Skip to main content

कफी विथ वाइफाई


तस्विर साभार :मार्इ सिभिल मल डटकम
कफी, कलिग (साथी) र वाइफाई।केही वर्षअघिसम्म नेपाली 'क्याफे' अर्थात् 'कफीसप'को यस्तै थियो तस्बिर। समय जति बलवान् छ, त्यत्ति नै बदलिँदो पनि। समयमात्र बदलिँदैन, सँगसँगै यसलाई पछ्याउँछ बदलिँदो संस्कृतिले।
प्रविधि विकासको प्रवाहले अहिलेको युगमा संसारको कुनै संस्कृति यस्तो छैन, जो विश्वका कुनाकुनामा प्रचारित नभएको होस्। प्रविधिकै टेकोमा अडिएर टर्कीबाट सुरु भएको मानिने 'कफी संस्कृति' समेत संसारका लागि अहिले नौलो हुन छाडेको छ। एक दशकअघिसम्म नेपालीमाझ पनि 'कफी कल्चर'को महत्त्व कमै थियो।
अहिलेको पुस्तामा 'कफी कल्चर'मा नभिजेका कमै होलान्। केही वर्षअघिसम्म पर्यटक र बेरोजगारीको बाध्यताले बिदेसिएर फर्कर्नेमाझ सीमित कफीको 'चुस्की' अहिले धेरै नेपालीका लागि प्रिय भइसकेको छ।
युवा पुस्ताका निम्ति त क्याफे पुगेर कफीको चुस्कीमा रमाउँदै साथीभाइसँग गफिनु दैनिकी नै बनिसक्यो। जसरी नेपाली युवा कफीको चुस्कीमा अभ्यस्त बन्दैछन्, कफी संस्कृतिका आयाम पनि परिवर्तन हुँदैछन्। पाँच वर्षअघि र अहिले क्याफेमा धेरै फरक भइसकेको छ। यो फरकसँगै फेरिए, कफी पारखीका चाहना र शैली।
'दुईचार वर्षअघि ठमेलका क्याफे पुगेर कफी अर्डर गरिन्थ्यो, बुक म्यागेजिन लिएर निक्कैबेर पढिन्थ्यो', सिभिल मलको हिमालयन बिन्ज्‌मा 'अमेरिकानो'को चुस्की र सूर्य लाइटको 'पप' तान्दै ललितपुर धोबीघाटका खग्रेन्द्र तामाङ भन्छन्, 'अहिले जताततै खुलेका छन्, पायक पर्नेतिर छिरिन्छ, कफी पिउँदै स्मार्टफोनमा रमाइन्छ।'
क्याफे पुग्दा दुईचार वर्षअघि तामाङको साथमा हुन्थे, कफी, किताब र कलिग्स्। अहिले क्याफे छिर्दा उनको साथमा कफी र कलिग्स् छुट्दैनन्। तर, किताब भने कतै छुटिसकेका छन्। न त क्याफेका र्‍याकमा नै सजिएका पुस्तक हुन्छन्।

'पहिले किताब पढ्ने चलन थियो, अहिले वाइफाई र स्मार्टफोनसँग रमाइन्छ,' बढ्दो कफी संस्कृति र फेरिँदो शैलीप्रति टिप्पणी गर्दै खगेन्द्र भन्छन्, 'कहिलेकाही एक्लै कफी पिउँदै भाइबरमा कुरा गरेर बसिदिन्छु।' तामाङ आफ्नो कफी कहानी वाच्दै गर्दा छेउमा बसेर कफीको स्वाद लिइरहेका साथी सुवास घिसिङ पनि सहमतिमा टाउको हल्लाउँदै थिए।
तामाङ र घिसिङका निम्ति क्याफे साथीभाई भेटघाट गर्ने स्थानमात्र होइन, फुर्सदको समय बिताउने शान्त स्थान र सामाजिक सञ्जालका माध्यमबाट साथीभाइसँग अन्तरसंवाद गर्ने थलोसमेत हो। 'जब फुर्सद हुन्छ, क्याफेतिर आइहाल्छौं', दुवैको एकै स्वर छ, 'दु:खसुखका गफगाफ गर्छौ, कफी पिउँदै फेसबुक, ट्विटरतिर पनि अल्झिन्छौं।'
ललितपुरका यी दुई ठिटाको जस्तै काठमाडौंकी दृष्टि भट्टराईका निम्ति क्याफे 'ह्याङआउट' हुने थलो हो। सहरका सडकतिर दौडिँदै गर्दा जब कुनै कफी सपमा दृष्टि पर्छ, उनको मन थामिँदैन। क्याफेभित्र छिर्छिन् र 'क्यापिचिनो' वा 'क्याफे लाते'को चुस्कीमा रमाउँछिन्। उनका निम्ति कफी यस्तो आदत बनिसक्यो, जसको अम्मलबाट छुटकारा पाउन गाह्रो छ।
दृष्टिको दृष्टिकोणमा पनि नेपाली कफी संस्कृतिमा परिवर्तन आएको छ। आफूलाई सात वर्षदेखिको 'कफी लभर' भन्न रुचाउने उनका अनुभवमा नेपालीमाझ 'कफी चेतना' बढ्दो छ। 'कफीको स्वाद र मेनुबारे शून्य जानकारी राख्नेहरू अहिले कफीका जानकार भएका छन्', पुतलीसडकको स्टार मलस्थित हिमालयन जाभामा भेटिएकी दृष्टि स्मार्टफोनका स्क्रिनमा औंला चलाउँदै भन्छिन्, 'कफीको जानकारीसँगै पिउने संस्कृति पनि झांगिएको छ।'
हिमालयन जाभामै ५-६ वर्षअघि र अहिलेको दृश्यमा धेरै फरक देखिन्छ। 'उसबेला जाभामा जाँदा सबैका हातमा किताबमात्र देखिन्थ्यो, अहिले पर्यटकका हातमा मात्र देखिन थालेको छ,' आँखा अगाडि किताब फिँजाएझैं हात फैलाउँदै दृष्टि भन्छिन्, 'फ्रि वाइफाईले गर्दा कोही स्मार्टफोन, कोही ट्याब त कोही ल्यापटपमा व्यस्त देखिन्छन्।'
सफा सोफा र टेबुल, कफी र बेकरीको सुगन्ध अनि नि:शुल्क वाइफाई। उपत्यकाका कफीसप छिर्नेका लागि यी दृश्य नौला होइनन्। तिनै सफा सोफामा बस्ने युगल जोडीसमेत आजभोलि खासै गफिँदैनन्। कि तिनका हातमा स्मार्टफोन हुन्छन् कि त ट्याब्लेट वा ल्यापटप। जसमा कफी अर्डर गर्न मेनु हेर्दैगर्दा वरिस्ता(कफी बनाउने मान्छे) सँग सोधिएको फ्रि वाइफाईको पासवर्ड टाइप गरिन्छ। अनि सुरु हुन्छ, फोटो अपलोड, स्टाटस अपडेड, कमेन्टस्, लाइक, ट्विट र रि-ट्विटको शृंखला।
सामाजिक सञ्जालमा भलाकुसारी नगरी अहिलेको पुस्ता रमाउन सक्दैन। जसले आफ्नो फुर्सदको छोटोभन्दा छोटो समयलाई पनि यसैमा भुलाउन चाहन्छन्। सायद, त्यसैलाई बुझेर होला, सहरभित्र खुलेका अधिकांश क्याफेले कफीको स्वाद लिन आउनेका निम्ति नि:शुल्क वाइफाई सुविधा दिएका छन्। जसले पारखीलाई कफीको चुस्कीसँगै सामाजिक सञ्जालमा भुल्ने र पौरखीलाई आम्दानीको अवसर दिएको छ।
'पहिले कफी अर्डर गरेर र्‍याकमा बुक छान्न जान्थे,' उपभोक्ताको परिवर्तित शैलीलाई हिमालयन जाभामा चार वर्षदेखि वरिस्ता रहँदै आएका सुजन बजगाईं यसरी विश्लेषण गर्छन्, 'अहिले कफी अर्डर गर्नुभन्दा अघि वाइफाईको पासवर्ड खोज्छन्।' उनका अनुभवमा पहिले नेपाली समूहमा आउँदा गफ गरेरै धेरै बेर बस्थे। अहिले भने समूहमा आउने पनि गफभन्दा बढी स्मार्टफोन, ट्याब्लेट र ल्यापटपमा अल्झेका देखिन्छन्।
'कतिपय इन्टरनेटको माध्यमबाट गर्नुपर्ने काम पनि यही आएर गर्छन्', बारमा कफी मेसिन चलाउँदै बजगाई भन्छन्, 'धेरै प्लस टु पुस्ता त वाइफाई चलाउनकै लागि कफीको बहानामा आउने गर्छन्।'
जाभाजस्ता स्वदेशी चेन कफीसपमात्र होइन, अन्तर्राष्ट्रिय चेन कफीसप लाभाजासम्मले ग्राहकको यही 'फ्रि वाइफाई' मनोविज्ञानलाई नगदीकरण गरेका छन्। विशेषगरी नेपाली उपभोक्ताले क्याफे छिरेपछि इन्टरनेट चलाउन खोज्ने प्रवृत्ति बढेपछि आफ्ना ग्राहकलाई अन्यत्र जानबाट रोक्न पहिले नि:शुल्क वाइफाई सुविधा नदिनेले पनि दिन थालेका छन्। यही सुविधाले अहिले उपभोक्ता नजरमा कफी र वाइफाई एकअर्काका पर्याय जस्तै भएका छन्।
'उपभोक्ताको चाहना, इच्छा, स्वभाव र शैलीलाई आत्मसात् गरेन भने व्यापार चल्दैन,' फ्रेसकप कफीसपका सञ्चालक विश्वेश्वर तण्डुकार भन्छन्, 'उपभोक्ताको बदलिँदो शैलीलाई आत्मसात् गरेर सबैले वाइफाईसहितको सेवा दिएका हुन्।' तर, नि:शुल्क वाइफाई सुविधाले मात्र ग्राहकलाई तान्न भने सकिँदैन। यसका निम्ति ग्राहककै अगाडि 'रोस्ट' गरेर कफी बनाउनु र गुणस्तर कायम गर्नु जरुरी देख्छन् तण्डुकार।
अहिले चल्तीमा रहेका धेरै कफीसपले स्वदेशी दानालाई 'रोस्ट' गरेर कफी बनाउने गरेका छन्। 'प्याकेटमा आउने धूलो कफी र यसरी बनाएकोमा धेरै फरक छ,' तण्डुकार भन्छन्, 'यस्तो कफीको स्वाद लिएको मान्छेले अर्को पिउनै चाहँदैन।'
उपत्यकाभित्र क्याफे र कफीसप नाममा प्रशस्तै दोकान खुलिसके। तर, ती सबैले न त साँच्चैको कफी बेच्छन्, न नि:शुल्क वाइफाई सुविधा नै दिन्छन्। जसले साँच्चैको कफी बेचेका छन्, क्याफेको आभास दिएर सुमधुर संगीतमा नि:शुल्क वाइफाई सुविधा दिएका छन्, तिनलाई देउतारूपी ग्राहकले दर्शन दिइरहेका छन्।
अनि, उपभोक्ताका औंला चाहिँ फ्रि वाइफाईको उपयोगमा स्मार्टफोनका स्क्रिन चलाउँदै खिइरहेका छन्।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु