Skip to main content

टेलिफोन कम्पनीले कति तिरे कर?

सरकारले गत वर्ष दूरसञ्चार क्षेत्रबाट मात्र करिब साढे ३५ अर्ब राजस्व पाएको छ।नेपालमा सञ्चालित छवटा मुख्य दूरसञ्चार सेवाप्रदायकबाट सरकारले गत आर्थिक वर्षमा ५३ अर्ब ३४ करोड ५४ लाख राजस्व पाएको हो। यो अघिल्लो वर्षको तुलनामा करिब साढे ११ अर्बले बढी हो। 
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०६९/७० मा सरकारले अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, रोयल्टी, ग्रामिण दूरसञ्चार विकास कोष शुल्क, फ्रिक्वेन्सी शुल्क, टिडिएस, दूरसञ्चार सेवा शुल्क र स्वामित्व करबापत कम्पनीहरुले यो रकम सरकारलाई बुझाएका हुन्।
आर्थिक वर्ष २०६८/६९ मा भने दूरसञ्चार सेवाप्रदायकले सरकारी राजस्वमा २३ अर्ब ८७ करोड १९ लाख मात्र योगदान गरेका थिए। ‘यस क्षेत्रबाट राजस्व योगदान वर्षेनी बढिरहेको छ,’ प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले भने, ‘सेवा विस्तार कारोबार बढेकाले राजस्व वृद्धि भएको हो।’ अघिल्लो वर्षसम्म कम्पनीहरुले बुझाउने राजस्वमा आयकरको हिस्सा सबैभन्दा बढी थियो। गत वर्ष भने कम्पनीहरुले सरकारलाई बुझाएको राजस्वमा आयकरकोभन्दा मूल्य अभिवृद्धि करको हिस्सा धेरै छ। 

गत वर्ष दूरसञ्चार सेवाप्रदायकबाट १० अर्ब ४६ करोड ३४ लाख राजस्व प्राप्त भएको छ। कम्पनीहरुले सरकारलाई बुझाएको राजस्वमध्ये यो सबैभन्दा बढी हो। अघिल्लो वर्षसम्म पहिलो स्थानमा रहेको आयकर भने गत वर्षदेखि दोस्रो स्थानमा झरेको छ। गत वर्ष छ वटा सेवाप्रदायकले अग्रिम आयकरबापत ७ अर्ब ९४ करोड ९८ लाख रुपैयाँ बुझाएका छन्।
आर्थिक वर्ष २०६८/६९ मा भने यी कम्पनीहरुले ९ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ अग्रिम आयकर बुझाएका थिए। प्राधिकरणका अनुसार गत वर्ष दूरसञ्चार कम्पनीहरुले भन्सार शुल्क बापत १ अर्ब ७६ करोड ६४ लाख, रोयल्टी बापत २ अर्ब ४८ करोड २ लाख, ग्रामिण दूरसञ्चार कोष शुल्कबापत १ अर्ब १५ करोड ५० लाख, फ्रिक्वेन्सी शुल्कबापत ३ अर्ब ५५ करोड १७ लाख, टिडिएसबापत २ अर्ब ५५ करोड ७० लाख, सेवा शुल्कबापत ४ अर्ब ७० करोड, स्वामित्व कर बापत ९५ करोड ६ लाख, सम्पत्ति तथा सवारी साधन करबापत साढे २ लाख रुपैयाँ राजस्व बुझाएका हुन्। 
गत वर्ष सरकारी राजस्वमा सबैभन्दा धेरै योगदान गर्ने दूरसञ्चार कम्पनीमा निजी क्षेत्रको एनसेल प्राली परेको छ। ग्राहक संख्याका आधारमा समेत पहिलो नम्बरमा पुगेको एनसेल कर बढी बुझाउनेमा पनि एक नम्बर भएको हो। अघिल्लो वर्षसम्म सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा धेरै कर बुझाउने दूरसञ्चार कम्पनी रहेको थियो। 
गत आर्थिक वर्षमा एनसेलले सबैभन्दा धेरै २० अर्ब ७६ करोड २६ लाख रुपैयाँ राजस्व बुझाएको छ। त्यसभन्दा अघिल्लो वर्ष एनसेलले ११ अर्ब २३ करोड ४४ लाख रुपैयाँ मात्र बुझाएको थियो। टेलिकमले भने गत वर्ष १३ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ राजस्व बुझायो। अघिल्लो वर्ष टेलिकमले सरकारलाई १२ अर्ब ३८ करोड ८ लाख रुपैयाँ राजस्व बुझाएको थियो।

गत वर्ष टेलिकम कम्पनीहरुले बुझाएको राजस्व 

नेपाल टेलिकम–१३ अर्ब ३९ करोड ६४ लाख
युटिएल–५८ करोड ४२ लाख 
एसटिएम–७ करोड ३४ लाख 
एनसेल–२० अर्ब ७६ करोड २६ लाख 
नेपाल स्याटलाइट–१९ करोड ३८ लाख 
स्मार्ट टेलिकम–३३ करोड ४७ लाख 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...