Skip to main content

बिपीले गाडी ठेलेका थिए


हाई भोल्टेजमा तताएपछि फलाम त पग्लेर तरल बन्छ भने मान्छेको मन नपग्लने कुरै भएन । सुरुमा अन्तर्वार्ताका लागि तयार नभएका यी पात्रले कुराकानी सुरु गरेपछि चालै नपाई पल्टाउन थाले स्मृतिका पानाहरू । जसले ढुंगो बनाउन खोजेको मन नपगाली राख्न सकेनन् र भावनाको सागरमा डुबुल्की मारेर आँखाभरि आँसु मात्र बनाएनन्, आँसु छचल्काए परेलीका डिलबाट । सायद भक्कानिएर यसरी आँसु झार्नुपर्छ भनेर पो उनले अस्वीकार गर्न खोजेका थिए कि स्मृतिका पाना पल्टाउन ? जीवनका ७५ औँ वसन्त पार गरेका नेत्रबहादुर पन्त, जो नेपाली राजनीति र साहित्यक्षेत्रका चर्चित व्यक्तिव्य विश्वेश्वरप्रसाद कोइरालाका ड्राइभर थिए ।

स्मृतिका पाना पल्टाउने क्रममा उनले सम्झिए एउटा मृत्यु

र रुझाए परेली । अनि सम्झिए एउटा अपहेलना र भिजाए आफ्नो मुजा परेको अनुहारलाई समेत । इतिहासको कालखण्डमा यिनले एउटा नायकलाई गन्तव्यसम्म पुर्‍याए, लक्ष्य पूरा भएपछि पुनः घर फर्काएर ल्याए, फेरि अर्को दिन गन्तव्यसम्म पुर्‍याउने काममा तल्लीन भए । यसरी उनले कति दिन कटाए गन्ती गरेर साध्यै छैन । आफ्नो जीवनको गाडीलाई हाँक्न यिनले एउटा नायकको गाडी हाँके र त्यसपछि पनि हाँकिरहे छोटे नायकहरूको गाडी । उनले नायक र छोटे नायकको गाडी हाँक्ने क्रमलाई ब्रेक लगाएको त धेरै वर्ष भइसक्यो तर थाहा छैन उनलाई, उनको जीवनको गाडीमा भने कहिले ब्रेक लाग्ने हो ।


‘गिरिजाबाबुले नहाँकेका वेलामा बिपीले बोलाएर भन्नुहुन्थ्यो— ‘माहिला, गाडी हाँक,’ त्यसवेला गिरिजाबाबु, म र हर्जराज बोहोराले गाडी हाँक्थ्यौं ।

उनीसँगै एउटै गाडीको स्टेयरिङ घुमाउनेमध्येका एकजनाले त ६/६ पटक राष्ट्रकै स्टेयरिङ घुमाइसके । तर, उनले भने जीवनको गाडीको स्टेयरिङसमेत आरामले घुमाउन पाएनन् । अभावै-अभावले जकडिएको जिन्दगीको स्टेयरिङ घुमाउँदा-घुमाउँदै कहाँनेर ब्रेक लाग्ने हो अत्तोपत्तो छैन । सम्भिmए— ‘पहिलोपटक गाडीको स्टेयरिङ घुमाउँदा सडक हिलाम्मे थियो, स्टेयरिङ घुमाउनै गाह्रो हुन्थ्यो ।’ त्यस्तै थियो जिन्दगीको गाडीको स्टेयरिङ पनि । हिजो गाडी कुदाएको सडक आज चिल्लो बनेको छ, उनको पालामा जस्तो अप्ठ्यारो छैन । तर, उनको जिन्दगीको गाडी कुदाउने बाटो भने कहिले पनि चिल्लो बन्न सकेन । आजसम्म उनले गरेको त्याग र तपस्याबाट प्रभावित भएर उनको जीवनको गोरेटोलाई पिच गरिदिने कोही भएन ।

हुन त, उनलाई बिपीका निजी ड्राइभर भन्नु भन्दा पनि कोइरालानिवासका सहयोगी भन्दा हुन्छ । पन्तले कोइरालानिवासको संगत पाएका हुन् २००६ सालतिर । पोखरातिरबाट आएका उनका बाआमाले विराटनगरको कोइरालानिवासको पूर्वपट्टि मालपोखरीनजिक घर बनाएका थिए । त्यहीँ बित्यो उनको बाल्यकाल, गाईभैंसी चराएरै । तीन छोरा र एक छोरीमध्ये माहिलो छोरा थिए उनी बाबुआमाका । नाम नेत्रबहादुर भए पनि उनी घरमा माहिला भनेर चिनिए । कोइरालानिवासको संगतले उनलाई पनि राजनीतितिर तान्यो ।

उस वेलाका बडाहाकिम फत्तेजंग राणाका छोराहरू शिवजंग र उमेशजंगसँगै आदर्श विद्यालय विराटनगरमा भर्ना भएका उनले कक्षा २ भन्दा बढी पढेनन् । ११ वर्षको उमेरमा बाबु वीरबहादुरलाई गुमाएका थिए भने १३ वर्ष पुग्दा आमा तुलसाले संसार छाडिन् । त्यसपछि उनका अभिभावक बन्यो कोइराला-परिवार ।

त्यसपछि उनको बसाइ कोइरालानिवासमै हुन थाल्यो । उनी पनि नेपाली कांग्रेसनिकटका मानिसको संगतमा परे । कोइराला खानदानको संगतले थाहै नपाई बनायो सात सालको क्रान्तियोद्धा । उनले ००६ सालतिर भारतको फारबेसगन्जमा भेटे ००७ सालका क्रान्तिनेता बिपी कोइरालालाई । कांग्रेसीहरूका साथमा फारबेसगन्ज पुगेका उनलाई पनि बिपीले राणाविरोधी पर्चा दिएर जनतालाई लुकाएर बाँड्नू भने । ‘लौ केटा हो ! लगेर बाँड्नू भनेर दिनुभएको थियो,’ पहिलोपटक बिपीलाई भेट्दाको अनुभव सुनाए उनले ।

त्यसपछि त १७ वर्षे लक्का जवान नेत्रबहादुरको दैनिकी नै भारत गएर पर्चा र विभिन्न पत्र-पत्रिका ल्याउने र जनतालाई बाँड्ने हुन थाल्यो । यसै क्रममा बन्दुक चलाउने प्रशिक्षणसमेत पाए उनले । ‘मलाई पनि बन्दुक पड्काउन आउँछ त,’ उत्साहित हुँदै भने । राणाविरोधी आन्दोलनले गति लिँदै गएपछि सरकारी बडाहाकिमहरूले समेत आत्मसमर्पण गर्न थाले । कसै-कसैले क्रान्तिको समर्थनसमेत गरे । यसै क्रममा आन्दोलनकै बीचमा विराटनगर जुटमिलका प्रमुखले बिपीलाई आवत-जावत गर्न सजिलो होस् भनेर एउटा गाडी दिए । ‘सिंहानिया भन्ने हाकिम थियो जुटमिलको, त्यसैले दियो एउटा फोरहि्वलवाला गाडी बिपीलाई,’ बिपीले गाडी पाउँदाको कथा सुनाए । त्यसवेलासम्म गाडी छोएका थिएनन् । जब बिपीलाई गाडी दिइयो सुरु भयो उनको ड्राइभरी यात्रा । बिपीलाई दिएको गाडी कोइरालानिवास ल्याइयो । निवास ल्याएपछि त्यहाँ गाडी चालउन थाले नेत्रबहादुरजस्तै सहयोगीहरूले ।

‘मैले त चलाउँदा-चलाउँदै सिकेँ । अहिलेजस्तो थिएन, कसरी सिकेँ मलाई नै थाहा छैन,’ गाडी चलाउन जानेको प्रसंग सुनाए । अनजानमै गाडी चलाउन सिकेका नेत्रबहादुरलाई बिपीलाई गाडीमा राखेर हिँडुँला भन्ने लागेको थिएन । भन्छन्, ‘मैले गाडी चलाउन जानिसक्दा पनि चलाउन दिन्नथे, धेरैजसो त गिरिजाबाबुले नै हाँक्नुहुन्थ्यो ।’ क्रान्ति सफल हुँदै गएपछि विराटनगरमा बिपी आउँदा उनले पनि गाडी हाँक्ने मौका पाउन थाले । ‘गिरिजाबाबुले नहाँकेका वेलामा बिपीले नै बोलाएर भन्नुहुन्थ्यो— ‘माहिला ! गाडी हाँक’ उनले चाउरी परेको गाला सुम्सुम्याउँदै भने, ‘त्यसवेला गिरिजाबाबु, म र हर्जराज बोहोराले गाडी हाँक्थ्यौँ ।’ उनलाई सम्झना भएअनुसार अमेरिकामा बनेको कुनै कम्पनीको फोरहि्वलवाला जिप थियो त्यो । आठ सिटे गाडी भए पनि प्रायः १४-१५ जना बसेकै हुन्थे गाडीमा । क्रान्तिकै बीचमा बिपीलाई फारबेसगन्ज पुर्‍याउने र विराटनगर ल्याउने मात्र गरेनन् उनले, मोरङका विभिन्न गाउँमा हुने सभामा पनि लिएर गए त्यही गाडी चलाएर ।

क्रान्ति सफल भएपछि पनि धेरै समय हाँके उनले त्यो गाडी । विराटनगर आएका वेलामा बिपी चढे पनि अन्य वेला भने अरू नेताहरू नै चढेर हिँड्थे गाडीमा र चलाउँथे उनै नेत्रबहादुर । ००७ सालको उदाउँदो प्रजातान्त्रिक क्रान्तिका वेलादेखि गाडी कुदाउन सुरु गरेका नेत्रबहादुरले ०२२ सालसम्म स्टेयरिङ समाएरै बिताए । पछि-पछि त बिपी विराटनगर आएका वेला बिपीलाई गन्तव्यसम्म पुर्‍याउने जिम्मा नेत्रबहादुरकै हुन्थ्यो । मोरङ-सुनसरीका सभाहरूमा बिपी जानुपर्दा उनैले गाडी हाँकेर लान्थे । ‘उसवेला त विराटनगरबाट रंगेली पुग्दा बाटामा पूरै जंगलै-जंगल थियो, एक-दुईवटा बयलगाडी कुद्थे अरू गाडी त छँदै थिएनन् ।’ पुरानो जमानाका कुरा गरे, ‘वर्षामा बाटो पूरै हिलो हुन्थ्यो, हाँक्नै अप्ठ्यारो, अनि सबैलाई गाडीबाट झारेर ठेल्न लगाउनुपथ्र्यो । कत्तिपटक त बिपी आफैंले पनि ओर्लेर गाडी ठेल्नुभएको छ ।’

विराटनगरमा बाटो फराकिलो भएको देख्दा निकै खुसी लाग्छ नेत्रबहादुरलाई । फारकिलो पिच रोड देखाउँदै भन्छन्, ‘यस्तो बाटामा गाडी हाँक्दा सार्‍है मज्जा आउँछ ।’ ०२२ सालसम्म निवासको गाडी चलाएका उनले ०११ सालतिर लाइसेन्स बनाएका हुन्, गाडी चलाउने । त्यसभन्दा अगाडि त विनालाइसेन्स नै गाडी कुदाएका थिए ।

गिरिजाबाबुले नेत्रे भेट्न आएन ? भनेर सोध्दा छैन, भन्दिँदा रहेछन् कोइराला निवासमा बस्ने फटाहाहरू । नोनाआमा हँुदा यस्तो थिएन ।

बिपीको गाडी चलाउन छाडेपछि पनि उनलाई जागिर दियो मोरङ बस सेवाले । सिराहामा सडक निर्माण हुँदाताक केही वर्ष रोलरसमेत चलाए । उनीसँगै बिपीको गाडी चलाउने हर्जराज बोहोराले पछि उद्योग खोले । बोहोराकै उद्योगको ट्रक-ड्राइभरसमेत भएका थिए नेत्रबहादुर । त्यसपछि ११ वर्ष बोहोराकै कर्मचारी भए उनी । पछिल्लो समयको जागिरको कुरा गर्दै भन्छन्, ‘आयल निगमको तेल बोक्ने ट्यांकर चलाएको थिएँ । अहिले त गाडी चलाउन छाडेको पनि २० वर्ष पुगिसक्यो ।’

कोइरालानिवासमै बसेपछि भोजपुर दिङ्लाकी रत्नादेवी राउतसँग विवाह भयो ०११ सालतिर । बिपीकी आमा (जसलाई उनले पनि आमा नै भन्थे) र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी श्रीमती सुष्माले कुरा गरेर रत्नासँग विवाह गरिदिएका थिए । दिङ्लाकी रत्नासँग बिहे गरेका नेत्रबहादुर अहिलेसम्म ससुराली गएका छैनन् । विवाहपछि श्रीमतीसहित कोइरालानिवासमै बस्न थाले । पछि ०२२ सालतिर भने उनलाई निवासमा मात्र बसेर हुँदैन भन्ने लाग्यो र आमासँग बिदा मागेर उनी डेरा खोजेर बसे । विराटनगरकै तीनपैनीमा रघुनाथ रिजालका घरमा बसेका थिए भने पछि सरौचियामा सरेका उनी अहिले भने विराटनगरको कोसी प्रोजेक्टमा बस्छन् । आफैंले बनाएको टाँडे घरको एउटा कोठामा । उनका तीनभाइ छोरामध्ये जेठा काठमाडौंमै छन् । माहिलो छोरा मानसिक बिरामी छन् भने कान्छा विराटनगरमै फोटो-स्टुडियो चलाएर बसेका छन् ।

यति हुँदा-हुँदै पनि उनी एउटा कोठामा एक्लै बस्छन् । आफैं पकाउँछन् र खान्छन् । उनको कोठामा एउटा स्टोभ छ, अनि केही भाँडाकुँडा मात्र । किन एक्लै बसेका होलान् यी बूढा ? प्रश्न सुनेपछि उनी भावुक बने र आँखाबाट आँसु खसाल्दै भने- ‘बाबु ! मनको कुरा मनमै रहोस् ।’ उनले भन्न नचाहे पनि उनका छोराहरूबीच अंशको किचलो छ र त्यही घानमा उनी पनि परेका छन् ।
कोइरालानिवासमा बसेर लामो सेवा गरेका उनलाई निवासका धेरै मानिसको व्यवहारका बारेमा राम्रै जानकारी छ । इतिहासका कतिपय अविस्मरणीय घटना पनि उनका मानसपटलमा वेलावेलामा सल्बलाउँछन् । क्रान्तिका वेलामा गरेकामध्ये दुईवटा काम कहिल्यै बिर्संदैनन् उनी । भन्छन्, ‘ती काम साँच्चै जोखिमयुक्त थिए ।’

टाँडे घरको माथिल्लो तलामा बसेर कुरा गरिरहेका वेला उनले सम्भिmए क्रान्तिको त्यो दिन । जुन दिन विराटनगरमा रहेको बडाहाकिमको कार्यालय कब्जा गर्न सफल भएका थिए नेत्रबहादुर । ००७ सालमा मुक्तिसेनाले राणविरोधी गतिविधि गर्दै युद्ध छेडिरहेका वेलामा राणाका कठपुतलीहरूले आत्मसमर्पण गर्ने क्रम बढ्दै थियो । मुक्तिसेनाले विराटनगरका बडाहाकिम कार्यालयमा आक्रमण गर्‍यो त्यो थाहा पाएपछि बडाहाकिमले आत्मसमपर्ण गर्छु भन्दै आक्रमण रोक्न आग्रह गरे । मुक्तिसेनाले आक्रमण त रोक्यो तर मुक्तिसेनालाई उनले आत्मसमर्पण गरेको हो भन्नेमा विश्वास थिएन । त्यसपछि एउटा जुक्ति निकालियो, बडाहाकिमको कार्यालयमा फहराइरहेको राष्रिटय झन्डासँगै नेपाली कांग्रेसको झन्डा फहराउने । झन्डा फहराउन जाने को त ? अरू तत्पर देखिएनन् । तर, निवासका भान्सेबाजे र उनै नेत्र पन्त तयार भए । उनीसँगै जाने भान्सेबाजेको नाम उनलाई थाहा छैन । ‘सबैले भान्सेबाजे भन्थे, नाम त थाहा भएन । उनी र म सँगै गयौँ अनि फटाफट झन्डा झहराएर आयौँ । त्यसवेला संसारै जितेजस्तो लाग्यो,’ गर्व गर्दै भने ।

००७ सालको क्रान्तिपछिको कुरा हो । एक दिन जाडो महिनाका साझमा उनी, हर्जराज बोहोरा, किशोर अधिकारी, रामबहादुर श्रेष्ठ, युवराज अधिकारीलगायतका कांग्रेस नेता-कार्यकर्ता मधुमारा चोकमा बसेर एउटा योजना बनाए । रंगेलीमा गएर बैंक लुट्ने । त्यसमा गाडी हाँक्ने जिम्मा उनको थियो । क्रान्तिका वेलाका बन्दुक छँदै थिए । योजनामुताबिक चार दिनपछि उनीहरू एउटा साँझ भेला भए मधुमारा चोकमा र हुइँकिए रंगेलीतर्फ गाडी लिएर । हतियारसहितको गाडी लिएर साँझ ५ बजेतिर हिँडेका उनीहरू जंगलको बाटो पार गर्दै राति ९ बजेतिर रंगेलीमा रहेको नेपाल बैंक कार्यालयमा पुगे । सबैभन्दा पहिले रामबहादुर श्रेष्ठले बन्दुक तेस्र्याए सुरक्षागार्डलाई । त्यसपछि सबै सुरक्षा गार्डले आत्मसमर्पण गरे, उनीहरूसमक्ष । सुरक्षा गार्डले आत्मसमर्पण गरेपछि पैसा बोरामा राखेर फर्किए विराटनगरतिरै । पैसा राख्ने जिम्मा हर्जराज बोहोरालाई दिइएको थियो । त्यो पैसा पार्टीलाई दिने भनेर लुटिएको भए पनि पछि हर्जराजले पार्टीलाई दिएनछन् ।

लुटिसकेपछि पार्टीसँग सल्लाह गरेर लुटिएको हो कि हैन शंका लागेछ उनलाई । सुरुमा लुट्नेलाई पनि हिस्सा दिने कुरा भएको रहेछ । आफ्नो हिस्सा लिन भनेर पटकपटक धाए पनि हर्जराजले नदिएको बताए । हिस्सा लिने क्रम हर्जराजको मृत्युपछि पनि जारी राखे । ‘उसको छोराकहाँ पनि गएँ म धेरैपटक, सधैं दिन्छु भन्थ्यो, दिएन,’ उनले भने- ‘दुई वर्षअघि जाँदा दुई बोरा चामल दिएको थियो, फेरि गएको छैन, अब एकपटक जान्छु ।’ हर्जराजले उसवेला उद्योग खोल्नमा त्यही लुटेको पैसा प्रयोग गरेका थिए । त्यही उद्योगमा नेत्रले कामदार बनेर ट्रक चलाए तर हिस्सा पाएनन् ।

‘वषर्ामा बाटो पूरै हिलो हुन्थ्यो, गाडी हाँक्नै अप्ठ्यारो, अनि सबैलाई गाडीबाट झारेर ठेल्न लगाउनुपथ्र्यो । कत्तिपटक त बिपी आफैंले ओर्लेर गाडी ठेल्नुभएको छ ।’

कोइरालानिवासमै आफ्नो ऊर्जाशील वर्ष बिताएका नेत्रलाई कोइरालापरिवारका सबै सदस्यले माया गर्थे । कसैले माहिला भन्थे त कोही माहिलादाइ भनेर सम्बोधन गर्थे । कोइराला निवासमा रहँदा उनलाई बिपीले वेलावेलामा पान किन्न पठाउँथे । अरू केही सामान पनि किन्न पठाउँथे । ‘माहिला ! बजार गएर यस्तो चिज ल्याइदे भन्थे, पैसा ओछ्यानमा छ झिकेर लानू भन्थे अनि म पैसा लिएर सामान ल्याउँथेँ ।’ यसरी पैसा झिक्दा उनले कहिल्यै अलिकति बढी झिकौँ भन्ने ठानेनन् । उनका अनुसार बिपीको ओछ्यानमा तन्नामुनि पैसै-पैसा हुन्थ्यो ।

उनलाई कोइरालापरिवारका महिलाले पनि स्नेहका साथ व्यवहार गर्ने गर्थे । क्रान्तिका वेलामा पर्चा लिन फारबेसगन्ज पुगेर आउँदा राति १२-१ बजे पनि बिपीकी आमा, श्रीमती सुशीला र केशवप्रसाद कोइराला (बिपीका भाइ) की श्रीमती नोना कोइरालाले समेत माहिला आइपुगिस् भात खा भनेर स्नेह देखाउने गरेको उनी सम्झन्छन् ।

००७ सालको क्रान्तिपछि राजा त्रिभुवनसमेत कोइरालानिवास आएका थिए । उनी कोइरालानिवास आएपछि फुसको पुरानो घरमै बसे । त्यसैवेला राजा त्रिभुवनले बिपीलाई भने- ‘यत्रो नेता भएर पनि यस्तो घरमा बस्ने हो ?’ त्यसपछि नै कोइरालानिवासको पक्की
घर बनेको उनले सुनाए । फुसको घरमा भनेपछि टिन लगाइयो । अहिले पनि त्यसबेलाकै घर छँदै छ ।

कोइरालानिवासमा बस्दा केशवप्रसाद कोइरालाका छोरा डाक्टर शेखर कोइरालासहित बिपीपुत्रहरू प्रकाश, श्रीघोष र शशांकको हेरविचारमा समेत सहयोग पुर्‍याएका थिए । तुलनात्मक रूपमा अरू केटाकेटीभन्दा शेखरचाहिँ बढी झगडालु थिए रे । भन्छन्, ‘अरू त एकपटक भनेपछि मान्थे शेखरचाहिँ साह्रै चकचके थिए सानामा ।’ ००७ सालको क्रान्तिमा समेत प्रहरीबाट जोगाउँदै पर्चा बाँडेका उनले पञ्चायत विरोधी गतिविधि गर्दा भने पक्राउ पर्नुपर्‍यो र बसे एक वर्षसम्म जेल । उनलाई मिति त याद भएन तर ३६ सालको जनमत-संग्रह हुनुभन्दा केही वर्षअघि मात्र हो उनी जेल परेका । त्यसवेला पनि पञ्चायतविरोधी पर्चा बाँड्दै थिए उनी विराटनगरको अस्पतालचोकमा । त्यसैवेला देखेछ सादा पोसाकको एउटा हवल्दारले र पक्राउ गरिहाल्यो ।

‘पक्रेपछि त सार्‍है धुलाइ दियो नि ! तैँ हैनस् कांग्रेसको दाइने हात भन्दै,’ कुटेको सुनाउँछन् । ०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेर बिपीलाई पक्राउ गरेपछि बिपी नछुटुन्जेल कपाल र दाह्री काटेनन् । ‘मैले बिपी नछुटीकन कपाल-दाह्री केही काट्दिनँ भन्ने व्रत नै लिएँ,’ उनले भने- ‘पछि बिपी छुटेपछि मात्र कपाल काटेको थिएँ ।’ बिपी जेलबाट छुटेर विराटनगर आएप्छि उनलाई सोधेछन्, ‘किन कपाल पालेको ?’ उत्तर दिएछन्, ‘तपाईं जेलबाट नछुटुन्जेल दार्‍ही कपाल नकाट्ने निर्णय गरेको छु ।’ कुरा सुनेपछि बिपीले मुस्कुराउँदै भनेछन्, ‘ल म छुटेर आएँ, अब कपाल काट्,’ उहाँले त्यसो भनेपछि कपाल काटेँ,’ उनले भने ।

बिपीले चुरोट, जाँड-रक्सी खाएको कहिल्यै देखेनन् उनले । बिपी त चुरोट खुब खानुहुन्थ्यो रे नि ? प्रश्न गर्न नपाउँदै उनले भने, ‘वाहियात, कसले भनेको ? जे मन लाग्यो त्यै भन्छन् ।’ ‘तारिणीबाबु (तारिणीप्रसाद कोइराला) चाहिँ खानुहुन्थ्यो, बिपीले त खाएको देखिनँ मैले ।’ कोइरालानिवासमा बस्दा उनले कोइराला परिवारका सदस्यबीच झगडा भएको पनि सुनेनन् । ‘राजनीतिक सिद्धान्तका विषयमा भने मातृकाबाबु र बिपीबाबुबीच विवाद भइरहन्थ्यो, तर घर-गृहस्थीका विषयमा कहिल्यै विवाद भएको देखिनँ,’ उनले भने । मातृका र बिपीबीच राजनीतिक विषयमा भने चर्को बहस भएको सुनेका छन् उनले ।

गिरिजाप्रसादले पनि चुरोट खाएको उनले देखेका थिएनन् । पछि ०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री भएर आउदा गिरिजाप्रसादले चुरोट खाएको देख्दा उनलाई अचम्म लाग्यो । पहिले कहिल्यै चुरोट नखाने गिरिजाबाबुले किन चुरोट खान थालेछन् भन्ने लागेर उनले सोध अशोक कोइरालालाई । ‘अशोकले त चुपचुप पो भने,’ उनले सम्भिmए ।

बिपीले कोठामा बसेर एक्लै किताब लेखेको पनि देखेका छन् । राति भएपछि कोठामा गएर धेरैबेरसम्म बत्ती बालिरहनुहुन्थ्यो । केके लेख्नुहुन्थ्यो मलाई थाहा हुन्थेन र तर कहिलेकाहीँ रातभर लेखिरहनुहुन्थ्यो,’ उनले सुनाए । बिपीको मृत्युको कुरा गर्दा अहिले पनि उनको गला अवरुद्ध हुन्छ ‘विचार-सिद्धान्तपालन गर्नू है ! भनेर सबैलाई भन्नुहुन्थ्यो उहाँ गइहाल्नुभयो अरूले उहाँले भनेका कुरा पालन गरेनन् ।’

बिपीको मृत्युपछि पनि उनको कोइराला निवाससँगको सम्बन्ध उस्तै थियो । दुःख पर्दा जाने ठाउँ कोइरालानिवास नै थियो । नोना कोइरालाको मृत्यु भएपछि भने उनलाई कोइराला निवास जानै मन लाग्दैन । आफूलाई अपहेलना गर्ने गरिएको महसुस गरेका छन् नोनाको मृत्युपछि उनले । एकपटक मात्रै भए पनि गिरिजाबाबुलाई भेट्न मन लागेको छ उनलाई । ‘भेट्नका लागि निकै प्रयास गरेँ तर, निवासका हर्ताकर्ताले भेट्नै दिँदैनन्,’ कोइरालालाई भेट्न नपाएकामा दुःखेसो गर्दै भने, ‘तीनपटक गएँ । एकपटक अमृत अर्याललाई भनेँ, उसले हुन्छ दाइ माथि गएर बोलाइदिन्छु भन्यो, बोलाएन । अर्कोपटक त पुलिसले भित्रै छिर्न दिएन । फेरि गएँ अनि रामदेव (निवासका सहयोगी) लाई भनेको हुन्छ, बोलाइदिन्छु भन्यो तर बोलाइदिएन ।’ आफूले भेट्न चाहेको मान्छेलाई भेट्न नदिएकामा कांग्रेसप्रति रुष्ट छन् नेत्र । उनी आक्रोशित हुँदै भन्छन्, ‘गिरिजाबाबुले नेत्रे भेट्न आएनछ भन्दा छैन, भन्दिँदा रहेछन् फटाहाहरू ! नोनाआमा हुँदा यस्तो थिएन ।’

अहिलेका कांगे्रसीका रबैया देखेर चित्त दुखेको छ उनको । नेताहरूको मति बिगि्रएको देखेपछि बिपीलाई कांग्रेसले अपमान गरेको अनुभव गरेका छन् उनले । बिपीले उपहारस्वरूप दिएको आफ्नै तस्बिर भएको लकेट देखाउँदै भने, ‘बिपीले सधैं भन्नुहुन्थ्यो, माहिला ! जनताको सेवा गर्न नछाड्नू है, सिद्धान्तलाई त मान्नुपर्छ तर अहिले कसैले सिद्धान्त मान्दैन ।’

विष्णु पोखरेल
bppbiratnagar@gmail.com

Comments

Post a Comment

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु