Skip to main content

बजेटबारे सर्वसाधारण भन्छन्– ए ! भाउ बढाउने भाषण ?

बजेटको तयारी सुरु नहुँदैदेखि उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका कच्चा पदार्थमा लाग्ने भन्सार र वार्षिक २५ लाख माथि आम्दानी गर्नेको आयकर सीमा घटाउने ‘लबिङ’ मा छन् । उनले धेरै पटक प्रधानमन्त्री, अर्थमन्त्रीसहित उच्च सरकारी अधिकारीलाई भेटिसके । मुरारका र उनले प्रतिनिधित्व गर्ने संस्थाका धेरै मागमध्ये कुनै न कुनैलाई बजेटका बुँदाले पक्कै सम्बोधन गर्ने छन् । 
उनले बजेटबाट सम्बोधन गरिदिनुपर्ने माग पूरा गराउन ‘मुलुक हाँक्ने’ हरूलाई भेटे पनि मुरारका समूहको कार्यालयबाट पैदल दूरीमा रहेको थापाथली पुलमा मकै पोलेर बेच्ने सप्तरीकी सञ्जुदेवी चौधरीलाई भने बजेटबारे पत्तो छैन । ‘मलाई त केही पनि थाहा छैन,’ शुक्रबार दिउँसो उनले भनिन्, ‘त्यो (बजेट) आएर के हुन्छ ?’ बजेट भनेको संसद्मा हुने लामो भाषण भनेर बुझाएपछि उनले भनिन्, ‘ए, त्यो भाउ बढाउने भाषण ?’ बजेटबारे अनभिज्ञ चौधरीलाई कर्मचारीको तलब बढे भाउ बढ्ने त्रास मात्रै छ । अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटमा कर्मचारीको तलब बढाउने सम्भावना छ । यदि उनले तलब बढाए भने त्यो निजामती सेवा ऐनको विपरीत मात्रै होइन लाखौं स्वरोजगारी र अनौपचारिक क्षेत्रमा काम गर्नेहरूका लागि कष्टकर हुने छ ।
‘मलाई कसले भाषण गर्छ थाहा छैन,’ उनले भनिन्, ‘तलब बढायो भन्दै मकै र दाउराको भाउ नबढे हुन्थ्यो ।’ चौधरीले एक वर्ष अघिसम्म २० रुपैयाँ किलोमा किन्ने दाउराको भाउ अहिले ३० रुपैयाँ पुग्यो, ८ रुपैयाँ गोटाको मकै प्रतिगोटा १२ रुपैयाँ भइसक्यो । उनलाई भाउ बढे पोलेको मकै खाइदिने मान्छे नै नआउलान् भन्ने पिर छ । ‘तलब चैं बढ्यो भन्छन्, हाम्रो बूढो र छोराको चैं बढ्दैन, अनि बाँच्न गाह्रो भइहाल्छ,’ आफ्नै लवजमा उनले भनिन्, ‘ज्यामी र मिस्त्रीको तलब पनि बढे पो हुन्थ्यो ।’ चौधरीका पति ज्यामी काम गर्छन् भने दुई छोरा मिस्त्री । 
उता लिटिल एन्जेल्स कलेजमा बीएस्सी नर्सिङ अध्ययनरत सुस्मा ढुंलेलको चिन्ता बेग्लै छ । ‘बजेट त बर्सेनि आउँछ तर हामीजस्ता युवालाई प्रोत्साहन गर्ने गरी कहिले आउने ?’ उनले भनिन्, ‘यत्रो पैसा खर्च गरेर पढियो, राम्रो तलबको जागिर पाइँदैन ।’ करिब १० लाख खर्च गरेर पढे पनि ‘पास आउट’ भएपछि रोजगारी नै नपाइने चिन्ता उनलाई छ । ‘पाइहाले पनि ८–१० हजारको पाइन्छ, काठमाडौंमा कसरी टिक्नु,’ उनीसँगै पढ्ने भावना वस्तीले भनिन्, ‘बजेटले कमसेकम हामीलाई पढाइ सकेर विदेश जानु नपर्ने खालका कार्यक्रम ल्याए हुन्थ्यो ।’

