Skip to main content

कविता



पाल


म नीलो पाल
आफन्त वियोगी आत्मालाई
शीतबाट
ओत दिन उभिएको
आँसुले भिजेका गालालाई
आशाका पसिनाले भिजाउन
खुला चौरमा ठडिएको ।

नीलो छ, आकास मजस्तै
नीलै हुन्छन्
रतिक्रीडाका रात पनि
ओ महाशय !
मलाई रतिक्रीडाको रङ नसम्झ
म शोक र चित्कारको आर्तनादमा
उभिएको सन्त
मलाई सेल्फी खिच्न झुन्ड्याइएको पर्दा नसम्झ ।

कुरुक्षेत्रपछि एक्लिएको कृष्णझैँ
विरक्तिएका मनलाई
साहसी बनाउन
मुहारमा लालिगुराँस फूलउदै छु
ओ महशय !
मलाई साहसिक पदमार्गमा
टाँगिएको अस्थायी आवास नठान
म भत्किएका मनहरु टाल्ने 
एक इँटा
मलाई विशिष्ट सभाहलको छानो नसम्झ ।

म मृत्यु देख्नेहरुको
मृत्यु रोक्ने मन्त्र बोकेर आएको
माया गुमाउनेहरुको
मन बहलाउन आएको
एक आकासे यायावर
ओ महाशय !
मलाई तिम्रो हेलिकप्टर यात्रालाई
कानुनी बनाउने यन्त्र नठान
मृत्यु जितेर बाँचेकाहरुलाई
खादा र फूलमाला बोकाएर
मेरो स्वागतमा उभ्याउने नगर ।

म नीलो पाल
दूधे बाललकको चित्कारले
सम्मोहित भई
पीडितको पाउ छुन आएको
खण्डहर आत्महरुसँगै रुन आएको
ओ महाशय !
तिमी प्रेमीकाको साथमा
मेरा नीला आँखा हेरेर
उन्मत्त बैँस उमाल्न नआउ
म एक ओतको आधार
तिमी
मलाई बैठक काेठामा सजाउने
चित्रको क्यनभास बनाउन नआउ । 

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...