Skip to main content

वर्षमा ७० अर्बको मासु खान्छन् नेपाली, दसैका भित्रदैछन् ४० हजार खसीबोका


काठमाडौ, कात्तिक १- नेपालमा सबैभन्दा बढी मासुको उपभोग हुने दसैंका लागि राजधानीमा ४० हजारभन्दा बढी खसीबोका भित्रिने भएका छन्।
सरकारी र निजी क्षेत्रबाट राजधानीमा ठूलो संख्यामा खसीबोका भित्रिने भएका हुन्। सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रका बिक्रेताले दसैंका लागि खसी भिœयाउन थालेका छन्। संस्थानले मंगलबारबाट खसी बिक्री सुरु गरिसकेको छ। 
गत वर्ष खसी कारोबार नगरेको संस्थानले यसपटक भने विभिन्न ठाउँबाट खरिद गरेर राजधानीमा बिक्री सुरु गरेको हो। संस्थानका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार यसपालि करिब ३ हजार खसीबोका बिक्रीको लक्ष्य राखिएको छ। अहिले भने करिब ८ सय खसीबोका मात्र राजधानी भित्रिएका छन्। 'नेपालगञ्ज, वीरगन्ज, कपिलवस्तु, लाहानलगायत ठाउँबाट अरु खसीबोका आउदै छन्,' चन्दले भने, 'फूलपातिसम्ममा सबैतिरबाट आइपुग्छन्।' 
अघिल्ला वर्षहरुको तुलनामा यसपटक खरिद नै महँगो परेकाले राजधानीमा खसीबोकाको भाउ बढाएर बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए। 'हामीले लागतभन्दा कममा बिक्री दर कायम गरेका छांै,' चन्दले भने, 'लागत हिसाब गर्दा त किलोको ५ सय रुपैयाँ पुग्ने रहेछ।' 
संस्थानले २५ किलोसम्मको खसीको भाउ किलोको ३ सय ४ रुपैयाँ तोकेको छ। यसैगरी २५ किलो माथिको खसीको भाउ किलोको ३ सय १४ रुपैयाँ तोकिएको छ। संस्थानले मंगलबारदेखि राजधानीको थापाथलीस्थित कार्यालय हाताबाट खसीबोका बिक्री सुरु गरेको हो। 
संस्थानसँगै निजी क्षेत्रका व्यवसायीले पनि राजधानीमा खसीबोका भित्र्याउन थालेका छन्। 'अहिले खसीबोका आउने क्रम बढेको छ,' नेपाल चौपाया खरिद बिक्री सेवा संघका निवर्तमान अध्यक्ष दीपक थापाले भने, 'दसैंका लागि निजी क्षेत्रबाट ४० हजार जति खसीबोका आउने अनुमान छ।' उनले अहिले दैनिक १०/१२ गाडी खसीबोका आइरहेको जानकारी दिए। 
फूलपातिसम्ममा धेरै खसीबोका राजधानी भित्रने उनले बताए। फूलपातीदेखि नवमीसम्म सबैभन्दा धेरै खसीबोका बिक्री हुन्छन्। मंगलबार निजी क्षेत्रका व्यवसायीले भने स्थानिय खसी किलोको ३ सय २० र भारतीय खसी ३ सय ४० देखि ३ सय ४५ रुपैयाँ किलोमा बिक्री गरेका छन्। दसैंका बेलामा यो भाउ घटबढ भइरहने थापाले जानकारी दिए। 
दसैंका बेलामा खसीबोकासँगै भेडाच्यांग्राको पनि माग हुन्छ। तर, यसपटक भेडा च्यांग्रा भने खासै बजारमा नभित्रिएको थापाले जानकारी दिए। 'गोठमै महँगो परेकाले भेडा च्यांग्रा बजारमा आएका छैनन्,' थापाले भने, 'यसपटक खासै आउलान् जस्तो पनि छैन।' 
राजधानीमा तातोपानी र रसुवागढी नाका हुँदै भेडाच्यांग्रा आउने गरेका छन्। खोरमै भेडाच्यांग्राको भाउ किलोका ४ सय रुपैयाँ पर्ने भएकाले व्यवसायी नकिनिकन फर्किएको थापाले जानकारी दिए। अघिल्ला वर्षमा पनि राजधानीमा दसैंका बेला ४० देखि ५० हजार खसीबोकाको कारोबार हुने गरेको तथ्यांक छ। 
सरकारी निकाय र व्यवसायीले दिएको जानकारीअनुसार नेपालमा वार्षिक करिब ७० अर्ब रुपैयाँ बराबरको मासु खपत हुन्छ। मासु खाने संस्कृति विकास हुँदै गएकाले नेपालमा मासुको खपत बढिरहेको छ। थापाले वर्षेनी मासुको माग र मूल्य बढिरहेको बताए। 'सबैखाले चौपाया र पंक्षीको गरेर वार्षिक ७० अर्ब जतिको मासु खपत हुन्छ,' थापाले भने, 'हामीले गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो,'। दसैंका बेला वर्षभरकै सबैभन्दा बढी मासुको खपत हुन्छ। 
बिक्रेताहरुका अनुसार दसैंका बेला वार्षिक कारोबारको ४० प्रतिशतभन्दा बढी मासुको खपत हुन्छ। खपत बढेर स्वदेशी उत्पादनले अपुग हुँदा नेपालमा ८ देखि १० अर्बसम्मको मासु आयत हुने सरकारी तथ्यांक छ। कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक झन्डै तीन लाख मासु खान प्रयोग हुने चौपायाको आयत हुन्छ। 
विश्व खाद्य तथा कृषि संगठन(एफएओ)का अनुसार एक नेपालीले वर्षमा १० किलो मासु खान्छन्। नेपालको सरकारी तथ्यांकले भने हाल एक नेपालीले वर्षमा ११ किलो मासु खान्छन्। नेपालमा कुखुरा, राँगा-भैंसी, खसीबोका, बंगुर, हासलगायतको मासु बढी खपत हुन्छ। दसैंका बेला मात्र राजधानीमा खसी बोकाको बिक्री तीन गुणा बढ्छ। पशु सेवा विभागको तथ्यांकमा दसैं पर्ने असोज महिनामा राजधानीमा करिब ६० हजार खसी बोकाको बिक्री हुन्छ। अरु महिना भने २० हजार खसीबोकाको मात्र कारोबार हुने गरेको विभागको तथ्यांक छ। 
एफएओका अनुसार दक्षिण एसियामा नेपाल प्रतिव्यक्ति मासु उपभोग दरमा दोस्रो स्थानमा छ। यस क्षेत्रमा पाकिस्तानको सबैभन्दा बढी वार्षिक प्रतिव्यक्ति मासु खपत १२ किलो रहेको छ। यसैगरी श्रींलंकाको साढे ६ किलो, भारतको ५ किलो तथा भुटान र बंगालादेशको ३/३ किलो छ। एफएओले दैनिक २ सय ग्राम मासु पोषणका लागि आवश्यक रहेको जनाएको छ। 
विश्वमा डेनमार्क सबैभन्दा बढी वार्षिक प्रतिव्यक्ति मासु खपत दर छ। डेनमार्कमा प्रतिव्यक्ति १ सय ४६ किलो मासु खपत हुने तथ्यांक छ। नेपालमा हाल मासुका लागि प्रयोग हुने खसी, बोका, रागा, भैंसी, बंगुरलगायत चौपायको संख्या करिब १ करोड ५० लाख पुगेको कृषि मन्त्रालयलको तथ्यांक छ। मासुको खपत दर बढेकाले कुखुरा व्यवसायको वार्षिक विस्तार दर सबैभन्दा बढी भएको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...