बजेटको पूर्वसन्ध्यामा मुरारका, चौधरी र ढुंगेल मात्र होइन, धेरै नेपालीले आफ्नो पेसा र स्तरअनुसार विभिन्न अपेक्षा राख्ने गरेका छन् । बजेटबाट धेरै नबुझ्नेले समेत यसबाट हुने फाइदा–घाटाको जोडघटाउन भने गर्छन् । सरकारले ल्याउने बजेटले दैनिक गुजारामै समेत असर पार्न सक्ने हुँदा उनीहरूले आफ्नो स्तरअनुसार नै अपेक्षा राख्ने गरेका हुन् । 

बजेटमा आफ्ना अपेक्षा र चासो जोडिएकैले धादिङ थाक्रे ३ का यादव बिडारी रेडियोमा हरेक वर्ष बजेट भाषण सुन्छन् । ‘यसपालि पनि भ्याए सुन्छु,’ शुक्रबार राजधानीमा भेटिएका उनले भने, ‘सहुलियत हुने कुनै कार्यक्रम आउँछ कि भनेर सुन्न मन लाग्छ ।’ पेसाले किसान उनी कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने कुनै कार्यक्रम आउला कि ? भन्ने चासो राख्छन् । ‘हुन त बजेट भाषणमा सुनेका कार्यक्रम कहिल्यै गाउँसम्म आइपुग्दैनन्,’ उनले भने, ‘कृषकलाई फाइदा हुने काम त सरकारले कहिले पो गरेको छ र ?’ 

कृषकलाई सुविधा दिने भए सरकारले मल, बीउ, सिँचाइ र बजार व्यवस्थापनमा सहयोग गरिदिनुपर्ने माग उनको छ । ‘सबैभन्दा दु:ख लाग्ने चाहिँ हामीले सस्तोमा बेच्ने र यहाँ किन्नेले महँगोमा किन्नुपर्ने भइरहेको छ,’ व्यावसायिक तरकारी खेतीमा समेत संलग्न उनले भने, ‘व्यापारीले नाफा खाऊन् तर यस्तो मान्छे मर्ने गरी खाने नाफालाई नियन्त्रण गर्नुपर्‍यो ।’ बिडारीलाई बजेटले ‘बिचौलिया’ लाई नियन्त्रण गर्ने कार्यक्रम राखे हुन्थ्यो भन्ने लागेको छ । 

सरकारी कर्मचारीको तलब बढ्ने हल्ला भइरहेका बेला सुन्धारास्थित गोस्वारा हुलाकका नायब सुब्बा राजन थापाको मन भने खासै खुसी छैन । ‘तलब प्रतिशतका आधारमा बढ्छ, त्यस्तो हुँदा माथिकालाई फाइदा तलकालाई घाटा हो,’ उनले भने, ‘यसरी समग्रमा बढाउँदा अवकाश भइसकेकाको पनि बढ्दा राज्यलाई भार परिरहेको छ ।’ उनले तलब बढ्ने बित्तिकै भाउ बढाउने प्रवृत्तिलाई सरकारले निरुत्साहित पार्नुपर्ने बताए । ‘तलब नबढोस् भन्न त सकिँदैन तर तलब बढ्दैमा भाउ बढाउने काम रोक्नैपर्छ,’ उनले भने, ‘हाम्रो तलब बढे पनि धेरैको त बढेको हुँदैन नि’ पोसाक भत्ता र ग्रेडका आधारमा तलब बढाउने गर्दा अवकाशप्राप्तलाई दिने रकम नबढ्ने र राज्यलाई भार नपर्ने उनको तर्क छ । 

बजेट सरकारी खर्चको विवरण मात्र नभएर कतिपय नीति परिवर्तनको माध्यमसमेत भएकाले नेपालीले आफ्नो स्तर अनुसारकै अपेक्षा राखेर यसमा चासो दिने गरेका हुन् । ‘बजेटमा सबैको चासो जोडिएकै भएकाले बनाउनेले सूक्ष्म अर्थशास्त्रीय विषयको समेत ख्याल गर्नुपर्छ,’ धेरैपटक बजेट निर्माणमा संलग्न भइसकेका पूर्वअर्थसचिव रामेश्वर खनालले भने, ‘सबैको अपेक्षा पूरा गर्न, समान खालको आर्थिक अवसर सिर्जना गर्न सक्नुपर्छ ।’ उनले एकदमै तल्लो स्तरको आय हुनेदेखि उच्च आय हुने सम्मको अपेक्षालाई ख्याल गरेर बजेट बनाउनुपर्ने बताए ।


Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

बाबुराम बहिर्गमनको अर्थ

Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...