Skip to main content

दूरसञ्चार विकास कोषको चार अर्ब टेलिकमलाई


डेढ दशक अघिदेखि खर्च हुन नसकिरहेको ग्रामीण दूरसञ्चार विकास कोषको एक तिहाइ रकम नेपाल टेलिकमले पाउने भएको छ । ताप्लेजुङको चिवाभञ्ज्याङदेखि काभ्रेको पाँचखालसम्म अप्टिकल फाइबर विस्तारमा कोषको ४ अर्ब खर्च हुने छ ।
कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । टेलिकमले पूर्वी क्षेत्रमा मध्यपहाडी लोकमार्गमार्फत अप्टिकल फाइबर विस्तार गर्न यो रकम पाउने छ । सेवा प्रदायकबाट उठाएर कोषमा राखिएको रकम लामो समयदेखि खर्च हुन नसक्दा सरकार र दूरसञ्चार प्राधिकरण आलोचित बनेका थिए । दूरसञ्चार ऐन, २०५३ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यो कोष खडा गरेको हो ।
‘लामो समयदेखि कोषको रकम खर्च गर्न सकिएको थिएन,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यसमध्ये केही रकम भने टेलिकममार्फत खर्च गर्ने प्रक्रिया अघि बढेको छ ।’ उनका अनुसार प्राधिकरणमा पूर्वी क्षेत्रमा पूर्वाधार विकास गर्न टेलिकमले प्रस्ताव पेस गरिसकेको छ ।
 टेलिकमको प्रस्तावमा ६ सय ९१ किलोमिटर अप्टिकल फाइबर विस्तार गर्न ४ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रस्ताव गरेको हो ।
टेलिकमको प्रस्तावलाई अघि बढाउने जनाउ दिँदै प्राधिकरणले विस्तृत प्रस्ताव पेस गर्न निर्देशन दिएको छ ।
‘विस्तृत प्रस्ताव पेस भएपछि प्रक्रिया अघि बढ्ने छ,’ उनले भने । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले कोषको रकम खर्च गरेर मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तार गर्न लागिएको पुष्टि गरिन् । ‘हामीले विस्तृत प्रस्तावका विषयमा प्राधिकरणसँग छलफल अघि बढाएका छौं,’ उनले भनिन्, ‘चाँडै नै यस विषयमा टुंगो लाग्ने छ ।’
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई अनुमति दिन सुरु गर्दाकै बखतदेखि कोषमा रकम जम्मा गर्न थालेको हो । प्राधिकरणले हालसम्म करिब साढे दुई प्रतिशत रकम मात्र खर्च गर्न सकेको छ ।
यसअघि पनि प्राधिकरण पटक–पटक कोषको रकम प्रयोग गर्ने बताउँदै आएको थियो । तर, हालसम्म कुनै पनि दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि रकम सदुपयोग हुन सकेको छैन ।
टेलिकम प्रवक्ता वैद्यले अप्टिकल फाइबरसँगै सडक नबनेको स्थानमा माइक्रोवेब प्रणालीसमेत जोडिने जानकारी दिइन् । ‘मध्यपहाडी लोकमार्ग बन्ने भनिएको सबै स्थानमा सडक बनिकसकेको छैन,’ उनले भनिन्, ‘त्यस्ता क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन समस्या पर्ने हुँदा माइक्रोवेब प्रणाली जोड्नुपर्ने हुन्छ ।’
माइक्रोवेब प्रणालीमा ताररहित प्रविधिबाट सूचना प्रवाह गर्न सकिन्छ । टेलिकमले कतिपय स्थानमा भने नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर पोलमार्फत फाइबर विस्तार गर्ने योजना बनाएको छ ।
दूरसञ्चार ऐनमा प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि एक कोष खडा गर्न सक्ने व्यवस्था गरिएको छ । कोषमा अनुमतिप्राप्त सबै सेवा प्रदायकले आफ्नो वार्षिक आयको दुई प्रतिशत रकम जम्मा गर्नुपर्छ ।
यसरी जम्मा भएको रकम प्राधिकरणले ऐनको अधीनमा रहेर अनुमतिप्राप्त सेवा प्रदायकमार्फत ग्रामीण क्षेत्रमा सेवा विकास, विस्तार र सञ्चालनमा खर्च गर्न सक्ने छ । करिब १७ वर्षदेखि प्राधिकरणको कोषमा जम्मा भएको रकम खर्च हुन सकिरहेको छैन ।
संसदको विकास समितिले समेत प्राधिकरणलाई कोषको रकम खर्च गर्न र सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरमार्फत जोड्न निर्देशन दिएको थियो ।
केही रकम भूकम्प प्रभावित जिल्लामा प्राधिकरणले कोषमा जम्मा भएकोमध्ये केही रकम भने भूकम्प प्रभावित जिल्लामा पनि खर्च गर्ने भएको छ । भूकम्प प्रभावित १४ जिल्लामा अप्टिकल फाइबर विस्तार, ब्रोडब्यान्ड इन्टरनेट सेवा, टेलिफोन टावर स्थापना लगायतमा यो रकम खर्च गरिने छ ।
‘भूकम्प प्रभावित जिल्लाका लागि हामीले सेवा प्रदायकसँग प्रस्ताव मागिसकेका छौं,’ प्रवक्ता अर्यालले भने, ‘कहाँ कति खर्च लाग्छ भनेर सर्भे गर्ने प्रक्रिया अघि बढेको छ ।’ भूकम्पले क्षति पुगेका दूरसञ्चार संरचनाको पुनर्निर्माण गर्न पनि यो रकम खर्च हुने छ ।
यसैगरी ७५ वटै जिल्लामा एक–एकवटा नमुना ‘ई–भिजेल’ बनाउन र पाँच सयभन्दा बढी ग्रामीण विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्नसमेत यो रकम खर्च गर्ने प्राधिकरणको योजना छ ।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...