Skip to main content

महँगीले मार्दैछ सहर मोह


छोरीका साथ मञ्जु
'बिरानो ठाउँ, भरथेग गर्ने कोही छैन, भोकभोकैचाहिँ नपरेस् है बाबै, गाह्रो भए यतै फर्कनू।' आफ्नो काख छाडेर सुखी भविष्यको कल्पना गर्दै सँघार नाघ्न लागेकी उनलाई आमाले सुँकसुँकाउँदै भनेकी थिइन्। यो पाँच वर्षअघिको कुरा हो। जुनबेला उनी १९ वर्षकी थिइन्। माओवादी द्वन्द्व सकिएर शान्तिप्रक्रिया सुरु भएको थियो। संविधानसभा चुनाउ सकिएको थियो। आमनेपालीले सुखी भविष्यको सपना पूरा हुन लागेको ठानेका थिए।
सुखी र सम्पन्न हुने कल्पनाका पत्रहरू बगलीमा कोच्याएर सपनाको सहर सर्ने युवायुवतीको लर्को लाग्थ्यो। त्यही लर्कोमा मिसिएकी थिइन्- उदयपुर गाईघाटकी मञ्जु भुजेल। सपनाको सहर थियो- काठमाडौं अनि सपनाचाहिँ पैसा कमाएर सुख पाउने।
उज्ज्वल भविष्यको सपना साकार पार्न 'पैसा टिप्ने' उद्देश्यसहित 'नेपाल' छिरेकी भुजेलले बिरानो ठाउँमा एउटा छहारी पाइन्- बबरमहलस्थित मीतआमाको सानो छाप्रे होटेल। मीतआमाकहाँ केही दिन बसेर कामको खोजी गर्ने सुर थियो उनको। तर मीतआमाले 'अन्त जानु पर्दैन, यहीं काम गर, अरूले दिने जति तलब दिउँला' भनेपछि उनी त्यही छाप्रे होटेलकी कामदार बनिन्।
मञ्जुले होटेलमा काम गर्दाका बखत नै नजिकै दुईवटा ठूला घर बन्न थाले, एउटा-काठमाडौं जिल्ला अदालत र अर्को नेपाल टेलिकम भवन। दुवै भवनमा काम गर्ने केही मजदुर मञ्जुको होटेलमा खाना खान आउन थाले। खाना खान आउने दुईतिरका मजदुरमध्ये टेलिकमको भवनमा काम गर्ने एउटा मजदुर उनको खुबै ख्याल गर्थ्यो।
दिनैपिच्छेको खाना खाने ग्राहक अब उनको सपनाको राजकुमार बन्यो। उनी उसकी राजकुमारी। मीतआमाकै पसलमा झ्याँगियो उनीहरूको प्रेम। यो प्रेमले सामाजिक बन्धनको जातीय पर्खाललाई तोडिदियो। चार वर्षअघि उनी झापा गौरादहका चिरञ्जीवी दाहालसँग लगनगाँठोमा बाँधिइन्। अगाँलोमा कसिँदा उनीहरूका सामूहिक सपना थिए- मिलेर पैसा कमाउने, बचत गर्ने, छोराछोरीलाई राम्रो स्कुलमा पढाउने र ढिलै भए पनि काठमाडौंको कुनै कुनामा एउटा ओत लाग्ने छाप्रो जोड्ने।
समयको खोलो कहाँ सोचे जसरी बग्छ र? मञ्जु दम्पतीका चार वर्षअघिका यी सपना अब हराएका छन्। 'सपना नै बाँकी रहेन भने किन बस्नु यहाँ?', मञ्जु-चिरञ्जीवी जोडी यही निष्कर्षमा पुगेको छ अहिले। अब उनीहरूको सपना भएको छ- गौरादहतिर गएर बस्ने, सकेसम्म राम्ररी छोरीलाई पढाउने र हातमुख जोर्ने।

'किन घर फर्कने सोच बनाउनुभयो त?' माघेसंक्रान्तिका दिन कोटेश्वरस्थित निर्माणाधीन घरनजिकै सामान रुङ्न बनाइएको अस्थायी टहरोमा छोरीका लुगा खेलाउँदै मञ्जुले भनिन्, 'किन हुनु? आम्दानीले थेग्नै नसकिने भयो त्यसैले।' आफ्नो आम्दानीले राजधानीको महँगी धान्न नसक्ने भएपछि मञ्जुको परिवार घर फर्कने सोचाइमा पुगेको हो।
अन्तरजातीय बिहे गरेका उनीहरूलाई माइतीतिरले स्वीकारेका छन्। तर घरतिर भने केही अप्ठ्यारो छ। तै पनि मञ्जु-चिरञ्जीवी जोडी छोरी बोकेर गौरादह जाने निधो गर्दैछ। मञ्जु भन्छिन्, 'यहाँको महँगीभन्दा त त्यो अप्ठ्यारो सहन सजिलो हुन्छ नि।'
बिहेपछि मञ्जुले पनि केही समय पतिसँगै इँटा बोक्ने काम गरिन्। गर्भवती भएपछि काम गर्न सकिनन्। दुईजनाको आम्दानी एउटाकोमा मात्र सीमित भयो। उनका पति पनि मजदुर मात्र हुन्, मिस्त्री होइनन्। मिस्त्रीको कमाइ बढी हुन्छ तर मजदुरको कम।
गर्भवती र सुत्केरी हुँदासम्म पतिकै कमाइले परिवार धानियो। छोरी चैतमा दुई वर्ष पुग्छिन् तर अब पतिको कमाइले परिवार धान्न साह्रै गाह्रो भएको छ। 'हाम्रो कमाइले महिनाभर खानलाउन साह्रै कठिन भइसक्यो', अस्थायी टहराको चिसो भुइँमा छोरी खेलाउँदै उनले भनिन्, 'कमाइ र खर्चको हिसाब कसै गरे पनि मिलाउन सकिँदैन।'
यस्तो छ उनीहरुको बासस्थान
उनका पति दैनिक तीन सय ७५ रुपैयाँ ज्यालादारीमा काम गर्छन्। महिनाभरमा धेरैमा २४ दिनजति काम हुन्छ। यस आधारमा हिसाब गर्दा उनको मासिक आम्दानी नौ हजार रुपैयाँ हुन्छ। मञ्जुले दिएको विवरणअनुसार एकदमै खुम्चिएर खर्च गर्दा पनि उनको मासिक खर्च साढे नौ हजारभन्दा बढी हुन्छ। यसमा चिरञ्जीवीले आफ्ना वृद्ध बाआमालाई आवश्यक पर्दा पठाइदिनुपर्ने घरखर्चको गणना छैन।
'महिना नमर्दै ठेकेदारसँग पाँच हजार जति लिइसकिएको हुन्छ', मञ्जु भन्छिन्, 'आम्दानी र खर्चको हिसाब फाटेको टालोमा तोरी पोक्याएजस्तै लाग्छ मलाई, यता पोक्यायो उताबाट चुहुन्छ, उता पोक्यायो यताबाट चुहुन्छ।' काठमाडौंको महँगी र आम्दानी उनलाई सानामा आमाले तोरी उठाउन लगाउँदा फाटेको टालामा पोक्याउन खोज्दाको सास्तीजस्तै भएको छ।
उनीहरूले जडीबुटीमा मासिक १५ सय तिर्ने गरी एउटा कोठा भाडामा लिएका छन्। थोरै कमाइले परिवार धान्न समस्या भएपछि यसपालि चिरञ्जीवीले निर्माणस्थलमै सामान रुँगेर बस्ने निधो गरे। 'यो घर बनाउन्जेल सामान रुङ्न बस्दा चार हजार रुपैयाँ आउँछ', मञ्जुले सानी छोरीसहित चिसोमा अस्थायी टहरा बस्नुको रहस्य खुलाइन्, 'अब यो घर बनिसकेपछि झापातिर फर्कने, उता पनि त केही गर्न सकिएला नि।'
मञ्जुकी छोरी
केही वर्षदेखि राजधानीमा बढेको महँगी रोकिने छाँटकाँट छैन। प्रत्येक वर्ष सरकारी तथा गैरसरकारी निकायले दोहोरो अंकमा मूल्यवृद्धि भएको तथ्यांक निकालिरहेका छन्। तर, मूल्य नियन्त्रण गर्ने ठोस कार्य कसैले गरेका छैनन्। सामान्य आम्दानी हुने मञ्जुको जस्तो परिवारलाई दैनिक जीवन धान्नै कठिन हुन थालेको छ अब।
नौ हजार रुपैयाँ आम्दानी हुने मञ्जुको परिवारको अनुमानित मासिक खर्च जोड्दा नौ हजार चार सय रुपैयाँ पुग्छ। 'यो त मन मारेर, आफैं पिल्सिएर खर्च गर्दा पो हो त', मञ्जु भन्छिन्, 'धक फुकाएर खर्च गर्ने हो भने त, हामीजस्ता उहिल्यै ऋणमा डुबेर मरिसक्थ्यौं।'
मञ्जु त एउटी प्रतिनिधि पात्रमात्र हुन्। राजधानीको हरेक टोलमा यस्तै पात्रको बाहुल्य छ। जो १० नङ्ग्रा खियाएर महिनाभरि काम गर्छन् र आएको रकमले दैनिकी चलाउँछन्। जसका लागि वर्षभरि काम गरेबापत आउने रकमले दैनिक गर्जो टार्नसमेत समस्या हुने गरेको छ।
पछिल्ला वर्षमा राजधानीमा महँगी अकासिएको छ। दैनिक उपभोग्य वस्तु, घरभाडा, स्कुलकलेजको शुल्क बढ्न छाडेको छैन। केही सीमित वर्गका मानिससँग पर्याप्त रकम छ। त्यसले बजारमा माग बढाउँदा उपभोग्य वस्तुको भाउ उकालो लागिरहेको छ अनि यसको मारमा परिरहेका छन्- मध्यम, निम्नमध्यम र निम्न वर्गका उपभोक्ता।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु