Skip to main content

तीन दिनमै सकिए २० हजार सिमकार्ड


जनकपुरस्थित निशान्त सप्लायर्सका सञ्चालक विजयकुमार पञ्जियारले गत साता तीन दिनमै टेलिकमका पाँच हजार सिमकार्ड वितरण गरे । उनले तीन दिनमा टेलिकमको यत्ति धेरै सिमकार्ड वितरण गरेको हालसम्मकै उच्च हो । ‘असार १५ देखि तीन दिनमै टेलिकमले उपलब्ध गराएको सबै सिमकार्ड सकियो,’ पञ्जियारले टेलिफोनमा कान्तिपुरसँग भने, ‘ग्राहकले माग गरिरहेका छन्, हामीसँग दिने सिमकार्ड छैन ।’ उनले तीन दिनमै सबै सिमकार्ड सकिएपछि थप माग गरेको बताए ।
पञ्जियार मात्र होइन, अहिले धनुषा र सर्लाही जिल्लामा टेलिकमको सिमकार्ड बिक्रीको जिम्मा पाएका व्यवसायीलाई भ्याइनभ्याई छ । उनीहरूलाई त्यत्तिकै भ्याइनभ्याई भएको भने हैन ।

टेलिकमले वैदेशिक रोजगारीमा जानेका परिवारलाई सित्तैमा वितरण गर्ने नीति लिएपछि सिमकार्ड बेच्नेलाई समेत फुर्सद मिल्न छाडेको हो ।
वैदेशिक रोजागरीमा जाने कामदारका परिवारलाई लक्षित गर्दै टेलिकमले गत बुधबारदेखि सित्तैमा सिमकार्ड बिक्री थालेको छ । यो योजना अहिले परीक्षणका रूपमा दुई जिल्लामा सुरु गरिएको हो । पहिलो चरणका लागि टेलिकमले १०/१० हजार सिमकार्ड वितरणका लागि पठाएको थियो । पहिलो चरणमा पठाएको सिमकार्ड सकिएपछि टेलिकमले थप पठाएको छ ।
योजना सफल भए अन्य जिल्लामा पनि विस्तार गर्ने टेलिकमले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सस्तोमा कुरा गर्न पाऊन् भनेर कम्पनीले विभिन्न मुलुकका सरकारी टेलिफोन सेवा प्रदायकसँग साझेदारीमा महसुलसमेत घटाएको छ । ‘हामीले यताबाट गर्दाको मात्र हैन, विदेशमा रहेकाले हाम्रो नेटवर्कमा फोन गरे रकम कम लाग्ने सम्झौता गरेका छौं,’ टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने ।
अधिकारीका अनुसार अहिले कतार, यूएई, साउदी अरेबिया, कुबेत, मलेसियालगायत मुलुकस्थित दूरसञ्चार सेवा प्रदायकसँग अन्तर आबद्धता गरी महसुल कायम गरिएको हो । नेपालबाट यी मुलुकमा कल गर्दा लाग्ने महसुल पनि घटाइएको छ । टेलिकमले गत बुधबारदेखि ३ महिनाका लागि सित्तैमा सिमकार्ड वितरण गर्ने योजना ल्याएको हो । यसरी सिमकार्ड वितरण गरेबापत व्यवसायीले भने सीमित कमिसन पाउँछन् । अहिले दुवै जिल्लामा व्यवासायीले माइकिङ गरेरसमेत सिमकार्ड वितरण गर्न थालेका छन् । सित्तैको सिमकार्ड लिनका लागि आफ्नो परिवारको सदस्य वैदेशिक रोजगारीमा गएको प्रमाणका साथै नागरिकता र फोटो बुझाउनुपर्छ । उपभोक्ताले सित्तैमा पाएको सिमकार्डमा ५० रुपैयाँ टक टाइम हुन्छ भने तेस्रो पुस्ता (थ्रिजी) सेवा चल्छ ।

एयरपोर्टमा बन्द
नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई सिमकार्ड वितरण गर्न भने बन्द गरेको छ । टेलिकमले विमानस्थलभित्र नेपाल पर्यटन बोर्डको काउन्टरबाट पर्यटकलाई सित्तैमा थ्रिजी सिमकार्ड वितरण गर्न थालेको थियो । ५० रुपैयाँ टक टाइम भएको सिमकार्ड सित्तैमा वितरण गर्ने निर्णयविरुद्ध अर्को कम्पनीको सिमकार्ड बिक्रेताले मुद्दा हालेपछि वितरण बन्द भएको हो ।
पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध परेको मुद्दामा पुनरावेदन अदालतले टेलिकमलाई सिम वितरण गर्न नदिनु भन्ने खालको आदेश दिएको थियो । टेलिकमले विमानस्थलमा पर्यटकका लागि सिमकार्ड बाँड्दा दैनिक करिब ३ सयले लिने गरेका थिए ।

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...