Skip to main content

लगानी थप्दै आरएमसी समूह

नेपालबाट भारततर्फ पहिलोपटक सिमेन्ट निकासी थालेको आरएमसी सिमेन्ट उद्योग चलाइरहेको औद्योगिक समूहले निर्माण सामग्री उत्पादन उद्योगमा लगानी विस्तार गरेको छ। मुख्य कम्पनी राजेश मेटल क्राफ्टमार्फत निर्माण सामग्री उत्पादन गर्ने उद्योग चलाइरहेको यो समूहले रंगीन जस्तापाता, फलामे छड र क्लिंकर उद्योगमा पनि लगानी विस्तार गर्ने भएको हो। अहिले फलामे पाइप, जीआई पाइप, जस्तापाता र सिमेन्ट उत्पादन गरिरहेको राजेश मेटल समूहले चाँडै फलामे छड पनि उत्पादन सुरु गर्ने भएको छ।

समूहले पुराना उद्योगको क्षमता वृद्धि र नयाँ उद्योग स्थापनाका लागि साढे पाँच अर्ब लगानी गर्ने भएको हो। यसले रंगीन जस्तापाता, कोल्ड रोलिङ क्वायल, फलामे छड, सिमेन्ट र क्लिंकर उद्योगमा लगानी गर्नेछ। ‘हामी चाँडै फलामे छड उद्योग खोल्दैछौं’, राजेश मेटल क्राफ्टका सञ्‍चालक राजेश अग्रवालले भने, ‘क्लिंकर र सिमेन्ट उद्योगमा समेत लगानी विस्तार गरिहेका छौं।’ समूहले अहिले सादा जस्तापाता उत्पादन गरिरहेको छ। रंगीन जस्तापाताको उत्पादन पनि सुरु भएको उनले बताए। ‘हामीले अहिले परीक्षणका रूपमा रंगीन जस्तापाता उत्पादन थालेका छौं’, अग्रवालले भने, ‘साउन मसान्तभित्र व्यावसायिक उत्पादन सुरु हुन्छ।’
रंगीन जस्तापाता उत्पादनका लागि बाराको जितपुरमा ४० करोड रुपैयाँ लगानीमा नयाँ प्लान्ट लगाएको अग्रवालले जानकारी दिए। नेपालमा जस्तापाताको माग बर्सेनि बढिरहेकाले रंगीन जस्तापाता उत्पादन सुरु गरेको उनले बताए। ‘अहिले पहाडी क्षेत्रमा जस्तापाता लगाउने चलन बढेको छ’, उनले भने, ‘यसले माग वृद्धि भइरहेको छ।’ वैदेशिक रोजगारीबाट ग्रामीण क्षेत्रको कमाइ बढेकाले जस्तापाताले घर छाउने क्रम बढेको र उद्योग काराखानाले भवन बनाउन प्रयोग गरिरहेकाले जस्तापाताको बजार बढेको उनले बताए। नयाँ प्लान्टको क्षमता वार्षिक ४० हजार टन रंगीन जस्तापाता उत्पादन गर्ने हुनेछ।

समूहले जस्तापाता बनाउन प्रयोग हुने ‘कोल्ड रोलिङ क्वायल’ उत्पादन गर्न पनि नयाँ प्लान्ट स्थापना गरेको अग्रवालले बताए। यसका लागि समूहले ४० करोड रुपैयाँ खर्चेको छ। उनले भने, ‘यसले जस्तापाता उत्पादन गर्ने चरण घटाउनेछ।’
राजेश समूहले अहिले नेपालबाट पाइप, जस्तापाता र सिमेन्ट भारतका विहार र उत्तरप्रदेशमा निर्यात गरिरहेको छ। यो समूहले वार्षिक एक अर्ब ५० करोड रु पैयाँबराबरका सामग्री निकासी गर्ने गरेको छ। निकासी बढाउन र नेपाललाई आत्मनिर्भर बनाउन विभिन्न उद्योगमा थप लगानी गर्न लागेको अग्रवालले बताए। समूहले बाराको जितपुरमा फलामे छड उद्योग सञ्चालनको तयारी गरेको छ। करिब ३० करोड लगानीमा स्थापना हुने उद्योगले टीएमटी फलामे छड र बिलेट उत्पादन गर्नेछ। ‘हामीले सुरुमा टीएमटी फलामे छड उत्पादन गर्छौं’, उनले भने, ‘बिलेट पनि उत्पादन गर्ने लक्ष्य छ।’
अहिले भारतबाट क्लिंकर आयात गरेर सिमरामा आरएमसी सिमेन्ट उद्योग चलाइरहेको समूहले आफैं क्लिंकर उद्योग चलाउने तयारी गरेको छ। आरएमसीले दैनिक १ हजार टन सिमेन्ट उत्पादन गर्छ। हाल पीएससी सिमेन्ट उत्पादन गरिरहेको यो उद्योगले चाँडै ओपीसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी गरेको छ। पाल्पामा स्थापना हुने सिमेन्ट र क्लिंकर उद्योगमा समूहले चार अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। स्वदेशी चुनढुंगा प्रयोग गरेर क्लिंकर उत्पादन गर्न लागिएको यो उद्योगको क्षमता प्रतिदिन एक हजार दुई सय टन उत्पादन क्षमता हुनेछ।
सरकारले सिमेन्ट उद्योगमा पूर्वाधार पुर्‍याइदिने घोषणाअनुसार बिजुली र बाटो पुर्‍याउनका लागि सहयोग गरिरहेको अग्रवालले बताए। उनका अनुसार सडकका लागि गत वर्ष सरकारले एक करोड विनियोजन गरेको थियो। ‘सरकारले पूर्वाधार पुर्‍याइदिने भने पनि थोरै रकम विनियोजन गर्दा काम हुन सकेको छैन,’ उनले भने, ‘सरकारले सिमेन्ट उद्योगको विकासका लागि रकम बढाउनुपर्छ।’
अग्रवालले पाल्पाबाट सिमेन्ट उत्पादन गरेर भारत निर्यातलाई अझ बढाउने लक्ष्य राखिएको बताए। नेपालबाट पहिलोपटक सिमेन्ट निर्यात थालेको आरएमसीले हाल दैनिक तीन ट्रकसम्म सिमेन्ट निकासी गरिरहेको छ। कम्पनीले भारतीय गुणस्तर प्रमाण चिह्न आईएस-४५५ लिएर निर्यात थालेको हो। ‘नेपालबाट हामीले ठूलो मात्रामा सिमेन्ट भारत निर्यात गर्न सक्छौं’, उनले भने, ‘यसले नेपालको व्यापार घाटा कम गर्न मद्दत गर्नेछ।’
व्यापारबाट कारोबार सुरु गरेको भए पनि यो समूह अहिले उद्योगमै केन्द्रित छ। नेपालमा राजनीतिक अस्थिरताका कारण उद्योग फस्टाउन नसकेकाले राजनीतिक अस्थिरता अन्त्य भए उद्योग क्षेत्रमा लगानी बढ्ने अग्रावालले बताए। उनले मुलुकको विकासका लागि औद्योगिकीकरण आवश्यक भएकाले आफूहरू उद्योगमा केन्द्रित भएको दाबी गरे।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...