Skip to main content

टेलिकम आजबाट नेतृत्व विहिन, सिफारिस समितिको बैठक नै बसेन

सरकारले प्रबन्ध निर्देशक नियुक्ति नगर्दा नेपाल टेलिकम सोमबारदेखि नेतृत्व विहीन बनेको छ ।प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको पदावधि आइतबार सकिएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको हो । 
टेलिकम अब निमित्त प्रबन्ध निर्देशकको भरमा सञ्चालन हुने छ । टेलिकम विनियमावली अनुसार प्रमुख नियुक्त हुन नसकेको अवस्थामा कम्पनीमा कार्यरत वरिष्ठतम नायब प्रबन्ध निर्देशकले स्वत: निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाउँछन् । 
विनियमावली अनुसार सोमबारदेखि टेलिकमका प्रमुख वित्तीय अधिकृत सूर्यभक्त पोखरेलले निमित्त प्रबन्ध निर्देशक हुने छन् । सरकारले प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख छनोट गर्न गत असार २५ मा प्रक्रिया अघि बढाएको थियो । अघिल्लो सरकारका बेला सुरु गरिएको प्रक्रिया अघि नबढाउन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले निर्देशन दिएपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अलपत्र परेको हो । 

गत वर्ष निर्देशिका बनाएर सरकारले प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख छनोट गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको भए पनि सञ्चार मन्त्री कार्कीले भने त्यसलाई पुनर्विचार गर्नुपर्ने भएकाले तत्कालै नियुक्ति हुन नसकेको बताए । ‘अहिलेकै अवस्थामा निमित्तले चलाउँदा पनि खासै फरक पर्ने देखिएन,’ उनले भने, ‘थप अध्ययन गरी फरक ढंगले अघि बढ्नुपर्ने भएकाले केही समय लागेको हो ।’ 

सञ्चार मन्त्रालय स्रोतले भने प्रतिस्पर्धामा सहभागीमध्ये कसैलाई पनि मन्त्रीले नरुचाएकाले नियुक्ति प्रक्रिया अघि नबढेको दाबी गरेको छ । ‘मन्त्रीज्यूले १३ जनामध्ये कसैलाई पनि रुचाउनु भएन,’ मन्त्रालय स्रोतले भन्यो, ‘टेलिकम सुधार गर्न सक्ने खालको क्षमता कसैमा छैन भनेर प्रक्रिया नै रोक्नुभएको छ ।’ गत असारमा सरकारले सञ्चारसचिव दिनेश थपलियाको संयोजकत्वमा सिफारिस समिति बनाई सार्वजनिक आवेदन माग गरेपछि १३ जनाले आवेदन दिइसकेका छन् । 
मन्त्री कार्कीले भने आफू अध्ययनकै क्रममा रहेकाले चाँडै नै प्रक्रिया अघि बढ्ने बताए । ‘तत्काललाई निमित्तले पनि काम चल्छ, चाँडै प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्छ,’ उनले भने । गत वर्ष असोज २२ मा सरकारले जारी गरेको टेलिकम प्रमुख नियुक्तिसम्बन्धी निर्देशिकामा प्रतिस्पर्धाका आधारमा प्रमुख छनोट गर्ने व्यवस्था गरिएको थियो ।
निर्देशिकामा दूरसञ्चार क्षेत्रमा काम गरेकालाई मात्र प्रबन्ध निर्देशक बनाउन पाइने व्यवस्था भएकामा गत जेठ १३ मा सरकारले संशोधन गरी अन्य क्षेत्रकाले समेत प्रवेश पाउने व्यवस्था गर्‍यो । नयाँ व्यवस्थाअनुसार टेलिकम वा टेलिकमजस्तै सेवा प्रदायकमा पूर्ण एवं आंशिक स्वामित्वको जुनसुकै सरकारी संस्थानको अधिकृत स्तरमा कम्तीमा १५ वर्ष काम गरेको नागरिकले आवेदन दिन पाउने छन् ।

सरकारले आवेदन माग गरे पनि थप प्रक्रिया भने हालसम्म अघि बढाएको छैन । सिफारिस समितिले छोटो सूची बनाएर आवेदनसँग व्यावसायिक योजना माग गर्नुपर्नेमा हालसम्म समितिको बैठकसमेत बसेको छैन । सञ्चारसचिव संयोजकत्वको समितिमा पाँच जना सदस्य छन् । 
समितिमा सदस्यमा सञ्चार मन्त्रालयका पूर्वसहसचिवहरू नारायणप्रसाद सञ्जेल एवं कविराज खनाल, टेलिकमका पूर्वप्रबन्ध निर्देशक अमरनाथ सिंह र राष्ट्रिय सूचना प्रविधि परिषद् सदस्य वसन्त वन छन् । समितिले आवेदकमध्येबाट तीनजना छनोट गरी मन्त्रिपरिषद्मा पठाउने सिफारिस गर्नुपर्ने छ ।  

Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...