Skip to main content

नागरिकता


लाग्छ
नागरिकता रूपी यो कागतको खोस्टो च्यातिदिउँ
र, जलाइदिउँ त्यसका टुक्राहरुलाई
सिंहदरबारको गेटमा लगेर
सर्वोच्च अदालतको बेञ्चमा लगेर।

मैले बोक्ने नागरिकताले
मलाई कुनै देशकको नागरिक बनाउन सक्दैन भने
कुनै मुलुकको सच्चा मालिक बनाउन सक्दैन भने
कहाँ छ ? तिमीले भन्ने गरेको
नागरिक सर्वोच्चता ?
जागिर खानका लागि
फोटोकपी बुझाउनु पर्ने कागतको खोस्टोमा?
कि, अपराधीले जुटाइदिएका चुनाव खर्च रूपी हरिया नोटमा ?

लाग्छ
यसको जवाफ तिमीसँग छैन सिंहदरबार
यसको उत्तर दिन सक्दैनौ सर्वोच्च अदालत
अनि
मलाई यो पनि थाहा छ
एउटा अनागरिकको ‘अपराधिक प्रश्न’मा रुमलिने छैनन्
सम्मेलन केन्द्रमा विराजमान महानुभावहरू।

जब नारायणहिटी जिउँदो थियो
म प्रजा भइरहे
जब शीतल निवास र बालुवाटार जागे
म मजदुर भएर अरबमा बेचिइरहेको छु
मिर्गौला दाता भएर दिल्लीमा दौडिरहेको छु
'सेरोगेट मदर' बनेर इजराइलका लागि भावी सेना जन्माइरहेको छु
बहादुर र वीर भएर बेलायती बटालियनमा सामेल भइरहेछु।

ओ! सर्वोच्च अदालत
ओ! सिंहदरबार
ओ! सम्मेलन केन्द्र
ओ! शीतल निवास
ओ! बालुवाटार
के तिमीहरूलाई फुर्सद छ ?
फुर्सद भए त पक्कै देख्ने थियौ-
म अरबमा बेचिएको
दिल्लीमा दौडिएको
इजराइली सैनिक जन्माउन गर्भवती भएको
बेलायती बटालियनमा भर्ना भएको
र,
दुई तिहाइले पारित गर्ने थियौ
सम्मेलन केन्द्रबाट एउटा प्रस्ताव
‘हाम्रा नागरिकलाई सम्मानित भएर बाच्ने अवसर दिनेछौँ–
बेचिन, दौडिन, भर्ती हुन र भाडाकी आमा बन्न बञ्चित गर्नेछौँ’
अनि
पठाउने थियौ, लालमोहोरका लागि शीतल निवास।

फुर्सद कहाँ छ र तिमीहरूलाई?
बरु आतुर छौ मेरो नागरिकता रूपी कागतको खोस्ट जलेको हेर्नलाई
त्यसैको खरानीलाई दसीप्रमाण मानी
देशद्रोहको अभियोग लगाउनलाई।

सर्वाधिकार: विष्णु पोखरेल


Comments

Popular posts from this blog

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...