Skip to main content

काठमाडौंलाई कोलोराडोबाट तरकारी अर्डर

अमेरिका बस्ने छोरासँग गफ गर्दा तरकारी सकिएको कुरा भयो भने एकै छिनमा उनीहरुको घरैमा तरकारी आइपुग्छ। यसरी घरैमा आइपुगेको तरकारीका लागि उनीहरुले पैसा समेत तिर्नुपर्दैन।
कपन निवासी कृष्णप्रसाद र भगवती पन्त दम्पतीका लागि यस्तो घटना पहिले नौलो हुन्थ्यो। अहिले उनीहरुलाई यस्तो घटना नौलो लाग्न छाडेको छ। गएको एक वर्षदेखि त प्रत्येक साता जस्तो उनीहरुले थाहै नपाई विभिन्न खाले तरकारी र फलफूल घरमा आइपुग्छ।
‘डोरबेल’ बज्दा ढोका खोल्न पुगेका पन्तले धेरैपल्ट तरकारी र फलफूलको पोको लिएर आएको मान्छे भेट्छन्। पोको लिन्छन् र मुसुक्क हासेर भान्सामा पुर्‍याउछन्। अमेरिकाको कोलोराडोमा बस्ने छोरो कञ्चनलाई सुनाउदा पन्तको घरमा कसरी विनापैसाको तरकारी आइपुग्छ त? ‘अनलाइन सपिङबाट,’ पन्तको सहज जवाफ छ, ‘उतैबाट पैसा तिरेर अनलाइन सपबाट डेलिभरी गराइदिन्छ।’
पन्तका छोरा कञ्चनले करिब एक वर्षदेखि मेट्रो तरकारी डटकमबाट कोलोराडोमै बसेर तरकारी खरिद गरिरहेका छन्। उनले उतैबाट ‘पेपाल’ कार्डबाट पैसा तिरिदिन्छन् अनि कपनसम्म तरकारी पुर्‍याउने अर्डर दिन्छन्। ‘उहा हाम्रो नियमित ग्राहक बन्नुभएको छ,’ मेट्रो तरकारीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले भने, ‘उहाले कोलोराडोबाटै सधै अर्डर र पे गर्नुहुन्छ।’
चार वर्षदेखि अष्ट्रेलिया बस्तै आएकी दाङकी सिर्जना चौधरीले यसपालीको रक्षाबन्धनका दिन काठमाडौं बस्ने भाई आर्यनलाई राखी उपहार दिइन्। उनले रक्षाबन्धनकै दिन आइपुग्ने गरि उतैबाट उपहार र राखी पठाएकी होइनन्। उसो भए त्यसै दिन आर्यनले कसरी दिदीको उपहार पाए त? ‘भाटभटेनी अनलाइनबाट किनेर होम डेलिभरी गराइदिनु भएछ,’ निष्ट कलेजमा ११ कक्षामा अध्ययनरत आर्यनले भने, ‘दिदीले यसर सप्राइज दिनुभएको धेरैपल्ट भइसक्यो।’
काठमाडौंमा डेरामा बस्ने आर्यनले फलफूल, तरकारी, मिठाइलगायतका कुरा किन्न अल्छि गर्न भनेर उनकी दिदी सिर्जनाले आफै विभिन्न नेपाली अनलाइन पसलमार्फन किनेर पठाइदिने गरेकी छिन्। ‘कति कुरा मलाई थाहा नै नभइकन दिदीले पठाइदिनुहुन्छ,’ आर्यनले भने, ‘कहिले घरमै डेलिभरी गर्ने मान्छे आएपछि थाहा हुन्छ, कहिले फोन आएपछि थाहा पाउँछु।’
पन्त दम्पती र आर्यनको जस्तै थाहै नपाई घरमा तरकारी, फलफूल, उपहार र दैनिक उपभोगका सामान आइपुगेको अनुभव गर्ने नेपाली धेरै छन्। दिनानुदिन यस्तो अनुभवनमा व्यस्त हुनेको संख्या बढ्दो छ। ‘हाम्रो भाइले त तीन–चार वर्षदेखि यसैगरी सामान पठाउने गरेको छ,’ कञ्चनकी दिदी कल्पना पन्तले भनिन्, ‘तरकारी, फलफूल समेत अनलाइनबाटै किन्न पाइन थालेपछि, बुवा–आमालाई उतैबाट अर्डर गरेर पठाइदिने गरेको छ।’
दैनिक उपभोग्य सामग्री, तरकारी, कपडा, घरायसी सामान, किताबजस्ता वस्तु मात्र होइन होटल–रेष्टुरेन्टले समेत अनलाइनमार्फत कारोबार गर्न थालेपछि विदेशबाटै अर्डर गर्नेहरु बढेका हुन्। अनलाइनबाट कारोबार गर्नेले पेपाल, मास्टरलगायतका ग्लोबल पे–कार्डमार्फत भुक्तानी लिने सुविधा दिएकाले विदेशबाट अर्डर गर्ने बढेका हुन्।
‘नेपालभित्रैबाट अर्डर गर्नेभन्दा बाहिरबाट गर्ने धेरै हुन थालेका छन्,’ भाटभटेनी अनलाइनकी अपरेसन अफिसर सुनिता श्रेष्ठले भनिन्, ‘अनलाइन भुक्तानी गर्न विदेशबाट सजिलो हुने भएकाले धेरै अर्डर बाहिरबाट आएको हो।’ उनका अनुसार यसरी अर्डर गर्नेमा युरोप–अमेरिकामा बस्ने नेपाली धेरै हुने गर्छन्। खाडी मुलुक र मलेसिया तिर काम गर्न जानेहरुको संख्या भने एकदमै नगन्य रहेको छ।
‘युरोप–अमेरिकामा शिक्षित नेपालीको बाहुल्य रहेकाले पनि यस्तो भएको हुनसक्छ,’ श्रेष्ठले भनिन्, ‘उतातिर बस्नेहरु अनलाइन भुक्तानीमा पनि अभ्यस्त भएका हुन्छन्।’ उनका अनुसार विदेशबाट अर्डर गर्नेहरुले ग्रोसरी, मिठाई, उपहार, तयारी पोसाक, विद्युतिय सामग्री, घरायसी सामानलगायतको अर्डर धेरै गर्ने गरेका छन्।
मुन्चा डटकम, ठमेल डटकमलगायतका पुराना अनलाइन पसलदेखि नेपाली बजारमा केही वर्षअघिदेखि सञ्चालनमा आएक करिब दुई दर्जन कम्पनीले यस्तो सुविधा दिइरहेका छन्। विभिन्न ठूला व्यापारीक घरानाले चलाएका विभिन्न खाले पसलहरुले पनि अनलाइनमार्फत कारोबार गर्न थालेका छन्। यी कम्पनीहरुले चलाएका अनलाइन पसलमा विदेशमा बस्ने नेपालीको अर्डर धेरै हुने गरेको छ।


Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...