Skip to main content

भारतमै विवादित छ आइएल एन्ड एफएस

अघिल्लो सरकारका बेला काठमाडौं–तराई द्रुतमार्गको जिम्मा दिने तयारी गरिएको इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) भारतमै ठूलो घोटालामा सामेल र विवादित कम्पनी हो । उत्तरपूर्वी राज्य नागाल्याण्डमा राजमार्ग बनाउदा कम मूल्यमा ठेक्का कबुल गरि अढाई गुणा लागत वृद्धि गरेर यो कम्पनी विवादमा तानिएको थियो । यसबाहेक नोयडामा नियम विपरित आफ्नै ‘सिस्टर कम्पनी’ लाई ‘टोल’ शुल्क उठाउन दिनुका साथै जम्मु तथा कस्मिरमा निर्माणाधिन सुरुङमा ‘ओभर बिलिङ’ एवं ढिलासुस्ती गरेर विवादमा परेको थियो । 

केही भारतीय सञ्चारमाध्यमले पटक–पटक यो कम्पनीको घोटला बारे समाचार समेत बनाइसकेका छन् । आइएल एन्ड एफएसको सबैभन्दा ठूलो घोटलाकोरुपमा चिनिएको ‘नागाल्यान्ड हाइवे विवाद’का विषयमा गत वर्ष मार्चमै टाएम्स अफ इन्डियाले सरकारद्वारा सम्झौता रद्द गर्न लागिएको भन्दै समाचार प्रकाशित गरेको थियो । टाएम्स अफ इन्डियाले समाचारमा भने आइएल एन्ड एफएसको नाम उल्लेख गरेको छैन । तर, समाचारमा उल्लेखिच मेटास इन्फ्रा नै नागाल्यान्ड हाइवेको ठेक्का पाएको नौ महिनापछि आइएल एन्ड एफएसमा परिणत भएको थियो ।

त्यसको लगत्तै जी न्यूजले आइएल एन्ड एफएसले नागाल्यान्डमा गरेको घोटला विरुद्ध लगातार तीनदिनसम्म टेलिभिजन रिपोट प्रसारण गर्यो । जी न्यूजको तीनदिने टेलिभिजन रिपोर्टिङ पछि भारतको केन्द्रीय अनुशन्धान ब्यूरोले समेत यसमा चासो देखाएको थियो । नागाल्यान्ड हाइवेको मुद्दामा स्थानीय सरकार र केन्द्रिय पारवहन मन्त्रालयबिच समेत लामो घम्साघम्सी चल्यो ।

केन्द्रिय पारवहन मन्त्रालयले सडक निर्माणमा ठेक्का दिदा कबुल रकमभन्दा अढाई गुणा लागत वृद्धि गरिएको यो नै पहिलो घटना भएको बताएको थियो । नागाल्यान्डको पब्लिक वक्र्स डिपार्टमेन्ट (पिडब्लुडी) ले रकम बढाउन केन्द्रीय पारवहन मन्त्रालयलाई गरेको सिफारिसको मुद्दा अदालतसम्म पुग्यो । अन्ततः गत वर्ष गुवहाटी उच्च अदालतले लागत वृद्धिलाई नै उपयुक्त ठहर गरिदिएपछि विवाद केही सुल्झेको देखिन्छ । अझैपनि कतिपयले भने अदालत समेत राजनीतिक र आर्थिक प्रलोभनमा परेको आरोप लगाइरहेकै छन् ।

यसैगरी आइएल एन्ड एफएस कम्पनीले विना प्रतिपर्धा आफ्नै ‘सिस्टर कम्पनी’लाई नोयडामा ‘टोल’ शुल्क उठाउन दिएपनि पछि विवाद भएको थियो । जी न्यूजले नागाल्यान्डको समाचार प्रसारण गरे लगत्तै ‘डेली न्यूज एन्ड एनलाइसिस’ (डिएनए) ले आफ्नै ‘सिस्टर कम्पनी’लाई ‘टोल’ शुल्क उठाउन दिएको समाचार प्रकाशित गरेको थियो । आइएल एन्ड एफएसले यसकै ‘सिस्टर कम्पनी’ नोयडा टोल ब्रिज कम्पनी (एनटिबीएल)लाई विना प्रतिष्पर्धा आफ्नै कम्पनीलाई ठेक्का दिएको समाचारमा उल्लेख छ ।

उता जम्मुबाट कस्मिर जोड्ने सुरुङ बनाइरहेको यो कम्पनीले ‘ओभर बिलिङ’ विवादका कारण काम ढिलो गरेको भन्दै भारतको राष्ट्रिय राजमार्ग प्रधिकरण (एनएचएआई) ले स्पष्टिकरण  सोधेको थियो । आइएल एन्ड एफएसले विशेषगरी आयोजना विकासका लागि सम्झौता गर्ने गरेको छ । आयोजना विकास सम्झौता पछि यसले निर्माण कम्पनीहरुलाई पूर्वाधार विकासको जिम्मा दिने गर्छ । काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि पनि आइएल एन्ड एफएसले सम्झौता गरेर निर्माणका लागि अर्कै कम्पनीले ल्याउने तयारी गरेको थियो ।  
के हो नागाल्यान्ड काण्ड?
 भारतीय सञ्चारमाध्यकमा चर्चा पाएको र विवाद अदालतसम्म पुगेको नागाल्यान्ड घोटलामा आइएल एन्ड एफएस सन् २०११ देखि जोडिएको हो । नागाल्यान्डमा सरकारले त्यहाका चार जिल्लामा रहेका सडक जोडेर एक गरि हाइवे बनाउने निर्णय गरेपछि हालको आइएल एन्ड एफएस यसमा जोडिन पुगेको थियो ।
नागाल्यान्डको पब्लिक वक्र्स डिपार्टमेन्ट (पिडब्लुडी) ले यो सडकको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो । त्यसै आधारमा यसको लागत अनुमान गरियो करिब एक हजार तीन सय करोड भारतीय रुपैयाँ । यत्ति ठूलो रकम खर्च गरेर सडक निर्माण गर्ने क्षमता नागाल्यान्ड सरकारसँग थिएन । यसका अतिरिक्त राष्ट्रिय राजमार्ग बनाउने जिम्मेवारी केन्द्र सरकारसँग थियो । पिडब्लुडीले आफ्नो प्रतिवेदन सहित केन्द्रिय परिवहन मन्त्रालयलाई राजमार्ग बनाउन प्रस्ताव गर्यो । केन्द्रकै अनुमतिमा पिडब्लुडीले बोलपत्र आह्वान गर्दा मेटास इन्फ्रा र गायत्री प्रोजेक्ट नामका दुई कम्पनीले संयुक्तरुपमा (ज्वाइन्ड भेन्चर) सडक निर्माण गर्ने आवेदन हाले । उनीहरुले बोलपत्रमा हालिएका आवेदनमध्ये सबैभन्दा कम मूल्य कबोल गरेका थिए ।
सबैभन्दा कम लागत कबुल गरेकाले मेटास इन्फ्रा र गायत्रीलाई सडक निर्माणको जिम्मा दिने निर्णय भयो । केन्द्रीय पारवहन मन्त्रालयले ९ डिसेम्बर २०१० मा यी कम्पनीलाई सडक निर्माण गर्न दिने निर्णय गरेको थियो । नागाल्यान्ड पिडब्लुडीले ३ फेब्रुअरी २०११ मेटास इन्फ्रा र गायत्रीलाई परियोजना सुम्पियो । एक हजार दुई सय ९६ करोड भारतीय रुपैयाँमा मेटास र गायत्रीले परियोजना निर्माण गर्ने ठेक्का पाए । 
चार जिल्लाका सडक एक गरेर हाइवे बनाउने सम्झौतामा कुल ३ सय २९ किलोमिटर सडक निर्माण गर्ने सम्झौता थियो । लङलेङ–चान्टोन्ग्या, मोन–ताम्लु–मेरेङकोङ, फेक–फुटजिरो र जुन्हेप्तो–चाकाबामालाई जोडेर सडक निर्माण गर्ने योजना थियो । यी सडक जोडेर फेब्रुअरी २०१४ भित्र सडक निर्माण गसिसक्ने सम्झौता गरियो ।

मेटास भारतको हालसम्मकै चर्चित र ठूलोमध्येको एक ‘सत्यम् घोटला काण्ड’का मुख्य योजनाकार मानिएका बी रामालिङ्गन राजुले स्थापना गरेको कम्पनी थियो । २००९ मा ठगी र घोटालाको अभियोगमा राजु पक्राउ परेपछि सञ्चालक समितिले आइएल एन्ड एफएसलाई कम्पनी सकार्न कानुनीरुपमा बाटो खुला गरिदियो । त्यसपछि यो कम्पनीलाई २०११ मा आइएल एन्ड एफएसले सकारेको हो । अहिले यो कम्पनीमा आइएल एन्ड एफएसको ८० प्रतिशत सेयर रहेको छ भने पुराना लगानीकर्ताको २० प्रतिशत सेयर छ । आइएल एन्ड एफएसले यसको नाम परिवर्तन गरेर ‘हिल कन्ट्री प्रोपर्टिज’ बनाएको थियो । सत्यम् घोटलामा मुछिएका राजुलाई भने गत वर्षमात्र ठगी र जालसाजीको मूद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सात हजार एक सय ३६ करोड रुपैयाँको ‘स्क्याम’ मा संम्लग्न रहेको आरोप छ । 

