्षणका क्रममा आवश्यक मात्रामा स्ट्रेन्थ नपुगेका वुटवल सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्टको उत्पादन रोक्का गरिएको हो।
‘हामीले वुटवलले उत्पादन गर्ने निर्माण ब्रान्डको ओपिसी र शुभश्री जगदम्बाले उत्पादन गर्ने जगदम्बा ब्रान्डको पिएससी सिमेन्टको प्रयोगशाला परीक्षण गर्दा मापदण्ड अनुसार पाइएन,’ उनले भने, ‘मापदण्ड पुरा नगरेकाले दुवै उद्योगको उत्पादन रोक्का गर्ने निर्णय भएको हो।’ विभागले दुवै उद्योगले उत्पादन गरेका सिमेन्ट प्रयोगशालामा तीन दिन, सात दिन र २८ दिन राखेर यी सिमेन्टको  भारवहन क्षमता परीक्षण गरिएको थियो।
‘तीनै पटकको परीक्षणमा यी सिमेन्टको स्ट्रेन्थ पुगेन,’ साहले भने, ‘स्ट्रेन्थ नपुगेकाले हामीले उनीहरुलाई दिएको एनएस खोसेर उत्पादन रोक्का राखेका हौ।’ विभागले यी उद्योगलाई भने एनएस दिइसकेको थियो। गुणस्तर ऐन अनुसार एनएस नलिइकन सिमेन्ट उत्पादन गर्न पाइदैन। ऐन अनुसार विभागले मापदण्ड पुरा नगर्ने उद्योगको एनएस खोस्न सक्ने अधिकार छ।
यसैगरी ऐनले अनिवार्य गरेको एनएस लिने प्रावधान पुरा नगरी सिमेन्ट उत्पादन गरि बिक्री गरिरहेका १६ उद्योगको पनि बिक्री रोक्का राखेको छ। विभागले सिजी सिमेन्ट, रोल्पा सिमेन्ट, अरनिको सिमेन्टका दुइवटै फ्याक्ट्री, घोराही सिमेन्ट, इन्टरनेसनल सिमेन्ट, एमजेपी सिमेन्ट, मारुती सिमेन्ट, कैलाश सिमेन्ट, स्टार सिमेन्ट, कृष्ण सिमेन्ट, केपी सिमेन्ट, श्री सिमेन्ट, ओम सिमेन्ट र इस्ट्रन कसमस सिमेन्टको उत्पादन रोक्का गर्न पत्राचार गरेको छ।

नेपाल सरकारले मापदण्ड पुरा गर्ने सिमेन्टहरुलाई नेपाल गुणस्तर प्रमाण चिह्न(एनएस) दिएर मात्र उत्पादन गर्नुपर्ने नियम बनाएको छ। सिमेन्ट उद्योगमा एनएस अनिवार्य भएपनि आधाभन्दा बढी सिमेन्ट उद्योगले एनएस नलिइकन उत्पादन बजारमा ल्याइरहेका छन्। सिमेन्ट उत्पादकहरुका अनुसार नेपालमा हाल ४२ वटा उद्योगले नियमित उत्पादन गरिरहेका छन्।
विभागले पटक–पटक सूचना जारी गरेर गुणस्तर चिह्न लिन आग्रह गर्दा पनि अटेर गरेकाले कारबाही गरिएको साहले बताए। ‘हामीले सार्वजनिक सूचना जारी गरेर आग्रह गर्‍यौ,’ उनले भने, ‘उद्योगलाई पत्राचार पनि गरियो तर अटेर भएकाले कारबाही गर्न बाध्य भएका हौ।’
गुणस्तर ऐनमा एनएस लिने प्रकृया सुरु गरेपछि उत्पादन गर्न पाउने छुट दिइएकाले पनि धेरैले विभागमा निवेदन दिएर उत्पादन गर्ने गरेका छन्। एनएस चिह्न लिनका लागि मापदण्ड अनुसार प्रयोगशाला र जनशक्ति भएर मात्र पुग्दैन । उत्पादिन सिमेन्टको कारखाना र बजारबाट ल्याइएको नमुदा तीन पटकसम्म परीक्षण गर्दा गुणस्तरीय पाइएमा मात्र उद्योगले एनएस चिह्न पाउने छन्।
सरकारले सिमेन्ट सहित  फलामे छड, जिआई वायर, कर्कट जस्तापाता, ड्राइसेल एन्ड ब्याट्री र एलपिजी ग्यास सिलिन्डर र बिजुलीको तारमा एनएस अनिवार्य गरेको छ। अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट(ओपिसी)का लागि विभागले एनएस–४९, पोजोलोना पोर्टल्यान्ड सिमेन्ट(पिपिसी)का लागि एनएस–३८५ र पोर्टल्यान्ड स्ल्याग सिमेन्ट(पिएससी)का लागि एनएस–३४९ चिह्न दिने गरेको छ ।
नेपालमा बार्षिक २५ लाख टन सिमेन्ट खपत हुने अनुमान छ। व्यवसायीहरुका अनुसार नेपालमा बार्षिक १५ देखी २० प्रतिशत सिमेन्ट खपत बढ्दो छ। नेपाली क्लिंकरबाट उत्पादित सिमेन्टले मागको करिब २५ प्रतिशत मात्र माग पूर्ति गरिरहेका छन्। अहिले पनि भारतबाट नेपालमा ३५ प्रतिशतसम्म सिमेन्ट आउने गरेको छ।
गुणस्तर विभागले समयमा नविकरण नगराएको भन्दै अन्य २१ उद्योगको एनएस चिह्न पनि खोस्ने निर्णय गरेको छ। विभागले एसियन थाई फुड्स, बाबा पेन्टस्, जास्मिन पेन्टस्, कमला रोलिङ मिल्स, गोरखा ब्रुअरी, मारुती नन्दन रोलिङ मिल्स, यती प्लास्टिक, यती पेन्टस्, पशुपति खाद्य तेल उद्योग, प्रिमियर वायर, वन्दना स्टिलस्, भगवती रोलिङ मिल्स, नेपाल पेन्ट, डण्डन प्लास्टिक, गोल्डन ब्याट्री, डेल्टा केबल, पटवा केबल, इन्टरटेक पाइप एन्ड फिडिङ्स्, नेपाल सालिमार सिमेन्ट र कसमस सिमेन्टको एनएस खोस्ने निर्णय गरेको हो।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...