निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले विभिन्न चार ब्यान्डमा थप ४० मेगाहर्ज फ्रिक्वेन्सी माग गरेको छ ।
पटकपटक गरेर थप फ्रिक्वेन्सी माग्दै आएको एनसेलले फेरि नेपाल दूरसञ्चार प्राधिकरणलाई ताकेता पत्र पठाएको हो । ‘एनसेलले विभिन्न ब्यान्डमा फ्रिक्वेन्सी बढाइदिन माग गरिरहेकै हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसपालि भने आफूले मागेका सबैखाले फ्रिक्वेन्सी दिन आग्रह गरी एउटा ताकेता पत्र पठाएको छ ।’
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एनसेलले थप फ्रिक्वेन्सी माग गरेको पुष्टि गरे । यसअघि ४ विभिन्न ब्यान्डमा २९ मेगाहर्ज फ्रिक्वेन्सी पाइसकेको छ । ‘उसले थप फ्रिक्वेन्सी माग गरेको हो,’ उनले भने, ‘फ्रिक्वेन्सी नीति पारित भएर आएपछि उसको प्रस्ताव नियमसम्मत भएमा पाउने छ ।’ प्राधिकरणले गत मंगलबार मात्र फ्रिक्वेन्सी नीति संशोधनका लागि सञ्चार मन्त्रालयमा पठासकेको छ । मुख्य लगानीकर्ता रेनोल्ड होल्डिङको सेयर बिक्री पश्चातको पुँजीगत लाभ करका विषयमा विवाद कायमै रहँदा कम्पनीले थप फ्रिक्वेन्सी माग गरेको हो ।
एनसेलले सबैभन्दा आकर्षक मानिएको ९ सय मेगाहर्ज ब्यान्डमा नेपाल टेलिकमलाई दिएकै जति फ्रिक्वेन्सी दिन माग गरेको छ । यो ब्यान्डमा एनसेलले १ दशमलव ६ मेगाहर्ज फ्रिक्वेन्सी थपिदिन माग गरेको हो । हाल एनसेलसँग ९ सय मेगाहर्ज ब्यान्डमा ८ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी रहेको छ । तर, नेपाल टेलिकमसँग भने यो ब्यान्डमा ९ दशमलव ६ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी छ ।
९ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई सबैभन्दा आकर्षक मानिन्छ । यो ब्यान्डमा लगानी कम पर्छ । यो ब्यान्डमा सेवा प्रदायकले हाल दोस्रो पुस्ताको (टुजी) ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) सेवा चलाइरहेका छन् । टेलिफोनको टावरले फराकिलो क्षेत्रफलसम्म ‘कभरेज’ दिने भएकाले यो ब्यान्डमा लगानी कम पर्छ ।
एनसेलले १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ४ मेगाहर्ज थप फ्रिक्वेन्सी माग गरेको छ । हाल ११ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी पाएको एनसेलले ४ मेगाहर्ज थपेर १५ पुर्याइदिन माग गरेको हो । नेपाल टेलिकमले भने १५ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी पाएको छ । दुवै कम्पनीले यो ब्यान्डमा तेस्रो पुस्ताको (थ्रिजी) सेवा चलाउँदै आएका छन् ।
एनसेलले २ हजार १ सय मेगाहर्ज ब्यान्डमा पनि ५ मेगाहर्ज थप फ्रिक्वेन्सी माग गरेको छ । यो ब्यान्डमा टेलिकम र एनसेलले १०/१० मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी पाएका छन् । यो ब्यान्डमा पनि उनीहरूले थ्रिजी सेवा चलाइरहेका छन् ।
एनसेलले नेपाल टेलिकमलाई वाइम्याक्स इन्टरनेट सेवा चलाउन दिएको २ हजार ३ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वन्सी आफूलाई पनि दिन माग गरेको छ । उसले यो ब्यान्डमा ३० मेगाहर्ज फ्रिक्वेन्सी दिन माग गरेको हो । यो ब्यान्डमा टेलिकमले ३० मेगाहर्ज फ्रिक्वेन्सी पाइसकेको छ ।
पत्रमा एनसेलले यी नयाँ प्रविधि अपनाउन एवं सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी आवश्यक भएको जनाएको छ । जेठ अन्तिम साता एनसेलले ताकेता पत्र प्राधिकरणलाई पठाएको हो । एनसेलले ६ वर्ष अगाडि नै चौथो पुस्ता (फोरजी) सेवा चलाउन भन्दै थप फ्रिक्वेन्सी माग गरेको थियो । उसले फोरजीका लागि २ हजार ३ सय ब्यान्डमा फ्रिक्वेन्सी दिन माग गरेको हो । त्यस्तै दुई वर्ष अगाडि प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) प्रविधि अपनाउन पाउने गरी फ्रिक्वेन्सी दिन माग गरेको थियो ।
नवीकरणको साढे २ अर्ब भुक्तानी
एनसेलले मोबाइल अनुमति पत्रको नवीकरण शुल्कबापत प्रत्येक वर्ष तिर्नुपर्ने किस्ताबापत बुधबार २ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । ‘एनसेलले चौथो किस्ताबापत साढे २ अर्ब रकम तिरेको हो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘यो किस्ताका लागि असार मसान्तसम्म म्याद थियो ।’ अरू कम्पनीले भने अनुमतिपत्र नवीकरण शुल्क तिरिसकेका छैनन् । उनीहरूले असार मसान्तसम्म तिरिसक्ने प्राधिकरणले जनाएको छ ।
सरकारले दूरसञ्चार कम्पनीको अनुमतिपत्र नवीकरण शुल्क २० अर्ब रुपैयाँ तोकेको छ । कम्पनीहरूले आठ किस्तामा बुझाउन पाउने गरी २०६९ असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । निर्णयअनुसार दूरसञ्चार कम्पनीहरूले हरेक आर्थिक वर्षको असार मसान्तभित्र रकम बुझाउनुपर्छ । एनसेलले बुझाएको रकम आर्थिक वर्ष २०७२/७३ को किस्ता हो ।
Comments
Post a Comment