Skip to main content

अब इन्टरनेटबाटै टिभी

अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् ।
इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘सेटअप बक्स’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो ।
ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘सेटअप बक्स’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘सेटअप बक्स’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् ।
‘हामीले नेपाल टेलिकमको एडीएसएलमार्फत समेत टिभी हेर्न सकिने गरि सेवा सुरु गरेका हौं,’ ब्रोडलिंकका प्रमुख कार्यकारी अधिकृत बलभद्र अधिकारीले भने, ‘अहिले सीमित च्यानल मात्र रहेका छन्, चाँडै अरू थप गर्ने छौं ।’ उनले प्याकेजमा सबै नेपाली च्यानल र केही विदेशी च्यानल समेटिएको जानकारी दिए ।



नेट टिभीले भने एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने महाप्रबन्धक कृष्ण अधिकारीले बताए । ‘हामीले सबैखाले पूर्वाधार तयार पारिसक्यौं,’ उनले भने, ‘आगामी एक महिनाभित्र सेवा सुरु हुने छ ।’ उनका अनुसार सुरुमा कम्पनीले वल्र्डलिंक र भायनेटकै नेटवर्कबाट सेवा सुरु गर्ने छ । हालसम्म ५७ वटा च्यानल चलाउने सम्झौता भइसकेको उनले बताए । ‘हामी अरू च्यानल थप गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘सफ्टवेरलगायतको काम पनि भइरहेका छन्, सकिएपछि हामी बजारमा आउँछौं ।’
आईपी टिभी चलाउन उच्च गतिको इन्टरनेट आवश्यक पर्छ । घरमा उच्च गतिको इन्टरनेट जोडिएका उपभोक्ताले कम्पनीसँग किनेको ‘सेटअप बक्स’ लाई टेलिभिजन सेट र इन्टरनेटसँग लिंक गर्नुपर्छ ।
आईपी टिभीको ‘सेटअप बक्स’ सँग जोडेपछि जुनसुकै टिभी ‘स्मार्ट टिभी’ मा परिवर्तन हुने छ । ‘स्मार्ट टिभीमा परिवर्तन भएपछि इन्टरनेटबाटै हामी सबै च्यानल हेर्न मिल्छ,’ ब्रोडलिंकका अधिकारीले भने । उपभोक्ताले कम्प्युटर र स्मार्टफोनमार्फत समेत विभिन्न च्यानलको प्रत्यक्ष प्रसारण हेर्न सक्ने छन् ।
आईपी टिभीमा आफूलाई मन परेको कार्यक्रम रेकर्ड गरेर राख्न पनि सकिन्छ । आईपी टिभी चलाउन नेपालमा पहिलो पटक वल्र्डलिंक कम्युनिकेसनले करिब चार वर्षअघि अनुमति पाएको थियो । अर्को इन्टरनेट सेवा प्रदायक सुबिसुले पनि आईपी टिभीको अनुमति पाइसकेको छ । सञ्चार मन्त्रालयका अनुसार हालसम्म पाँचवटा कम्पनीले आईपी टिभीको अनुमति पाएका छन् ।

आईपी टिभी चलाउन दुई सया ५६ किलोबाइटस् प्रतिसेकेन्ड गतिभन्दा माथिको इन्टरनेट मात्र उपयुक्त हुने प्राविधिकहरू बताउछन् । जति उच्च गतिको इन्टरनेट भयो उति नै आईपी टिभी राम्ररी चल्छ ।



Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...