Skip to main content

कहा कहा पुग्दैछ टेलिकमको अप्टिकल फाइबर?

सरकारी स्वामित्वको दूरसञ्‍चार सेवा प्रदायक नेपाल टेलिकमले सेवा विस्तारका क्रममा यस आर्थिक वर्षभित्र थप १३ जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबर पुर्‍याउने भएको छ।
तीव्र गतिको इन्टरनेट सहित अन्य सेवालाई गुणस्तरीय बनाउन टेलिकमले यसैवर्षभित्र थप १३ जिल्लामा अप्‍टिकल फाइबर पुर्‍याउन लागेको हो। भूउपग्रहमार्फत दिइएको सेवाभन्दा अप्‍टिकल फाइबर प्रयोगले दिइने सेवाको गुणस्तर बढ्ने भएकाले टेलिकमले केही वर्षदेखि फाइबर बिछ्याउने कार्यलाई निरन्तरता दिएको छ।
प्रतिस्पर्धी बढेसँगै टेलिकमलाई सेवा विस्तार र सुधारमा दबाब परेकाले यसै वर्ष १३ जिल्लामा अप्‍टिकल फाइबर नेटवर्क विस्तार गर्न लागिएको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताइन्। उनका अनुसार यस वर्ष ६ सय किलोमिटर अप्‍टिकल फाइबर विस्तार गर्ने योजना छ। ‘यसका लागि कम्पनी छानिसकेका छौं’, उनले भनिन्, ‘फाइबर विस्तारको काम सुरु भइसकेको छ।’ यो वर्ष अप्टिकल फाइबर विस्तार गर्ने जिम्मा चिनियाँ क्विनफेन कम्युनिकेसन कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले काम सुरु गरिसकेको टेलिकमले जनाएको छ। ‘सर्वेक्षण र डिजाइन पूरा गरेर काम सुरु भइसकेको छ’, प्रधानले भनिन्, ‘यस वर्ष १३ जिल्ला थपिएपछि नेपालका ४७ जिल्लामा टेलिकमको आफ्नै अप्टिकल फाइबर नेटवर्क हुनेछ।’

यस वर्ष टेलिकमले सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, नुवाकोट, धादिङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम, रोल्पा र सप्‍तरी सदरमुकाममा अप्‍टिकल फाइबर पुर्‍याउन लागेको हो। टेलिकमका अनुसार यसवर्षभित्र तुलसीपुर-सल्यान, बाग्लुङ-बेनी, आबुखैरेनी-गोर्खा, काठमाडौं-गल्छी-गजुरी, बुधबारे-फिक्‍कल-आइतबारे-इलाम-फिदिम, गल्छी-तारुकाघाट-त्रिशूली र तारुकाघाट-धादिङबेसी जोड्ने अप्‍टिकल फाइबर बिछ्याउने भएको छ। यसैगरी स्याङ्जा-गल्याङ, गल्याङ-पाल्पा, गल्याङ-बलेटक्सार, बलेटक्सार-वाङ्ला, वाङ्ला-सन्धिखर्क, सन्धिखर्क-खलंगा, खलंगा-लिवाङ, खलंगा-झिमरुक-लमही जोड्ने अप्टिकल फाइबर पनि यसै वर्षभित्र बिछ्याउने टेलिकमको योजना छ।
यसैगरी तराई क्षेत्रमा कञ्‍चनपुर-फत्तेपुर-राजविराज-सखडा, मोरङको उर्लाबारी-मधुमल्ला, रंगेली-उर्लाबारी र विराटनगर-विराटचोकमा पनि अप्‍टिकल फाइबर विस्तार हुने भएको छ। सुनसरीको दुहबी-इनरुवा र सिरहाको मिचैर्या र उदयपुरको कटारी पनि यसैवर्ष अप्टिकल फाइबरमा जोडिने भएका छन्।
टेलिकमले सडक र आवश्यक पूर्वाधार बनिसकेका स्थानमा जमिनमा गाडेर र अन्य क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारीमा अप्टिकल फाइबर विस्तार गरिरहेको छ। विद्युत् प्राधिकरणले बनाएको प्रसारण लाइनमा टेलिकमले पनि पोल र तार भाडामा लिएर अप्टिकल फाइबर लिंक विस्तार गर्ने गरेको छ। ‘सबै स्थानमा हाम्रो पूर्वाधार पुगेको छैन, भौगोलिक हिसाबले जमिनमुनिबाट लान पनि अप्ठ्यारो पर्छ’, उनले भनिन्, ‘त्यसैले प्राधिकरणसँग साझेदारी गर्ने गरिएको छ।’
टेलिकमले गत वर्ष सातवटा जिल्ला सदरमुकाममा अप्टिकल फाइबर विस्तार गरेको थियो। पूर्वपश्चिम राजमार्गमा पनि टेलिकमले अप्टिकल फाइबर बिछ्याएको छ। ७५ वटै जिल्लामा अप्टिकल फाइबर जोडेर उच्‍च गतिको इन्टरनेटसहित सबैखाले सेवा चलाउने योजनाअनुसार टेलिकमले विस्तार अभियान अघि बढाएको हो। टेलिकमले विस्तार गरेको अप्टिकल फाइबरले सार्क सूचना मार्गमा मुलुकलाई जोड्न समेत सहयोग गर्नेछ। सरकारले तीनबर्से योजना अवधिमा सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर पुर्‍याउने रणनीति लिएको छ। यसलाई पूरा गर्न टेलिकमको विस्तारले सहयोग गर्नेछ।
चालू आर्थिक वर्षमा लगानी गर्न १५ अर्ब ९५ करोड रुपैयाँ छुट्याएको टेलिकमले टेलिफोन, इन्टरनेट र केबल टेलिभिजन समेत एकै साथ चलाउन मिल्ने नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन) समेत सुरु गरेको छ। यो सेवा विस्तारका लागि अप्टिकल नेटवर्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। टेलिकमका ग्राहकको संख्या गत जेठ मसान्तसम्ममा ८९ लाख ६४ हजार पाँच सय ९५ पुगेको छ। इन्टरनेट ग्राहकको संख्या ३१ लाख ७३ हजार पाँच सय ७६ पुगेको छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु