Skip to main content

एक्सिलेन्स अवार्डमा छानिएकाको ब्रान्डकहानी

नेपाल उद्योग वाणिज्य महासंघले आगामी भदौ २ गते घोषणा गर्न लागेको ‘नेसनल एक्सिलेन्स अवार्ड’को ‘बेस्ट ब्रान्ड अफ दि इयर पिपुल्स च्वाइस’तर्फ अन्तिम प्रतिष्पर्धामा ५ स्वदेशी र ५ बहुराष्ट्रिय ब्रान्ड छनोट भएका छन्। ‘निम्बस एफएनसीसीआई नेसनल एक्सिलेन्स अवार्ड २०७०’को पिपुल्स च्वाइसतर्फ छानिएका ब्रान्डले आफुहरु उत्कृष्ट हुने दाबी पेस गरिरहेका छन्। यसै वर्षदेखि समावेश गरिएको अवार्डको विधामा छनोट भएका विभिन्न ब्रान्ड र ब्रान्ड स्थापना गर्ने कम्पनीले आफ्ना विशेषता प्रस्तुत गर्दै जनतासँग भोट पनि मागेका छन्।
एसएमएस र फेसबुकमार्फत जनताले आफुलाई मन परेको ब्रान्डलाई भोट हाल्न सक्नेछन्। अन्तिम प्रतिष्पर्धामा जनताको भोटलाई पनि आधार मानेर उत्कृष्ट ब्रान्डलाई पुरस्कृत गरिने आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। १२ वर्षदेखि महासंघले आयोजना गर्दै आएको अवार्डमा यसवर्ष थपिएको यो विधालाई प्रतिष्पर्धीले आफ्नो विजय र गर्वकोरुपमा लिएका छन्। यसलका लागि उनीहरु आफ्ना आफ्नै दाबी रहेका छन्। सबैजसो छानिएका ब्रान्डले आफु उत्कृष्ट हुने दाबी गरिरहेका छन्।
महासंघले आगामी विहिबारसम्मका लागि भोटिङ गर्ने समय तोकेको छ। यस अवधिमा जनताले एसएमएस र फेसबुकमार्फत मन परेको ब्रान्डलाई भोट हाल्न पाउने छन्। उत्कृष्ट ब्रान्ड छनोटका लागि बनाइएको स्वतन्त्र निर्णायक समितिले १५—१५ राष्ट्रिय र बहुराष्ट्रिय ब्रान्डको छनोट गरेका थिए। त्यसमध्येबाट पनि उत्कृष्ट ५—५ कम्पनी छनोट गरिएको हो।

महासंघले एसएमएसमार्फत भोट गर्न राष्ट्रिय ब्रान्डका लागि ‘एनसी’   लेखेर स्पेस दिई ब्रान्डको कोड राखेर एसएमएस गर्नुपर्नेछ। यसैगरी बहुराष्ट्रिय ब्रान्डका लागि ‘एमएनसी’ लेखेर स्पेस दिई कोड राखेर एसएमएस पठाउनु पर्छ। महासंघले जनताले ७३३७ मा एसएमएस पठाएर भोट गर्न सक्ने जनाएको छ। यसैगरी एफएनसीसीआईको एक्सिलेन्स अवार्ड २०७० सम्बन्धि फेसबुक पेजमा गएर पनि भोट गर्न सकिने छ। यो अवार्डका लागि अन्तिम मनोनयनमा स्वदेशीतर्फ जगदम्बा स्टिल, पशुपति पेन्टस्, टोकला चिया, वाइवाई चाउचाउ र चोकेफन परेका छन्। यसैगरी बहुराष्ट्रिय ब्रान्डतर्फ एशियन पेन्ट्स, एनसेल, स्याण्डर्ड चार्टर्ड, कोकाकोला र फेयर एन्ड लब्ली छानिएका छन्।
अवार्डमा मनोनयन भएका स्वदेशी ब्रान्डहरु
जगदम्बा स्टिल
शंकर ग्रुपको उत्पादन जगदम्बा स्टिल सन् १९९४ देखि उत्पादन सुरु भएको हो। नेपालको फलामे स्टिल बजारमा आफ्नो हिस्सा ५० प्रतिशत रहेको बताउने जगदम्बाले यो अवार्ड हात पार्ने दाबी गरेको छ। ‘हामी हरेक ग्राहकले मन पराउने ब्रान्डमा पर्छौ,’ जगदम्बाका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘नेपालीको ढुकढुकीमा बस्न सफल हाम्रो बान्डले अवार्ड जित्नेछ भन्ने लागेको छ।’ उनले जगदम्बाले नेपाली व्यवसायी क्षेत्रमा ब्रान्डिङलाई नयाँ परिभाषा दिएको दाबी गरे। नेपालभित्रका उत्पादनका ब्रान्डको नाम लिदा जगदम्बा एक नम्बरमा पर्ने उनको दाबी छ। यसअघिका विभिन्न अवार्डहरु समेत जितिसकेकाले जगदम्बाले यसपाली पनि जित्ने अग्रवालले बताए। निर्माण सामग्री क्षेत्रका उद्योगहरु सञ्चालन गरिरहेको शंकर समूहले स्टिल बाहेक सिमेन्टलगायतका उत्पादन पनि जगदम्बा ब्रान्डमै गरिरहेको छ।  
वाइवाई 
चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्सको उत्पादन वाइवाई चाउचाउ नेपालभित्रको मात्र नभई विश्वबजारमै नेपालको उत्पादनकोरुपमा चिनिएको उत्पादकको दाबी छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफ्नो आत्मकथामा समेत धेरै प्रशंसा गरेको वाइवाई चाउचाउ नेपालकै सबैभन्दा चर्चित ब्रान्ड भएकाले यसले अवार्ड हात पार्ने ग्रुपका उपाध्यक्ष जीपी साहले दाबी गरे। ‘नेपाललाई सगरमाथा बुद्ध र वाइवाइको देशकोरुपमा चिनिन थालेको छ,’ उनले भने, ‘वाइवाई नेपालकै ब्रान्ड भइसक्यो, यसले अवार्ड पाउनेछ।’ साहले सन् १९८४ देखि उत्पादन भएको वाइवाईले एसिनेल्सनले सन् २००६ देखि ९ सम्म गरेको रेटिङमा टप ब्रान्डमा पर्न सफल भएको साहले बताए। विभिन्न खालका संकट परेका बेला समेत धेरै खाले सामाजिक अभियान गरेकाले वाइवाईप्रति जनताको भावना जोडिएको उनको दाबी छ। यसले विभिन्न सामाजिक कार्य समेत गरेको र विभिन्न मुलुकमा निर्यात गरिरहेकाले अहिलेको अवार्डमा छनोट हुने साहको दाबी छ।
चोकोफन
सुजल फुड्स प्रालीले वि.सं. २०५७ सालदेखि उत्पादन सुरु गरेको चोकोफन नेपाली बालबालिकाबिच सबैभन्दा लोकप्रिय ब्रान्ड भएको सञ्चालक अञ्जन श्रेष्ठ बताउछन्। उनका अनुसार यसपालीको अवार्डमा चोकोफनलाई धेरैले मन पराएर भोट हाल्नेछन्। कम्पनीका महाप्रबन्धक महेन्द्र श्रेष्ठले नेपालीले आफ्नै क्षमता र प्रविधिमा उत्पादन सुरु गरेको यो ब्रान्ड साच्चैको स्वदेशी ब्रान्ड भएको दाबी गरे। ‘यो ब्रान्ड उत्पादनका लागि हामीले विदेशी प्राविधिक सहयोग समेत लिएका छैन,’ उनले भने, ‘यस्तो ब्रान्ड नेपालमा अरुले स्थापित गर्न सकेको छैन।’ शतप्रतिशत स्वदेशी उत्पादन भएकाले यो ब्रान्डले जनताको सबैभन्दा धेरै मत पाउने उनको दाबी छ। स्वदेशी र विदेशी कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरिएको यो चोकोफन विश्वस्तरिय रहेको उनको दाबी छ।
 टोकला चिया
नेपाल चिया विकास निगमको टोकला ब्रान्डले स्वदेश र विदेशमा नेपाली चियालाई स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको उत्पादकको दाबी छ। ‘यो ब्रान्डले विदेशी चियालाई विस्थापित गरेर स्वदेशीको बजार प्रवद्र्धन गरेको छ,’ निगमका अध्यक्ष सुवास संघाइले भने, ‘अष्ट्रेलिया र अमेरिकामा यही ब्रान्ड निर्यात गरेर नेपाली चियालाई विश्वभर चिनाउने काम गरेका छौ।’ आफ्नै बगानको पत्तिबाट उत्पादित यो चियाले यसपालीको अवार्ड जित्ने संघाइको दाबी छ। १३ वर्षअघि सरकारी स्वामित्वको निगम निजिकरण भएपछि पुरानो ब्रान्डलाई फेरि स्थापित गरिएको उनले बताए। टोकला चियाले नै भारतबाट आउने रेडलेवल चियाको बजार लिएर नेपाली पैसा विदेशिनाट जोगाएको उनको दाबी छ। गुणस्तरमा प्रतिबद्ध र आफ्नै बगानको चिया भएकाले यसले अवार्ड जित्ने संघाइले बताए।
पशुपति पेन्टस्

वि. सं २०३९ सालदेखि उत्पादन सुरु गरेको मुरारका समूहको पशुपति पेन्टस्ले नेपालभित्रै अन्तर्राष्ट्रिय मापदण्डको पेन्टस् उत्पादन गरिरहेको दाबी गरेको छ। ‘हामीले नेपाली मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको पेन्टस् उपलब्ध गराएका छौ,’ कम्पनीका कन्ट्री म्यानेजर शैलेस सिटौलाले भने, ‘यसले गर्दा यो अवार्ड हामीले जित्ने सम्भावना छ।’ आफ्नो बजार हिस्सा २५ प्रतिशतको हाराहारी रहेको उनले बताए। नेपालीहरुलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादनसँगै सेवा प्रवाह गरेकाले आफ्नो ब्रान्डले यो अवार्ड जित्ने उनको दाबी छ। वातावरणलाई कम असर गर्ने र स्वास्थ्यलाई पनि असर नगर्ने खालका रङहरु बजारमा ल्याएको र यसलाई धेरैले मन पराएको उनले बताए। नेपालीहरुको चाहना अनुसारको स्वदेशी उत्पादन भएकाले धेरैले आफ्नो कम्पनीलाई भोट गरेर अवार्ड जिताउने उनको दाबी छ।
मनोनयनमा परेका बहुराष्ट्रिय ब्रान्ड
एनसेल 
युरोपेली कम्पनी टेलिया सोनेराको लगानी रहेको एनसेलले आफ्ना ग्राहकको संख्या नै १ करोड रुपैयाँभन्दा बढी पुर्‍याइसकेको दाबी गरेको छ। नेपाली बजारमा ब्रान्डलाई स्थापित गर्न मुख्य भुमिका खेलेको दाबी गर्ने एनसेलले यसपालीको अवार्डमा जनताले आफुहरुलाई धेरै भोट दिएर जिताउने बताएको छ। ‘नेपालमा ब्रान्डिङलाई स्थापित गर्ने काम नै हामीले गरेका हौ,’ एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलन शर्माले भने, ‘नेपालभर सबै जिल्लामा फैलिएको हाम्रो ब्रान्डले अवार्ड जित्ने अपेक्षा छ।’ ग्राहकलाई गुणस्तरीय र छिटो छरितो सेवा दिएर आफुहरु प्रयोगकर्तामैत्री भएकाले धेरैले भोट गर्ने शर्माले दाबी गरे। २४ घण्टै सेवा दिने गरेको कम्पनीले विभिन्न सामाजिक कार्य गरिरहेकाले पनि स्थापित ब्रान्ड भएको कम्पनीको दाबी छ। एनसेलले विद्यालय भवन निर्माण र छात्रवृत्ति समेत प्रदान गरिरहेको उनले बताए।
एसियन पेन्टस्


३० वर्षदेखि नेपाली बजारमा उत्पादन र बिक्री गरिरहेको एसियन पेन्टस्ले आफुलाई कर्पोरेट ब्रान्डको उच्चकोटीमा रहेको दाबी गर्दै आएको छ। कम्पनीले यसपालीको अवार्डमा आफु छनोट हुने बताएको छ। ‘हाम्रो ब्रान्ड एकदमै लोकप्रिय ब्रान्ड हो,’ कम्पनीका एक उच्च अधिकारीले भने, ‘हामी ग्राहकले सबैभन्दा धेरै रुचाउने ब्रान्डमा पर्छौ।’ एसियन पेन्टस्ले नेपालभित्र विभिन्न खाले रङहरु उपलब्ध गराउदै आएको छ। ग्राहकले रुचाएकाले आफ्नो बजार हिस्सा ४३ प्रतिशत रहेको दाबी गर्ने यो ब्रान्डले विभिन्न सामाजिक कार्य समेत गरिरहेको जनाएको छ। केही वर्षअघि गरिएको बजार सर्वेक्षणमा आफ्नो ब्रान्ड सबैभन्दा रुचाइएको र खोजिएकोमा परेकाले अवार्ड जित्ने सम्भावना बढी रहेको ती अधिकारीले बताए। कम्पनीले वातावरणमैत्री तरिकाले उत्पादन अघि बढाएको उनले बताए।
स्ट्यान्डर्ड चार्टर बैंक

सन् १९८७ मा नेपालमा सुरु भएको नेपालमा कारोबार सुरु गरेको स्ट्यान्डर्ड चार्टर बैंकले सरल र सुलभ तरिकाले बैंकिङ सेवा दिइरहेको जनाएको छ। स्ट्यान्डर्ड चार्टर ग्रुपको ७५ प्रतिशत र नेपाली नागरिकको २५ प्रतिशत सेयर रहेको यो बैंकले नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिएको दाबी गरेको छ। बैंकले यसपालीको अवार्ड आफुले जित्ने दाबी गरेको छ। नेपालमा १९ वटा प्वाइन्ट र २३ एटिएमबाट सेवा दिइरहेको यो बैंकले नेपालभित्र आधुनिक, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बैंकिङ सेवा सुरुवात गरेकाले आफ्नो ब्रान्ड यस क्षेत्रको सबैभन्दा राम्रो भएको दाबी गरेको छ। ‘कस्टमर फोकस्ड’ सेवालाई बढी महत्व दिएको दाबी गर्ने बैंकले नेपालमा विभिन्न खाले बचत र कर्जा योजना चलाइरहेको छ। बैंकले आफुले यसपटकको अवार्ड जित्ने दाबी गरेको छ।
कोकाकोला


कोकाकोला नेपाली बजारमा सन् १९७३ देखि आएको हो। त्यसबेला भारतबाट आयात हुने कोकाकोला बोटलर्स नेपाल प्रालीको स्थापनापछि सन् १९७९ देखि नेपालमै उत्पादन हुन थाल्यो। यसले काठमाडौं र भरतपुरमा प्लान्ट राखेर कोकाकोला उत्पादन गरिरहेको छ। विश्वव्यापी ब्रान्ड भएको र नेपालमा पनि निक्कै लोकप्रिय रहेकाले यसले यसपालीको अवार्ड जित्ने कम्पनीको दाबी छ। हल्का चियो पेयको बजारमा विश्वभर ख्याती कमाएको र नेपाली उपभोक्ताले पनि एकदमै रुचाएको ब्रान्ड भएको कम्पनीको दाबी छ। विभिन्न खाले सामाजिक कार्य र संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेकाले धेरै नेपालीले भोट हाल्ने कम्पनीका अधिकारीहरु बताउछन्। नेपाली सेयर बजारमा सूचीकृत पब्लिक कम्पनीकोरुपमा रहेकाले पनि यसलाई भोट हाल्ने कम्पनीको दाबी छ।
फेयर एन्ड लभ्ली
फेयर एन्ड लभ्ली युनिलिभर नेपालको उत्पादन हो। युनिलिभरले नेपालमा उत्पादन प्लान्ट राखेर बजारमा ल्यएको यो क्रिम निक्कै लोकप्रिय भएकाले अवार्ड जित्ने कम्पनीको दाबी छ। विभिन्न ३० मुलुकमा बिक्री हुने यो क्रिम नेपालमा भने युनिलिभरले उत्पादन गर्दै आएको छ। नेपाली सेयर बजारमा सूचीकृत यो कम्पनीले भिटामिन, प्राटिनलगायतका विभिन्न खाले आवश्यक तत्व सहितको क्रिम बजारमा ल्याएकाले धेरै नेपालीको मन जित्न सफल भएको दाबी गरेको छ। यसले यसपालीको अवार्डमा आफुहरुले सफलता पाउने दाबी गर्दै आएको छ। भारतमा सन् १९७८ देखि उत्पादित यो क्रिम त्यहापनि लोकप्रिय मध्येमा पर्छ। महिलाहरुले विशेष गरि रुचाएको यो क्रिमले धेरै भोट पाएर यसपालीको अवार्डमा विजयी हुने कम्पनीका अधिकारीहरुको दाबी छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु