Skip to main content

मोटरमा मध्यम वर्ग

सूचना प्रविधि सम्बन्धि काम गर्ने नेपाल सर्टिफाइङ कम्पनी चलाउने नारायण न्यौपानको सपना थियो–पहिले काठमाडौंमा घडेरी जोड्ने, घर बनाउने अनि कार चढ्ने। यो सपना पुरा गर्न उनले आम्दानी बढाउनु पर्ने भयो। आम्दानीका लागि थप खटेर मेहनत गर्नु जरुरी थियो।
आम्दानी बढाउन काठमाडौंको सार्वजनिक यातायात उनलाई तगारो बन्यो। ‘भाडाका गाडी चढेर भनेको समयमा कतै पुग्न सकिएन,’ न्यौपाने भन्छन्, ‘समयमा पुग्नका लागि बाइक किने।’ बाइक किनेर आफ्नो सानो पुँजीको व्यवसायलाई बढाउन थालेका न्यौपानेलाई केही वर्षपछि बाइकको सवारीले पनि तगारो बन्यो।
‘ग्राहकले भनेका बेला उनीहरुले चाहेकै स्थानमा सेवा दिनुपर्ने भयो,’ न्यौपानेले अनुभव सुनाए, ‘यसका लागि कहिले काही तीन–चार जना सँगै जानुपर्ने, कहिले सामान लानु पर्ने भयो।’ अब बाइकले काम चल्न नसक्ने भयो। जब बाइकका कारण हातमा आएको काम फुत्कन थाल्यो, न्यौपानेले आफ्नो पुरानो सपना परिवर्तन गर्न बाध्य भए।

‘राम्रो घरका लागि आम्दानी बढाउनु जरुरी थियो, बाइक चढेर मात्र आम्दानी बढाउन नसकिने भएपछि पहिले घर–घडेरी जोड्ने सपनालाई पछि सारेर गाडी किने,’ दुइवर्ष अघि सुजुकी ए–स्टार गाडी किनेका न्यौपानेले भने। दुइवर्ष अघि गाडी किनेका उनले हालै राजधानीभित्रै घर पनि किनिसके।
‘पहिले गाडी पहिलो आवश्यकता होइन जस्तो लाग्थ्यो, तर घरभन्दा गाडी नै पहिला किन्नुपर्ने भयो,’ न्यौपाने भन्छन्, ‘आम्दानी बढाउन पनि गाडी आवश्यक पर्दो रहेछ।’ केही वर्षअघिसम्म विलासिताका लागि मात्र गाडी प्रयोग हुन्छ भन्ने मान्यता थियो। गाडीले आम्दानी बढाउने कल्पना गर्नेहरु एकदमै कम थिए। बरु गाडी धेरै पैसा कमाउनेका लागि खर्च गर्ने माध्यम र सान देखाउन साधन बनेको थियो।
अहिले भने न्यौपानेको जस्तै सोच परिवर्तन गर्नेहरु धेरै छन्। पहिले विलासिताको वस्तु मान्नेहरु अहिले गाडीलाई आम्दानी बढाउने र समय बचत गर्ने माध्यम मान्नेहरु बढेका छन्। पहिले बाइक चढ्ने मध्यम वर्ग धमाधम गाडी चढ्न थालेपछि अहिले मोटर सान होइन, सहयोगी साधन बनेको छ। मोटरसाइकलको तुलनामा बढी सुरक्षित र प्रतिष्ठा समेत प्राप्त हुने भएपछि मध्यमवर्गको आकर्षण कारमा बढेको छ। वित्तिय संस्थाले सवारी साधन कर्जा सजिलो बनाइदिएकाले मध्यम वर्गका लागि मोटर किन्न सजिलो पनि भएको छ।
‘संसारभर नै मोटर चढ्ने मध्यम वर्गले नै हो,’ टाटाको बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहाल भन्छन्, ‘नेपालमा पनि पछिल्ला वर्षहरुमा मध्यम वर्गको रोजाइमा गाडी पर्न थालेको छ।’ उनको अनुभवमा आम्दानी बढाउन र पेसाकर्मीलाई पेसागत कार्यक्षमता बढाउन गाडी सहयोगी बन्नसक्छ। ‘हामीसँग गाडी किनेर आम्दानी बढाउने र कार्यक्षमता विस्तार गर्नेहरु धेरै छन्,’ उनले भने, ‘यस्ता उदाहरण हामी प्रसस्त देख्न सक्छौ।’
गाडीले विशेष गरि कामकाजीहरुलाई सजिलो पारिदिएको छ। विभिन्न कम्पनीले आफ्ना कर्मचारी कामदारलाई दिने सुविधाले समेत गाडी चढ्ने मध्यम वर्ग बढ्दो छ। सहुलियत मूल्य, वित्तिय संस्थाबाट सजिलोसँग पाइने किस्ताबन्दी सुविधाले गर्दा गाडी चढ्नेहरु बढिरहेका छन्। ‘महिनाको २० हजारसम्म किस्ता तिर्न सक्ने व्यक्ति पनि गाडीधनी बन्नसक्छ,’ दाहाल भन्छन्, ‘गाडी चढ्नु भनेको व्यक्तिको आर्थिक विकास हुनु हो, यसको बिक्री बढ्नु भनेको मुलुकले आर्थिक गति लिनु हो।’
कुमारी बैंकबाट जागिर छाडेर आफ्नै पारिवारिक व्यवसाय गरिरहेका मिजास पोखरेलले सुरक्षात्मक हिसाबले कार बाइकभन्दा राम्रो भएको बताए। ‘बाइकभन्दा सुरक्षात्मक हिसाबले पनि गाडी उपयुक्त भएकाले सवारीका लागि यो उपयुक्त छ,’ स्कोडाको र्‍यापिड मोडलको गाडी चढिरहेका उनले भने, ‘गाडीले कामकाजलाई सजिलो बनाउँछ।’
बैंक, वित्तिय संस्था, गैरसरकारी संस्था र आफ्नै व्यवसायमा सम्लग्नहरु गाडी किन्ने र चढ्ने हैसियतमा देखिएका छन्। ‘गाडी चढ्नेहरु बढ्दैछन्, तर आझै पनि धेरै नेपाली यातायातको पहुँच बाहिर छन्,’ नाडाका अध्यक्ष शेखर गोल्छा भन्छन्, ‘अहिले गाडी आवश्यक हो भन्ने धारणा चाही विकास भइरहेको छ।’ महँगो मूल्यका गाडी चढ्ने कम भएपनि सस्तो मूल्यका, साना र छरिता गाडी चढ्नेहरु बढिरेहका छन्। यसैका कारणले नेपाली बजारमा ह्याचब्याक र सेडान समूहका गाडी धेरै बिक्री हुने गरेका छन्।
कामकाजी र मध्यमवर्गले १५ लाखदेखि ३० लाख रुपैयाँसम्मका गाडी रोज्ने गरेका छन्। टाटा, मारुती, सुजुकी, हुन्डाई, फोर्ड, पेरोडुआ, स्कोडा, महिन्द्रालगायतका ब्रान्डहरुले नेपालमा मध्यमवर्ग लक्षित गाडी भित्र्याइरहका छन्। हालैमात्र जापानी कम्पनी टोयोटाले पनि मध्यमवर्ग लक्षित सबैभन्दा सस्तो मोडल इटियोस बजारमा ल्याएको छ। 
मध्यम वर्गले गाडी चढ्न आकर्षित हुनुमा बढ्दो धुँवा, धुलोको समस्या समेत कारण हो। मोटरसाइकलमा ट्राफिक जामको समस्या गाडीको तुलनामा धेरै भोग्नु नपरेपनि प्रदुषणबाट भने बाच्न सकिन्छ। यसले गर्दा पनि धेरैले गाडी रोज्ने गरेका छन्।
कामका लागि विभिन्न स्थानमा जादा बाइको साटो गाडी चढ्नेप्रतिको हेराई नै फरक पर्ने भएकाले पनि मध्यम वर्गको रोजाइमा गडी पर्ने गरेको हो। ‘बाइक चढेर जादा र गाडी चढेर जादा हेर्ने नजर फरक पर्दो रहेछ,’ प्रविधि व्यवसायी न्यौपाने भन्छन्, ‘आफ्नो व्यवसाय प्रवद्र्धनका लागि पनि गाडी आवश्यक पर्दो रहेछ।’


Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...