Skip to main content

ढाडै भाँच्ने महँगी

सुविधानगरमा सानो ठेला राखी चटपटे बनाउने धनुषाका शंकरलाल श्रेष्ठले गत वर्षको मंसिरदेखि भाउ बढाए, पानीपुरीको आकार घटाए ।
‘जत्तिसुकै भाउ नबढाउँभन्दा पनि सकिएन,’ उनले भने, ‘चटपटे र पानीपुरी बनाउने सामानकै भाउ छोइनसक्नु भएपछि नबढाई सुखै पाएनँ ।’ भाउ बढेपछि ग्राहक घटेर व्यवसाय कमजोर भएकै बेला श्रीमतीलाई मस्तिष्काघात भयो । उनको थाप्लोमा एक लाख रुपैयाँ ऋण थपियो । ‘कमाएको पैसाले खानै नपुग्ने भइसक्यो, अब ऋण कसरी तिर्नु ?’ उनले भने, ‘यहाँको महँगीले हामीलाई नै खाइसक्न लाग्यो ।’  
कपनका ६३ वर्षीय कृष्णप्रसाद आचार्यलाई मासिक १२ हजार कमाइले दसैंअघिसम्म गुजारा चल्थ्यो । घरभाडा तिर्नुनपर्ने भए पनि त्यसयता उनलाई मासिक १५ हजार नभई घरखर्च चल्दैन । ‘खानेकुरा, ओखती र छोराछोरीको फिस तिर्न मैले कमाएको पैसाले पुग्दैन,’ करारमा सडक विभागको सफाइमा काम गर्ने उनले भने ।
आचार्य र श्रेष्ठले राजधानीका औसत आम्दानी हुने बहुसंख्यक सर्वसाधारणको प्रतिनिधित्व गर्छन् । उनीहरूजस्तालाई महँगीले ढाडै भाँचेको छ । भूकम्प, नाकाबन्दी र त्यसपछिको कालोबजारीले राजधानीको जीवन कष्टकर बन्दै गएको छ ।
सरकारी आँकडाले भन्छ, मूल्यवृद्धि घटिरहेको छ । यथार्थमा भने यसले धेरैलाई आधा पेट खानुपर्ने अवस्थामा पुर्‍याएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत चैतमा औसत उपभोक्ता मूल्यवृद्धि ९ दशमलव ७ प्रतिशतमा झरेको छ ।
जुन गत पुसमा १२ दशमलव एक प्रतिशत थियो । उपभोक्तावादी र स्वयं खुद्रा व्यवसायीहरू भने बजारमा भाउ झन् बढिरहेको बताउँछन् । ‘नाकाबन्दीपछि सबैतिर कालोबजारी बढेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘खाद्यान्न र तरकारीको भाउ एकदमै माथि पुगेको छ ।’
नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठको अनुभवमा बजारमा भाउ अकासिएको छ । ‘भाउ बढेको सही हो,’ उनले भने, ‘तर यो ठूला व्यापारीहरूले मिलेर बढाएकाले भएको हो, चेपुवामा हामी परिरहेका छौं ।’ उनका अनुसार अहिले चामल, दाल, खानेतेल र चिनीको भाउ अस्वाभाविक ढंगले बढिरहेको छ ।

‘ठूला व्यापारीले नै बढेर आएको भन्दै भाउ बढाएपछि खुद्रा मूल्य पनि बढेको हो,’ उनले भने, ‘थोकबाटै बढेर आएपछि हाम्रोमा वृद्धि हुने नै भयो ।’ केही साताअघिसम्म प्रतिकिलो ७० रुपैयाँमा पाइने चिनी राजधानीमा ७५ रुपैयाँ पुगिसकेको छ ।
खानेतेलको भाउ पनि अचाक्ली बढेको श्रेष्ठले जानकारी दिए । ‘एक सय ५० रुपैयाँको तेल एकैपटक दुई सय ५० रुपैयाँसम्म पुगेको थियो,’ उनले भने, ‘अहिले पनि दुई सय रुपैयाँभन्दा माथि नै छ ।’ यसैगरी मुसुरो दाल, सबैभन्दा बढी चल्ने जिरा मसिनो, भारतीय बासमतीलगायतको मूल्य छोइनसक्नु छ । जिरा मसिनो चामलको भाउ अहिले ७५ रुपैयाँ किलो पुगेको छ ।
खाद्यान्न र तेल मात्र होइन, तरकारीको भाउसमेत अचाक्ली बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तुलनात्मक विवरणअनुसार गएको एक वर्षमा अधिकांश तरकारीको खुद्रा भाउ ५० प्रतिशतदेखि झन्डै तीन सय प्रतिशतसम्म बढेको छ ।

‘आलु, टमाटर, बन्दाजस्ता धेरै चल्ने तरकारीको भाउ नै सबैभन्दा बढेको छ,’ सुविधानगरस्थित ढकाल डेरी एवं अर्गानिक तरकारीका जयहरि नेपालले भने, ‘हामी बेच्नेलाई नै थाहा छैन किन बढेर आइरहेको छ ।’
नेपालका अनुसार थोक बिक्रेताले खडेरीका कारण तरकारीको उत्पादन कम भएर भाउ बढेको बताउने गरेका छन् । तरकारीको भाउ अत्यधिक बढेकाले अचेल मोलमोलाई किलोको सट्टा पाउमा हुन थालेको छ । दुई वर्षअघि किलोको भाउ बराबरको पैसाले अहिले पाउमा तरकारी पाउने गरेको उपभोक्ताको गुनासो छ ।
अचाक्ली मूल्यवृद्धिको कारणबारे सरकारले कुनै खोजीनीति गरेको छैन । न अध्ययन र कालोबजारी गर्नेलाई काराबाही नै गर्न सकेको छ । उपभोक्ता अधिकारकर्मीहरू कालोबजारी र जम्माखोरी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँछन् ।
‘सरकारले थाहा हुँदाहुँदै पनि कालोबजारी नियन्त्रण गर्न चाहेन,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले भने, ‘नाकाबन्दीका बेला बजारमा अभाव छैन भन्ने देखाउन सरकार आफैंले कालोबजारीलाई आँखा चिम्लियो, त्यो रोग अब निको नहुने गरी लाग्यो ।’
आपूर्ति मन्त्रालयका अधिकारी भने सरकारले अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गरिरहेको दाबी गर्छन् । ‘हामीले मूल्यवृद्धिको अनुगमन गरिरहेकै छौं,’ मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने, ‘त्यसका लागि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग खडा भएको छ ।’
उनले विभाग साधन स्रोतसम्पन्न हुन नसक्दा जनअपेक्षाअनुसार काम हुन नसकेको स्वीकारे । ‘विभागलाई थप साधन स्रोतसम्पन्न बनाउन लागिपरेका छौं,’ उनले भने, ‘कम साधन स्रोतमा पनि अनुगमन र कारबाही अघि बढिरहेकै छ ।’
आम्दानीले नधान्ने खर्च
सरकारले गत फागुनदेखि लागू हुने गरी श्रमिकको न्यूनतम तलब मासिक आठ हजार रुपैयाँबाट बढाएर नौ हजार सात सय पुर्‍यायो । महँगीको अनुपातमा तलब बढाएको सरकारको भनाइ भए पनि एकजना आश्रित व्यक्ति सहितका श्रमिकलाई राजधानीमा गुजारा गर्न मुस्किल पर्ने अवस्था देखिएको छ ।

कान्तिपुरले राजधानीका विभिन्न क्षेत्रका सामान्य आय भएका व्यक्तिसँग गरेको कुराकानीका आधारमा औसत आय हुनेको खर्च नै मासिक झन्डै १३ हजार रुपैयाँ पुग्ने देखिन्छ । यसले न्यूनतम पारिश्रमिकमा काम गर्ने मजदुरले सामान्य गुजाराका लागि समेत ऋण खोज्नुपर्ने देखिएको छ ।
असंगठित क्षेत्रमा काम गर्ने श्रमिकका लागि जीवन अझै कष्टकर हुने देखिन्छ । सरकारले दैनिक ज्यालादारीमा काम गर्नेको न्यूनतम तलब भने तीन सय ९२ रुपैयाँ तोकेको छ ।
दैनिक ज्यालादारीमा काम गर्नेले महिनाको तीसै दिन काम गरे पनि मासिक आम्दानी ११ हजार सात सय मात्र गर्न सक्छन् । तर, एक जना आश्रित भएमा डेरा भाडा र सामान्य खानाका लागि मात्र यो रकम पर्याप्त नहुने ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल बताउँछन् ।
‘अहिलेको न्यूनतम तलबले जीवन धान्ने त के मानिस भएर न्यूनतम मापदण्डमा बाँच्ने अवस्था पनि छैन,’ उनले भने, ‘यो तलबले राजधानी र सहरी क्षेत्रका श्रमिकलाई बाँच्ने आधार दिन सकेन ।’ उनले राजधानीमा बढेको डेरा भाडा र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले प्रत्येक श्रमिकलाई अप्ठ्यारो परेको बताए ।
दक्षिण एसियामा नेपाल उच्च
नेपालको मूल्यवृद्धि दर दक्षिण एसियामै सबैभन्दा बढी देखिएको छ । सन् २०१५ को तथ्यांकअनुसार नेपाल दक्षिण एसियाली सहयोग संगठन (सार्क) का आठवटा सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च दरको मूल्यवृद्धि हुनेमा परेको हो ।

विश्व बैंकको तथ्यांकमा नेपालको वार्षिक वृद्धिदर गत वर्ष ७.९ प्रतिशत रह्यो । जुन अरू सात मुलुकको भन्दा बढी हो । नेपालपछि बंगलादेशको मूल्यवृद्धि ६.२ प्रतिशत छ । तेस्रो स्थानमा रहेको भारतको ५.९, भुटानको ४.५, पाकिस्तानको २.५, माल्दिभ्सको १, श्रीलंकाको ०.९ प्रतिशत छ । अफगानिस्तानको ऋणात्मक मूल्यवृद्धि छ ।
विश्व बैंकले उपभोक्ता मूल्य सूचांकका आधारमा यो तथ्यांक तयार पारेको हो । ‘यसले वार्षिक उपभोक्ता मूल्यको परिवर्तित प्रतिशत इंगित गर्छ,’ विश्व बैंकले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यो तथ्यांकमा उपभोग्य वस्तु र सेवा मूल्यको एकीकृत औसत निकालिन्छ ।’
वर्तमान मूल्यवृद्धिका कारण खोज्नुअघि हाम्रो मूल्य कसरी निर्धारण हुन्छ भन्ने बुझ्नुपर्छ । नेपालको आर्थिक गतिविधिको दुई तिहाइ हिस्सा भारतले ओगट्छ । तर, हामीले सबैभन्दा ठूलो व्यापार साझेदारसँग २०१७ सालदेखि नै स्थिर विनिमय दर अपनाउँदै आएका छौं ।
त्यसमाथि दक्षिणी छिमेकीसँग खुला सिमाना छ । मुख्यत: यी दुई कारणले हाम्रो सघन आर्थिक क्रियाकलाप भारतको प्रतिछाया हो भन्दा फरक पर्दैन । यसले भारतको अर्थतन्त्र जतातिर धकेलिन्छ हाम्रो पनि उतै मोडिने अवस्था सिर्जना हुन्छ ।
मूल्यवृद्धिमा पनि यो लागू हुन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको विभिन्न अध्ययनले समेत भारतीय अर्थतन्त्रको गहन प्रभाव नेपाली अर्थतन्त्रमा परेको देखाएका छन् ।
सन् २००० को आधा दशक नेपालले हिंसात्मक द्वन्द्व बेहोर्‍यो । त्यस अवधिमा भने हाम्रो मूल्यवृद्धि भारतको भन्दा केही बढी नै भयो । जुन आर्थिक वृद्धिदरका तुलनामा निकै बढी देखियो ।
भारतमा औसत पाँचदेखि सात प्रतिशत आर्थिक वृद्धि हुँदा हाम्रामा भने तीन/चार प्रतिशतमा सीमित भयो । जति गतिमा भारतको आर्थिक विकास भयो नेपालले हासिल गर्न सकेन । मूल्यवृद्धिमा भने हामीले भारतलाई पनि पछाडि छाड्यौं ।
 
शान्ति प्रक्रियादेखि संविधान जारी हुँदासम्म हामीले सरकारी बजेट खर्च गर्न सकेका छैनौं । सरकारी पैसा बैंकमा थुप्रिएको छ । यसले गर्दा आर्थिक गतिविधि बढेर भाउ बढेको भन्न सकिने अवस्था देखिँदैन । पछिल्ला दशकमा विदेशिनेको संख्या धेरै भयो ।

विप्रेषण आयको वृद्धिले उपभोगमुखी संस्कृतिको विकास भएको छ । यसै वर्ष हेरौं, एक डलरको भाउ एक सय सात पुग्यो । अब विदेशबाट ल्याएको एक डलरले यहाँ महँगोमा सामान किन्न सकिने भयो । त्यसले महँगीलाई प्रोत्साहन गरिरहेकै छ ।
मूल्यवृद्धिको अर्को कारण भनेको राजनीतिक दलसँगको मिलेमतोमा कार्टेलिङ र सिन्डिकेट हो । यहाँ दलहरूकै कार्टेलिङ चलिरहेको छ । त्यस्तै कार्टेलिङ उद्योग, व्यापारमा पनि छ ।
त्यसले भाउ बढाउने नै भयो । अब गएको वर्षमात्र कतिवटा पार्टीको महाधिवेशन भयो ? हामीले ती महाधिवेशनमा भएको खर्च कहाँबाट आयो भनेर कहिल्यै हेरेका छौं ? छैनौं । सबैले व्यापारीसँग रकम उठाएर यस्ता कार्यक्रम गर्छन् । त्यसको लहरो भ्रष्टाचारसँग जोडिएको छ । यस्ता लहराले गलत गर्नेलाई पनि प्रोत्साहन दिइरहेकै छ ।
भाउ बढ्नुको कारणमध्ये राज्य कमजोर हुनु र उपभोक्ताले असुरक्षित महसुस गर्नु पनि हो । असुरक्षित उपभोक्ताले न सरकारलाई विश्वास गर्न सक्छन्, न निजी क्षेत्रलाई । दुवैमा भरोसा उडेका उपभोक्ताले उपभोग्य सामग्री जम्मा गरेर राखेका छन् । त्यसले पनि भाउ बढाएकै छ ।
अहिलेको मूल्यवृद्धि अस्वाभाविक र गैरआर्थिक कारण धेरै भएकाले त्यसको सम्बोधन गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । पहिलो बजार अनुगमन प्रभावकारी बनाउनुपर्‍यो ।
अर्को कुरा अनुदान नदिइकनै पनि खाद्य संस्थान, साल्ट ट्रेडिङलगायत संस्थालाई प्रयोग गरेर बजार हस्तक्षेप गर्नुपर्‍यो । सरकारले ल्याएर उपभोग्य वस्तु बिक्री गर्न थाल्यो भन्नेबित्तिकै मनोवैज्ञानिक असरले पनि भाउ कम हुनसक्छ ।
(कुराकानीमा आधारित)

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु