Skip to main content

इन्टरनेटलाई छुट्याएको फ्रिक्वेन्सी बढाबढ अलपत्र

आधार मूल्य (बेस प्राइस) कम भएको कारण देखाएर नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय नगर्दा इन्टरनेट सेवा प्रदायक (आईएसपी) का लागि छुट्याइएको फ्रिक्वेन्सी बढाबढ प्रक्रिया अलपत्र परेको छ । नीतिगत अन्योल देखाउँदै प्राधिकरणले चार वर्षदेखि आईएसपीका लागि दिने तयारी गरिएको फ्रिक्वेन्सी बढाबढ प्रक्रियामा नलगेको हो ।
दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ ले २ हजार ३ सय मेगाहर्ज ब्यान्डमा ३० मेगाहर्ज फ्रिक्वेन्सी आईएसपीलाई दिने व्यवस्था गरेको छ । आईएसपीका लागि बिक्री गरिने फ्रिक्वेन्सीको मूल्य प्रतिमेगाहर्ज प्रतिवर्ष ४ लाख रुपैयाँ मात्र तोकिएको छ ।
नीतिअनुसार यो ब्यान्डमा उपलब्ध १ सय मेगाहर्ज फ्रिक्वेन्सीमध्ये ३०–३० मेगाहर्जका तीन प्याकेज बनाई लिलाम बढाबढमा बिक्री गर्ने उल्लेख छ । तीनवटा प्याकेजमध्ये एउटा नेपाल टेलिकमलाई र अर्को एउटा प्याकेज आईएसपीलाई दिने व्यवस्था गरिएको छ । त्यस्तै तेस्रो प्याकेज भने टेलिकम बाहेकको अर्को टेलिफोन सेवा प्रदायकलाई दिने नीतिमा उल्लेख छ ।
टेलिकमले भने यो ब्यान्डमा ३० मेगाहर्ज फ्रिक्वेन्सी पाइसकेको छ । त्यसमा उसले वाइम्याक्स प्रविधिको इन्टरनेट चलाइरहेको छ । एनसेलले पनि पटकपटक यो ब्यान्डमा फ्रिक्वेन्सी दिन माग गरिरहेको छ । आईएसपीले नीतिको व्यवस्थाअनुसार आफूहरूलाई फ्रिक्वेन्सी दिन माग गरिरहेका छन् । तर, प्राधिकरणले भने लिलाम बढाबढका लागि हालसम्म प्रक्रिया थालेको छैन ।

‘हामीले धेरै पटक नीतिले व्यवस्था गरेको फ्रिक्वेन्सी बढाबढका लागि खुला गर्न माग गरिसक्यौं,’ इन्टरनेट सेवा प्रदायक संघ (आइस्प्यान) का अध्यक्ष सुमनलाल प्रधानले भने, ‘प्राधिकरणले नीतिको व्यवस्थामा तोकेर अहिलेसम्म बढाबढका लागि सूचनासमेत निकालेको छैन ।’
उनले प्राधिकरणले बढाबढका लागि सूचना निकाले इन्टरनेट कम्पनीहरू फ्रिक्वेन्सी किन्न इन्छुक रहेको जानकारी दिए । ‘बोलकबोल खुला गरे कम्पनीहरू प्राधिकरणले तोकेको आधार मूल्यभन्दा बढी तिर्न पनि तयार हुन सक्छन्,’ उनले भने, ‘प्राधिकरणले अनेक वहाना बनाएर फ्रिक्वेन्सीलाई बोलकबोलमा नलग्ने नियत राखेको देखिन्छ ।’
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले फ्रिक्वेन्सीको मूल्य एकदमै कम राखिएकाले बढाबढमा लान नसकिएको बताए । ‘अरू ब्यान्डका फ्रिक्वेन्सीको तुलनामा यो ब्यान्डमा एकदमै कम मूल्य राखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामी कसरी बोलकबोलमा जान सक्छौं, पहिले मूल्य संशोधन गर्नुपर्ने हुन्छ ।’
झाले पछिल्लो पटक नीति संशोधन हुँदा मूल्य वृद्धिको प्रस्ताव पेस गरिए पनि सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले पारित नगरेको जानकारी दिए ।
‘हामीले आईएसपीलाई दिने फ्रिक्वेन्सीका लागि १५–१५ मेगाहर्जका दुई प्याकेज बनाउने प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘फ्रिक्वेन्सीको मूल्य पनि ११ गुणा बढाउने प्रस्ताव थियो, त्यो पारित भएर आएन ।’ गत असार अन्तिम साता भएको नीतिको संशोधनमा यो विषय उल्लेख छैन ।
तर, संशोधनमा उल्लेख नभएका विषयमा पुरानै नीतिअनुसार हुने व्यवस्था रहेकाले पुरानै दर कायम हुन्छ । प्राधिकरणले आईएसपीका लागि फ्रिक्वेन्सी मूल्य प्रतिमेगाहर्ज प्रतिवर्ष ४५ लाख रुपैयाँ र सोही ब्यान्डमा टेलिफोन सेवा प्रदायकका लागि भने ९० लाख प्रतिमेगाहर्ज प्रतिवर्ष प्रस्ताव गरेको थियो ।
‘नीतिमा संशोधन भएर नआएकाले मैले गत सोमबार मन्त्रालयलाई लेखेर पठाएको छु,’ झाले भने, ‘अब मन्त्रालयले पुरानै दरमा दिनु भन्ने निर्णय गर्‍यो भने हामीलाई दिन समस्या छैन ।’

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...