Skip to main content

दुई महिनापछि पोखरामा डिडिसीका उत्पादन


काठमाडौं, मंसिर २ -सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डिडिसी)ले पोखराबाट दूध र दूग्धजन्य पदार्थ उत्पादन र बिक्री सुरु गर्ने भएको छ। 
अहिले निजी क्षेत्रबाट मात्र दूध आपूर्ति भइरहेको पोखरामा संस्थानले आगामी दुई महिनाभित्र आफ्नो उत्पादन बिक्री सुरु गर्ने भएको हो। संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले पोखराबाट दूध उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। 
'हामीले निजी क्षेत्रकै कारखानालाई प्रयोग गरेर दूध उत्पादनको तयारी गरेका छौ,' उनले भने, 'उत्पादन सुरु गर्न कारखाना छनोट गर्दैछौ।' आगामी दुई महिनाभित्र पोखराबाट संस्थानले आफ्नो ब्रान्डको दूध उत्पादन गरिसक्ने उनले जानकारी दिए। 
सरकारले केही वर्ष अघि पोखरास्थित संस्थानको दूध प्रशोधन कारखाना निजी क्षेत्रको सुजल डेरीलाई बिक्री गरेपछि त्यहा डिडिसीका उत्पादन उपलब्ध छैनन्। सिंहले पोखराबाट दूध, दही र पनिरको उत्पादन सुरु गरिने जानकारी दिए। यसबाहेकका उत्पादन भने अन्यत्रका कारखानाबाट लगेर बिक्री गरिने छ। 

'पोखरामा हाम्रो दूधको माग धेरै रहेकाले निजी क्षेत्रको सहकार्यमा उत्पादन सुरु गर्न लागेका हौ,' सिंहले भने, 'ग्राहकले हाम्रो दूध धेरै रुचाउने छन्।' पोखरामा दैनिक करिब ५० हजार लिटर दूधको माग रहेको छ। अहिले डेरीमार्फत करिब ३५ हजार लिटर दूध आपूर्ति भइरहेको छ। डिडिसीले दूध बिक्री सुरु गरेपछि डेरीबाट दूध किन्नेको संख्या बढ्ने अपेक्षा गरेको छ।
 

यसैबिच करिब एक महिनापछि संस्थानले कैलालीको अत्तरियाबाट पनि दूध र दूग्धजन्य वस्तु उत्पादन र बिक्री सुरु गर्ने भएको छ। अत्तरियामा भने संस्थानले आफ्नै दूध प्रशोधन कारखानाबाट उत्पादन सुरु गर्नेछ। अहिले परीक्षण उत्पादन गरिरहेको संस्थानले व्यवसायिकरुपमा भने एक महिनापछि उत्पादन गर्ने सिंहले जानकारी दिए। 
उनका अनुसार संस्थानका यो कारखानाबाट उत्पादित दूध धनगढी, महेन्द्रनगरलगायतका सुदुरपश्चिमी बजारमा वितरण गरिने छ। यो कारखानाबाट पनि दूध, दही र पनिर मात्र उत्पादन सुरु गर्न लागिएको हो। अन्य उत्पादन भने अन्यत्रबाट लगेर आपूर्ति गर्ने संस्थानको तयारी छ।
संस्थानले अहिले विराटनगर, जनकुपर, हेटौडा, विरगञ्ज, भैरहवा र कोहलपुरबाट दूध र दूग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। डिडिसी ब्रान्डमा संस्थानले दूध, दही, घिउ, पनिर, पेडा, फ्रेस मिल्क, मोही, लस्सी, आइसक्रिमलगायतका सामग्री उत्पादन गर्दै आएको छ। 
यसै आर्थिक वर्षभित्र विराटनगरको पाउडर दूध प्लान्ट र हेटौडाको दूध उत्पादन प्लान्टको क्षमताक बढाउने लक्ष्य राखेको संस्थानले बजेट नआएकाले काम अघि बढाउन पाएको छैन। संस्थानले विराटनगरको पाउडर प्लान्टको क्षमता बढाएर दैनिक ८० हजार लिटर पुर्‍याउने लक्ष्य राखेको छ। हाल दैनिक ४० हजार लिटर मात्र दूध खपत भइरहेको छ। यसैगरी हेटौडाको दैनिक ३० हजार लिटर दूध उत्पादन क्षमताको प्लान्टलाई बढाएर दैनिक १ लाख लिटर पुर्‍याउने संस्थानको योजना छ। 
दैनिक ४० हजार लिटर चितवनलाई 
दूध आपूर्ति बढी भएर किसानबाट आएको सबै दूध किन्न नसक्ने भएपछि संस्थानले दैनिक ४० हजार लिटर दूध चितवन मिल्कलाई दिन थालेको छ। संस्थानले चितवनले उत्पादन गरेको पाउडर दूध किन्ने सम्झौता गरि दैनिक कच्चा दूध दिन थालेको हो।
मागभन्दा बढी दूध आएपछि दुई साता अघि नै संस्थानले मिल्क होलिडे(किसानले ल्याएको दूध नकिन्ने) गर्ने तयारी गरेको थियो। तर, संस्थानको समेत सेयर भएको चितवम मिल्कले दूध लिने सम्झौता भएपछि मिल्क होलिडे टरेको हो। चितवम मिल्कमा संस्थानको ११ प्रतिशत सेयर लगानी छ। 
गत वर्ष फ्लस सिजन(दूध बढी उत्पादन हुने बेला)मा समेत दूधको अभाव भएको थियो। यसवर्ष भने फ्लस सिजनमा दूधको उत्पादन ह्वात्तै बढेपछि संस्थानले मिल्क होलिडेको तयारी गरेको थियो। दूधको आपूर्ति धेरै भएको र उत्पादित पाउडर दूध नबिकेको भन्दै निजी क्षेत्रका पाउडर दूध उत्पादक चितवम मिल्क र सुजल डेरीले पाउडर उत्पादन बन्द गरेका थिए। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...