Skip to main content

आयुर्वेदिक पसलमा आइपिल!

राजधानीभित्रका आयुर्वेदिक औषधी पसलले अनुमति विपरित एलोपेथिक, गर्भनिरोध र शक्तिबद्र्धक औषधी समेत बिक्री गर्ने गरेको पाइएको छ।
सरकारी अनुगमनका क्रममा राजधानीभित्र सबैभन्दा चल्तीको स्थानमा रहेका पसलले समेत अनुमति बिना एलोपेथिक औषधी कारोबार गरेको भेटिएको हो। मंगलबार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा आर्युवेदिक पसलले एलोपेथिक औषधी बेचेको भेटिएको छ।
‘आर्युवेदिक औषधी मात्र बिक्री गर्ने अनुमति पाएका पसलेले समेत एलोपेथिक औषधी बेचेको भेटिएको छ,’ विभागका निर्देशक हरिनारायण वेल्बासेले भने, ‘हामीले सबै पसलेलाई स्पष्टिकरण सोधेर कारबाही अघि बढाएका छौ।’ विभागले कैफियत भेटिएकामध्ये मंगलबार एउटा पसल बन्द गराएको छ भने अरुलाई स्पष्टिकरण सोधेको छ।
अनुगमनका क्रममा पसलमा योग्यता नभएका व्यक्ति बसेको समेत पाइएको छ। यसैगरी कतिपय पसलले प्रतिबन्धित र संवेदनशील एलोपेथिक औषधी कारोबार गरेको भेटिएको छ। ‘एलोपेथिक पसलमा समेत खुल्लारुपमा बिक्री गर्न नपाइने ओषधी आर्युवेदिक पसलेले बेचेको भेटिएको छ,’ वेल्बासेले भने।
अनुगमनका क्रममा नरदेवीको आर्युवेदिक अस्पतालभित्रैको पसलमा समेत एलोपेथिक औषधी कारोबार भइरहेको भेटिएको हो। नरदेवीमा आर्युवेदिक अस्पताल भएकाले यस क्षेत्रका पसलहरु निक्कै चल्तीका मानिन्छन्। अस्पताल हाताभित्र सञ्चालित सार आयुर्वेद फार्मेसीले धेरै खाले एलोपेथिक औषधी बिक्री गरेको भेटिएको हो। यो पसलमा योग्यता पुगेका र आधिकारिक व्यक्ति नबसी औषधी बिक्री गरेको, व्यवसाय नविकरण नगरेकोलगायतका कैफियत समेत भेटिएको छ।

सरकारी टोलीले पसलेलाई स्पष्टिकरणका लागि तीन दिनभित्र वाणिज्य र औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ। औषधी व्यवस्था विभागले यो पसलबाट मेगापेन भोभेरोन, जानोलिन, मेट्रिज्–४००, अल्डाक्टोन लगायतका औषधी जफत गरेको छ।
नरदेवीकै लोककल्याण आयुर्वेद फर्माले भने अनुमति बिनै गर्भनिरोधक औषधी बिक्री गर्ने गरेको पाइएको छ। यो पसलले यौन सम्पर्क भएको ७२ घण्टाभित्र प्रयोग गर्दा गर्भ रोकिने ‘आई–पिल’ बिक्री गरेको भेटिएको हो। ‘आई–पिल’ भेटिएपछि अनुगमन टोलीले पसल बन्द गरिदिएको छ।
यो पसलमा पनि अनधिकृत व्यक्ति बसेर औषधी बिक्री गरेको, व्यवसाय दर्ता प्रमाणपत्र लगायत आवश्यक कागजात देखाउन नसकेको र बट्टामा राखिएका औषधीमा लेबल नखुलाई बिक्री गरेको कैफियत भेटिएको छ। टोलीले पसल सञ्चालकलाई दुई दिनभित्र वाणिज्य र औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
टोलीले मंगलबार आर्युवेदिक बाहेक अन्य औषधी पसलमा पनि अनुगमन गरेको थियो। यी पसलहरुले पनि प्रतिबन्धित र अनुमति विनाका औषधी बिक्री गरेको पाइएको छ। त्यस्तै फार्मेसी पसलमा अनधिकृत व्यक्ति बसेर औषधी बिक्री गरेको पनि भेटिएको छ।
अनुगमनका क्रममा ठमेलस्थित चण्डेश्वर सुमानी फर्मामा आधिकारिक व्यक्ति नबसी अर्कैले कारोबार गरेको भेटिएको छ। टोलीले पसलेलाई दुई दिनभित्र वाणिज्य र औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ। यो पसलले बिक्री गरिरहेको कोलोनाज् र पाअज् औषधी नियन्त्रणमा लिएको छ।
सोह्रखुट्टेको जागरण फर्माले भने यौनबर्धक जेनेग्रा–१०० औषधी बिक्री गेको भेटिएको छ। यसमा पनि अनधिकृत व्यक्तिले औषधी बिक्री गरेको भन्दै तीनदिनभित्र दुवै विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
राजधानीकै कालधारास्थित गोरखा मनासलु मेडिकल हलले भने अधिकतम मूल्य छोपेर औषधी बिक्री गर्ने गरेको पाइएको छ। औषधीमा बढी मूल्य लिनलाई पसलेले यस्तो गरेको हुनसक्ने अनुगमन टोलीको आशंका छ। कम मूल्यको औषधीलाई बढी मूल्यमा बिक्री गर्ने यस्तो गरेको हुनसक्ने भन्दै टोलीले पसलेलाई दुईदिनभित्र दुवै विभागमा उपस्थित हुन निर्देशन दिएको छ। यो पसलमा अधिकतम मूल्य स्पष्ट नखुलाइएका औषधी समेत भेटिएको छ।
अनुगमन टोलीले मंगलबारै राजधानीको विभिन्न स्थानका मिनी मार्ट, किराना पसल र निर्माण सामग्री पसलको पनि अनुगमन गरेको छ। विभिन्न पसलहरुमा मित सकिएका हल्का पेय भेटिएकाले नष्ट गरेको वाणिज्य विभागले जनाएको छ। यसैगरी सिमेन्ट, पीभीसी क्वायललगायतको नमुना पनि संकलन गरेको छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु