Skip to main content

बर्ड फ्लुले बढारिदै अर्थतन्त्र

अघिल्लो वर्षको भदौमा भोजका लागि दैनिक जसो बुकिङ हुने नक्सालस्थित स्टार भेन्यु यसपाली भने सुनसान छ। भदौ लागेपछि मुस्किलले दुई–चार दिन साना खाले भोजको बन्दबस्तीमा व्यस्त भएका सञ्चालक दीपक चापागाई अहिले फुर्सदमा छन्।

‘पर्सिका लागि एउटा सानो पार्टीको अर्डर आएको छ,’ शुक्रबार दिउँसो उनले भने, ‘त्यससमा पनि खासै मासुको मेन्यु छैन।’ गत वर्ष यसबेला उनको पार्टी प्यालेस तीजको दर कार्यक्रमदेखि विभिन्न खाले भोजभतेरका लागि व्यस्त थियो। ती पार्टीहरुमा चिकेन ‘आइटम’को मेन्यु छुटेका थिएनन्।

‘यसपाली पार्टी नै भएका छैनन्, भएकामा पनि चिकेन आइटमको मेन्यु हुदैहुदैन,’ उनले भने, ‘बर्ड फलुको हल्ला भएपछि पार्टी प्यालेसमा कार्यक्रम हुनै छाडे, भएकाले पनि चिकेन राख्दैनन्।’ राजधानीभित्रै बर्ड फ्लु देखिएपछि स्टार भेन्यु मात्र होइन यहाका सबैजसो पार्टी प्यालेसमा हुने भोजभतेरमा चिकेन आइटम विरलै देखिन थालेको छ। ‘चिकेन कै कारण पार्टी प्यालेसको व्यापार आधा कम भएको छ,’ चापागाई भन्छन्, ‘चिकेन प्रयोग नहुने भएपछि तरकारी, माछाजस्ता कुराको भाउ ह्वात्तै बढेको छ।’
......


बानेश्वरस्थित आइकालु मिट सेन्टरमा दिनैपिच्छे बिहान बिहान कुखुराको मासु किन्ने ग्राहकको भिड लाग्थ्यो। गर्मी महिनामा यस्ता ग्राहकको भिड अझै बढ्थ्यो। त्यस क्षेत्रमा चर्चित पसल भएकाले टाढा–टाढाबाट पनि ग्राहक मासु लिन आउने गर्थे। तिनीहरु निक्कै बेर कुरेर पनि मासु लाने गर्थे।

एक महिनादेखि यो पसल सुनसान जस्तै छ। सातामा एक–दुई दिन केही ग्राहक खसिको मासु लिन आउछन्। अरुबेला मासु बनाउन र बिक्री गर्न भ्याइनभ्याई हुने यहाका कामदारले अहिले धेरै समय फुर्सदमा बिताइरहेका छन्। ‘बर्ड फ्लु सुरु भएपछि हामीले कुखुराको मासु बेचेका छैनौ,’ पसलका क्यासियर रोहित अधिकारीले भने, ‘चिकेन नबेचेपछि ८० प्रतिशत कारोबार घटेको छ।’

गर्मी मौसममा यसैपनि खसीको मासु कम बिक्री हुन्छ। त्यसमाथी विभिन्न खाले स्वास्थ्य समस्याका कारण धेरै राजधानीबासीले ‘रेड मिट’ रुचाउदैनन्। कुखुराको मासु बिक्री गर्ने अवस्था नहुन्जेल कारोबार यस्तै हुने अधिकारीको अनुमान छ। ‘सरकारले चाडै नियन्त्रण गरेर समस्या समाधान नगरे कारोबार राम्रो हुदैन,’ उनले भने।

.......
राजधानीका विभिन्न क्षेत्रमा चलिरहेका रेष्टुरेन्टले अहिले चिकेन परिकार बनाउन छाडिसकेका छन्। चिकेनको साटो अन्य परिकार मात्र बनाउन थालेपछि यी रेष्टुरेन्टमा ग्राहकको संख्यामा कमी आउन थालिसकेको छ। ठमेललगायतका पर्यटक बढी जाने क्षेत्रका रेष्टुरेन्टहरुले भने थाइल्यान्डबाट चिकेन झिकाएर चिकेनका परिकार बनाइरहेका छन्।

‘अहिले नेपाली ग्राहक लक्षित धेरै रेष्टुरेन्टमा चिकेन आइटम नै पाक्न छाडिसक्यो,’ रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल(रेबान)का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ भन्छन्, ‘पर्यटक लक्षितमा भने थाइल्यान्डको चिकेन पाक्छ।’ ट्राफिक प्रहरीले चलाएको ‘मापसे’ अभियानले घटेको रेष्टुरेन्टको कारोबार बर्ड फ्लुले थप घटाएको हो। ‘बर्ड फ्लुले त रेष्टुरेन्टको कारोबार ध्वस्त नै बनाउने भयो,’ उनी भन्छन्।

......

पछिल्लो पटक राजधानी सहित मुलुकका विभिन्न क्षेत्रमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रत्यक्षरुपमा कुखुरा व्यवसायीले ठूलो घाटा बेहोरेका छन्। यस क्षेत्रमा लगानी गरेकाको लगानी जोखिममा परेको छ भने सयौंले रोजगारी गुमाइसकेका छन्। कुखुरा व्यवसायीले हालसम्म १० अर्बभन्दा बढी गुमाइसकेको नेपाल पंक्षी महासंघका उपाध्यक्ष नारायणहरि खत्रीको अनुमान छ। 

कुखुरा व्यवसायीले भोगेको प्रत्यक्ष घाटासँगै बर्ड फ्लुका कारण मुलुकका अरु व्यवसायी क्षेत्रमा समेत प्रत्यक्ष असर परेका उदाहरण हुन्–रेष्टुरेन्ट, पार्टी प्यालेस र होटलहरु। यसले मुलुकको समग्र अर्थतन्त्रलाई नै पछाडी धकेल्न सक्ने अर्थशास्त्रीहरु बताउछन्। बर्ड फ्लुका कारण नेपालभित्रको कारोबार घट्ने र ठूला होटलहरुले बाहिरबाट कुखुराको मासु आयात गर्नुपर्ने भएपछि विदेशी मुद्रा बाहिरिने र व्यपारघाटा अझ बढ्ने सम्भवना समेत बढेको छ।

विहिबार मात्र साउदी अरेबियाले बर्ड फ्लुको कारण देखाउदै आफ्ना नागरिकलाई नेपाल नजान ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। ‘यस्ता खाले प्रोपोगान्डाले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जान्छ,’ होटल एसोसिएन नेपाल(हान)का अध्यक्ष श्याम सुन्दरलाल कक्षपती भन्छन्, ‘यसतर्फ समयमै ध्यान दिनु जरुरी छ।’ बर्ड फ्लुकै कारण अहिले बुकिङ भइसकेका होटलको बुकिङ रद्द भएमा त्यसको ठूलो असर पर्नसक्ने उनले बताए।

‘बर्ड फ्लुका कारण पोल्ट्रीमा देखिने असर पर्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसले बैंकिङ क्षेत्रलाई समेत नकारात्मक असर पार्नेछ।’ उनले घरजग्गा क्षेत्रमा आएको मन्दीका कारण अफ्ट्यारोमा परेको वित्तिय प्रणालीमा बर्ड फ्लुुले थप नकारात्मक असर पार्ने बताए। ‘वित्तिय क्षेत्र घरजग्गाको समस्याबाट भर्खर माथि उठ्न लागेको थियो,’ आचार्यले भने, ‘बर्ड फ्लुले थप समस्या पार्ने भयो।’

बर्ड फ्लुको ‘चेन इफेक्ट’ दाना उद्योग, रोजागरी, वैदेशिक व्यापार, व्यापार घाटालगायतमा पर्ने आचार्यको विष्लेषण छ। ‘यसले उपभोक्तालाई महंगी समेत थप्नेछ,’ उनले भने, ‘कुखुराको मासुको विकल्पकारुपमा रहेका वस्तुको भाउ बढ्नेछ, यसको असर खसी र माछामा देखिइसकेको छ।’

राजधानीमा हाल दैनिक ३१ टन माछा खपत भइरहेको छ। त्यसमा ३० टन जति भारतबाट आउँछ। यसैगरी राजधानीमा खपत हुने खसीमध्ये सबैभन्दा धेरै भारतबाट आयात हुन्छ। यसले गर्दा नेपालको व्यापार घाटा उच्च हुने सम्भावना रहेको आचार्यले बताए। कृषि क्षेत्रले सिंधै कर नतिरे पनि यससँग सम्बन्धित अन्य क्षेत्रले कर तिर्ने भएकाले राजस्वमा समेत यसको असर देखिने आचार्यले बताए।

......
व्यवसायीहरुका अनुसार पोल्ट्री क्षेत्रले मात्र हालसम्म १० अर्बभन्दा बढीको घाटा बेहोरी सकेको छ। ‘१० अर्ब बढीको क्षती भइसकेको छ,’ महासंघका उपाध्यक्ष खत्रीले भने, ‘उपत्याकाभित्र कुल खपतको तीन प्रतिशत खपत पनि छैन।’ दैनिक उपत्यकाभित्र २ लाख किलो कुखुराको मासु खपत हुने गरेको थियो। अहिले भने यो मात्रा एकदमै न्यून रहेको उनले बताए।

बर्ड फ्लु नियन्त्रण अभियानका प्रवक्ता डा. प्रदीप भट्टराईका अनुसार हालसम्म करिब १४ लाख कुखुरा नष्ट गरिसकिएको छ। यसैगरी करिब १६ लाख अण्डा र ९३ हजार किलो दाना नष्ट गरिएको छ। संक्रमित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर सरकारले बर्ड फ्लु नियन्त्रण गरिरहेको छ। सरकारले बर्ड फ्लु नियन्त्रण गर्न नष्ट गरिएका प्रति कुखुराको १ सय ३० रुपैयाँ क्षतीपूर्ति दिदै आएको छ।

नेपालमा पोल्ट्री क्षेत्रमा मात्र करिब ६० अर्बको लगानी भएको छ। यस क्षेत्रमा १ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। दुई लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको व्यवसायीहरु बताउछन्।

बर्ड फ्लुकै कारण रेष्टुरेन्ट व्यवसाय अहिले १० प्रतिशत कारोबारमा सिमिति भएको रेबान अध्यक्ष श्रेष्ठ बताउछन्। ‘मापसेले ५० प्रतिशत कारोबार घटेको थियो,’ उनले भने, ‘स्वदेशी ग्राहक मात्र आउने रेष्टुरेन्टको कारोबार बर्ड फ्लुले ४० प्रतिशत घटायो।’ उपत्यकाभित्र मात्र २ हजारभन्दा बढी रेष्टुरेन्ट सञ्चालनमा छन्। रेष्टुरेन्ट क्षेत्रमा करिब १० अर्ब लगानी भएको श्रेष्ठले बताए। यी रेष्टुरेन्टमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।




Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु