Skip to main content

दसैंमा जताततै छुट, उपभोक्ताको नजरमा लुट


काठमाडौं, असोज १९-दसैं-तिहारमा किनमेल गर्ने उपभोक्तालाई लक्ष्य गर्दै व्यवसायीले उपहार, छुट र चिठ्ठालगायत ग्राहक योजना ल्याउन थालेका छन्। नेपालीले सबैभन्दा धेरै किनमेल गर्ने बेला भएकाले व्यापारीले यस्ता योजना ल्याउन थालेका हुन्। 
राजधानीका सपिङ मल, डिपार्टमेन्ट स्टोर, ब्रान्डेड स्टोरलगायतले नगद छुटसहित विभिन्नखाले उपहार योजना सार्वजनिक गरिरहेका छन्। पसलहरुमा रंगीचंगी साजसज्जाका साथ छुट योजना ल्याएर व्यापारीले ग्राहकको मन तान्ने कोसिस गरेका हुन्। 
राजधानीका विभिन्न सपिङ मलहरुले दसैंलाई लक्ष्य गर्दै नगद छुट, स्क्र्याच कुपन र बम्पर उपहार योजना सार्वजनिक गरेका छन्। यस्ता योजनासँगै मलहरुले विभिन्न सामग्रीमा भारी छुटसहितको 'सेल' पनि लगाउन थालेका छन्। 
राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरले दसैंलाई लक्ष्य गर्दै सेल लगारहेको छ। सेन्टरले आगामी आइतबारसम्मका लागि सेल लगाएको हो। सेन्टरको भुइँतलामा ग्राहकले विभिन्न ब्रान्डेड सामान छुटमा किन्न सक्नेछन्। 
सुन्धारास्थित सिभिल मलले बम्पर उपहारसहितको दसैं-तिहार योजना सार्वजनिक गरिसकेको छ। यसैगरी सिटी सेन्टर, भाटभटेनीलगायतले पनि छुट र उपहार योजना ल्याएका छन्। दसैंका बेलामा सरकारी र गैरसरकारी संस्थामा काम गर्नेहरुले दसैं खर्च पाउने र विदेश जानेहरु नेपाल आउने गरेकाले कारोबार बढ्ने गर्छ।
अतिरिक्त आम्दानी हुने भएकाले धेरैले दसैं-तिहारमा आवश्यक सामग्री किन्छन्। ग्राहकको हातमा पैसा र मनमा किन्ने इच्छा हुने दसैं-तिहारको मौका छोपेर विभिन्न कम्पनीले छुट र उपहार योजना ल्याइरहेका छन््। 
'दसैंका बेलामा ग्राहकको क्रय क्षमता बढेको हुन्छ,' सिभिल मलका बजार प्रमुख निशान्त श्रेष्ठले भने, 'यसबेला ग्राहकलाई सहुलियत दिन सके कारोबार राम्रो हुने भएकाले छुट र उपहार योजना ल्याएका हौं।' उनले दसैं-तिहारका बेलामा धेरैले किनमेल गर्ने भएकाले पनि उपहार योजना ल्याएको बताए। 
'दसैं-तिहार मालामाल फेस्टिभल' नाममा ग्राहक योजना ल्याएको मलले १ हजार माथिको सामान किन्नेलाई लक्की ड्र दिने जनाएको छ। त्यसका आधारमा ग्राहकले बजाज पल्सर, हिराको हार, दुबई भ्रमण, सामसङ ग्यालेक्सी नोट टु, होम एप्लाइन्सेज, क्यामेरा चाँदीका सिक्कालगायतका पुरस्कार जित्न सक्नेछन्। यसैगरी बम्पर उपहार भने टाटाको इन्डिका भिटु कार पाउन सक्नेछन्। 
वर्ल्ड ट्रेड सेन्टर र सिभिल मलमात्र होइन, अन्य मलहरुले पनि यस्तै खाले योजना ल्याइसकेका छन्। सपिङ मलमात्र हैन, विभिन्नखाले सामग्री बिक्रेताले पनि दसैं-तिहारलाई लक्ष्य गरेर छुट र उपहार योजना ल्याएका छन्। दसैंका बेलामा बढी कारोबार हुने लत्ता कपडा, सवारी साधन, किचेन वेयर, होम एप्लाइन्सेज, विद्युतीय सामग्रीलगायत यस्ता छुट योजना केन्द्रित छन्। 
नेपाली बजारमा सवारी साधन बिक्री गर्ने प्रायः कम्पनीले दसैं-तिहारका बेला छुट योजना ल्याएका छन्। सवारी कम्पनीले नगद छुटसहित उपहार योजना, बिमा र कर छुटलगायत योजना सार्वजनिक गरेका छन्। होन्डा कम्पनीको बिक्रेता स्याकार ट्रेडिङले कार र मोटरसाइकलमा दसैं-तिहार योजना ल्याएको छ। 
होन्डा ब्रियो कार किन्ने ग्राहकले कारमा एक लाख रुपैयाँ छुट सहित एक वर्ष्ेा बीमा र एक वर्षे सडक दस्तुर छुट पाउने छन्। होन्डाको सिटी, ज्याज, अकर्ड र सिआरभीलगायत कारमा पनि छुट योजना लागु भएको छ। 
यसैगरी मोटरसाइकल र स्कुटरमा पनि ग्राहकले छुट पाउनेछन्। कम्पनीले योजनामा बाइक किन्नेलाई स्क्र्याच कार्ड दिनेछ। यसका माध्यमबाट ग्राहकले ४ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पाउन सक्नेछन्। यसैगरी ५ वर्षभित्र १६ र थप ४ गरी २० वटा सर्भिसिङ गराउन सक्नेछन्। यसैगरी स्पेयर पार्टस्मा ५ वर्षसम्म १० प्रतिशत छुट पाउनेछन्। 
टाटाको बिक्रेता सिप्रदी ट्रेडिङले 'दसैंमा टाटा कार, फाइदाको भण्डार' नामक ग्राहक योजना ल्याएको छ। यो योजनामा ग्राहकले टाटाका कारहरुमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म नगद छुट पाउछन्। ग्राहकले सुमो गोल्डमा ५० हजार, ग्रान्डीमा १ लाख ५० हजार, नानोमा शुन्य ब्याजदर, मान्जामा १ लाख ५० हजार, इन्डिका भिटुमा ७५ हजार, इन्डिगो सिएसमा १ लाख ५० हजार, आरिया ३ लाख, सफारी भिएक्स ३ लाख, इएक्स २ लाख र एलएक्स १ लाख ५० हजार छुट दिएको छ। 'यो दसैं आफंै खास, आँगनमा टाटा कार, खल्तीमा क्यास' भन्ने नाराका साथ योजना ल्याएको हो।
स्कोडाको आधिकारिक वितरक मोरङ अटो वर्क्सले पनि दसैं-तिहारको अवसरमा छुट योजना ल्याएको छ। ग्राहकले स्कोडा फाबिया कार दसैंका बेला फाइनान्स सुविधामा ३ लाख ५० हजार रुपैयाँ मात्र अग्रिम भुक्तानी गरी किन्न सक्नेछन्। अन्य बेला न्यूनतम २० प्रतिशतभन्दा बढी अग्रिम भुक्तानी गर्नुपर्नेमा दसैं-तिहारमा भने छुट दिएको कम्पनीले जनाएको छ। यसको भाउ २३ लाख ९५ हजार रुपैयाा पर्छ। 
कम्पनीका महाप्रबन्धक दीपक अग्रवालले चाडपर्वका बेला धेरैले गाडी किन्ने भएकाले छुट योजना ल्याएको बताए। 'दसैं-तिहारका बेलामा ग्राहकले सवारी साधन धेरै किन्छन्,' उनले भने, 'ग्राहकले किन्ने भएकाले हामीले मात्र होइन सबैजसो कम्पनीले विभिन्न योजना ल्याएका छन्।' 
बजाज मोटरसाइकलको बिक्रेता गोल्छा समूहको हंसराज हुलासचन्द एन्ड कम्पनीले पनि दसैं-तिहारका अवसरमा 'बजाजतन्त्र' उपहार योजना सञ्चालन गरिरहेको छ। योजनामा कम्पनीले लक्की ड्रमार्फत साप्ताहिक र बम्पर उपहार दिने घोषणा गरेको छ। 
यसैगरी मलेसियन अफरोड डिम्याक बाइकको बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि २० हजार नगद छुट दिने योजना ल्याएको छ। यसैगरी बाइक कम्पनीहरु हिरो, यामाहा, टिभिएस, सुजुकीलगायतले पनि दसैं-तिहारमा छुट योजना ल्याएका छन्। मारुती सुजुकी, हुन्डाईलगायत कार बिक्रेताले पनि दसैं-तिहार लक्ष्य गर्दै विभिन्न उपहार, छुट र लक्की ड्रका कार्यक्रम सार्वजनिक गरिसकेका छन्। 
विद्युतीय सामग्री बिक्रेताहरुले पनि दसैं-तिहारलाई लक्ष्य गरेर विभिन्न योजना ल्याएका छन्। सामसङ मोबाइलको बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज(आइएमएस)ले 'खुल्जा सामसङ, खोल्नुहोस् खुसीको ढोका' ग्राहक योजना ल्याएको छ। कम्पनीले स्क्र्याच कार्डमार्फत तत्कालै ग्राहकले नगद, सामसङ घडी, मोबाइललगायत पुरस्कार पाउने र बम्पर लक्की ड्रमार्फत स्मार्टफोनहरु ग्यालेक्सी एस थ्री, ग्यालेक्सी ट्याब टु, ग्यालेक्सी नोट टु, ग्यालेक्सी डुअसलगायत स्मार्टफोन जित्न सक्ने योजना ल्याएको हो। 
सामसङका अन्य विद्युतीय सामग्री बिक्री गर्ने गोल्छा समूहअन्तर्गतको हिम इलेक्ट्रोनिक्सले दसैं-तिहारका अवसरमा 'सामसङ स्वादोत्सव' उपहार योजना ल्याइसकेको छ। यो योजनामा सामसङका सामान किन्नेले किचेनका सामान उपहार पाउनेछन्।
यसैगरी चौधरी समूहको सिजी इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले एलजी, सिजी, टिसिएल, तोसिबालगायतका विद्युतीय सामग्रीमा पनि छुट र उपहार योजना ल्याइसकेको छ। नगद, उपहार सहित चाँदीका सिक्का समेत जित्ने योजना चौधरी समूहले सार्वजनिक गरेको छ। 
विद्युतीय सामग्रीसँगै राजधानी सहित विभिन्न स्थानमा आफ्ना सामग्री बिक्री गरिरहेका नेपाली र विदेशी ब्रान्डका तयारी पोसाक, जुत्ता-चप्पललगायतले पनि छुट योजना सार्वजनिक गरेका छन्। कोलिन्स र रोडीमुडले दसैं र तिहारको अवसरमा २० देखि ४० प्रतिशतसम्म छुट दिएको छ। यसैगरी पुमा, रिबोक, लि, बोस्नी, स्पि्रङउड, जारालगायत ब्रान्डले पनि दसैंअगाडि विभिन्न सामग्रीमा ५० प्रतिशतसम्म छुट दिएका छन्। 
स्वदेशी ब्रान्डका बिएफडिएर हिल, शिखर सुज, रन सुज, स्काई सुज, रोयल सुजलगायत जुत्ता-चप्पल कम्पनीले पनि छुट र उपहार योजना ल्याएका छन्। स्क्र्याच कुपनमार्फत यी कम्पनीले पनि विभिन्न उपहार दिने योजना सार्वजनिक गरेका छन्। कोकाकोलालगायत पेयले भने पेट बोतल सार्वजनिक गरेका छन्। 
विभिन्न कम्पनी र मलहरुले उपहार र छुट योजना सार्वजनिक गरेपछि ग्राहकले भने खासै विश्वास भने गरेका छैनन्। छुट योजनामा राखिएका सामानको भाउ पहिले बढाएर पछि छुट दिएको घोषणा गर्ने गरिएको उपभोक्ताको आरोप छ। दसैंमा किनमेलको योजना बनाइरहेकी मीनभवनकी राधा ज्ञवालीले आफूले किनमेल गर्दा उपहार र छुट कुर्ने नगरेको बताइन्। 'छुट साच्चेको हो जस्तो लाग्दैन,' उनले भनिन्, 'त्यसैले उपहार हेरिरहन्न।'

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु