Skip to main content

स्टोर र टावरबाटै गायब हुदो रैछ टेलिकमको ब्याट्री

नेपाल टेलिकमले मोबाइल टावरमा प्रयोग गर्ने ब्याट्री र उपकरण  चोरेर बेच्ने गिरोह सक्रिय रहेको खुलेको छ।
मंगलबार कोटेश्वरबाट ब्याट्री चोर्न प्रयोग भएको गाडीका ड्राइभर पक्राउ परेपछि यस्तो गिरोह रहेको खुलेको हो। कोटेश्वर चोक नजिकै एक घरमा राखिएका टेलिकमका ब्याट्री केही व्यक्तिले आएर धमाधम गाडीमा लोड गर्न थालेपछि चोरी भएको खुलेको थियो।
‘केही मान्छे गएर हामीले स्टोर गरेका ब्याट्री लोड गर्न थालेछन्,’ टेलिकमकी इन्जिनियर अनुराधा शर्माले भनिन्, ‘घरवालालाई शंका लागेर हामीलाई फोन गरिदिनु भयो, त्यसपछि चोरी भएको थाहा पायौ।’ घरधनीले फोन गरेपछि प्रहरी सहित टेलिकमको टोली कोटेश्वर पुगेको थियो।
प्रहरी सहित टेलिकम टोली आएपछि चोरीमा सम्लग्नहरु भागेको उनले बताइन्। ‘ब्याट्री लोड गर्दै गरेका चार–पाँच जना भागिहाले,’ शर्माले भनिन्, ‘गाडी र ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लियो।’ प्रहरीे टोलीले गाडीमा लोड गरिएको अवस्थामा कोटेश्वरमा १९ वटा ब्याट्री फेला पारेको छ। ब्याट्री बरामद भएकै स्थानबाट बा ३ च ४०४ नम्बरको गाडीका चालक गोपाल सुनारलाई नियन्त्रणमा लिइएको हो।
पक्राउपछि ड्राइभरले दिएको बयानका आधारमा टेलिकमका अधिकारी सम्मिलित टोलीले बल्खुस्थित दुइवटा कवाडी पसलमा छापा मारेको हो। त्यसक्रममा एउटा कवाडी पसलमा ९५ वटा र अर्कोमा २४ वटा टेलिकमका ब्याट्री भेटिएको छ। कवाडीबाट करिब ६० किलो टेलिफोनको तार र ब्याट्री राख्ने १० वटा स्ट्यान्ड पनि बरामद भएको बानेश्वर प्रहरीका प्रहरी नायव उपरिक्षक रेवती ढकालले बताए। उनका अनुसार कवाडी सञ्चालक सुवोदकुमार जैसवाल र कामदार निखल साह पनि पक्राउ परेका छन्।
इन्जिनियर शर्माका अनुसार कवाडीमा भेटिएका ब्याट्रीहरु नयाँ र पुराना दुवैथरी छन्। ‘केही ब्याट्री हामीले ६ महिनाअघि मोबाइल टावरमा प्रयोग गरेका छन्,’ उनले भनिन्, ‘केही चाही अहिले पुराना टावर विस्थापित गरेर नयाँ राख्ने क्रममा प्रयोग गर्न लागिएका समेत छन्।’

प्रहरीले टेलिकमकै कर्मचारीको संम्लग्नतामा ब्याट्री चोरी हुने गरेको आशंका गरेको छ। कवाडी पसलमा ब्याट्रीसँगै टेलिकमले प्रयाग गर्ने तामाको तार समेत भेटिएको छ। टेलिकमले प्रयोग गर्ने तार र जमिनमुनी बिछ्याइएको अप्टिकल फाइबरको तार समेत पटक–पटक चोरी हुने गरेको छ।
ब्याट्री चोरीको यो घटना पहिलो भने होइन। दुई साताअघि राजधानीको सतुंगलमा प्रहरीले टेलिकमले भाडामा लिएको गाडी चलाउने ड्राइभरको सम्लग्नतामा स्टोर गरेर राखिएका ब्याट्री चोरी हुदै गरेको भेटेको थियो। त्यसबेला पनि घरधनीले टेलिकमका अधिकारीलाई खबर गरेपछि गाडीमा लोड गरिएको अवस्थामा नयाँ १८ वटा ब्याट्री भेटिएको हो। चोरीमा सम्लग्न ड्राइभर सुविन्द्र श्रेष्ठ सहित अरु व्यक्ति भने भागेका थिए। एक साता अघि ड्राइभर श्रेष्ठ भने पक्राउ परे। उनी अहिले पनि कालिमाटी प्रहरीको हिरासतमा छन्।
काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक सुबोध घिमिरेले टेलिकमका ब्याट्री चोरी गर्दै गर्दा केही व्यक्तिहरु पक्राउ परेको पुष्टी गरे। ‘केही व्यक्तिहरु पक्राउ परेका छन्, ब्याट्री पनि बरामद भएको छ,’ उनले भने, ‘ब्याट्री चोर्नेको सञ्जाल कस्तो छ भन्ने अनुशन्धान हुदैछ।’
टेलिकमले दुई साताअघिदेखि राजधानीभित्र पुराना मोबाइल टावर हटाएर नयाँ राख्न थालेको छ। त्यसक्रममा पाँच वर्षअघिका सबै टावर र त्यसमा प्रयोग भएको ब्याट्री हटाएर नयाँ जडान गर्न थालिएको हो। नयाँ टावर जडानसँगै पुराना टावर र त्यसमा प्रयोग भएका ब्याट्री निकालेर टेलिकमले विभिन्न स्थानमा स्टोर गरेको छ।
यसैगरी नयाँ ब्याट्री र टावरका उपकरणहरु पनि स्टोर गरेर राखेको छ। यसरी स्टोर गरिएका स्थानबाट उपकरण, ब्याट्री र तार चोरी हुन थालेपछि टेलिकमले घरधनीलाई नौला मान्छे आएमा खबर गरिदिन आग्रह गरेको थियो।
बारम्बार ब्याट्री, तार र अप्टिकल फाइबर चोरी हुदा टेलिकमको मोबाइल गुणस्तरमा समस्या आउने गरेको छ। मोबाइल टावरमा प्रयोग हुने यस्ता ब्याट्री एक ब्यान्डमा २४ वटा हुन्छन्। २४ वटामा एउटा मात्र ब्याट्री निकालेमा पनि टावर चल्न सक्दैन। एक ब्यान्ड ब्याट्रीको मूल्य करिब ४ लाख पर्ने टेलिकमका अधिकारीहरु बताउछन्।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...