Skip to main content

दूधमा भेटियो सोडा

काठमाडौं, असोज ९ - ललितपुरका दुइटा डेरी उद्योगले सोडा मिसिएको दूध उत्पादन गरिरहेको भेटिएको छ। सरकारी टोलीले अनुगमनका क्रममा सोमबार ललितपुरको चापागाउँस्थित नवप्रभात र राजधानी डेरीले सोडा मिसिएको दूध उत्पादन गरेको भेटेको हो।  बजार अनुगमनमा गएको टोलीले नवप्रभात डेरीमा प्रयोग गर्न राखिएको कच्चा दूध र राजधानी डेरीमा कच्चासँगै उत्पादित दूध परीक्षण गर्दा सोडाको मात्रा भेटेको हो। 

'हामीले टेस्ट किट लिएरै गएका थियौं,' टोलीमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले भने, 'किटमा कच्चा र उत्पादित दूध राखेर हेर्दा सोडाको मात्रा पाइयो।' यसअघिका अनुगमनमा सरकारी टोलीले यसरी स्थलगत रुपमै दूधको परीक्षण गर्ने गरेको थिएन। 
दूधमा सोडा मिसाइएको गुनासो आएपछि टोली 'टेस्ट किट' बोकेर डेरी पुगेको थियो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर, प्रहरी र उपभोक्ता अधिकारकर्मी थिए। सुरुमा नवप्रभात डेरीमा पुगेको टोलीले काभ्रे र चितवनबाट ल्याइएको कच्चा दूधको परीक्षण गरेको थियो। परीक्षणका क्रममा चितवनबाट ल्याइएको दूधमा सोडाको मात्रा नभेटिए पनि काभ्रेबाट ल्याइएको १ हजार ६ सय लिटरमा भने सोडाको मात्रा भेटियो। 'दूधमा सोडाको मात्रा नै हुनुहुँदैन,' सुवेदीले भने, 'परीक्षण गर्दा सोडाको मात्रा भेटिएपछि नष्ट गर्‍यौ।' सोडाको मात्रा भेटिएको १ हजार ६ सय लिटर दूध टोलीले नष्ट गरेर मुचुल्का उठाएको थियो। 


नवप्रभात डेरीले प्रभात ब्रान्डमा दूध उत्पादन गर्दै आएको छ। दूधमा सोडाको मात्रा भेटिएपछि डेरी सञ्चालक कमलप्रसाद हुमागाईंले किसानहरुले नै मिसाएको आरोप लगाएका थिए। अनुगमन टोलीले उनलाई सातदिने स्पष्टीकरण सोधेको छ। 'अहिले पहिलोपटक भएकाले डेरी बन्द नगराई स्पष्टीकरणमात्र सोधिएको हो,' सुवेदीले भने। 
चापागाउँकै राजधानी डेरीमा भने टोलीले उत्पादन भइसकेको दूधका प्याकेटमा समेत सोडाको मात्र भेटेको छ। राजधानी ब्रान्डमा दूध उत्पादन गर्दै आएको यो डेरीमा उत्पादित दूधको प्याकेट परीक्षण गर्दा सोडाको मात्रा भेटिएको हो। सोडाको मात्रा भेटिएपछि टोलीले २ सय ५३ क्रेट (२ हजार ५ सय ३० लिटर) दूध कम्पनीकै चिस्यान कक्षमा सिलबन्दी गरेको छ।

राजधानी डेरीका सञ्चालक कृष्णप्रसाद तिमल्सिनालाई पनि टोलीले सातदिने स्पष्टीकरण सोधेको छ।

यसैगरी, काभ्रेबाटै आएको २ हजार लिटर कच्चा दूधमा पनि सोडा पाइएपछि त्यसलाई नख्खु खोलामा नष्ट गरेको छ। 'खाद्य प्राविधिकहरुसमेत सहभागी टोलीले सोडा पाएपछि प्रहरीको रोहवरमा दूध नष्ट गरिएको हो,' टोलीमा सहभागी नागरिक न्यायिक उपभोक्ता मञ्चका महासचिव प्रकाश सुवेदीले भने, 'यसले डेरीहरुले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेको पुष्टि भएको छ।'

राजधानीका डेरी उद्योगहरुले दूध फाट्न नदिन सोडियमबाई कार्बोनेट (खाने सोडा) प्रयोग गर्ने गरेको पटक-पटक गुनासो आउने गरेको छ। किसानले पनि दूध नफटाउन यस्तो सोडा प्रयोग गर्ने गरेको उपभोक्तावादीले बताउँदै आएका छन्। गत वर्ष संसदको अर्थ समितिले डेरीहरुको अनुगमन गर्दा गोदाममा ठूलो मात्रामा सोडा राखिएको भेटिएको थियो।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु