Skip to main content

‘सासेक’ मा परामर्शदाता लागत दोब्बर

सरकारले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतको सूचना मार्गमा नियम विपरीत परामर्शदाताका सेवाका लागि लागत थपेर दोब्बर पुर्‍याएको छ ।
तोकिएको समयमा पूरा हुन नसकिरहेको सासेक सूचना मार्गमा नियम विपरीत चार पटकसम्म भेरिएसन आदेश दिई परामर्शकदाताको लागत दोब्बर पारिएको हो । पटक–पटकको भेरिएसन आदेशपछि ४१ करोड ५ लाख रुपैयाँ लागत तय भएकामा बढेर ८१ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।सार्वजनिक खरिद नियमावलीअनुसार लागतको १५ प्रतिशतभन्दा बढी रकम थप गर्नुपर्ने भएमा मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्छ ।
तर, सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय नगराई सासेक सूचना मार्ग निर्माणका लागि पटक–पटक १५ प्रतिशतभन्दा बढी लागतको भेरिएसन आदेश दिएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट यस्तो आदेश दिएको हो । सासेक सूचना मार्ग एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित विकास परियोजना हो ।
परियोजनाले दक्षिण एसियाली सहयोग संगठन (सार्क) का चार सदस्य राष्ट्रलाई अप्टिकल फाइबरमार्फत जोड्ने लक्ष्य राखेको छ । नेपाल, भारत, भुटान र बंगालादेशलाई जोड्ने लक्ष्य राखिएको यो परियोजनाअन्तर्गत नेपालतर्फ १ सय ७० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने, विभिन्न १० स्थानमा सूचना प्रविधि हब स्थापना गर्ने र ३० स्थानमा सामुदायिक सूचना केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

मन्त्रालयले नै गठन गरेको पछिल्लो भेरिएसन सिफारिस समितिको प्रतिवेदनअनुसार सासेकका लागि १५ प्रतिशतभन्दा बढी लागतमा सचिवस्तरीय निर्णयबाट भेरिएसन गरिएको उल्लेख छ ।
प्रतिवेदनअनुसार चारपटकसम्म दिइएको भेरिएसन आदेशपछि लागत ९६.५९ प्रतिशतले बढेको छ । सासेकमा पहिलो पटक १८.०८ प्रतिशत, दोस्रो पटक ३५.८४ प्रतिशत, तेस्रो पटक २३.३४ प्रतिशत र चौथो पटक १९.३३ प्रतिशत लागत थपमा भेरिएसन आदेश दिइएको हो ।
मन्त्रालयले दिएको भेरिएसन आदेश नियम विपरीत रहेको महालेखा परीक्षकले समेत औंल्याएको छ । सासेकको भेरिएसन आदेशलाई महालेखाको ५३ औं प्रतिवेदनमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८८ विपरीत र नियमसंगत नभएको उल्लेख छ ।
सन् २०१० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको सासेक सूचना मार्ग तोकिएको समयभन्दा ६ वर्ष ढिला भइसकेको छ ।
मन्त्रालयले ६ वर्षअघि भारतीय कम्पनी टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया लिमिटेड र टोटल म्यानेजमेन्ट सर्भिस प्रालिलाई नेपाललाई परामर्शदाताका रूपमा नियुक्त गरेको थियो ।
तर, पटक–पटक समय अवधि थप गर्दा पनि काम सम्पन्न हुन सकेको छैन । महालेखाले भेरिएसन आदेशसहित परामर्श सेवामा लागत बढेको भन्दै बेरुजु देखाएपछि मन्त्रालयले गत चैतमा सचिव दिनेश थपलियाको अध्यक्षतामा विशेषज्ञ सहितको चार सदस्यीय भेरिएसन सिफारिस समिति गठन गरेको थियो ।
समितिले पुराना भेरिएसन आदेशको बचाउ गर्दै परियोजना सम्पन्न गर्नका लागि भेरिएसन आदेश स्वीकृत गर्न सिफारिस गरेको छ ।
समितिले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६७ को उपदफा (१) खण्ड (ख) मा नेपाल सरकार र दातृ निकायबीच भएको सम्झौता भएका परियोजनामा खरिद ऐन अनुरूप गर्नु नपर्ने प्रावधानलाई देखाउँदै सबै भेरिएसन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लान सिफारिस गरेको छ ।
ऐनको सो दफामा ‘नेपाल सरकार र दातृ पक्षबीच भएको सम्झौताबमोजिम सो पक्षको खरिद निर्देशिकाअनुरूप खरिद गर्नुपर्नेमा यस ऐनको खरिद प्रक्रिया अपनाउनु नपर्ने’ भनिएको छ । महालेखाले भने परामर्शदाता र निर्माण कम्पनीलाई समेत नियम विपरीत भेरिएसन आदेश दिएको उल्लेख गरेको छ ।  
‘आयोजनामा नियुक्त परामर्शदाता र निर्माण व्यवसायीको काममा खरिद सम्झौता मूल्यको क्रमश: १०० र २६.९५ प्रतिशत थप कार्यादेश दिई ७ करोड २८ लाख भेरिएसन गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत नगराउनु नियमसम्मत देखिएन,’ पछिल्लो भेरिएसन आदेशलाई उल्लेख गर्दै महालेखाले आफ्नो ५३ औं प्रतिवेदनमा भनेको छ ।
सञ्चार सचिव थपलियाले पुराना भेरिएसन आदेशमा लेखा उत्तरदायी अधिकारीले ध्यान नपुर्‍याउँदा महालेखाले प्रश्न उठाएको बताए । ‘लेखा उत्तरदायी अधिकारीले लेखापरीक्षणबारे ध्यान पुर्‍याएको भए यस्तो हुँदैन थियो,’ उनले भने ।
थपलियाले अरू मुलुकले सासेक परियोजना धेरै अघि बढाइसकेकाले नेपालले पनि जसरी पनि आयोजना सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताए । उनले भेरिएसन आदेशका विषयमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने जानकारी दिए ।
उप–क्षेत्रीय सञ्जाल विस्तार गर्दै सूचना प्रविधिमार्फत सबै मुलुकलाई जोड्न आयोजना सुरु गरिएको हो । अरु मुलुकले सासेक सूचना मार्गको अधिकांश काम सकिसकेका छन् । नेपालले भने विभिन्न कारण देखाउँदै आयोजना पछि सार्दै र लागत बढाउँदै आएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले पटक पटक एडीबीलाई अनुरोध गरी आयोजना पछि सार्दै आएको छ । सासेक सूचना मार्गले भारतको पश्चिम बंगालमा केन्द्र राखेर अप्टिकल फाइबरमार्फत चार मुलुकमा इन्टरनेट र टेलिफोनको ब्यान्डविथ पठाउने लक्ष्य राखेको छ ।
नेपालभित्र भने राजधानीबाट बीपी राजमार्ग हुँदै अप्टिकल फाइबर विराटनगरको सीमा क्षेत्रबाट भारतीय सरकारी दूरसञ्चार सेवा प्रदायक बीएसएनएलको फाइबरमा जोडिने छ ।
यसैगरी राजधानीबाट अरनिको राजमार्ग हुँदै चीनसँग पनि अप्टिकल फाइबर विस्तारको लक्ष्य रहेको छ । सासेक पूर्ण रूपमा सञ्चालमा आएपछि दक्षिण एसिया क्षेत्रभित्र टेलिफोन र इन्टरनेटको शुल्क ३० प्रतिशतसम्म कम गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...