Skip to main content

पाँचमध्ये चार नेपालीको हातमा टेलिफोन

सस्तो, सुलभ र सरलरुपमा मोबाइल पाइन थालेपछि अधिकांश नेपालीको हातमा टेलिफोन सेवा पुगेको छ।
दुई करोड ६५ लाख हाराहारी जनसंख्या भएको नेपालमा प्रत्येक ५ जनामध्ये ४ जनाको हातमा प्रत्यक्ष टेलिफोन सेवा पुगेको हो। अन्य क्षेत्रको विकासमा पछाडी परेको भएपनि पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रमा नेपालले फड्को मारिरहेको छ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार गएको असारसम्ममा २० प्रतिशतभन्दा पनि कम नेपाली टेलिफोनको पहुँच बाहिर रहेका छन्। सूचना प्रविधि क्षेत्रका नयाँ—नयाँ प्रवेशसँगै धेरै नेपालीले मोबाइल प्रयोग बढाएकाले टेलिफोन पहुँच विस्तार भएको हो।
दूरसञ्चार सेवा प्रदायकको नियमन गर्ने सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मासिकरुपमा निकाल्ने व्यवस्थापन सूचना प्रणाली(एमआइएस) प्रतिवेदन अनुसार ८०.५१ प्रतिशत नेपालीको पहुँचमा टेलिफोन सेवा विस्तार भएको छ। यो आँकडा गएको असार मसान्तसम्मको तथ्याङ्कमा आधारित छ।
‘गत आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी नेपालीको पहुँचमा टेलिफोन सेवा विस्तार भइसकेको छ,’ प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ‘त्यसमध्ये धेरैले मोबाइल प्रयोग गर्छन्।’ पछिल्लो एक दशकभित्र नेपालमा सबैभन्दा तीव्र विकास दूरसञ्चार क्षेत्रमा भएकाले टेलिफोन पहुँच वृद्धि भएको हो। ‘प्रतिष्पर्धाले छनोटको अवसर दिनुका साथै मोबाइल सेवा र सेट सस्तिएकाले पहुँच विस्तार भएको हो,’ खनालले भने, ‘यसले सूचना सञ्जालमा जोडिने नेपालीको संख्या बढाएको छ।’

प्राधिकरणले सार्वजनिक गरेको एमआइएस प्रतिवेदन अनुसार टेलिफोनको पहुँचमा रहेका जनतामध्ये सबैभन्दा धेरैले मोबाइल प्रयोग गर्छन्। मोबाइल प्रयोग गर्ने नेपालीको संख्या कुल जनसंख्याको ७१.४६ प्रतिशत रहेको छ। यसैगरी फिक्स्ड लाइन प्रयोग गर्ने सबैभन्दा थोरै ३.२१ प्रतिशत छन् भने एलएम, जिएमपिसिएसलगायतका अन्य खाले टेलिफोन प्रयोगकर्ता ५.८४ प्रतिशत रहेका छन्।
प्राधिकरणका अनुसार गत वर्षको अन्त्यसम्ममा सबैभन्दा धेरै टेलिफोन प्रयोगकर्ता निजी क्षेत्रको कम्पनी एनसेलका रहेका छन्। गत असार मसान्तसम्ममा एनसेलका ग्राहकको संख्या १ करोड ५ लाख २६ हजार ७ सय ९८ रहेको छ।
यसैगरी नेपाल टेलिकमका ग्राहकको संख्या ९१ लाख ७६ हजार ६०, युटिएलका ग्राहको संख्या ७ लाख १९ हजार ३ सय ४१, एसटिएमका ग्राहकको संख्या ५ हजार ३ सय ८५, नेपाल स्याटलाइट टेलिकमका ग्राहको संख्या १ लाख ४९ हजार ९ सय ९८, स्मार्ट टेलिकमका ग्राहको संख्या ७ लाख ५३ हजार २ सय ५४ र अन्य सेवाप्रदायकका ग्राहको संख्या १ हजार ७ सय ४२ रहेका छन्।
विभिन्न कम्पनीहरुले ग्रामिण क्षेत्रसम्म मोबाइल सेवा विस्तार गरेपछि प्रयोगकर्ता वृद्धि भएका हुन्। यसले गर्दा टेलिफोन सेवा प्रयोग गर्नेको हिस्सा बढेको हो। टेलिफोन सेवासँगै इन्टरनेटको पनि पहुँच विस्तार भइरहेको छ।
एमआइएस प्रतिवेदन अनुसार गएको असार मसान्तसम्ममा २६ प्रतिशतभन्दा बढी नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत वर्षसम्ममा २६.१० प्रतिशतको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। गत वर्षको अन्त्यसम्ममा कुल नेपालीमध्ये ६९ लाख १६ हजार १ सय ३८ नेपालीको हातमा इन्टरनेट सेवा पुगेको छ।
पछिल्लो समयमा मोबाइलमै इन्टरनेट सेवा उपलब्ध भएपछि इन्टरनेटको पहुँचमा बाँधिने नेपालीको संख्या बढेको हो। प्रतिवेदन अनुसार इन्टरनेटको पहुँचमा बाँधिएकामध्ये सबैभन्दा बढीले मोबाइलमा इन्टरनेट चलाउछन्। कुल इन्टरनेट प्रयोगकर्तामध्ये मोबाइलमा इन्टरनेट चलाउने ग्राहकको संख्या ६४ लाख ७६ हजार १ सय ३६ रहेका छन्। नेपालमा विभिन्न सेवाप्रदायकले जिपिआरएस, थ्रिजी, इडिजिईलगायतका सेवामार्फत मोबाइलमै इन्टरनेट प्रदान गरिरहेका छन्।
इन्टरनेट सेवा प्रयोगकर्तामध्ये नेपाल टेलिकमका ३२ लाख ७७ हजार ६ सय ६७, एनसेलका ३४ लाख ५६ हजार ९ सय ७५, युटिएलका ९५ हजार ६ सय ७५ र विभिन्न इन्टरनेट सेवा प्रदायकका ८५ हजार ८ सय २१ ग्राहक रहेका छन्।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु