Skip to main content

पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन दिइने


  • फ्रिक्वेन्सी दस्तुर दोब्बर तिर्नुपर्ने
  • प्रविधि तटस्थता अपनाइयो


  • सरकारले दूरसञ्चार कम्पनीलाई दोब्बर फिक्वेन्सी शुल्क तिरेर पहिलेकै ब्यान्डमा चौथो पुस्ताको (फोरजी) सेवा चलाउन दिने भएको छ। नयाँ नियमअनुसार अहिले तेस्रो पुस्ताको (थ्रिजी) सेवा चलाइरहेका कम्पनीले दोब्बर फ्रिक्वेन्सी रकम तिरेर फोरजी सेवा सुरु गर्न सक्ने छन्। फ्रिक्वेन्सी नीति परिमार्जन गरेर सरकारले सेवा प्रदायकलाई यस्तो सुविधा दिने भएको हो।
    नीति परिमार्जनको मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले मंगलबार पारित गरेको छ। पारित मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पठाइसकेको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनका अनुसार मन्त्रालयमा रहेको प्राविधिक समितिले प्रस्ताव स्वीकृत गरे रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) निर्धारण समितिमा पेस हुने छ। समितिले पारित गरेपछि नीति लागू हुन्छ।
    परिमार्जित नीतिले प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) अपनाउन बाटो खुला गरिदिएको छ। प्रविधि तटस्थतामा जाँदा पुरानै ब्यान्डमा नयाँ प्रविधि चलाउन सकिन्छ। प्राधिकरणले स्वीकृत गरेको मस्यौदाअनुसार प्रविधि तटस्थातामा जाँदा अहिले ९ सय मेगाहर्ज ब्यान्डमा दोस्रो पुस्ता (टुजी) सेवा चलाइरहेका कम्पनीले थ्रिजी चलाउन सक्ने छन्। त्यस्तै १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा थ्रिजी सेवा चलाइरहेका कम्पनीले फोरजी चलाउन पाउने छन्।
    अहिलेको नीतिअनुसार ९ सय ब्यान्डको अधिकतम फ्रिक्वेन्सी दस्तुर प्रतिमेगाहर्ज प्रतिवर्ष १ करोड २० लाख रुपैयाँ छ। यही ब्यान्डमा प्रविधि तटस्थता अपनाउन चाहने कम्पनीले अब प्रतिमेगाहर्ज प्रतिवर्ष २ करोड ४० लाख रुपैयाँ तिर्नुपर्ने छ। यसैगरी अहिले १ हजार ८ सय ब्यान्डमा अधिकतम फ्रिक्वेन्सी दस्तुर प्रतिमेगाहर्ज प्रतिवर्ष ८० लाख रहेको छ। प्रविधि तटस्थता अपनाउन चाहनेले यो ब्यान्डमा १ करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने छ।
    प्रविधि तटस्थताको सुविधा भने आधारभूत र मोबाइल टेलिफोनको अनुमति पाएका सेवा प्रदायकले मात्र पाउने छन्। हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मात्र यस्तो अनुमति पाएका छन्। युनाइटेड टेलिकम (यूटीएल) ले पनि यस्तो अनुमति लिने प्रक्रिया सुरु गरिसकेको छ।

    प्राधिकरणले ९ सय ब्यान्डमा नेपाल टेलिकमलाई ९ दशमलव ६ मेगाहर्ज, एनसेललाई ८ मेगाहर्ज, नेपाल स्याटलाइटलाई ४ दशमलव ४ मेगाहर्ज, सीजी टेलिकमलाई २ दशमलव ४ मेगाहर्ज र स्मार्ट टेलिकमलाई ५ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी दिएको छ। यसैगरी १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा नेपाल टेलिकमले १५, एनसेलले ११, नेपाल स्याटलाइटले ९ र स्मार्ट टेलिकमले १२ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी पाएका छन्।
    नयाँ मस्यौदामा २ हजार १ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी दर १ करोड २० लाख प्रतिमेगाहर्ज प्रतिवर्ष तोकिएको छ। यो ब्यान्डमा नेपाल टेलिकम र एनसेलले १०/१० मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी पाएका छन्। उनीहरूले यसमै थ्रिजी सेवा चलाइरहेका छन्।
    नयाँ नीतिले २ हजार ३ सय ब्यान्डमा फ्रिक्वेन्सी दरलाई प्रतिमेगाहर्ज प्रतिवर्ष ९० लाख रुपैयाँ तिर्नुपर्ने छ। यो ब्यान्डको फ्रिक्वेन्सी भने टेलिफोन एवं इन्टरनेट सेवाप्रदायकलाई नै दिइने छ। यो ब्यान्डमा टेलिफोन कम्पनीले ‘एलटीई’ प्रविधि चलाउन सक्छन्। इन्टरनेट सेवा प्रदायकका लागि भने प्रतिमेगाहर्ज प्रतिवर्ष ४५ लाख रुपैयाँ मात्र तोकिएको छ।
    नीतिमा २ हजार ६ सय, ७ सय, ३ हजार ३ सय र ३ हजार ४ सय ब्यान्डको फ्रिक्वेन्सीलाई भने बोलकबोलका माध्यमबाट बिक्री गर्न तीन महिनाभित्र आधार मूल्य तोक्ने व्यवस्था गरिएको छ। मूल्य तोकेर नीति लागू भएको ६ महिनाभित्र बोलकबोल गर्ने व्यवस्था नीतिमा गरिने छ।
    नीति परिमार्जनपछि पुरानै ब्यान्डमा फोरजी चलाउनेका लागि बाटो खुल्ने प्राधिकरणले जनाएको छ। सरकारले रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीतिलाई तेस्रोपटक संशोधन गर्न लागेको हो। पहिलो फ्रिक्वेन्सी नीति २०६८ मा लागू भएको थियो।
    तत्कालीन व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले प्राधिकरणले प्रतिस्पर्धा गराएर मात्र फ्रिक्वेन्सी वितरण गर्न निर्देशन दिएपछि सरकारले चार वर्षअघि फ्रिक्वेन्सी नीति परिमार्जन गरेको थियो।

    Comments

    Popular posts from this blog

    खरानी र खण्डहरको देश- २

    देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

    बाबुराम बहिर्गमनको अर्थ

    Tweet पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो ।  बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए ।  उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हु...