Skip to main content

ग्यास सिलिन्डरमा सुरक्षा टोपी अनिवार्य


  • प्रत्येक सिलिन्डरमा सेफ्टी क्याप राख्नुपर्ने 
  • पाँच प्रतिशत तौल कम भए नष्ट गर्नुपर्ने
  • एक प्रतिशत तौल बढेमा सफा गर्ने व्यवस्था
  • थर्डपार्टी हाइड्रोलिक परीक्षण व्यवस्था
  • भण्डारणमा एक मिटर खाली स्थान अनिवार्य
खाना पकाउने ग्यास कम्पनीले अब प्रत्येक सिलिन्डरमा सुरक्षा टोपी(सेफ्टी क्याप) लगाएर मात्र बजारमा पठाउन पाउँने भएक छन्।
ग्यास चुहिएर(लिक भएर) हुने विभिन्न खाले दुर्घटना रोक्नका लागि सरकारले सेफ्टी क्यापको अनिवार्य व्यवस्था गरेको हो। शुक्रबार उद्योग मन्त्री शंकरप्रसाद कोइरालाको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को ९१ औ बैठकले पारित गरेको ‘ग्यासको बोटलिङ प्लान्ट सञ्चालन सम्बन्धि मापदण्ड’मा यस्तो व्यवस्था गरिएको छ।
शुक्रबार तत्कालै लागू गर्ने गरि पारित मापदण्ड अनुसार अब सबै खाना पकाउने ग्यास भर्ने कम्पनी(बोटलिङ प्लान्ट)हरुले प्रत्येक सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य राख्नु पर्नेछ। यस्तो क्याप नराख्ने कम्पनीले ग्यास सिलिन्डर बजारमा पठाउन नपाउने व्यवस्था मापदण्डमा गरिएको छ।
सिलिन्डरको साथमा हुने यो क्याप प्रयोगकर्ताले ग्यास नचलाउने बेलामा रेगुलेटर खोलेर लगाउन सक्नेछन्। सेफ्टी क्यापले ग्यास लिक भएर भइरहेका आगलागीलगायतका दुर्घटना रोक्न मद्दत गर्नेछ।
नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेर परिषद्मा पेस गरेको मापदण्डमा सेफ्टी क्याप सहित विभिन्न खाले अनिवार्य व्यवस्था गरिएका छन्। ‘अहिले पनि केहीले सेफ्टी क्याप सिलिन्डरमा राख्ने गरेका छन्, अब भने सबैलाई अनिवार्य भएको छ’, गुणस्तर विभागमा महानिर्देशक रामआधार साहले भने, ‘यसले ग्यासबाट हुने दुर्घटना निक्कै कम गर्नेछ’।
परिषद्ले पारित गरेको मापदण्डमा ग्यास सिलिन्डर कस्तो अवस्थामा प्रयोग गर्ने र नगर्ने सम्बन्धि स्पष्ट व्यवस्था गरिएको छ। यो व्यवस्थालाई पूर्णरुपमा पालन नगर्ने कम्पनीले बोटलिङ प्लान्ट चलाउन पाउने छैन। मापदण्डले सिलिन्डरको तौल घटेको आधारमा नष्ट गर्नुपर्ने व्यवस्था गरेको छ।
‘पाँच प्रतिशत सिलिन्डरको तौल घटेपछि त्यसलाई कुनैपनि रुपमा चलाउन पाइदैन,’ साहले भने, ‘त्यस्तो सिलिन्डर गुणस्तर विभागको रोहवरमा स्क्र्याप(नष्ट) गर्नुपर्छ’। ग्यास सिलिन्डरको तौल १५.५० किलो तोकिएको छ। नेपालको आफ्नै मापदण्ड नहुदा हाल भारतको मापदण्डलाई मानेर केही कम्पनीले चलाइएको २० वर्षमा सिलिन्डर स्क्र्याप गर्ने गरेका थिए।
यसैगरी सिलिन्डरको तौल एक प्रतिशत बढेमा व्यवसायीले तत्कालै त्यसलाई सफा गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्ता सिलिन्डर सफा नगरेको पाइए गुणस्तर ऐन अनुसार कारबाही गर्न सकिने भएको छ।
मापदण्डमा ग्यास सिलिन्डर परीक्षण र भण्डारणको व्यवस्था समेत गरिएको छ। अब सबै कम्पनीले आफ्ना नयाँ सिलिन्डरलाई पहिलो पटक चलाएको १० वर्षमा हाइड्रोलिक परीक्षण गर्नुपर्नेछ। त्यसपछि पाँच–पाँच वर्षमा दुई पटक यस्तो परीक्षण अनिवार्य गरिएको छ।
कम्पनीले आफैले २० वर्षभित्र तीनपटक हाइड्रोलिक परीक्षण गरेपछि भने आफैले यस्तो परीक्षण गरेर सिलिन्डर चलाउन पाउने छैनन्। २० वर्षपछि चलाउने सिलिन्डरको भने कम्पनील तेस्रो पक्ष(थर्ड पाटी) हाइड्रोलिक परीक्षण गराउनु पर्नेछ। ‘२० वर्ष आयु पुगेका सिलिन्डरको थर्ड पार्टी हाइट्रोलिक परीक्षण नगराए सिलिन्डर बेच्न पाइदैन’, साहले भने।
मापदण्डमा बोटलिङ प्लान्टका लागि सिलिन्डर भण्डारणको व्यवस्था समेत गरिएको छ। अब कम्पनीहरुले एक स्थानमा चार लहर बनाई सिलिन्डर भण्डारण गर्न सक्नेछन्। चार लहरका प्रत्येक लहरमा २५ वटा र त्यसको माथी एउटाका दरले जम्मा दुई सय सिलिन्डर भण्डारण गर्न सकिन्छ। यसरी गरिएको एक स्थानको भण्डारण र अर्को स्थानको भण्डारण बिचको दुरी कम्तिमा एक मिटर हुनुपर्ने व्यवस्था गरिएको छ।
ग्यास संवेदनशील वस्तु भएकाले यस्तो व्यवस्था गरिएको हो। यसैगरी सिलिन्डरमा भल्वको अनिवार्य व्यवस्था, बोटलिङ प्लान्टमा भर्नु अघिको ग्यासको भण्डारण, अग्नी नियन्त्रण व्यवस्थालगायतका विभन्न अनिवार्य व्यवस्थाहरु मापदण्डमा गरिएको छ। नेपालले यसअघि ग्यास बोटलिङ प्लान्टका लागि आफ्नै मापदण्ड बनाएको थिएन।
ग्यास सिलिन्डर दुर्घटनाबाट वर्षेनी नेपालमा केही व्यक्तिले ज्यान गुमाउने गरेका छन् भने आगलागीका घटना समेत हुने गर्छन्। सरकारले ल्याएको नयाँ मापदण्डको कार्यान्वयनबाट ग्यासबाट हुने दुर्घटना कम हुने साहको दाबी छ।
यसैबिच परिषद्को बैठकले हाइड्रोलिक सिमेन्टमा रहेको रसायनहरुको परीक्षण गर्ने विधि पनि पारित गरेको छ। हालसम्म नेपालमा यस्ता सिमेन्टको रसायन परीक्षण गर्न भारतको विधि र मापदण्डलाई आधार मानिदै आएको थियो। विशेष गरि सिमेन्टमा भएको क्याल्सियम अक्साइडको परीक्षण गर्न यस्तो विधि उपयोगी हुनेछ। परिषद्ले घिउ र विभिन्न खाने तेलको मापदण्डलाई परिमार्जन गर्ने स्वीकृती समेत दिएको छ।
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु