दुई साता अघि देखि राजधानीका विभिन्न स्थानमा ‘रातो चुरा बोल्छ’ भन्ने नाराका साथ केही युवा–युवती पर्चा बाडिरहेका छन्। उनीहरु पर्चा मात्र बाड्दैनन्, कहिले र्याली निकाल्छन् त कहिले महिला सरोकारमा काम गर्ने सरकारी निकाय पुगेर ध्यानाकर्षण पत्र बुझाउँछन्।
नेपालीमा ‘रातो चुरा बोल्न’ वा अङ्ग्रेजीमा ‘रेड ब्याङ्गेल्स स्पिक्स’ लेखिएका टिसर्टधारी यी १७ युवा–युवतीको समूह गएको असोज २४ देखि यस्तै चेतना र दबाब मूलक अभियानमा सक्रिय छ। नेपालमा यस्ता चेतनामूलक अभियानहरु धेरै चलिरहेका हुन्छन्। तर, अहिले चलिरहेको युवा–युवतीको यो अभियान भने अरुभन्दा भिन्न छ।
उद्देश्यले यो अभियानलाई अरुभन्दा फरक बनाएको भने होइन। यसको उद्देश्य पनि केही सयमअघि निक्कै चर्चा पाएको ‘अक्यूपाई बालुवाटर’ अभियानसँग मिल्दो छ। ‘अक्यूपाई बालुवाटर’ अभियानको उद्देश्य महिला हिंसा विरुद्ध थियो। ‘रातो चुरा बोल्छ’ अभियानले पनि महिला हिंसा विरुद्ध नै आवाज उठाइरहेको छ। तर, यसका सहभागी र अभियान सञ्चालनको तरिका फरक छ।
‘महिला हिंसा विरुद्धको ‘रातो चुरा बोल्छ’ अभियानमा हामी पाँच मुलुकका १७ युवा–युवती सक्रिय छौ’ घरेलु हिंस विरुद्ध विश्व युवा अभियानमा नेपालको तर्फबाट सहभागी अभान्तीका प्याकुरेलले भनिन्, ‘पाँच मुलुकका युवा–युवती एकै स्थानमा भएर उठाइएको यो आवज अरुभन्दा नौलो छ।’
नेपालजस्ता विकासोन्मुख मुलुकमा बढिरहेको महिला हिंसालाई कम गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभियान सुरुवात गरिएको हो। अभियानमा नेपाल सहित पाकिस्तान, बंगालादेश, म्यान्मार र डेनमार्कका युवा–युवती सहिभागी छन्। डेनमार्क बाहेक अरु सबैजसो दक्षिण पूर्वी एसियाली मुलुकहरुमा महिला हिंसाको प्रकृति मिल्दो खालको छ। यी मुलुकका युवा–युवती एक भएर आवाज उठाउन र चेतना फैलाउन अभियान सुरु गरिएको प्याकुरेलले बताइन्।
डेनमार्कमा दक्षिण पूर्वी एसियाली र अझ नेपालको जस्तो घरेलु हिंसाको अवस्था नभएपनि नेपाली महिलाको अधिकारका लागि अभियानमा सहभागी भएको डेनमार्कबाट अभियानमा सहभागी इडा ल्याक्के जेन्सेन बताउछिन्। ‘महिला हिंसाको प्रकृति फरक भएपनि हिंसा संसारमै कुनै न कुनै रुपमा रहेको छ,’ उनी भन्छिन्, ‘नेपालमा महिला हिंसा धेरै नै छ, त्यस विरुद्ध प्रहरी र सरकारले समेत उचित कदम चालेको देखिदैन।’ जनचेतना अभिवृद्धि गर्न र उस्तै उमेर समूहका धेरै मुलुकका युवा–युवतीबिच सहकार्यको वातावरण बनाउन मद्दत गर्नका लागि अभियानमा सहभागी भएको उनले बताइन्।
एक्सन एड ग्लोबल प्लेटफर्ममा युवा स्वयंसेवककोरुपमा आएका यी युवा–युवतीले दुई महिनासम्म महिला हिंसा विरुद्ध अभियान जारी राख्नेछन्। अभियानका क्रममा पर्चा, पोस्टर, पम्प्लेट वितरण, महिला अयोग र मन्त्रालयको ध्यानाकर्षण, र्याली, कला प्रदर्शनी, डकुमेन्ट्री प्रदर्शनी, अनलाइन डिबेट, सोसल मिडिया परिचालनलगायतका कार्यक्रम तय गरिएका छन्।
‘महिला हिंसाको अवस्था हाम्रोमा र नेपालमा उस्तै छ,’ पाकिस्तानबाट सहभागी क्विसेर साहजेदले भने, ‘आफ्नै मुलुकको महिला हिंसा हेरेर पनि यो अभियानमा सहभागी हुन मन लाग्यो।’ उनले मुलुक पिच्चे महिला हिंसाको प्रकृति केही फरक भएपनि नेपाल सहित दक्षिण एसिायाली मुलुकको महिला हिंसा उस्तै प्रकृतिको भएको बताए।
विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले निकालेका तथ्याङ्कमा नेपालका ६४ प्रतिशत महिला घरेलु हिंसाको सिकार भएका छन्। यो गत वर्षको तथ्याङ्का हो। त्यसमध्ये २० प्रतिशतले मात्र कानुनी उपचारको बाटो अपनाएका थिए। घरेलु हिंसाकै कारण कतिपयले आत्महत्या गर्ने गरेका छन्।
अन्य समस्यासँगै घरेलु हिंसा डरलाग्दो अवस्थामा रहेकाले आफु अभियानमा सहभागी भएको बंगलादेशबाट आएका फहाद सादेकिन यमान बताउछन्। ‘महिला हिंसा विरुद्ध युवाअरुले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘आफै पनि सचेत हुनु पर्ने भएकाले अभिायनमा लागेका हौ।’ दुई महिनासम्म चल्ने अभियानमा नेपालबाट सबैभन्दा धेरै ७ जना युवा–युवती सहभागी छन्। यसैगरी डेनमार्कबाट पाँच जना, बंगालादेशबाट ४ जना, पाकिस्तान र म्यान्मारबाट एक–एक जना सहभागी छन्।
इडा ल्याक्के जेन्सेन, डेनमार्क |
महिला हिंसा त डेनमार्कमा पनि हुन्छ। नेपालमा जस्तो धेरै चाही हुदैन। डेनमार्कमा महिला हिंसा भयो भने तत्कालै उजुरी गर्ने चलन छ। फोन गरेर पीडितले प्रहरीलाई जानकारी दियो भने पनि ५ मिनेटभित्र प्रहरी घटनास्थल पुग्छन्। नेपालमा चाही त्यस्तो रहेनछ। कानुन बनेका रहेछन् तर कार्यान्वयन हुनै कठिन रहेछ। त्यसैले पनि मलाई नेपाल आएर महिला हिंसा विरुद्धको अभियानमा सरिक हुन मन लाग्यो।
क्विसेर साहजेदल, पाकिस्तान |
पाकिस्तान र नेपालमा महिला हिंसामा खासै फरक छैन जस्तो लाग्छ। नेपालको तुलनामा पाकिस्तानमा पनि उत्तिकै हिंसा हुन्छ। पाकिस्तानी र नेपाली महिलाको पीडा एकै खालको छ। यस्ता हिंसा विरुद्धको अभियानमा लाग्न पाउदा मलाई गौरव लागेको छ।
फहाद सादेकिन यमान, बंगालादेश |
नेपाल, पाकिस्तान र हाम्रो समस्या एकै खालको हो। अझ बढी हाम्रोमा हिंसा हुन्छ जस्तो लाग्छ। मुस्लिम समुदायमा महिलालाई हेर्न दुष्टिकोण अझै परिवर्तन हुन सकेको छैन। नेपालमा प्रत्येक प्रहरी कार्यालयमा महिला सेल रहेछ। हाम्रोमा त त्यो पनि छैन। महिला हिंसा विरुद्धको अभियानलाई दक्षिण एसियाली क्षेत्रमा अझ बढी ससक्त बनाउन जरुरी छ।
अभान्तीका प्याकुरेल, नेपाल |
पुरुषप्रधान मुलुकमा महिला हिंसा बढी हुनु नौलो होइन। नेपालमा महिला हिंसाको मात्रा कम हुन सकिरहेको छैन। घरेलु हिंसामा परेका महिलाले पनि उजुरी गर्ने चलन छैन। यसका लागि महिला सचेत र आत्मनिर्भर हुनु जरुरी छ। यसका लागि हामीले सबैसँग हातेमालो गर्नुपर्छ। भिन्न संस्कृती र परम्पराबाट आएका साथीहरुसँग मिलेर एउटै उद्देश्यमा लाग्ने मौका यो अभियानले दिएको छ। यसले मलाई उत्साहित बनाएको छ।
Comments
Post a Comment