Skip to main content

दुई कम्पनी ३०-३० लाख ग्राहक बढाउदै

telecomनिजी क्षेत्रका दूरसञ्‍चार सेवाप्रदायक स्मार्ट टेलिकम र युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले पहिलो चरणमा ३०-३० लाख ग्राहक बनाउने गरी जीएसएम मोबाइल सेवा सञ्‍चालनको तयारी थालेका छन्।

दुवै कम्पनीले मुलुकभर सेवा पुर्‍याउने योजनाअनुसार पहिलो चरणमा जीएसएम मोबाइल विस्तारको तयारी थालेका हुन्। एकीकृत दूरसञ्‍चार अनुमतिपत्रको विवाद टुंगिएपछि स्मार्ट र यूटीएलले लगानी र सेवा विस्तारको तयारी गरेका छन्। दुवै कम्पनीले लगानी थप गरी पहिलो चरणमा जीएसएम मोबाइल सेवा विस्तार गर्ने योजना बनाएका छन्।
स्मार्ट र यूटीएललाई नेपाल दूरसञ्‍चार प्राधिकरणले गत चैत २९ गते फ्रिक्वेन्सी नीतिअनुसार एकीकृत अनुमतिपत्र दिने निर्णय गरेको थियो। प्राधिकरणको निर्णयविरुद्ध मुद्दा परेपछि दुवै कम्पनीलाई लगानी र सेवा विस्तार गर्न अप्ठ्यारो परेको थियो। उनीहरूले प्राधिकरणको निर्णय कानुनी विवादमा तानिएपछि लगानी र सेवा विस्तार कार्य बीचैमा रोकेका थिए।

गत मंगलबार सर्वोच्‍च अदालतले एकीकृत अनुमतिपत्र दिने निर्णय सदर गर्दै त्यसविरुद्ध परेका रिट खारेज गरेपछि दुवै कम्पनीलाई सेवा विस्तारको बाटो खुलेको हो।
‘सर्वोच्‍चको फैसलापछि हामीलाई सेवा विस्तार गर्न बाटो खुलेको छ’, स्मार्टका प्रवक्ता प्रविनकेशर श्रेष्ठले भने, ‘लगानी थप गर्न स्वीकृति पाइसकेकाले तत्कालै सेवा विस्तार प्रक्रिया सुरु गर्छौं।’ उनले एकीकृत अनुमतिपत्रको दस्तुर बुझाउने र उपकरण आयात अनुमतिपत्र लिन प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए। ‘हामीले आन्तरिक गृहकार्य सकेर प्राधिकरणबाट लिनुपर्ने अनुमतिको प्रक्रिया सुरु गरिसकेका छौं’, श्रेष्ठले भने, ‘जतिसक्दो चाँडो सेवा विस्तार थाल्नेछौं।’ स्मार्ट टेलिकमले एकीकृत अनुमति पाएपछि ग्रामीण क्षेत्रमा सीमित सेवा राजधानीसहित सहरी क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ।
कम्पनीले पहिलो चरणमै राजधानीसहितका सहरी क्षेत्रमा जीएसएम मोबाइल सेवा विस्तार गर्नेछ। यसका लागि तयारीमा करिब तीन महिना लाग्‍ने कम्पनीको अनुमान छ। प्राधिकरणबाट अनुमति पाएपछि दुवै कम्पनीले मुलुकभर ल्यान्डलाइन, सीडीएमए र जीएसएम मोबाइल तथा अन्तर्राष्ट्रिय गेटवे चलाउन पाउँछन्।
सबैखाले सेवा चलाउने अनुमति पाए पनि स्मार्टले पहिलो प्राथमिकतामा जीएसएम मोबाइललाई राखेको कम्पनीले जनाएको छ। श्रेष्ठका अनुसार चार महिनाभित्र सहरी क्षेत्रमा स्मार्टले जीएसएम मोबाइल सेवा सुरु गर्नेछ। कम्पनीले जीएसएम मोबाइल सेवा सुरु गरेर ३० लाख ग्राहक पुर्‍याउन मुलुकभर एक हजार आठ सय बेस ट्रान्सभर स्टेसन (बीटीएस) बनाउने प्रस्ताव प्राधिकरणसमक्ष गरिसकेको छ।
नेपालमा दूरसञ्‍चार सेवा विस्तारका लागि करिब ३० अर्ब थप लगानी गर्ने घोषणा गरेको स्मार्टले पहिलो चरणमा भने करिब सात अर्ब थप लगानी गर्दैछ। केही समयअघि उद्योग विभागबाट पुँजी एक अर्ब ५९ करोड ६० हजारबाट बढाएर आठ अर्ब ९८ करोड ४६ लाख १० हजार रुपैयाँ पुर्‍याउन स्मार्टले स्वीकृति लिएको थियो।
स्मार्टले लगानी विस्तारका लागि बेलायतको स्क्वायर स्टार इन्कबाट करिब आठ करोड अमेरिकी डलर ऋण सम्झौता गरिसकेको छ। स्मार्ट टेलिकमको ग्राहक संख्या अहिले सात लाख ५३ हजार दुई सय ५४ छ।
स्मार्टमा २० प्रतिशत स्वदेशी र ८० प्रतिशत विदेशी लगानी छ। यसमा लाल साहु डिस्ट्रिब्युसन प्रालि सिंगापुरको ७० प्रतिशत, जिल्याट स्याटलाइट नेटवर्क लिमिटेडको १० प्रतिशत र स्क्वायर नेपाल प्रालिको २० प्रतिशत स्वामित्व छ। कम्पनीले पूर्वाञ्‍चलबाहेकका तीन सय ९८ गाविसमा कम्तीमा दुई लाइन टेलिफोन सेवा विस्तार गर्ने सर्तमा अनुमति पाएको थियो। हाल कम्पनीले ४० जिल्लाका ग्रामीण क्षेत्रमा सेवा सञ्‍चालन गरिरहेको छ।
यसैगरी भारतीय लगानीको यूटीएलले पनि पहिलो चरणमा ३० लाख ग्राहक बढाउने गरी जीएसएम मोबाइल सेवा सञ्‍चालन गर्ने तयारी थालेको छ। कम्पनीले पहिलो चरणमा पाँच सय बीटीएस स्थापना गर्ने योजना प्राधिकरणलाई बुझाइसकेको छ। अगामी मे महिनाभित्र यो योजना सम्पन्न गर्ने यूटीएलले प्राधिकरणमा पेस गरेको योजनामा उल्लेख छ। हाल यूटीएलका ग्राहकको संख्या ७ लाख १९ हजार तीन सय ४१ छ। कम्पनीले यसका लागि पहिलो चरणमा १० अर्ब लगानी थप गर्ने घोषणा गरेको छ।
सुरुमा ताररहित डब्लूएलएल प्रविधिमार्फत टेलिफोन सेवा चलाउने अनुमति पाएको यूटीएलले २०६२ सालमा लिमिटेड मोबिलिटी सेवाअन्तर्गत सीडीएमए सेवा चलाउने अनुमति पाएको थियो। यो कम्पनीले २०५९ मा टेलिफोन चलाउने अनुमति पाएको थियो। स्मार्ट र यूटीएलले जीएसएम मोबाइल सेवाको विस्तार गरेपछि अहिले प्रतिस्पर्धामा रहेका नेपाल टेलिकम र एलसेलका लागि दुई प्रतिस्पर्धी थपिनेछन्। ग्राहकले जीएसएम प्रविधिमा चारवटा सेवामध्ये छनोट गर्न पाउनेछन्।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...