Skip to main content

भारतीय ‘मन्द बिष’ र नेपाली राष्ट्रीयता

पश्चिमा दर्शनशास्त्रीमा प्लेटोको नाम सर्वविदितै छ । उनै प्लेटोले मानव समाज कसरी भ्रममा बाचेको हुन्छ भन्ने बुझाउन दृष्टान्त बनाएको ‘एलेगोरी अफ दी केभ’ विश्व चर्चित छ । ज्ञान दर्शनका विद्यार्थीका लागि त यो एउटा ‘मास्टर्ड पिस’ नै हो । ‘एलेगोरी अफ दी केभ’मा प्लेटोले काल्पनिक गुफा सिर्जना गरेका छन् । गुफामा हात बाधेर लहरै राखिएका कैदी छन् । तीनको पछाडीपट्टिबाट प्रकाश दिइन्छ । त्यहि प्रकाशलाई छेक्दै घोडाका आकृती कुदाइन्छ । जब कैदीहरु आफू अगाडी घोडाको छाँया देख्छन्– तिनलाई लाग्छ असली घोडाहरु यिनै हुन् । 
कुनै दिन एक कैदीलाई गुफाबाट बाहिर निकालिन्छ । उसले सूर्यको प्रकाश सामना गर्न सक्दैन । जसरी हामी मध्य दिउसो घरबाट फुत्त निस्कदा घामको प्रकाशमा अध्यारो मात्र देख्छौ । त्यो कैदीको अवस्था त्यस्तै हुन्छ । उसलाई असली घोडा देखाइन्छ । सुरुमा उसले गुफा भित्रकै घोडा असली ठान्छ । बाहिरी घोडालाई नक्कली भन्छ । तर, विस्तारै उसले वास्तविकता बुझ्छ अनि आफ्नो भ्रमबाट मुक्त हुन्छ । 
प्लेटो त्यही भ्रमबाट मुक्त भई ज्ञान आर्जन गरेको कैदीलाई भित्र लगेर अरुसँग मिलाउने कल्पना गर्छन् । जब उ भित्र जान्छ, अरुलाई भ्रममा बाचेको भन्छ । तर, अरु कैदी उसलाई कि त पागलको संज्ञा दिन्छन् कि त आक्रमण गर्न तम्सिन्छन् । उनीहरुलाई लाग्छ हामीले देखेको छाँया नै वास्तविक हो । बाहिर गएर आएको कैदीले भ्रम सिकेर आएछ । त्यत्ति मात्र होइन, अरु कसैलाई बाहिर लान कोसिस गर्यो भने बाहिर भ्रम सिकाइने रहेछ भनेर कोहीपनि जान तयार हुने छैनन् । 
आजभन्दा दुई हजार वर्ष पहिले प्लेटोले ‘एलेगोरी अफ दी केभ’मार्फत दिन खोजेको सन्देश हो–'मान्छे भ्रममा बाचेका हुन्छन् । त्यो भ्रमलाई चिर्न नसकुन्जेल ज्ञान आर्जन गर्न सकिदैन । तर एकल ज्ञान आर्जनले सामूहको मानसिकता परिवर्तन गर्न पनि त्यत्ति सजिलो छैन । भ्रमलाई ज्ञान र ज्ञानलाई गहन ज्ञानमा परिवर्तन गर्न बौद्धिक वर्गले न्वारानदेखिको बल लगाएर बुद्धि फैलाउन सक्नुपर्छ ।' 
भलै प्लेटोले दुइहजार वर्ष पहिले लेखेका किन नहुन्, नेपाली समाजका लागि उनको यो विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक छ । पछिल्लो नेपाल–भारत सम्बन्ध सम्बन्धी विवाद, विचार, विश्लेषण र परिस्थितीको मूल्यांकन गर्दा हामी अझै भ्रममा बाचेका छौ भन्ने प्रष्ट हुन्छ । अहिले पनि हामी प्लेटोको काल्पनिक गुफाबाहिर निस्कन सकेका छैनौ । जबसम्स हामी त्यो गुफाबाट निस्कदैनौ हामीले आफ्नै अवस्थाको सही पहिचान पाउने छैनौ । 
यो वा त्यो बहानामा जब हाम्रो नुन–तेल रोकिन्छ तब मात्र हामी भारतलाई खराब देख्छौ । भारतका हरेक गतिविधिलाई आलोचना गर्छौ, फेरि केही समयमा कुनै स्वार्थपूर्ति भएपछि हामीले नुन–तेल पाउँछौ हामी सबैथोक बिर्सन्छौ । त्यस बखत भारत हाम्रालागि अन्नदाता बनिदिन्छ । आलोचना गर्नेहरु आशिर्वाद थाप्न थाल्छौ । तर हामी कहिल्यै पनि भारतको हात यसरी सधै किन माथी परिरहेको छ? भनेर सोच्दैनौ । त्यसको कारण पत्ता लगाएर उपचार गर्ने त धेरै टाढाको कुरो भयो । 

सम्बन्ध सञ्चालनका आ–आफ्नै संरचना हुन्छन् । चाहे त्यो मानव–मानवबिचको होस या मुलुक–मुलुक बिचको । कुनै सम्बन्ध पारस्परिक निर्भरताका आधारमा चल्छन् भने कुनै सम्बन्ध निर्भरताका आधारमा । यसबाहेक दमनका आधारमा पनि संबन्धहरु चल्छन् । हुनत सम्बन्ध सञ्चालनका अरु संरचना पनि नभएका हैनन् । तर, मुख्यरुपमा यीनै संरचनाले सम्बन्धहरु निर्धारण गर्ने गर्छन् ।
पारस्पिरिक निर्भरताको सम्बन्धमा दुवै पक्ष एक अर्कामा निर्भर हुन्छन् । जब एउटाको अस्तित्व संकटमा पर्छ अर्कोको अस्तित्वमा पनि खतरा आउने सम्भावना हुन्छ । या भनौ दुवै एकै सिक्काका दुई पाटा जस्तै हुन् । अझ प्रष्ट पार्नलाई हामी श्रीमान्–श्रीमतीको सम्बन्धलाई लिनसक्छौ । जुन सैदान्तिकरुपमा पारस्पिरिक निर्भरतामा निहित हुन्छ । 
निर्भरतामा आधारित सम्बन्ध एकपक्षिय हुन्छ । एउटामा अर्को पूर्णतः निर्भर हुन्छ । तर, यसरी बन्ने सम्बन्धमा दुवै पक्ष खुशी नै देखिन्छन् । कहिलेकाही समस्या देखिएपनि दुवैले निर्भरतालाई प्राकृतिक हो भनेर स्वीकार गर्ने गर्छन् । तर, दमनमा आधारित सम्बन्धमा भने कुनै एक पक्षले अर्को पक्षलाई जबरजस्ती आफूमा निर्भर बनाउछ । यत्ति मात्र होइन शक्तिशालीले कमजोरलाई जसरी पनि आफ्नो अनुकुल प्रयोग गर्ने गर्छ । 
हामीले जत्ति नै विश्वव्यापीकरणको कुरा गरेपनि अन्तर्राष्ट्रिय सम्बन्धमा पनि यीनै तीन संरचनाहरु प्रचलित छन् । कुनै मुलुकहरु पारस्पिरिक निर्भरतामा चलेका छन् भने कुनै निर्भरतामा र कुनै दमन सहेर पनि चलेकै छन् । नेपाल भारत सम्बन्ध भने लामो समयदेखि निर्भरता र दमन मिश्रित ‘वर्णशंकर’ संरचनाबाट चल्दै आएको छ । 
हामी हरेक कुरामा भारतसँग निर्भर हुदै आएका छौ । त्यहि निर्भरताको औजार प्रयोग गरेर भारतले कहिलेकाँही दमनतर्फ पाइला चाल्ने गरेको छ । जसलाई भारतीय बौद्धिक वर्गले चाही सकारात्मक शब्द ‘परिवर्तनका लागि सहयोग’कोरुपमा ब्याख्या गरिदिने गरेका छन् । 
हामीले जतिसुकै रोई-कराई गरेपनि हामी आफैलाई थाहा छैन, भारत कसरी नेपालभित्र पनि शक्तिशाली बनिरहेको छ? त्यसलाई बुझ्नका लागि हामीले कोशिस नै गरेका छैनौ । भारतको शक्ति नेपालको आन्तरिक मामिलामा बढ्दै जानका लागि हामी आफैले स्थान दिइरहेका छौ । हाम्रो त्यहि सदासयताको फाइदा उठाउदै भारतले नेपालभित्रै नेपाल विरोधी भारतीय पक्ष सिर्जना गरिसकेको छ । जसमा हामी अधिकांश नेपाली कुनै न कुनैरुपमा सम्लग्न भएकै छौ । सरकार त जुनसुकै आएपनि त्यहि भारतीय ‘मन्द बिष’ फैलाउने नीति ल्याउनमै तल्लिन छ । 
आज हाम्रो भान्सादेखि सयनकक्षसम्म, घरदेखि कार्यालयसम्म, गाउँदेखि सहरसम्म र हिमालदेखि तराइसम्म भारतीय ‘मन्द बिष’ फैलिसकेको छ । जसले सुस्तरी–सुस्तरी नेपालको सार्वभौमिकतालाई निल्दैछ । र, त्यसमा सबैभन्दा बढी दोष हाम्रै छ, न की भारतको । 
सुगौली सन्धीमा नेपालली युवालाई बेलायती सेनामा भर्ति गर्ने व्यवस्था गरियो । नेपाली सार्वभौमिकतालाई समाप्त पार्ने पहिलो मन्द बिष त्यहि थियो । नेपालले भारत बेलायतबाट स्वतन्त्र भएपछि कसमेकम भारतमा गोर्खा भर्ति बन्द गर्नुपथ्र्यो । तर आजका मितिसम्म त्यो कायमै छ । सबैभन्दा लज्जास्पद कुरा त के भने, नेपालले आफू रोजगारी दिन नसकेकाले गोर्खा भर्ति गराइरहेको भन्ने इतिहास लेखाइएको छ-बेलायती र भारतीयका हातबाट । जसले नेपालीले गौरव गर्दै आएको ‘गोर्खाली वीर’को मान्यतालाई सिधै खारेज गरिदिएको छ । 
गोर्खा भर्तीले पहिलो पटक नेपालीलाई विदेश गएपछि पैसा कमाइने रहेछ भन्ने गलत धारणा विकास गराइदियो । त्यसै कारण लाहुरे हुन नसक्ने नेपाली समेत भारत, भुटान र बर्मा पुग्न थाले कमाई हुने लोभले । जसले स्वदेशमै उत्पादन गरेर समृद्धि आर्जन गर्नुपर्छ भन्ने मान्यता विकास हुन सकेन ।
भारत स्वतन्त्र भएको ७० वर्ष हुन लाग्दा पनि हामीले कहिल्यै गोर्खा भर्तीलाई आफ्नो सार्वभौमिकतासँग दाँजेर हेरेका छैनौ । जुन मुलुकका युवा अर्काको देशमा गएर त्यसैको सेना भएर लड्छन् भने कसरी हामी सार्वभौम छौ भन्नु? भारत–चीन युद्ध होस् वा भारत–पाक लडाइमा मर्ने नेपाली नै धेरै थिए । आज पनि फेरि युद्ध भयो भने नेपाली नै मर्ने हुन् । 
भारत स्वतन्त्र भएपछि नेहरुका पालादेखि नै नेपाल, सिक्किम र भुटानलाई भारतमा मात्र निर्भर बनाउने खेल सुरु भयो । त्यसै अनुरुपका सन्धी–सम्झौता भए । जसले तीनै मुलुकमा अत्यावश्यक वस्तुको आपूर्तिको एकमात्र हकदार भारत हुन पुग्यो । उद्योगधन्दा, कलकारखाना र सवारी चलाउन आवश्यक पर्ने इन्धन आपूर्तिको स्वामित्व आफूमा मात्र राख्न भारतले गरेको चलाखीलाई यी मुलुकका शासकले पनि कहिल्यै पहिचान गर्न सकेनन् । पहिचान गर्नेहरुले पनि आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर सत्ताको दाउपेचमा लागिरहे ।
हामीले जत्तिसुकै गाली गरेपनि नेपालले भारतमा मात्र निर्भर नभएर चीनसँग पनि सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने चेत राजा महेन्द्रले नै देखाएका हुन् । त्यसै कारण कमसेकम नेपालले दिगो नभएपनि चीनसँग जोडिने बाटाहरु बनाउन सफल भयो । तर, त्यसले हाम्रा सबै आवश्यकता पुरा गर्न सक्ने अवस्था अहिले पनि छैन । इन्धन ल्याउने कुरामा त हामीले भारतको अनुमति बिना ल्याउनै नपाउने अवस्था छ । 
गोर्खा भर्ति र आयात–निर्यातमा भारतको एकाधिकार त सजिलै देखिने कुरा हुन् । त्यैपनि हामीले नजरअन्दाज गरेर बसेका छौ । हाम्रा नीति–निर्माता, दल, नागरिक समाज र बौद्धिक वर्गले पनि सबै हामीलाई एउटै सुगा रटाई गरिरहेका छन्–‘भारतसँग हाम्रो सम्बन्ध विशेष छ, त्यसैले दुवै कुरा जायज हुन्’ । अझ धेरैले एक कदम अघि बढेर भन्ने गर्छन्–‘नेपालको विकल्प छैन, जोरी खोजेर हुदैन’ । तर कहिल्यै हाम्रा विद्वानहरुले ठण्डा दिमागले सोचेर हेरेका छन्–भारतले जोरी खोजेका दिन हाम्रा विकल्प के छन्? भनेर । अवश्य छैनन्, न त हामी आम जनमानसले नै । 
गोर्खा भर्ती र इन्धनका कुरा छाडेर अरु संरचनामा जाऔ । आजको मितिमा नेपालभर गुड्ने सबैखाले सवारीमा कुन मुलुकका उत्पादन धेरै छन्? सायद सर्वेक्षणको जरुरी नै पर्दैन ९० प्रतिशतभन्दा बढी सवारी भारतीय ब्रान्डका गुड्छन् । मारुती, टाटा, फोर्स, बजाज यस्तै यस्तै । के नेपालमा एउटा पनि सवारी साधनको कारखाना चल्नै नसक्ने हो? यही प्रश्न मैले केही वर्ष अघि शेखर गोल्छालाई तेस्र्याए । ‘कमसेकम बाइकको कारखाना चलाउन सकिन्थ्यो, तर न बिजुली छ, न यही हुने उत्पादनका लागि कुनै सहुलियत’ गोल्छाले जवाफ फर्काए । नेपालमा कमसेकम एसेम्बल भएपनि गर्न सके वर्षेनी सवारीका लागि बाहिरिने रकममध्ये केही जोगिन सक्ने थियो । गोल्छा समूहले नै स्थापना गरेको हुलास मोर्टर पनि मृत्युप्रायः छ । किन? राजकुमार गोल्छा भन्ने गर्छन्–‘हामीले ल्याउने कच्चा पदार्थमा र तयारी गाडीमा लाग्ने कर उस्तै छ, उल्टै रक्सी चुरोटमा लाग्ने अन्तःशुल्क समेत लाग्छ ।’
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गरि सरकारले त कहिल्यै सोच्दै सोचेन हाम्रा तथाकथित उद्योगीले पनि सोचेनन् । नेपालका जति पनि कहलिएका औद्योगिक घराना छन्, सबैको हात व्यापारतिर छ । उद्योगमा जोखिम छ, व्यापारमा कम जोखिम । जब कुनै मुलुकको आफ्नो उत्पादन हुदैन, त्यसले स्वाभिमान कसरी जोगाउन सक्छ? धेरैले भन्छन् नेपालमा उत्पादन गर्ने वस्तु छैन । तिनका तर्कलाई के दक्षिण कोरियाले चुनौती दिदैन? दक्षिण कोरियाले प्रविधिमा आधारित उत्पादनमा संसारलाई चकित पारेको छैन? सिलिकन भ्यालीमा जन्मेको एप्पललाई टक्कर दिन सामसङ काफी छैन? 
आज हामी बच्चलाई खुवाउने लिटो देखि फापरको पिठोसम्ममा भारतमा निर्भर हुन थालेका छौ । वर्षेनी मध्यपश्चिमतिरबाट ट्रकका ट्रक कच्चा जडिबुटी भारत जान्छन् । डाबरले हजमोला बनाएर पठाइदिन्छ हामी हाम्रै जडिबुटीलाई मोहोरमा बेचेर रुपैया“को हजमोला किन्छौ । के नेपालीले जडिबुटी प्रशोधन गर्ने दुई–चार कारखाना खोल्न सक्दैनन्? हामी किन त्यतातिर सौच्दैनौ? 
उपभोग्य वस्तुको कुरा छाडौ । उपभोग्य सेवामा समेत हामी भारतमै निर्भर छौ । कतिपय उपभोग्य सेवामा हामी भारतमा निर्भर नहुदा पनि अफ्ट्यारो पर्नेवाला छैन । तर हामी मानसिकरुपमा यत्ति दरिद्र छौ कि, भारतको नामैले त्यसैको सेवामा होमिन्छौ । नेपालभित्रै सुविधासम्पन्न र राम्रा अस्पताल बनिसक्दा पनि अझै हामी भारतमै धाउदैछौ । भारतीयहरुले घोषितरुपमा अहिले ‘मेडिकल टुरिजम’को वकालत गरिरहेका छन् । जुन मुलुकले बिरामीलाई समेत पर्यटककोरुपमा देखिरहेको छ, जहा उपचार सही हुन्छ भन्ने ग्यारेन्टी के छ? हामीलाई यतातिर सोच्ने फुर्सद छैन । 
हामी फुर्सद वा बिदा मनाउन कतै जानु पर्यो भन्ने सोच बनाउने वित्तिकै भारत सोच्छौ । दिल्ली, ताजमहल वा अलि धार्मिक आस्था बढी भएका भए चारधाम । तर किन हामी मुक्तिनाथ वा लुम्बिनी जाने सोच्दैनौ? रेडपाण्डा हेर्न लाम्टाङ् वा लेकाली फाँट हेर्न खप्तड पुग्ने कल्पना गर्दैनौ? के विदा मनाउन रेल नै चढ्नु पर्छ? संसारभरबाट हिड्नका लागि हज्जारौ मान्छे आउने ठाँउमा हामी हिड्न सक्दैनौ? 
मनोरञ्जनका सबैखाले सेवामा हामी भारतमै निर्भर छौ । यो पनि नेपालमा मनोरञ्जन सेवा उपलब्ध नभएर हामी भारतीय सेवामा निर्भर भएका हैनौ । हामीले हाम्रो मानसिकता नै भारतीय मनोरञ्जन सेवा उत्कृष्ट छ भन्ने बनायौ । त्यसैले हामीलाई नेपाली मनोरञ्जन सेवा फिक्का लाग्छन् । हाम्रा बालबालिकादेखि वृद्धवृद्धासम्मले हिन्दी चलचित्र ‘सोले’लाई खुबै उत्कृष्ट मान्छन् । 
आज पनि भारतीय च्यानलमा ‘सोले’ आए त्यसमा झुम्मिन्छन् । तर के नेपाली ‘बलिदान’ ‘सोले’ भन्दा कम छ? अनि धेरैको प्रतिक्रिया हुन्छ, यो नेपाली चलचित्र फलानोबाट ‘सिन’ चोरेर बनाएको रहेछ । ‘सोले’ मन पराउनेहरुले कहिल्यै हलिउड चलचित्र ‘द म्यग्निफिसेन्ट सेभेन’ हेरेका छन्? केही वर्षअघि मात्र बनेको बलिउड चलचित्र ‘बर्फी’मा राखिएका चार्लि च्याप्लिनका हुबहु ‘सिन’लाई कहिल्यै हामीले ‘मार्क’ गर्याै? पक्कै पनि गरेनौ । 
आज नेपालभित्रै धेरै टेलिभिजन च्यानल खुलिसकेका छन् । तिनले प्रस्तुत गर्ने मनोरञ्जनात्मक कार्यक्रम उत्कृष्ट नहोलान् । तर, हामीले कहिल्यै यो कार्यक्रममा यो यो हुनुपथ्र्यो भएन भनेर बहस चलायौ? हो, टेलिभिजनहरुले पनि दर्शकको चाहनालाई बुझेर कार्यक्रम बनाएका छैनन् । त्यसलाई आत्मसाथ गर्ने हिम्मत टेलिभिजनवालासँग छ? दर्शकको चाहना अनुसार कार्यक्रम पस्कन नसक्ने टिभीले नै अहिले राष्ट्रियताको भाका ओकल्ने समाचार वाचन गरिरहेका छन् । तर, आफू सुधार हुने संकल्प गर्न सकेका छन्?
अहिले पनि हामी भारतीय पत्रिका, समाचार र पुस्तकका तथ्यलाई नै आधिकारिक मानेर हिडिरहेका छौ । हाम्रो विश्वविद्यालयका विभागीय प्रमुखहरु र उपकुलपति भइसकेका व्यक्तिले समेत भारतीयले लेखिदिएका कुरालाई सत्य मानेर हिडेका छन् । के कहिल्यै हामीले तिनले लेखेका कुरालाई पुष्टि गर्ने आधार खोज्यौ? अवश्य खोजेका छैनौ । जब म भारतमा अध्ययनका लागि आए, प्रत्येक कक्षामा प्राध्यापकहरुले भन्ने दुइवटा कुराले साह्रै मन दुखायो । ‘सन् १९४७ भन्दा अगाडी सबै दक्षिण एसियाली मुलुक बेलयतको उपनिवेश थिए’–एक, ‘भारतमा ५० लाख नेपाली महिला वेश्यावृत्ति गर्छन्’–दुई । 
सुरु–सुरुमा धेरै प्राध्यापकसँग जुहारी चल्यो । विस्तारै भारतीय इतिहासकारले लेखेका पुस्तक हेर्दै गएपछि थाहा भयो, उनीहरुले नेपाल सहित सबै दक्षिण एसियाली मुलुकलाई बेलायतको उपनिवेश थियो भनेर लेखिदिएका रहेछन् । भारतको वेश्यालयमा ५० लाख नेपाली महिला छन् भन्ने विवरण चाही हाम्रै मुलुकमा सक्रिय गैर सरकारी संस्थाले दिएका तथ्याङ्कमा आधारित छन् । तर, नेपाली गैससले पाँच लाख लेखेकोलाई भारतीयले अङ्ग्रेजीमा अनुवाद गर्दा आफ्ना पुस्तकहरुमा ‘फाइभ मिलियन’ बनाइदिएका छन् ।
के यस्तो ‘बौद्धिक दमन’ र ‘बौद्धिक उपनिवेश’को बारे भारतमा अध्ययन गर्ने कैयौ नेपालीले चाल नपाएका हुन्? अवश्य होइनन्, तर तिनले यस्ता मिथ्या तथ्यलाई खण्डन गर्ने हिम्मत गरेनन् । न बोलेर न लेखेर । आफ्नो स्वार्थपूर्तिका लागि उल्टै हाम्रो बौद्धिक जमातले ‘जसो जसो बाहुन बाजे उसो उसो स्वाहा’ गर्दै हिड्यो । यो ‘बौद्धिक दासता’ले हाम्रो कति पुस्तालाई हानी गर्ने हो, आँकलन गर्नै गाह्रो छ । 
भारतीयहरुले घोषितरुपमै यस्ता खाले ‘सफ्ट पावर’ उपयोग गरिरहेका छन् । भारतका पूर्व मानव संसाधन मन्त्री शशी थरुरले हालैका दिनहरुमा विश्वविद्यालयहरुमा दिने ‘लेक्चर’मा यीनै ‘सफ्ट पावर’को वकालत गर्ने गरेका छन् । ‘भारतले विश्व शक्ति बन्न हार्ड पावर र सफ्ट पावर दुवै प्रयोग गरिरहेको छ, अफगानिस्तानमा अहिले राती ८ बजेपछि सबै घरमा भारतीय च्यानल खुलेका हुन्छन्, के यो सफ्ट पावरको सफलता हैन?’ उनले भन्ने गरेका छन् । जब यस्ता ‘सफ्ट पावर’ ग्रहण गर्ने मुलुक पनि त्यस्तै खाले ‘सफ्ट पावर’ दिने हैसियतमा हुन्छ, तब मात्र मुलुक बलियो बन्छ । तर, हामीले कहिल्यै त्यतातिर सोच्ने कसरत गरेकै छैनौ । 
हामीलाई लाग्छ हाम्रो चलचित्र कसले हेरिदिन्छ? हाम्रा पुस्तक र पत्रिका कसले पढिदिन्छ र ‘सफ्ट पावर’ नामक ‘मनको लड्डु घिउसँग खानु?’ तर, हामीले भारतमै रहेका लाखौ नेपालीलाई भुलिरहेका छौ । काकडभिट्टाबाट पूर्व लागेपछि भेटिने नेपालीको लहरो बर्मासम्म पुग्छ । महाकालीबाट पश्चिम लागेपछि भेटिने नेपालीको लहरो जम्मुसम्म पुग्छ । ति नेपालीभाषीका माझ नेपाली चलचित्र, पुस्तक र संगीतको प्रभाव नेपालभित्रैका हामीलाई भन्दा बढी छ । 
हामीसँगै अध्ययन गर्ने एउटा भुटानी (गैर नेपाली मूलको) साथी छ । उसले जहिले पनि हामीलाई राजेश हमालको ‘डाइलग’ नक्कल गरेर नेपालीमा गफ गर्दा अर्कै आनन्द आउँछ । उ मभन्दा बढी नेपाली फिल्म र संगीतमा ‘अपटेड’ हुन्छ । तर, बिडम्बना न हामी नेपालीको बसोबास भएको क्षेत्रमा आधिकरिकरुपमा व्यापार गर्ने गरि चलचित्र प्रदर्शनमा लान सक्छौ न पुस्तक र पत्रपत्रिका नै पुर्याउन सक्छौ । हामीमा क्षमता नभएर पनि होइन, भारतसँग हामीले आजका मितिसम्म त्यसका लागि अनुमति लिन सकेका छैनौ । नेपाल–भारतका कुनैपनि व्यापार बैठकमा नेपालले यस्ता सेवालाई प्राथमिकतामा राख्दैन । केही गरि कुरा उठिहाले पनि भारतले सुरक्षाको खतरा देखाउदै अनुमति दिन नसकिने बताउँदा हाम्रा वाणिज्य वार्ताकार ‘ए हो त है’ भन्दै फर्कन्छन् ।
अर्को सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, भारतसँग सीमा जोडिएका सबै क्षेत्रमा बसोबास गर्ने हामी नेपाली सियोदेखि दियोसम्म किन्न भारतकै बजार जान्छौ । मलाई अचम्म लाग्छ–किलोमा ५ रुपैयाँ सस्तो पाइने लोभले धेरै सीमावर्ती सहरका नेपाली सय रुपैयाँ सवारी भाडा खर्च गरेर सामान किन्न सीमापारी पुग्छन् । एक त कानुनीरुपमा ठूलो मात्रामा सामान भन्सार नतिरी ल्याउन पाइदैन, अर्को आफ्नै खल्तीबाट सवारी भाडामार्फत किलोमा १० रुपैयाँ थपिएको विचार नगरी नेपाली सीमापारी दौडिरहेका हुन्छन् । के हामीले कहिल्यै सरकारलाई कर तिरेर मजबुँद बनाउने सोच बनाएका छौ? हामीले सीमापारी धाउदा लाग्ने सवारी खर्च र समयको बर्बादीलाई केलाएर आफै कुनै उत्पादनशील कार्यमा लाग्ने सोच बनाएका छौ? पक्कै छैनौ ।
भारतले अहिले नेपालको ताप्लेजुङदेखि दार्चुलासम्म र सगरमाथादेखि वीरगञ्जसम्म जुनसकुकै स्थानमा गएर त्यहाको विकास निर्माणका लागि भन्दै पाँच करोडसम्म लगानी गर्न पाउँछ । पहिले भइरहेको तीन करोडको सीमा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बढाएर पाँच करोड पुर्याइएको हो । अब हामी आफै सोचौ, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, समाजकल्याण परिषद्लागायतका निकायको जानकारी बिनै कुनै दूतावासले हाम्रो मुलुकमा गाँउ–गाँउ गएर पाँच करोड बाड्न सक्छ भने राष्ट्रीयताको ढोंङ कतिदिन टिक्नसक्छ? अबको २० वर्षपछि दूतावासबाट पाँच करोड लिएर खानेहरु मात्र चुनिएर हाम्रो संसद्मा पुग्नेछन् । अनि तिनले कसरी राष्ट्रियता रक्षा गर्लान्? 
भारतले यसरी गाँउ–गाँउ बाड्ने रकमले नेपाली तन र नागरिकता भएका भारतीयको सिर्जना कसरी गरिरहेको छ सार्क सम्मेलन अघि जनकपुरमा देखिएको ताण्डवले नै पुष्टी गरिसकेको छ । अबको १० वर्षपछि जनकपुरका केही छाेटे नेताजस्ता धेरै नेपाली तन र नागरिकता एवं भारतीय मन भएकाहरु जन्मनेछन् । त्यसबखत यस्ता ‘महाशय’हरु हिमाल–पहाड–तराई सबैतिरबाट उदाउने छन् । त्यसले कसै गरि निभाउन नसकिने भारतपरस्त आगोको ज्वाला निकाल्दैन भन्ने आधार पक्कै कसैसँग छैनन् ।
हामीले आजसम्म यस्ताखाले तमाम भारतीय ‘मन्द बिष’लाई नजरअन्दाज गर्दै आएका छौ । जसले हाम्रो समाजलाई धमिरा लगाइरहेको छ । यसो भन्दैमा हामीले भारतको स्वतन्त्रका लागि महात्मा गान्धीले बेलायती सबै वस्तुको प्रयोग बन्द गर्न चलाएको जस्तो अभियान चलाउनु पर्छ भन्ने होइन । यो युगको माग त्यो कदापी हुन सक्दैन । तर, हामीले आफ्नै छातिमा हात राखेर आफ्ना कमजोरीलाई आत्मसाथ गर्ने बेला आएको छ । हामी आफैले आधारहरु बलिया बनाउँदै हाम्रो ‘सफ्ट पावर’लाई मुलुकबाहिरका नेपाली मनसँग जोड्ने आत्मबल बढाउनु पर्ने भएको छ । यदी हामीले भारतमा रहेका नेपालीमूलका भारतीयलाई हाम्रो ‘सफ्ट पावर’ले जोड्न मात्र सक्यौ भने हामीमाथिको भारतीय दबाब धेरै कम हुनेछ । तर, सबैभन्दा पहिले हामीले प्लेटोको ‘एलेगोरी अफ दी केभ’ को काल्पनिक कैदखानाबाट बाहिर निस्कनु जरुरी छ । त्यसकालागि हामीले वस्तुगत विवेचना गरि हाम्रा आधार तय गर्दै स्ववलम्बनको आत्मज्ञान लिनु आवश्यक छ । नत्र, हामी सधैभरी ‘एलेगोरी अफ दी केभ’को गुफाभित्रै हुनेछौ ।  

Comments

Post a Comment

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु