Skip to main content

युरोप-अमेरिकामा नेपाली गहना


काठमाडौं, मंसिर १३- नेपाली परम्परागत गहना अमेरिका र बेलायतमा बस्ने एसियाली नागरिकबीच लोकप्रिय बनेपछि नेपाली व्यवसायीले व्यवसाय सुरु गरेका छन्। नेपाली व्यवसायीले तेस्रो मुलुकमा गहना पसल खोलेको यो पहिलोपटक हो। 
न्युयोर्कस्थित ज्याक्सन हाइटमा छ वर्षअघि नेपाली गहनाको पहिलो सोरुम खोलेको क्लासिक डाइमन्ड समूहले अहिलेसम्म अमेरिकामा तीनवटा पसल सञ्चालन गरेको छ। 
उपत्यकाको पुल्चोकमा ज्वलरी चलाइरहेको यो पारिवारिक समूहले नेपालमा डिजाइन गरिएका गहनाको माग विदेशमा बढेपछि छ वर्षयता न्युयोर्क, अलास्का र मेरिल्यान्डमा शाखा खोलेको हो। पछिल्लोपटक एक महिनाअघि मेरिल्यान्डमा नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ। 
'निर्यात गर्दा गहनाको माग राम्रै हुन थालेपछि हामीले एसियाली बसोबास धेरै भएको ज्याक्सन हाइटमा पहिलो सोरुम खोलेका हौं,' क्लासिक डाइमन्डका कार्यकारी निर्देशक अमीर महर्जनले भने, 'न्युयोर्कको सफलताले हामीलाई शाखा विस्तार गर्न हौस्यायो।' न्युयोर्कमा आफ्ना गहना लोकप्रिय भएपछि उनीहरुले चार वर्षअघि अलास्कामा अर्को सोरुम खोलेका थिए। 
नेपालमा क्लासिक डाइमन्ड नाम रहे पनि उनीहरुको गहना पसलको नाम अमेरिकामा बेग्लै छ। न्युयोर्क र मेरिल्यान्डमा 'क्विन्स डाइमन्ड ज्वेलरी' एवं अलास्कामा 'म्याजिस्टिक जेम्स' नाममा सोरुम छन्। 'नाम फरक भए पनि नेपालमै बनाइएका गहना पठाउँछौं,' महर्जनले भने, 'नेपाली, भारतीय, एसियाली, युरोपेली र एसियाली-युरोपेली मिश्रणयुक्त डिजाइनका गहना यी सोरुममा पाइन्छन्।' अमेरिकाका तीनवटै सोरुम अमीरका भाइ समीरले सम्हाल्छन्।
सुन-चाँदीभन्दा हिरा र पत्थरका गहना डिजाइनमा ख्याति पाएको यो समूहले ५ सयभन्दा बढी डिजाइनका गहना अमेरिकामा बिक्री गर्छ। 'निर्यात गरी अरूमार्फत गरिने व्यापारभन्दा आफ्नै सोरुमबाट राम्रो व्यापार हुने भएकाले सोरुम खोलेका हौं,' महर्जनले भने, 'सुरुमा नेपाली र एसियालीलाई लक्षित गरेका थियौं, तर सबैतिरका ग्राहकले हाम्रा गहना मन पराएका छन्।'
क्लासिकले तयार गरेका हिराका औंठी, हार, बाला, कानमा लगाउने रिङलगायत गहना अमेरिकामा लोकप्रिय छन्।
नेपालमा करिब १२ हजार डिजाइनका गहना बिक्री गरिरहेको यो समूहले अमेरिकामा भने थोरै मात्र डिजाइन पठाउने गरेको छ।
क्लासिक डाइमन्डमात्र होइन, धरानबाट गहना व्यवसाय सुरु गरेको बराह ज्वेलरीले पनि विदेशमा आफ्नो सोरुम सञ्चालनमा ल्याइसकेको छ। धरानमा डिपार्टमेन्ट स्टोरसमेत चलाएको यो कम्पनीले 'नुनदेखि सुनसम्म, धरानदेखि हङकङसम्म' नारासहित कारोबार गरिरहेको छ। यसले लन्डन र हङकङमा पनि सोरुम चलाइरहेको छ। चाँडै जापानको टोकियोमा पनि सोरुम सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमिल स्थापितले बताए। 
'विशेषगरी नेपाली परम्परागत डिजाइनका गहनाको माग विदेशमा हुने गर्छ,' उनले भने, 'यस्तै गहना हामीले हङकङ र बेलायतमा राखेका छौं।' 
धरान, पोखरा र काठमाडौंमा दुइवटा सोरुम सञ्चालनमा ल्याएको बराह ज्वेलरीले आफ्ना गहनामा नेपाल गुणस्तर चिह्न (एनएस) पाएको छ।
विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर नेपालीको बसोबास बढी भएको क्षेत्रमा आफ्ना सोरुम खोलिएको उनले जानकारी दिए। बराहले अमेरिकाको बोस्टन र अस्ट्रेलियाको सिड्नीमा पनि सोरुम खोल्ने योजना बनाएको छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु