Skip to main content

कसले पाए गत वर्ष नेपाल गुणस्तर चिह्न?

काठमाडौं, असोज २९ - गएको आर्थिक वर्षमा नौवटा स्वदेशी उद्योगले उत्पादन गरेका १२ वस्तुले नेपाल गुणस्तर प्रमाण चिह्न(एनएस) पाएका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार साना, मझौला र ठूला सबैखाले गरी ९ उद्योगले मापदण्ड पूरा गरेकाले एनएस पाएका हुन्। एनएस पाउनेमा विद्युतीय उपकरण, रङ, फलामे छड, दूध, सिमेन्ट, पिउने पानी, पाइप, रेगुलेटरलगायत सामग्री उत्पादक छन्। 
विभागका अनुसार ट्रान्सफर्मर निर्माता नेपाल इकरात इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको पावर ट्रान्सफर्मरलाई गत वर्ष एनएस दिइएको छ। यसैगरी भारतीय लगानीको बर्जर जेन्सन एन्ड लिकल्सनले उत्पादन गरेको प्लास्टिक इमल्सन, सिमेन्ट प्राइमर र रोड मार्किङ पेन्टले एनएस पाएका छन्। 
लक्ष्मी स्टिलको टिएमटी फलामे छड, हेटौंडा डेरीको स्विटेन्ड कन्डेन्स मिल्क, सिद्धार्थ सिमेन्टको पिसिसी सिमेन्ट र कञ्चनजंघा फुड एन्ड वेभरेजको खनिजयुक्त पानीले पनि एनएस पाएका छन्। यसैगरी दक्षिणकाली प्लास्टिक इन्डस्ट्रिज प्रालिका एचडिपिई पाइप र रोटेसनल माउल्डिङ वाटर स्टोरेज ट्यांक एवं पशुपति फिल्टर र पेन्ट्याक्स रेगुलेटरले उत्पादन गरेका रेगुलेटरलाई एनएस दिइएको छ। विभागले रेगुलेटरको मापदण्ड तयार गरेपछि पहिलोपटक यी दुई उद्योगलाई एनएस दिएको हो। रेगुलेटरमा एनएस अनिवार्यसमेत गरिएको छ। 
मापदण्ड पूरा गरेका उद्योगका उत्पादनलाई एनएस चिह्न दिइएको विभागका महानिर्देशक रामआधार साहले बताए। उनका अनुसार हालसम्म विभिन्न वस्तु उत्पादन गर्ने १ सय ४४ वटा उद्योगले यस्तो चिह्न पाइसकेका छन्। 
गुणस्तर ऐनले साधारण पोर्टल्यान्ड सिमेन्ट, फलामे छड, जिआई वायर, कर्कट, जस्ता पाता, ड्राइसेल एन्ड ब्याट्री र एलपिजी सिलिन्डरमा एनएस चिह्न अनिवार्य गरेको छ। अन्य वस्तुमा भने उत्पादकले मापदण्ड पूरा गरेर एनएस लिन सक्नेछन्। 
अहिले पनि एनएस अनिवार्य गरिएका वस्तुमा समेत नलिइकन उत्पादन गर्ने पाइएको छ। साहले यस्ता उद्योगलाई अनुगमन गरेर कारबाही भइरहेको जानकारी दिए। उनले गत वर्ष दुईवटा उद्योगको एनएस चिह्न खोसिएको बताए। विभागले एनएस दिएका उत्पादनले गुणस्तर मापदण्ड कायम नराखेको भेटिए स्थगित र रद्दसमेत गर्न सक्ने व्यवस्था छ। 
यही व्यवस्थाअनुसार गत वर्ष वाइवाई चाउचाउ र नेबिको बिस्कुटको एनएस चिह्न स्थगित गरिएको थियो। चिह्न स्थगित गरिएका र उत्पादन रोक्का राखिएका केही सिमेन्ट उद्योगले भने मापदण्ड पूरा गरेर आएकाले विभागले फेरि एनएस दिएको छ। 

अन्तर्राष्ट्रिय गुणस्तर दिवसको अवसर पारेर आइतबार गुणस्तर तथा नापतौल विभागले तीन उद्योगलाई गुणस्तर अवार्ड दिएको छ। विभागले ठूला उद्योगतर्फ भगवती स्टिल इन्डस्ट्रिज प्रालि बारालाई अवार्ड दिएको हो। यो उद्योगको उत्पादन जिआई पाइपलाई उच्च गुणस्तरीय ठान्दै विभागले यस्तो अवार्ड दिएको हो। यसैगरी मझौला उद्योगतर्फ पञ्चकन्या प्लस्ट प्रालि रुपन्देहीलाई र साना उद्योगतर्फ हिमालयन स्पि्रङ वाटर(इन्क) चाल्नाखेल काठमाडौंलाई अवार्ड दिइएको छ। पञ्चकन्याको युपिभिसी फिटिङ पाइप र हिमालयनको मिनरल वाटरलाई उत्कृष्ट मान्दै अवार्ड दिइएको हो। 
यसैगरी पञ्चकन्याको युपिभिसी फिटिङ पाइप र एसियन थाई फुड्स प्रालि सोनापुर सुनसरीको रमपम तयारी चाउचाउलाई प्रशंसापत्र पनि दिइएको छ। अवार्ड वितरण कार्यक्रममा उद्योग मन्त्रालयका निमित्त सचिव लक्ष्मणप्रसाद भट्टराईले अवार्ड वितरण गरे। 
कार्यक्रममा बोल्दै अवार्ड पाउने उद्योगका सञ्चालकहरुले आफूहरुको जिम्मेवारी बढेको बताएका थिए। कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष सुरेश बस्नेतले गुणस्तरमा ध्यान दिएमात्र उपभोक्ताको मन जित्न सकिने बताए। 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले गुणस्तर कायम नगरी कोही पनि बजारमा टिक्न नसक्ने बताए। उद्योग सचिव भट्टराईले एनएस लिनेले गुणस्तर कायम राख्न ध्यान दिनुपर्ने बताए।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु