कुनै उल्झन आइनपरे केही महिनाभित्रै सहरी क्षेत्रका नेपालीले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोरजी) प्रयोग गर्न पाउनेछन् । विगत केही वर्षदेखि चर्चामा रहेको फोरजी सेवाको अनुमति दिन अब कानुनी अन्यौल छैन । नीतिगत अन्यौल हटाउँदै सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा रहने फ्रिक्वेन्सी नीति निर्धारण समितिले पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन पाउने गरि नीति संसोधन गरिसको छ ।
नीति संशोधनलगत्तै नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी चलाउने फ्रिक्वेन्सी माग्दै निवेदन दिइसकेका छन् । फ्रिक्वेन्सी विना टेलिफोन, मोबाइल, इन्टरनेटलागयतका सेवा चलाउन सकिंदैन । त्यसैले फ्रिक्वेन्सी पाउने बित्तिकै उनीहरु फोरजी चलाउने तरखरमा छन् । टेलिकम र एनसेलले अनुमति पाएको दुई महिनाभित्रै राजधानी र अन्य केही सहरमा फोरजी चलाउने घोषणा गरिसकेका छन् ।
दूरसञ्चार कम्पनीहरुले फोरजी सुरु गर्ने घोषणा गरिरहेका बेला धेरै उपभोक्तालाई फोरजी के हो? यसले के फाइदा हुन्छ ? भन्ने जिज्ञासा उत्पन्न भएको छ । धेरैले फोरजी सुरु भएपछि उपभोक्ताले कस्तो सेवा सुविधा पाउँछन् भनेर प्रश्न तेस्र्याउन थालेका छन् । कतिपयको बुझाईमा फोरजी आएपछि सस्तोमा उच्च गतिको इन्टरनेट सुविधा पाइन्छ भन्ने छ । यो ब्लगमा फोरजी के हो ? यसबाट उपभोक्तालाई के फाइदा पुग्छ ? र, नेपाली कम्पनीको तयारी के छ ? भन्ने बारे संक्षिप्तमा जानकारी दिइनेछ ।
के हो फोरजी ?
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’अर्थात चौथो पुस्ताको ताररहितको सक्षिप्त रुप हो । यसलाई मोबाइल ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । प्रविधि क्षेत्रमा एकदमै तिव्र अन्वेषण र विकास भइरहेकाले नेपालमा फोरजीको तयारी हुदै गर्दा विकसित मुलुकमा भने यो भन्दा पनि आधुनिक पाँचौ पुस्ता (फाइभ जी) को अन्वेषण सुरु भइसकेको छ । फोरजीले तेस्रो पुस्ता (थ्रिजी) सेवालाई विस्थापित गर्छ ।
फोरजी अपलिंक र डाउनलिंक गरि दुई जोडीमा वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘ओएफडिएम’ भनिन्छ), समयलाई विभाजन गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘टिडिएमए’ भनिन्छ) र बहु संकेतलाई एकिकृत गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘सिडिएमए’भनिन्छ) प्रणालीमा चल्छ । यसको अर्थ हुन्छ, हामीले अहिले चलाइरहेको नेपाल टेलिकमको नमस्ते वा एनसेलको सिमकार्डमा फोरजी चल्नसक्छ । त्यस्तै टेलिकमकै स्काई सिमकार्डमा समेत कम्पनीले चाहेमा फोरजी चलाउन सक्छ ।
दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । तर, धेरै मुलुकका कम्पनीहरुले यो गतिको मोबाइल इन्टरनेट नचलाई आफ्नो सेवालाई फोरजीकोरुपमा प्रचार गरिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।
आइटियूको मापदण्डलाई वेवास्ता गरेपनि फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् ।
उपभोक्तालाई के फाइदा हुन्छ ?
फोरजी सेवा सुरु भएपछि उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने छन् । यसका लागि निश्चय नै थ्रिजीका लागि तिरिरहेको भन्दा बढी खर्च त लाग्ने नै छ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिले भन्दा सजिलो गरि भिडियो कल र च्याट गर्न सक्छन् । त्यत्ति मात्र होइन, फोरजीमा इन्टरनेटमा आधारित टेलिफोमा पाइने सेवाहरु पाइने छ । त्यस्तै उच्च गुणस्तरीय भिडियो सहितको मोबाइल टेलिभिजन समेत हेर्न मिल्छ । यसबाट भिडियो कन्फरेन्स गर्न सजिलो हुन्छ । फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिन्छ ।
फोरजीका उपभोक्ताले आफ्नो स्मार्टफोनमा यो सेवा सुरु गर्दैमा सबै सुविधा पाउछन् भन्ने भने हुँदैन । स्मार्टफोनको गुणस्तर र त्यसले सर्पोट गर्ने प्रविधिका आधारमा उपभोक्ता पाउने सुविधा खुम्चिन सक्नेछ । धेरै नेपाली उपभोक्ताले स्मार्टफोनका पुराना मोडेल र फिचर्स फोन चलाउने भएकाले फोरजीको सुविधाबाट बन्चित हुनुपर्ने हुनसक्छ । अहिले भने धेरै आयातकर्ताले फोरजी समेत चल्ने मोबाइल सेट भित्र्याउन थालेका छन् । त्यसो त फोरजी चलाउन स्मार्टफोन नै हुनुपर्छ भन्ने छैन । कम्पनीहरुले फोरजी गतिको इन्टरनेट चल्ने गरि डंगोल र मोड्युमहरु समेत बजारमा ल्याउने छन् । त्यसबाट समेत फोरजीको सेवा लिन सकिने छ ।
नेपाली कम्पनीको तयारी
हाल तीनवटा कम्पनीले फोरजी चलाउन चासो देखाउदै निवेदन दिएपनि दुइवटा कम्पनीले मात्र आवश्यक प्राविधिक तयारी गरेको जानकारहरु बताउँछन् । यस्तो तयारी गर्नेमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल छन् । दुवै कम्पनीले राजधानी र केही सहरी क्षेत्रमा फोरजीका लागि समेत उपयुक्त हुने खालका मोबाइल टावर राखिसकेका छन् । उनीहरुले ती टावरहरुलाई सञ्चालन गर्न आवश्यक सफ्टवेयर र केही ‘प्राविधिक कोडिङ’ गरेपछि कम्तिमा राजधानी भित्र सेवा तत्कालै सुरु गर्न सक्नेछन् ।
अनुमतिको पर्खाइमा रहेका दुवै कम्पनीले कस्तो प्याकेज ल्याउने भनेर आन्तरिक तयारी समेत थालिसकेका छन् । तर, उनीहरुले व्यवासायीक योजनालाई सार्वजनिक गर्न भने चाहेका छैनन् । अहिलेकै अवस्थाम दुवै कम्पनीले आइटियू मापदण्ड अनुसारकै फोरजी सेवा चलाउने तयारी भने गरेका छैनन् । उनीहरु कम्तिमा भारतकै कम्पनीहको गतिमा इन्टरनेट दिई फोरजी चलाउने तयारी गरिरहेका छन् । अनुमतिकै टुङ्गो नलागेकाले टेलिकम र एनसेल दुवैले मूल्यको टुङ्गो भने लगाइसकेका छैनन् ।
Comments
Post a Comment