Skip to main content

छ सिमेन्ट उद्योगको उत्पादन र बिक्री रोक्का

विष्णु पोखरेल
काठमाडौं, भदौ ५

गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै वाणिज्य विभागले ६ स्वदेशी सिमेन्ट उद्योगको उत्पादन र बिक्री रोक्का गरेको छ। बजार अनुगमनका क्रममा महालक्ष्मी सुपर क्वालिटी, रिलायन्स सुपर शक्ति, अग्नी, त्रिशक्ति, जगदम्बा अल्ट्रा प्रिमियम र निर्माण ब्रान्डका सिमेन्ट गुणस्तरहिन भेटिएपछि उक्त निर्णय गरिएको हो। ‘गुणस्तर मापदण्ड पुरा नगर्ने ती उद्योगका सञ्चालकलाई उत्पादन र बिक्री बन्द गरी सात दिनभित्र उपस्थित हुन पत्र काटेका छौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने।

विभागले गएको असार १ गते राजधानीको बल्खु क्षेत्रका ५ हार्डवेयर पसलबाट नमूना संकलन गरी गुणस्तर तथा नापतौल विभागमा परीक्षण गरेको थियो। वाणिज्य विभागको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर विभाग र उपभोक्ता संगठनका सदस्य सामेल थिए।

गुणस्तर प्रतिवेदन आउनासाथ विभागले नमूना संकलित हार्डवेयर पसललाई पनि पत्र पठाएर बाँकी रहेको सिमेन्ट नबेच्न निर्देशन दिएको छ।

नमूना परीक्षण गर्दा छवटै उद्योगले सिमेन्टमा तोकिएको मापदण्डअनुरुप आवश्यक वस्तु मिश्रण नगरेको फेला परेको थियो। समिश्रण नमिलेपछि संकलित नमूनालाई विभागको प्रयोगशालामा २८ दिन राखेर भारवहन क्षमता परीक्षण गरिएको निरीक्षक थापाले जानकारी दिए। ‘ती उत्पादनले नेपाल गुणस्तर मापदण्ड ४९ र ३८५ पुरा गरेको पाइएन,' उनले भने।

गुणस्तर मापदण्ड ४९ मा सिमेन्टमा हुनपर्ने समिश्रण र ३८५ मा भारवहन क्षमता उल्लेख छ। गुणस्तर विभागले २८ दिन परीक्षण गर्दा तोकिएभन्दा कम भारवहन क्षमता पाइएको थियो। सिमेन्ट ढलाई गरेको सात दिनमा यस्तो क्षमता १६ एमपिए हुनपर्नेमा छवटै उद्योगको त्योभन्दा कम छ। विभागको प्रतिवेदनअनुसार सात दिन परीक्षण गरिएका सिमेन्टको क्षमता ११ देखि १३ एमपिए थियो।

यसैगरी १४ दिनमा २२ एमपिए हुनुपर्नेमा २० र २८ दिनमा ३३ एमपिए हुनुपर्नेमा २२ देखि २४ एमपिएमात्र भएको प्रतिवेदनमा उल्लेख छ। छवटै सिमेन्टको तौल पुगेको भएपनि गुणस्तर न्यून पाइएकाले उपभोक्ता संरक्षण नियमावलीअनुसार उत्पादन र बिक्री रोक्का गरी बयान लिन बोलाइएको थापाले बताए।

गुणस्तर पुरा नगर्ने रिलायन्स ५५ ग्रेडको पोजोल्याना प्रोटल्यान्ड सिमेन्ट (पिपिसी) हो भने अरू सबै ५३ ग्रेड अर्डिनरी प्रोटल्यान्ड सिमेन्ट (ओपिसी) हुन्।

विभागले बयान लिएपछि सरकारी वकिलको राय लिएर सम्बन्धित उत्पादकलाई अदालतमा मुद्दा दायर गर्न सक्नेछ। नियमावलीमा गुणस्तरहिन उत्पादनगरी उपभोक्ता ठगी गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना वा २ वर्षसम्म कैद राख्न सक्ने व्यवस्था छ।

विभागले महालक्ष्मीको उत्पादक नेपाल अम्बुजा सिमेन्ट उद्योग, रिलायन्सको रिलायन्स सिमेन्ट प्रालि, अग्नीको अग्नी सिमेन्ट प्रालि, त्रिशक्तिको नारायणी सिमेन्ट उद्योग, जगदम्बाको जगदम्बा सिमेन्ट उद्योग र निर्माणको बुटवल सिमेन्ट प्रालिलाई उत्पादन तथा बिक्री बन्द गर्न पत्राचार गरेको हो। जगदम्बा, निर्माण, रिलायन्स र त्रिशक्ति सिमेन्ट चलेका ब्रान्ड हुन्। तिनले नेपाल गुणस्तर चिह्न र आइएसओ चिह्नसमेत लिइसकेका छन्।

सिमेन्ट उत्पादकले भने विभागले आफूहरूलाई यस्तो पत्राचार नगरेको बताए। उनीहरूले बजारमा बिक्रीका लागि गएको सिमेन्ट हेरेर उत्पादन बन्द गराउन नपाइने बताएका छन्। जगदम्बा सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपानेले कम्पनीलाई बद्नाम गराउन कसैले आफ्नो लोगो र बोरा प्रयोग गरेर गुणस्तरहिन सिमेन्ट बेचेको हुनसक्ने बताए।

‘बिक्रीमा गएको सिमेन्ट हेरेर फ्याक्ट्री बन्द गराउन थाल्ने हो भने सबै गर्नुपर्छ,' उनले भने, ‘जगदम्बा अल्ट्रा प्रिमियम सिमेन्ट हाम्रो सबभन्दा गुणस्तरीय सिमेन्ट हो।'


उत्पादन र बिक्री रोकिएका उद्योग

ब्रान्ड उत्पादक

महालक्ष्मी नेपाल अम्बुजा सिमेन्ट उद्योग
रिलायन्स रिलायन्स सिमेन्ट प्रालि
अग्नी अग्नी सिमेन्ट प्रालि
त्रिशक्ति नारायणी सिमेन्ट उद्योग
जगदम्बा जगदम्बा सिमेन्ट उद्योग
निर्माण बुटवल सिमेन्ट प्रालि

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...