मेटास आइएल एन्ड एफएसको स्वामित्वमा गइसकेपछि नागाल्यान्ड सडक निर्माणको लागत एकाएक वृद्धि गरियो । सुरुमा ३ सय २९ किलोमिटरसडक एक हजार २ सय ९६ करोड भारतीय रुपैयाँमा निर्माण गर्ने कबुल गरेको कम्पनीले एक वर्षभित्र एक किलोमिटर सडक समेत निर्माण नगरि लागत साढे दुई गुणा बनायो । बढेको लागत नदिए काम गर्न नसक्ने जनाउदिदै कम्पनीले केन्द्रिय पारवहन मन्त्रालयलाई पत्र लेख्यो ।

लागत बढेको दाबी गरेको कम्पनीले सडकको कुल लम्बाइ भने ३ सय २९ किलोमिटरबाट घटेर ३ सय १३ किलोमिटर मात्र हुने प्रस्ताव दिएको थियो । सडक पारवहन मन्त्रालयका एक वरिष्ठ अधिकारीको हवाला दिदै गत वर्ष जी न्यूजले यसको पुष्टी गरेको थियो । लागत बढेपछि एक हजार दुई सय ९६ करोड भारतीय रुपैयाँमा बन्ने भनेको सडकको लागत दुई हजार नौ सय ७८ करोड पुग्यो । नागाल्यान्ड पिडब्लुडीले डिपिआरमा प्रतिकिलोमिटर लागत तीन करोड ६० लाख अनुमान गरेकोमा आइएल एन्ड एफएसले प्रस्ताव गरेको पछिल्लो मूल्य अनुसार प्रति किलोमिटर ८ करोड ३० लाख रुपैयाँ पुग्यो ।

गत वर्ष जी न्यूजले तयार पारेको समाचारमा आएल एन्ड एफएसले सडक निर्माणका क्रममा धेरै जमिन खन्नु पर्ने भएकाले लागत बढेको दाबी गरेको छ । उसले नागाल्याण्डमा पहाडी भूभाग भएकाले लगात बढेको दाबी गरेको हो । यसैगरी डिपिआरका क्रममा लागत अनुमान गर्दा कमजोरी भएको आरोप लगाएको छ । तर, लागत बढी लाग्ने अनुमान भएमा कम्पनीले ‘प्रि बिड मिटिङ’मै कुरा उठाउन सक्ने प्रावधानलाई कम्पनीले वेवास्ता गरेको थियो ।

गत वर्ष अक्टोबरमा गुवहाटी उच्च अदालतले भने कम्पनीले बढाएको रकम उपयुक्त ठहर गर्दै १८ महिनाभित्र काम सक्न आदेश दिएको छ । अदालतले गठन गरेको एक स्वतन्त्र आयोगले नागाल्यान्डको भौगोलिक अवस्थाका कारण रकम बढ्न गएको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा अदालतले यस्तो निर्णय गरेको हो । अदालतको निर्णपछि पनि धेरैले समयमै काम समेत सुरु नगर्ने कम्पनीलाई अढाई गुणा लागत बढाउनु उपयुक्त नभएको भन्दै कडा आलोचना गरिरहेका छन् ।

आइएल एन्ड एफएस

इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) सुरुमा भारतीय केन्द्रीय बैंक (सिबिआई), आवास विकास फाइनान्स निगम लिमिटेड (एचडीएफएस) र युनियन ट्रस्ट अफ इन्डिया (युटिआई)ले प्रबद्र्धन गरेको कम्पनी हो । अहिले भने यसमा अरु सेयरधनी थपिएका छन् । पूर्वाधार विकासमा रकम जुटाउने कम्पनीकोरुपमा सुरु भएको यसले अहिले पनि पूर्वाधार विकासका क्षेत्रमा काम गर्छ ।
कम्पनीको आधिकारीका वेवसाइटमा राखिएको जानकारी अनुसार हाल कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको सबैभन्दा बढी २५.३४ प्रतिशत सेयर रहेको छ । यसैगरी ओआरआइएक्स कर्पोरेसन जापानको २३.५४, अबुधाबी इन्भेष्टमेन्ट अथ्योरेटीको १२.५६, एचडिएफएसको ९.०२, सिबिआईको ७.६७, स्टेट बैंक अफ इन्डियाको ६.४२, युटिआईको ०.८२ र आइएल एन्ड एफएस इम्प्लोइज् वेलफेयर ट्रस्ट र अन्यको १३.७७ प्रतिशत सेयर रहेको छ । २०११ सम्ममै यसका २ स्य ५६ वटा ग्रुप अफ कम्पनी रहेका थिए ।







Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...