Skip to main content

फेसबुक अर्थात संवाद–सारथी

‘किन चलाउनुहुन्छ फेसबुक?’ सातदोबाटोमा डेरागरी बस्ने सुनसरीकी सरस्वती केसी ‘सरु’(३०)को सहज उत्तर छ–‘बुढोसँग गफ गर्न।’ आजभोली सरु र रोजगारीको सिलसिलामा जर्मनी पुगेका नरेन्द्र खत्रीबिच संवाद–सुत्रको काम गरिहरेको छ, सामाजिक सञ्जाल फेसबुकले।
दुई वर्षअघिसम्म साइबर र पीसीओमा पुगेर इन्टरनेट फोनमा झुन्डिने सरुलाई अहिले यस्तो गर्नु परेको छैन। ‘सामान्य हालखबरदेखि घरायसी निर्णयका कुरा पनि फेसबुकबाटै सल्टाउछौ’, सरु भन्छिन्, ‘उता साँझ पर्न लाग्दा यता आफ्नो सुत्ने बेला भएको हुन्छ, त्यै पनि च्याट गर्न थालेपछि रात बितेको थाहै हुन्न।’
नरेन्द्रकै सुझाउमा सरुले दुई वर्षअघि फेसबुक एकाउन्ट खोलेकी हुन्। ‘मलाई फेसबुक भनेको के हो? भन्ने थाहा थिएन’, सरु भन्छिन्, ‘साइबरको मान्छेलाई भनेर उसैले खोलिदिएको, पासवर्ड समेत उसैले राखिदिएको थियो।’ खर्चिलो फोनभन्दा फेसबुकले सरु–नरेन्द्र जोडीलाई अझै नजिक जोडेको छ।६ वर्षदेखि जर्मनीमा रहेका श्रीमान् बारे सरुका मनमा कुरा खेल्थ्यो। ‘बुढाले खाए खाएनन्? कस्ता भए भन्ने चिन्ता परिरहन्थ्यो’, केसीले भनिन्, ‘अहिले त फोटो हेर्न पनि पाइन्छ, कहिलेकाही भिडियो च्याट नै गर्छौ।’
फेसबुक मात्र होइन, अहिले सरु फुर्सद भएका बेला स्काइपमा कुरा गर्छिन्। आफ्नो स्मार्टफोनमा ‘ह्वट्सअप’, ‘निम्बुज’, ‘भाइबर’ लगायतका एप्स राखेकी छिन्। तिनबाट पनि म्यासेज पठाउछिन्। ‘सबैभन्दा धेरै चाही फेसबुक नै चलाइन्छ, सुरुदेखि चलाएकाले होला यसैमा मन जान्छ’, सरुले भनिन्।
कोटेश्वरका मुकुन्द शिवाकोटी(५२)को ल्यापटप अमेरिकामा रहेका छोरा–छोरी र श्रीमतीसँग कुरा गर्नका निम्ति मात्र खोल्छन्। समय आँकलन गर्छन् र आफन्त जागै र फुर्सदमै भएको अनुमान लगाउँछन्। अनि स्काइपबाट कल गर्छन्। ‘छोरा–छोरी फुर्सदमा छैनन् वा सुतेका छन् भने स्काइप चलाउदिन’, शिवाकोटीले भने, ‘फेसबुक खोल्छु र फोटो हेर्छु।’
उनकी छोरी काजोल अध्ययनका लागि अमेरिका गएको नौ वर्ष भइसक्यो। काजोलले उतै घरजम गरिन्। छोरा कृतेश अमेरिका गएको पनि चार वर्ष भइसक्यो। ‘छोरा–छोरीकै कारण फेसबुक र स्काई चलाउन थालियो’, शिवाकोटीले भने, ‘नभए मेरा आँखा कमजोर छन्, के चलाउथे र?’
सरु र शिवाकोटीका निम्ति सामाजिक सञ्जाल आफन्तसँग संवादको सुत्रधार हो। जसको प्रयोग उनीहरु आवश्यकताले गरिरहेका छन्। तर, हाम्रै समाजमा धेरै पात्र यस्ता छन्, जसले समाजिक सञ्जाल विशुद्ध मनोरञ्जन र फुर्सदको समय बिताउन प्रयोग गरिरहेका छन्।
फेसबुक, ट्विटर, गुगलप्लस, पिनट्रेस्ट, लिन्क्डइनलगायतका सामाजिक सञ्जालमा नझुन्डिने युवापुस्ता कमै होलान्। तर, अहिले आवश्यकताले कम्प्युटर र सूचनाप्रविधिको शुन्य ज्ञान भएकाहरु समेत समाजिक सञ्चालमा आवद्ध भई सञ्जाल विस्तार गरिरहेका छन्। दैनिक १५ सयको हाराहारीमा नेपाली रोजगारीका निम्ति विदेशीने गर्छन्। यसरी विदेशिनेमध्ये नेपालमा फेसबुक एकाउन्ट समेत नखोलेका समेत पर्छन्। तर, जब उनीहरु विदेश पुग्छन्, तब परिवारसँग सम्पर्क स्थापित गर्न समाजिक सञ्जालमा आवद्ध हुन थाल्छन्।
संवादको आवश्यकता र साथीभाईको लहलहैमा लागेर सामाजिक सञ्जालमा आवद्ध हुनेहरुका आफ्नै कथा छन्। कसैलाई यसले सजिलो पारिदिएको छ–सरु र शिवाकोटीको जस्तै त कतिलाई अफ्टायारो पनि। कपनका लेखराज निरौलाका निम्ति भने फुर्सदमा समय कटाउने मेलो भएको छ–‘फेसबुक’।
‘अहिले कतै काम गरेको छैन, फुर्सदमा सधै फेसबुकमै हो समय कटाउने’, हेल्थ असिस्टेन्ट निरौला भन्छन्, ‘नयाँ समाचार र घटनाको जानकारी फेसबुकबाटै हुन्छ।’ पाँच वर्षअघि फेसबुक खोलेका उनी अहिले ट्विटर, गुगलप्लसलगायतका सामाजिक सञ्जालमा पनि आवद्ध छन्। सामाजिक सञ्जालमा अभ्यस्त निरौलाका निम्ति यी सञ्जालबाट बाहिरिएर बस्न सकिएला जस्तो लाग्दैन। ‘मलाई त फेसबुकबाट बाहिरिए बस्न सकिएला जस्तो लाग्दैन’, उनी भन्छन्, ‘यो पनि दैनिक आवश्यकता जस्तै भइसकेको छ।’
यस्ता सञ्जालका धेरैखाले सामाजिक पाटा छन्। कतिलाई सामाजिक सञ्जालले फन्दामा पारेका छन् त कतिलाई जीवनकै ठूला निर्णय गर्न सहज पनि। काठमाडौंकी प्रज्ञा र स्विडेनका सरोजका लागि भने फेसबुक जीवनकै ठूलो निर्णयका निम्ति सहायक भएको छ। ‘फेसबुक नभएको भए मेरो उहासँग सायद भेट हुन्न थियो होला,’ प्रज्ञा भन्छिन्, ‘फेसबुकबाटै भेट भएर दुई वर्षदेखि हाम्रो अफेयर चलिरहेको छ।’ उनलाई दुई वर्षअघि सरोजले फेसबुकमा ‘रिक्वेस्ट’ पठाएका थिए। ‘एकजना म्युचुअल फ्रेन्ड देखेर एसेप्ट गरेको अफेयर नै चल्यो’, एकवर्षपछि विवाह गर्ने निर्णयमा पुगेकी उनले भनिन्, ‘फेसबुक हाम्रो जीवनको एउटा महत्वपूर्ण पूल भएको छ।’
हार्वड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरवर्गले कलेज ‘प्रोजेक्ट’कोरुपमा सन् २००४ फ्रेब्रुअरी ४ मा बनाएको फेसबुकमा अहिले विश्वरभरका मानिस आवद्ध छन्। गत वर्षको अन्त्य सम्मको तथ्याङ्क(डिसेम्बर २०१३) हेर्दा विश्वका पाँचजनामध्ये एकजनाले फेसबुक प्रयोग गर्ने देखिन्छ। माइक्रो ब्लगिङ साइटकोरुपमा चर्चित ट्विटरका प्रयोगकर्ता भने हालसम्म २० करोडभन्दा बढी पुगिसकेका छन्।
‘सुरुमा सम्पर्क र सम्वादका निम्ति समाजिक सञ्जालमा आवद्ध हुन्छन्’, समाजशास्त्री सुरेश ढकाल भन्छन्, ‘त्यसपछि यसमै निर्भर हुदै जान्छन्।’ नेपालीको बढ्दो समाजिक सञ्जाल क्रेजले यसलाई पुष्टी गरिरहेको छ। फेसबुकका अनुसार हाल नेपालमा यसका प्रयोगकर्ताको संख्या ३४ लाखको हाराहारीमा पुगेको छ।
सामाजिक सञ्जालको प्रयोग ज्ञान आर्जन गर्न र सूचना संप्रेषणका निम्तिभन्दा मनोरञ्जनकोरुपमा मात्र प्रयोग भएको उनको विश्लेषण छ। ‘९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताले विशुद्ध मनोरञ्जन र फेसनकारुपमा प्रयोग गर्छन्’, ढकालले भने, ‘यो पनि एउटा उपभोक्तावादी संस्कृतीका उपज हो।’ सामाजिक सञ्जालमा आवद्ध नभएको व्यक्तिलाई ‘असामाजिक’ जस्तै ठान्ने प्रवृत्ति बढेकाले पनि धेरैलाई यसतर्फ आकर्षित गरेको ढकालको विश्लेषण छ।
सामाजिक सञ्जालले व्यक्तिपिच्छे फरक–फरक अनुभुति र अनुभव दिएको छ। नेपालमा भने सामाजिक सञ्जालको प्रयोगकै कारण इन्टरनेट चलाउनेहरु पनि बढिहरहेका छन्। सुगमदेखि दुर्गमसम्म सामाजिक सञ्जाल प्रयोग गर्नकै निम्ति धेरैले इन्टरनेट प्रयोग गर्छन्।
‘फेसबुक चलाउनकै लागि मैले पनि जिपिआरएस एक्टिम गरेको छु’, खोटाङको खार्पास्थित भाषा निम्न माध्यमिक विद्यालयका शिक्षक अस्मिन मगरले फेसबुक च्याटमै भने, ‘यहा गाँउमा पनि धेरैले फेसबुक चलाउछन्, जसका इमेल छैनन् तिनका पनि फेसबुक एकाउन्ट छन्।’
सामाजिक सञ्जालमा जति नेपाली अभ्यस्त बन्दैछन्, त्यत्ति नै इन्टरने प्रयोगकर्ता पनि बढिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकारणका अनुसार हालसम्म करिब २९ प्रतिशत नेपाली इन्टरनेटको सञ्जालमा आवद्ध छन्। त्यसमध्ये सबैभन्दा धेरैले मोबाइलमा इन्टरनेट चलाउछन्। ७६ लाख ६४ हजार इन्टरनेट प्रयोगकर्ता नेपालीमध्ये ७२ लाख २२ हजारले जीएसएम मोबाइलमार्फत इन्टरनेट चलाउने गरेका छन्। मोबाइलमा इन्टरनेट प्रयोग गर्नेमध्ये धेरैले अन्य साइटभन्दा सामाजिक सञ्जाल नै धेरै प्रयोग गर्ने गरेका छन्।
सामाजिक सञ्जालका धेरैखाले सामाजिक आयाम ल्याएका छन्। कुनै आयाम सकारात्मक, सन्देशमुलक र सहज छन् त कुनै नकारात्मक, असामाजिक र अनैतिक। तर सन्देश जस्ता भएपनि सामाजिक सञ्जालको विस्तारको गति भने बढिरहेको छ–अनवरत।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु