Skip to main content

क्लासिक कार, मोर्डन भ्युअर


ह्वाट अ स्टनिङ !’ पुल्चोककी प्रनिता श्रेष्ठले बबरमहलस्थित आर्ट काउन्सिलको आँगनमा पुग्नेबित्तिकै निकालेको पहिलो वाक्य हो यो । यही जेठ दोस्रो साता हुने ‘मिस एसएलसी’ की प्रतिस्पर्धी श्रेष्ठ कुनै आकर्षक पहिरन देखेर ‘सानदार’ भन्दै थिइनन्, न त गगनचुम्बी महल हेरेर । प्रनिताको मुखबाट स्वत:स्फूर्त निस्केका यी शब्द लक्षित थिए, उनकै अगाडि खडा सन् १९३२ मा बनेको फोर्ड गाडीप्रति ।
 
‘आई एम सो एक्साइटेड, कुडन्ड कन्ट्रोल माइसेल्फ’ श्रेष्ठले दुवै हात उचाल्दै भनिन्, ‘दिस कार इज सो अमेजिङ, सिरियस्ली ।’ आफ्ना दुई साथीका साथ ‘क्लासिक’ कार हेर्न पुगेकी उनलाई ‘मोर्डन’ कारको ‘लुक्स’ कताकता फिक्का लाग्यो । ‘टेक्नोलोजी त मिल्दैन, अहिले एड्भान्स भइसक्यो,’ उनले भनिन्, ‘तर ‘लुक्स’ चाहिँ ‘क्लासिक’ कै राम्रो ।’ श्रेष्ठलाई काउन्सिलको आँगनका ‘क्लासिक’ कारले मात्र तानेनन् । हलमा राखिएका पुराना कारसम्बन्धी तस्बिर र पेन्टिङले समेत लोभ्यायो । 

‘मलाई हिस्ट्रीमा इन्ट्रेस्ट नै त हैन,’ सन् १९५६ मा मकवानपुरमा कार बोकेर ल्याइँदै गरेको चर्चित तस्बिर हेर्दै उनले भनिन्, ‘तर कारको हिस्ट्री बुझ्न मन लाग्यो, साथी पनि भए अनि सँगै आइयो ।’ प्रनितासँग आएका युवायुवतीको ‘सेल्फी’ र ‘विफी’ को ‘पोज’ नसकिँदै छेउमा राखिएको पुरानो फक्सवागनको ‘बिटल’ मोडलसँग ‘सेल्फी’ खिच्न आइपुगिन्– चाबहिलकी मीना लामा ।  भर्खरै होटल म्यानेजमेन्टमा स्नातक सकेकी उनलाई पनि ‘क्लासिक’ कारसँगैको तस्बिर ‘सोसल मिडिया’ मा ‘सेयर’ गर्नु थियो । 
‘यस्ता कार फेरि कहाँ देख्न पाइन्छ र ?’ तस्बिरकै ध्याउन्नमा रहेकी उनले आफ्नो उत्साह व्यक्त गरिन् । उनीसँगै आएकी दीपमाला कौरलाई चाहिँ यस्ता कारसँगै खिचेको तस्बिर हालेर ‘फिलिङ रोयल’ लेख्ने हतारो थियो । ‘पहिले पहिले हाम्रो राजपरिवार र राणा फेमिलीले यस्ता कार चढ्थे,’ मुस्काउँदै उनले भनिन्, ‘हामीले त हेर्ने अनि सेयर गर्ने न हो ।’  गफगाफ गर्दैगर्दा उनी फेसबुकमा तस्बिर सेयर गर्ने हतारो गर्दै थिइन् । दीपमालाको गफ सुन्दै गरेका चाबहिलकै दिनेश पुडासैनीलाई चाहिँ ‘क्लासिक’ कार देखेपछि ‘क्लासिक’ फिल्मकै याद आयो रे π ‘ट्याक्कै क्लासिक फिल्ममा देखाएका जस्तै कार रहेछन् नि,’ उनी भन्दै थिए, ‘नेपालमै यस्ता कार आएका थिए भन्ने पत्याउनै गाह्रो ।’ मिस एसएलसीकी प्रतिस्पर्धी प्रनितादेखि भर्खरै होटल म्यानेजमेन्टमा स्नातक सकेका पुडासैनीले ‘क्लासिक’ कारको बखान गर्दै रमाइरहे ।  

त्यही बेला स्कुल ड्रेसमा एक हूल किशोरकिशोरी कार प्रदर्शनी कक्षमा छिरे । उनीहरूका साथमा थिइन्– ज्ञानेश्वरवासी बिनु बास्तोला । ‘स्टुडेन्टलाई नेपालको अटोमोबाइल हिस्ट्री बुझून् भनेर ल्याएको,’ धोबिघाटस्थित आइडियल मोडल उच्च माविकी शिक्षिका बास्तोलाले भनिन्, ‘एक्ट्रा करिकुलर एक्टिभिटीमा स्टुडेन्ट पनि एक्साइटेड होऊन् भनेर ।’ नभन्दै उनीसहित केही शिक्षकको साथमा आएका कक्षा ९ मा अध्ययनरत किशोरकिशोरीमध्ये केही त रमाउँदै उफ्रन थाले ।

शिक्षक भने तिनलाई सम्हाल्दै ‘डन्ट बी एक्साइटेड’ भन्न थाले । ‘आई लाइक दिस् नेभी ब्लु,’ बास्तोलाकी विद्यार्थी प्रिथा श्रेष्ठ चिच्याइन्, ‘आई लाइक दिस्’ अरूले पनि आफूलाई मन परेका कारका मोडेल देखाउन थाले । ‘यहाँ आएर एकदमै रमाइलो लाग्यो,’ स्कुलकै समूहमा आएकी किशोरी आर्या दाहालले भनिन्, ‘मोर्डन कार देख्दा त खासै केही लाग्दैन, यहाँको हेर्दा त कस्तो रमाइलो लाग्यो ।’ आर्याकै ‘क्लासमेट’ सिद्धान्त ताम्राकारको घरमा हुन्डाईको स्पोर्टेज छ ।  तर, उनलाई पुरानो मोडलका कार खुबै मन पर्‍यो । ‘हाम्रो कार पनि यस्तै मोडलको हुनु नि ।,’ साथीलाई उनी सुनाउँदै थिए, ‘मलाई त हाम्रो घरको कारभन्दा यिनै मोडल मन परे ।’ स्कुले किशोरकिशोरीदेखि स्नातक सकेका युवायुवतीलाई आकर्षित गर्ने यी पुरानो मोडलका कार हेर्ने अवसर मिलेको थियो– दोस्रो ‘भिन्टेज मोटर एक्सपो’ मा । 

गएको शनिबारदेखि सोमबारसम्म चलेको एक्सपोमा पुराना कारलाई सबैभन्दा बढी कसैले चासो दिए भने ती थिए– सहरी युवायुवती ।  ‘कार हेर्न अरू उमेर समूहका नआएका हैनन्,’ एक्सपो आयोजना गर्ने भिन्टेज एन्ड क्लासिक मोटर इंकका बोर्ड सदस्य मेघराज पौडेलले भने, ‘तर, जति चासो र एक्साइटमेन्ट योङ भ्युअरमा देख्यौं अरूमा कमै देखियो ।’ एक्सपो अवधिमा राजधानीका धेरै युवायुवतीले आर्ट काउन्सिललाई आफ्नो गन्तव्य बनाए । ‘क्लासिक’ कारका साथ खिचिएको तस्बिर ‘सोसल मिडिया’ मा ‘सेयर’ गर्न मात्र होइन, आफूले पुराना फिल्ममा हेरेका कारलाई प्रत्यक्ष अवलोकन गर्नसमेत धेरै युवायुवतीले आर्ट काउन्सिलको आँगन टेके ।  ‘युवा पुस्तामा पनि यत्ति धेरै उत्साह होला भन्ने हामीले सोचेका थिएनौं,’ पौडेलले भने, ‘हामीले त नेपालको अटोमोबाइल हिस्ट्रीलाई जोगाउन यो अभियान सुरु गरेका हौं ।’ दर्शकले अवलोकनपछि आगन्तुक पुस्तिकामा लेखेका प्रतिक्रियामा समेत अभिव्यक्त छ । ‘म साह्रै भाग्यमानी रहेछु, यस्तो राम्रो र ऐतिहासिक कलेक्सन हेर्न पाएँ,’ आगन्तुक पुस्तिकामा एक अवलोकनकर्ताले लेखेका छन्, ‘आई विकेम मोर्डन भ्युअर अफ क्लासिक कार, सो कुल... ।’ 


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...