Skip to main content

मृत्युदण्ड : व्यक्ति होइन, सोचलाई


दुई वर्षअघि भारतको राजधानी दिल्ली एउटा सामूहिक बलात्कारको मुद्दालाई लिएर निक्कै दिनसम्म तातेको थियो। लगत्तै हाम्रो राजधानी पनि उस्तै मुद्दा लिएर तात्यो। नागरिक अभियन्ताहरू बालुवाटार दरबार घेर्न गए। बालुवाटार सत्याग्रह (अक्यूपाई बालुवाटार)को बिजारोपण भयो। सत्याग्रहले कति साहस देखायो र कति सत्य स्थापित गरायो अनि सरकारलाई सही कदम उठाउन कति बाध्य बनाउन सक्यो, त्यो तपाई हाम्रासामू छर्लंग छँदैछ।
दुई वर्षपछि अहिले फेरि दिल्ली उही निर्भया बलात्कार घटनासँग सम्बन्धित डकुमेन्ट्री विवादले तातेको छ। डकुमेन्ट्री प्रसारणमा लगाइएको रोकको पक्ष विपक्षमा पुरै भारत विभाजित छ। प्रसारणको विपक्षमा हुनेहरूले सरकार र भारतीय सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरिरहेका छन् भने प्रसारण रोकको विपक्षमा हुनेहरू दिल्लीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको आरोप लगाइरहेका छन्।
ठिक यसै समय हाम्रो राजधानी पनि तातेको छ। यता दिल्लीमा बढ्दो तापक्रमसँगै दुई वर्ष पुरानो घटनासँग सम्बन्धित डकुमेन्ट्रीले सडक र सदनको पारो चढाएको छ। उता, काठमाडौं खाल्डोमा भने बलात्कारीलाई फाँसी दिनुपर्ने मागले सडक र सभामा तापक्रम बढाउँदैछ। यी दुई घटनाको बीचमा कहाँनेर तादाम्यता छ वा छैन? मेरो अपरिपक्व दिमागले ठम्याउन सकेको छैन। तर, एउटा कुरा भने अवश्य ठम्याएको छ, जब-जब भारतीय टेलिभिजन च्यानलमा यस्ता विषयमा चर्चा र बहस बढ्छन्, हाम्रा मिडियाका आँखा पनि उस्तै घटनामा बढी जान्छन्। जब भारतीयहरू यस्तै विषयमा सडकमा उत्रन्छन्, हाम्रा नागरिक अभियन्ताहरू पनि सडकमा ओर्लन्छन्। यसको मतलब त यही हुन्छ- हाम्रा मिडियाका तेस्रा आँखा जब भारतीय मिडियाले आँखा खोल्छन्, अनि मात्र खुल्छ। हाम्रा नागरिक अभियन्ताहरू  भारतीय अधिकारवादी सडक आएपछि मात्र जाग्छन्।
कारण जे सुकै होस्, यसबेला मिडिया र अभियन्ता दुवै तातेका छन्। त्यसलाई सकारात्मक मान्नै पर्छ। कमसेकम काठमाडौंका सडकमा घामलाग्दा धुलो र पानी पर्दा हिलो मात्र छैन। हाम्रै समाजभित्र भइरहेका यस्ता कुकृत्य र अपराधको विरोध गर्नेको स्वर पनि छ। जनसंख्याको आधा हिस्साले भोगिरहेको गम्भीर समस्यामा आवाज उठाउनेको लर्को पनि हिँड्दैछ।

बलात्कार र महिलाहिंसाका विरुद्धमा भएको आन्दोलन र बहस यो पहिलो होइन। बलात्कारीलाई फाँसी दिनुपर्ने माग उठेको पनि पहिलोपल्ट होइन। यसपालि भने फाँसीको माग प्रधानमन्त्री र सभामुखसम्म पुगेको छ। बलात्कारविरुद्धको अभियानमा नागरिक समाजका नाममा एनजिओको ब्यानर लिएर बालुवाटार पुग्ने मात्र छैनन्, राजनीतिक दलका झण्डा बोक्नेहरू पनि छन्। यस अर्थमा यो अभियान अलि भिन्न देखिएको छ। हो, सतहीरूपमा हेर्दा यस्तै देखिन्छ। तर सत्यका धेरै पत्र हुन्छन्, खानीमा भेटिने खरिढुंगाका पत्र जस्तै। यस्तै पत्र केलाउने हो भने यो आन्दोलन र अभियान पनि पुराना आन्दोलनभन्दा भिन्न देखिँदैन। 
काठमाडौंमा गर्मी बढिसकेको छैन। घाम सबैलाई प्यारै छ। घाम ताप्ने मेलो त चाहियो नै, बालिका बलात्कारको घटनाले मेलो जुराइदिएको छ। दलका कार्यकर्ता र कथित अभियन्ताहरू त्यही प्यारो घाममा गएर पिठ्यु तताइरहेका छन्, एउटा असम्भव नारा लगाउँदै- बलात्कारीलाई फाँसी देऊ। धेरैले सोच्लान्- म बलात्कारविरुद्धको अभियानको विरोध गर्दै बलात्कारलाई बल पुर्‍याउँदै छु। फाँसीको नारालाई असम्भव भन्दै बलात्कारीको आत्मबल बढाउँदै छु।
भन्नेहरूको मुख टाल्न सक्दिन, सोच्नेहरूको सोचाइ पनि बदल्न सक्दिन। तर, बलात्कारजस्तो सामाजिक अपराध यस्ता मौसमी अभियान चलाउँदैमा रोकिँदैन, न त न्यूनीकरण नै हुन्छ। अझ फाँसीको मागले बलात्कारका घटना कम हुनेवाला छैनन्। फाँसीको माग गर्नेका आफ्नै मत, मान्यता, तर्क, विवेक र विश्वास होलान् तर मेरो अपरिपक्व विवेकले भन्छ- फाँसीले बलात्कार रोकिँदैन।
पहिलो कुरा त हामी फाँसी अर्थात् मृत्युदण्डको कानुन बनाउन सक्दैनौँ। हामीले यति धेरै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र घोषणापत्रमा हस्ताक्षर गरिसकेका छौँ कि हामी मृत्युदण्डको कानुन बनाउने हैसियतमा छैनौँ। यदि मृत्युदण्डको कानुन बनाउने हैसियतमै भए पनि हामीले बनाएको कानुनले बलात्कार रोकिँदैन।
बलात्कार रोक्न कानुन होइन, सही कदमको खाँचो छ। भएकै कानुन कार्यान्वयन जरुरी छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो समाज र समाजका ठेकेदारको सोच बदल्नु आवश्यक छ। हाम्रो पितृसत्तात्मक र पुरुषवादी समाजले कहिले पनि महिलालाई आत्मसम्मान दिएको छैन, दिन चाहेको छैन र चाहँदैन पनि। हाम्रो समाजका हर सदस्यमा पुरुषवादी सोच हावी छ, चाहे त्यो महिला नै किन नहोस्। समाजमा रहेको पुरुषवादी सोच यत्तिसम्म घीनलाग्दो छ कि नारीलाई गैरमानव र वस्तुका रूपमा तुलना गर्न र त्यसैअनुरूप व्यवहार गर्न हामी अभ्यस्त छौँ।
हाम्रो समाज ‘साटो र पाठो’ संस्कृतिबाट गुज्रिएर आएको हो। यहाँनेर ‘साटो र पाठो’लाई अर्थ्याउनु पर्ने हुन्छ। ‘साटो’को अर्थ हो, महिलालाई वस्तुजस्तै साटेर विवाह गर्ने चलन। यो चलन हाम्रा हजुरबा पुस्तासम्म धेरै प्रचलित थियो। कसैले बिहे गर्नु पर्‍यो भने आफ्ना दिदीबहिनी वा छोरी–भतिजी कुनै परिवारको पुरुष सदस्यसँग विवाह गराइदिएर त्यस सदस्यका दिदी बहिनी वा छोरी भतिजीसँग विवाह गर्ने चलन निक्कै प्रचलित थियो। यसले महिलालाई मानवभन्दा सामानको वर्गमा राखेर व्यवहार गरेको प्रस्ट हुन्छ।
‘पाठो’को अर्थ अझै कटु छ। हाम्रो समाजमा अझै पनि महिलालाई छोराछोरी जन्माउने माध्यमका रूपमा मात्र हेर्ने गरिन्छ। यो सोचले महिलालाई मानवभन्दा पशुको वर्गमा राखेर व्यवहार गरेको देखिन्छ। ‘साटो र पाठो’को सोच राख्नेहरू हाम्रो हजुरबा पुस्तामा सकिएका छैनन्। हाम्रा बा पुस्ता र हाम्रो पुस्तामा पनि यस्तै सोच राख्नेहरूको बाहुल्य छ।
‘साटो र पाठो’ संस्कृतिबाट गुज्रेर आएको हाम्रो समाजमा महिलामाथि हुने अत्याचार पुरुषका लागि सामान्य लाग्छन्। ‘नमरी स्वर्ग देखिँदैन’ र ‘अचानोको चोट खुकुरीलाई थाहा हुँदैन’ भन्ने उक्ति हाम्रो समाजमा प्रचालित छन्। तर, हाम्रो पुरुषप्रधान समाजले कहिले पनि महिलाको समस्यालाई उनीहरूकै आँखाले हेर्ने कोसिस गरेन। हामी पुरुषहरू सधैँ खुकुरी भएर अचानोको पीर बेवास्ता गर्दै आयौँ। बेवास्ता मात्र गरेनौँ अचानो भएपछि खुकुरीको मार त खप्नै पर्छ भन्ने मान्यता राख्यौँ।
यस्ता मान्यता र सोचले बलात्कारजस्तो जघन्य अपराधलाई समेत बढावा दिइरहेको छ। ‘आइमाई भएपछि अलि जोगिएर हिड्नुपर्छ नि?’ कतै बजारमा पुरुषले जानाजान महिलालाई धक्का दियो भने सबैले यस्तै खाले प्रतिक्रिया दिन्छन्। जानाजान महिलाको संवेदनशील अंगमा धक्का दिने पुरुष समाजको नजरमा दोषी हुँदैन, पीडित महिला दोषी हुन्छिन्।
सार्वजनिक यातायातमा सकसपूर्ण यात्रा गरिरहेका महिलालाई पुरुषले चेप्ट्याएर अप्ठेरो पार्छन्। विशेषगरी भिड हुने रुटका बसहरूमा। जब कुनै महिलाले यस विषयमा आवाज उठाउँछिन्। तिनलाई घर परिवारका सदस्यदेखि साथीभाई मात्र होइन प्रहरीसमेतको सल्लाह हुन्छ- किन बस चढ्नु पर्‍यो त? टेम्पो चढ्नु, न’भा ट्याक्सी लिनु नि!’
सामान्यजस्ता लाग्ने दैनिक जीवनमा हुने यस्ता घटनाभित्र ठूला अर्थ लुकेका छन्। आशय करणीसम्मको कानुन भएको मुलुकमा हामीले यस्ता घटनालाई सामान्य भन्दै छाडेका छौँ। छाड्ने गरेका छौँ। यस्ता घटनाबाट पीडित महिलालाई आत्मबल दिएर उजुरी गर्ने र उजुरी परे कारबाही गर्न प्रहरीलाई तत्पर बनाउन सकेका छैनौँ। यी घटना हाम्रो समाजमा दैनिक घट्ने गर्छन्। हज्जारौँ महिला दैनिक पीडित हुन्छन्। तर तिनको लेखाजोखा छैन। यसले हाम्रो समाजको मनोविज्ञान बोल्छ।
यीबाहेक केही उदाहरण हेरौँ- प्रायः कलेज र विश्वविद्यालयहरूमा धेरै छात्रा दुर्व्यवहारको सिकार हुन्छन्। तर उनीहरू कहिल्यै पनि उजुरी गर्ने आत्मबलमा हुँदैनन्। अहिले विद्यार्थी संगठनहरूले बलात्कारीलाई मृत्युदण्डको माग गरिरहेका छन्। तर, तिनै विद्यार्थीहरू प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी र बागबजारको पद्मकन्या कलेजको गेटमा बसेर छात्राहरूलाई जिस्काउने गर्छन्।
शिक्षालयहरूमा भनिने केही उक्तिहरूले महिलामाथिको हिंसा बढाइरहेका छन्। शिक्षालयहरूमा युवाहरू युवतीलाई जुत्तासँग तुलना गर्छन्। युवतीलाई इंगित गर्दै ‘खुट्टा भए जुत्ता कत्ति कत्ति’ भन्ने युवाहरू शिक्षालयमा युवतीलाई धोका दिएकोमा छाती फूलाएर हिँडेकै छन्। युवतीलाई फूलसँग तुलना गर्दै भँवराले रस चुस्न पाउनु पर्छ भन्ने मान्यताले पनि महिलालाई जसले जे पनि गर्दा हुन्छ भन्ने मान्यतालाई बल दिएकै छ।
कलेजहरूमा युवाहरू जिस्क्याउन र दुर्व्यवहार गर्न युवतीको खोजी गर्दै हिँड्छन्। यस्ता कार्यलाई उनीहरू ‘सिकार खोज्ने’, ‘हरियाली हेर्ने’लगायत भाषामा अभिव्यक्त गर्छन्। उनीहरूले अभिव्यक्त गर्ने यस्ता भाषा पनि दुर्व्यवहारपूर्ण छन्। यस्ता खाले कार्य र अभिव्यक्तिलाई हामी सामान्यरूपमा लिन्छौँ। अझ केटाले केटीलाई नजिस्याए कस्ले जिस्क्याउँछ ? भन्न पछि पर्दैनौँ।
यस्ता कार्य र अभिव्यक्तिले हाम्रो सामाजमा महिलामाथिको दूर्व्यवहारलाई संस्थागत गरिदिएको छ। यस्ता कार्यलाई सामान्य मानेर बेवास्ता गर्ने हाम्रो बानीले दुर्व्यवहारलाई प्रोत्साहन गरिरहेको छ। यस्ता प्रोत्साहनको असर प्रत्यक्षरूपमा सामाजिक मनोविज्ञानमा पर्छ। जब सामाजिक मनोविज्ञान नै दूषित हुन्छ। यस्ता दुर्व्यवहार बढ्दै जान्छन् र जघन्य अपराधको रूप लिन्छन्। आज बजारमा महिलाको संवेदनशील अंगमा कुम ठोक्काउने पुरुष भोलि सार्वजनिक यातायातमा महिलाको संवेदनशील अंगमा सिधै हातले समाउन पुग्छ। पर्सिबाटो कुरेर महिलालाई दुर्व्यवहार गर्ने र अर्को दिन बलात्कारी बन्न सक्छ।
यो समग्र अपराध प्रक्रियामा त्यो एकजना पुरुषमात्र दोषी छैन। हामी सबै दोषी छौँ। हाम्रो पुरुषवादी सोच सबैभन्दा बढी दोषी छ। महिलालाई दुर्व्यवहारविरुद्ध लड्न बल र आत्मविश्वास नदिने मानसिकता सबैभन्दा बढी दूषित छ। तर, हामी हाम्रा यी तमाम दोष देख्दैनौँ। तिनलाई जरैदेखि उखेलेर फाल्ने उपाय खोज्न लाग्दैनौँ। सडकमा गएर एउटा बलात्कारीलाई फाँसी देऊ भन्ने माग गर्छौँ। फाँसीले एउटा दोषीलाई सजाय मिल्ला तर बलात्कारको पूरा प्रकरणमा दोषी हाम्रो समाज र हाम्रो मानसिकतालाई कसले पाठ सिकाउला? बलात्कारीलाई बलात्कारसम्म पुग्ने बाटो बनाइदिने समाजका ठेकेदारलाई कसले कठघरामा उभ्याउला?
हाम्रो मुलुकमा मात्र होइन, आज दक्षिण एसियाभर परम्परा र संस्कृतिको ठेक्का लिनेहरूले बोल्ने आवाज एउटै छ- ‘महिलाहरूले छोटा र भडि्कला लुगा लगाएर हाम्रो संस्कृति खत्तम पारे। केटाहरूलाई पनि बलात्कारी बनाए।’
परम्पराको ठेकेदार ठान्ने ती विद्वान्‌हरू के बुझ्न जरुरी छ भने बलात्कारका बहुसंख्यक पीडित महिलाहरू गरिब, दलित र निमुखा छन्। जसले चाहेर पनि भडि्कलो पहिरन लगाउन सक्दैनन्। अर्को कुरा, कसैले छोटो लुगा लगाउँदैमा बलात्कृत हुनुपर्छ भन्ने कुन शास्त्रमा लेखेको छ? के पुरुषमा विवेक, मगज र मानवता भन्ने छैन? के पुरुषहरू मानसिक सन्तुलन गुमाएका प्राणी हुन्, जसले कुनै युवतीको घुँडा माथिको छाला देख्नेबित्तिकै आफ्नो विवेक गुमाउँछन्? नत्र स्वघोषित सभ्य समाजमा पुरुष किन यत्ति हिंस्रक बन्छ?
आज पनि अफ्रिका, अमेजन, इन्डोनेसिया, पपुवा न्युगिनीलगायतका विश्वका कतिपय क्षेत्रमा कपडाको त्यान्द्रोसमेत नलगाई जीवन गुजारा गर्ने आदिबासी छन्। महिलाले छोटा लुगा लगाएर पुरुष बलात्कारी बनेको भए नांगै बाच्ने सबै आदिबासी महिला बलात्कारको सिकार हुँदैन थिए होलान्?
महिलामाथिको दुर्व्यवहार र बलात्कार छोटा पहिरनले बनाएको होइन। हाम्रो दम्भ र आफूलाई शक्तिशाली देखाउन महिलालाई हानी गर्नुपर्छ भन्ने पुरुषवादी सोचले बढाएको हो। हाम्रो समाजमा जे-जति बलात्कारका घटना भएका छन्, त्यसमा ती पुरुषमात्र बलात्कारी होइनन्, हामी सबै बलात्कारी हौँ। हाम्रो सोच नै बलात्कारी हो। बलात्कारलाई अन्त्य गर्नलाई हामीले आफैँबाट सुधार गर्न जरुरी छ। यसका लागि सोच बदल्न आवश्यक छ। मृत्युदण्ड बलात्कारीलाई होइन, हाम्रो पुरुषवादी र बलात्कारी सोचलाई दिनु जरुरी छ।

बुधबार, चैत्र ४, २०७१, सेताेपाटी अनलाइनमा  प्रकाशित 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु